2020 November 30/ 10:52: 07am

सरोज थापा
अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठन, काभ्रे
केन्द्रिय सचिवालय सदस्य एवं बागमती प्रदेश सचिव
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः हालको पनौती नगरपालिका वडा नम्वर ५ चौकोट सुन्दरबस्तीमा २०३५ साल फागुन २९ गते मेरो जन्म भएको हो । श्वेत गणेश प्रावि चौकोटबाट प्रारम्भिक शिक्षा शुरु भयो । कक्षा ५ सम्म अध्ययन गरेपछि धुलिखेलको सञ्जीवनी हाईस्कुलबाट एसएलसीसम्मको अध्ययन गरें । परिवारको कान्छो सदस्य थिएँ म । मेरो हजुरबुबा अध्ययन गरेको ब्यक्ति हुनुहुन्थ्यो । देवी भागवत अध्ययन गर्ने उहाँको बानी थियो । म हजुर बुबासँगै सुत्ने गरेको थिएँ । उहाँले मलाई क ख सिकाउनु हुन्थ्यो । बुबा पनि शिक्षित हुनुहुन्थ्यो । सरकारी जागिरमा पनि भएकाले हामीलाई सहज थियो । सन्तानलाई शिक्षा प्रदान गर्नुपर्छ भन्ने सोच अभिभावकहरुमा भएकाले हामीलाई विद्यालय जाने वातावरण बन्यो । 
    घर परिवार सम्पन्न भए पनि अभाव हुन्थ्यो । दाईहरु विद्यालय जाँदा हामीलाई पनि जान मन लाग्थ्यो । हजुरबुबा आफैले मलाई विद्यालयमा लगेर भर्ना गरिदिनु भयो । पछि दाईहरुसँग पछि लागेर विद्यालय पुगें । विद्यालय जाँदा आउँदा बाटोमा चिप्लेटी खेल्ने गरेका थियौं । शिक्षकहरुको आँखा छलेर खेल्ने गरेका थियौं । चिसोको मौषममा पोखरीमा जमेको तुषारोको सिसा निकालेर कक्षा कोठामा झ्याल नभएकाले त्यहि सिसा राख्न भनेर चार/पाँच जना साथीहरुले उचालेर लिएर गयौं । हाम्रो कार्यले गुरु खुशी हुनुहुन्छ भन्ने हाम्रो धारणा थियो । झ्याल नहुँदा कक्षा कोठामा चिसो हुन्थ्यो । पोखरीमा सिसा भेट्टाएपछि हामी गुरु खुशी बनाउने र जाडो छेक्ने योजनामा बोकेर लैजाँदै गर्दा बाटोमै पग्लियो । हामीलाई तुषारोको ठाँटोको सिसा पग्लन्छ भन्ने कुराको ज्ञान भएन । म अलिक उट्फट्याङ्ग गर्दथें । कक्षामा पनि तेश्रो हुन्थें । साथीहरुसँग पनि झगडा गर्दथें । मासु पनि टन्नै खान्थें । मलाई बाघ भन्थे । खानेबेला मलाई मासु धेरै चाहिन्थ्यो । त्यो बल देखाउन एकदिन साथीसँग जुधेको शिक्षक दलबहादुर श्रेष्ठले कुट्नु भयो । अर्काे एकदिन साथीहरु लिएर बनेपाको मयुर चलचित्र मन्दिरमा फिल्म हेर्न गएका थियौं । बुबाले थाहा पाउनु भएछ । घरमा सोध्नुभयो । हामीले ढाँट्यौं । बुबाले त्यो फिल्ममा अर्कै हिरोको नाम भन्नुभयो । जान्ने भएर म सँगै जाने भाईले कहाँ त्यो हिरो हुनु राजेश हमाल पो हो त भने पछि हामी कायल भयौं । अनि डोरीले बाँधेरे बुबाले चिमोट्नु भयो । अर्काे दिन विद्यालयको कक्षा कोठामा ऐना लिएर गएका थियौं । ऐनामा सूर्यको किरण पारेर अर्काे कोठामा रहनु भएका शिक्षकको आँखामा पटक पटक पारे पछि उहाँले उठेर आएर नमज्जाले कुट्नु भयो । त्यस्ता केहि उट्फट्याङ्गहरु भए । 
    घरबाट नजिक सञ्जीवनी भएकाले प्रावि तहको अध्ययन सकेर धुलिखेलमा अध्ययन गर्न थाल्यौं । श्वेत बराहमा १५÷१६ जना मात्रै थियौं । धुलिखेलमा झण्डै २ सय जना विद्यार्थी त्यो पनि सेक्सन थियो । सबै साथीहरु चिन्न एक वर्ष जस्तै लाग्यो । बजार बाहिरबाट गएका साथीहरु जाँदा हेप्ने चलन थियो । कक्षा पनि फरक खालको हुन्थ्यो । स्कुल लामो समयसम्म विदा भएको अवस्थामा हामी गोठालो जाने गरेका थियौं । बाख्रा, गाई चराउने, खोलामा माछा मार्न जाने चलन थियो । बुबा आमालाई जानकारी नदिई हामी गोठालो जाँदा नासपाती, स्याउ लगायतका फलफुल चोर्न जाने गरेका थियौं । केहि घरमा गएर कुरा मिलाएर अलमल्याउने अरु गएर चोरेर ल्याउने गरेका थियौं । पछि हाम्रो चर्तुयाई थाहा पाए पछि हामीले कारवाही भोग्यौं । लखेटियौं । एक पटक बुबाको खल्तिमा रहेको धेरै २ रुपैयाँका नोटहरु मध्ये एउटा चोरेको थिएँ । बुबाले मलाई केहि भन्नु भएन तर हराएको कुरा जानकारी गराउनु भयो । त्यो बेला देखि मैले कहिल्यै चोरिनँ । चोरेको पैसाले दुई घण्टा साईकल चलाएँ । एक÷एक घण्टा दुई दिन साईकल चलाउँदा खुबै आनन्द आउँथ्यो । विद्यालयमा हुने अतिरिक्त कृयाकलापमा मेरो सहभागिता हुन्थ्यो । हरेक कृयाकलापमा मेरो अग्रस्थान हुन्थ्यो । २०५१ सालमा मैले एसएलसी दिएको थिएँ । गाउँबाट १५ जना जति साथीहरु थियौं । कक्षामा ६० जना जति साथीहरु थियौं । केहि प्रथम श्रेणीमा पास हुनुभयो । म चाँहि दोश्रो श्रेणीमा पास भएँ । एसएलसी दिए लगत्तै दाई काठमाडौमा काठमाडौ भ्याली क्याम्पसमा पढनु हुन्थ्यो । त्यहि बसिरहेका बेला मैले गोरखापत्र हेर्ने अवसर पाएँ । गाउँमा ठुलो सम्मान र हल्ला हुन्थ्यो । गाउँबाट थोरै ब्यक्तिहरु पास हुनु भएछ । म त्यस भित्र परें । कक्षा ५ सम्म राम्रो विद्यार्थी थिएँ । कक्षा ८ सम्म पुग्दा विषय लाग्न थाल्यो । बुबाले विषय लागे फेल गराई दिनु भन्नु भएको रहेछ । शिक्षकले सम्झाउनु भयो । मैले कक्षा ९ र १० मा असाध्यै मेहनत गरें । एसएलसीमा त्यसले सहज बनायो । दोश्रो डिभिजनको राम्रो नम्वर थियो । मेरो दाई पनि अघिल्लो कक्षाको पहिलो विद्यार्थी हुनुहुन्थ्यो । दाईको नामले पनि मलाई प्रेसर गरायो । मैले परीक्षा दिईरहँदा प्रथम हुन्छु जस्तो लागेको थियो । एसएलसीको समयमा ३ महिना जति ट्युसन पढें । त्यसले एसएलसी उत्तिर्ण गराउन सहज बनायो । 
    बाल्यकालमा अभाव थियो । तर पनि बुबाले असाध्यै धेरै सहज बनाउने प्रयास गर्नु भएको थियो । बुबा चौतारामा विद्युत प्राधिकरणमा काम गर्नु हुन्थ्यो । हाम्रो फरक फरक लुगा हुन्थ्यो । दशैंमा मात्रै कपडा किन्ने चलन हाम्रोमा रहेन । विद्यालयमा जाँदा पहिलो जुत्ता लगाउने हामी नै थियौं । मेरो सानैदेखि कानुन पढ्ने इच्छा थियो । वकिल बन्नु पर्छ भन्ने लाग्थ्यो । त्यस्तो हुन सकेन । पछि चाँहि मैले त्यो सपना पनि पूरा गरें । एसएलसी दिएर काठमाडांै बसिरहेका बेला साँझ साँझ सानो गौचरमा फुटबल खेलेर बिताएँ । २ वजेपछि फुटबल हुन्थ्यो । दिनभर हिड्ने साँझ फुटबल खेल्ने गरेका थियौं । दिनभरी हिड्दा बाटोमा चिनो लगाएर हिड्ने फर्कँदा सहज हुन्थ्यो । एकदिन कोठामा फर्कँदा बाटो बिराईयो । नक्साल भगवतीको मन्दिर देखे पछि कोठा भेट्टियो । काठमाडांै बस्दा पनि सहज भयो । रमाईलो भयो । 

एसएलसी पछिः मलाई सानै देखि वकिल अथवा साईन्स अध्ययन गर्नुपर्छ भन्ने रुची थियो । गणित अर्काे रुचीको विषय थियो । म भन्दा अघिल्लो ब्याचबाट चैतन्य क्याम्पसमा कानुन संकाय हटेको रहेछ । काभ्रे क्याम्पसमा भर्ना भएर गणित विषय लिएँ । तर थोरै विद्यार्थी भएकाले त्यो विषय अध्ययन भएन । आईए त्यहाँबाट अध्ययन गरें । अम्बुभवानी कार्की म्यामले नेपाली विषय पढाउनु हुन्थ्यो । उहाँको विषयले प्रगतिशिल क्षेत्रमा लाग्न प्रेरणा दियो । काभ्रे क्याम्पसमा उत्तिर्ण गरेसँगै चैतन्यमा विज्ञान विषयमा भर्ना भएँ । विज्ञान विषयको अध्ययन गरिनसक्दै मैले काभ्रे हेल्थ ट्रेनिङ्गमा भर्ना भएर सिएमएमा भर्ना भएँ । बच्चा देखि नै गणित पढ्ने रुची हटेको थिएन । पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्रमा गणित विषय हुने भएकाले एमए अध्ययनका लागि भर्ना भएँ । फेरी काभ्रे क्याम्पसमा समाजशास्त्र विषय लिएर दोश्रो वर्षको अध्ययन सकाएको छु । उता कानुन अध्ययन गर्ने इच्छा पनि सकाएँ । पाटन क्याम्पस अध्ययन गर्दा गर्दै प्युठानका एक जना साथीले एलएलबी अध्ययन गर्ने योजना बनायौं । कमर्स क्याम्पसमा इन्ट्रान्स दियौं । नाम निस्कियो । पास पनि भयौं । उहाँ साथी अहिले राम्रो वकिल हुनुुहुन्छ । मेरो चाँहि सामान्य विषय मात्रै बन्यो । पेशा स्वास्थ्यकर्मी थियो । अहिले धुलिखेल नगरपालिकाको न्यायिक समितिको पनि जिम्मेवारी प्राप्त भएकाले मलाई सहज भयो । 
    सिएमए अध्ययन गरिसक्दा नसक्दै मेरो निजामती सेवामा नाम निस्कियो । लोकसेवामा पहिलो पटक नै पास भएँ । बुबाको चाहना पनि त्यहि थियो । जागिरमा नाम निस्किए पछि त्यतै अल्झिएँ । मलाई लोकसेवामा परीक्षा दिएर पास हुन्छु जस्तो लागेको थिएन । संकटकालका कारण काठमाडांै जान आउन पनि कठिन थियो । लोकसेवा आयोगको कार्यालय थापाथलीमा थियो । एकदिन नाम निस्कियो कि भनेर गएको नभन्दै रिजल्ट भएर भित्तामा टाँसिएको थियो । हेर्दै जाँदा त नाम रहेछ । १५ मिनेट जति त बेहोस जस्तै भएछु । विश्वास नै गर्न सकिनँ । घरमा बुबालाई आएर भनें उहाँ पनि खुशीले गद्गद् हुनु भयो । २०५४ पुष १९ गते नियुक्ति लिएको थिएँ । देवीटारमा २० गते हाजिर हुन गएँ । बाटोमा जाँदै गर्दा स्वास्थ्यचौकी जाने बाटो भुलें । बाटोमा घाँस काट्दै गरिरहनु भएको एक जना दिदी भेटें । बाटो सोध्नु प¥यो भनेर गएको उहाँ त म त्यहा पुग्दा चार कान्ला माथि पुगिसक्नु भएछ । त्यहाँ नयाँ मान्छेसँग बोल्ने चलन रहेनछ । जलु तामाङ भन्ने समाजसेवी भेटें । उहाँकै घर नजिकै रहेछ । उहाँले देखाउनु भए पछि सहज भयो । म ८ वर्ष त्यहाँ बसें । धामीझाँक्रीको चलन रहेछ । दैनिक २६ किलोमिटर आउने जाने गरेको थिएँ । नेपाल बन्द हुँदा पनि हिडेरै देवीटार जाने गरेको थिएँ । म पुगेको एक महिनासम्म कोहि विरामी आएनन् । औषधी खाल्डो खनेर गाड्यौं । स्वास्थ्य चौकीमा काम गर्ने दिनानाथ दाई र म मिलेर घर घर गयौं । स्वयंसेविकालाई अभिमुखीकरण ग¥यौं । औषधी लिन आउँदा कुखुरालाई ज्वरो आयो अनि सिटामोल लिन आएको भन्नुहुन्थ्यो । गरिबी धेरै थियो । । चेतनाको कमी थियो । १४ वर्षको एकजना बालिकालाई रक्तमासी भएको रहेछ । घरमा धाँमी राख्दा राख्दै उहाँको निधन भएछ । ५ दिनको औषधीले निको हुने विरामी औषधी नै नखाई नखाई निधन भयो । यस्ता खालका विरामी र रोगका बारेमा हामीले जानकारी गराउन थाल्यौं । एड्रा नेपाल र हामी मिलेर धाँमीझाँक्रीहरुलाई तालिम दियौं । धामीझाँक्री र स्वास्थ्य उपचार दुवै गरेर उपचार गर्न शुरु गरे पछि सहज हुँदै गयो । ८ वर्ष त्यहाँ काम गरे पछि मेरो सरुवा शारदा बतासेमा भयो । माओवादीको सशस्त्र द्वन्द्व थियो । बनेपाबाट देवीटार नियमित जाँदा आउँदा बाटोमा पनि खतरा थियो । बनेपाबाट सधै मैले पत्रिका किनेर लैजाने गरेको थिएँ । त्यहाँ बसिरहँदा मैले देवीटारको अन्धकारलाई बत्तिको मार्फत उज्यालो बनाउने प्रयास गरें । बुबा बनेपा विद्युत प्राधिकरणमा काम गर्न थाल्नु भएको थियो । बुबालाई अनुरोध गरेर केहि वर्ष पछि त्यहाँ बत्ति बल्न सफल भयो । देवीटारका लागि सकेसम्म सचेतनाको काम गरें । 
    १३ वर्ष शारदा बतासेमा रहेर काम गरें । जनप्रतिनिधि नहुँदा हामीले कर्मचारीको क्षेत्रबाट पु¥याउने सेवामा कमि हुन दिएनौं । हेल्थपोस्ट भवनको निर्माण, स्वास्थ्यका शिविरहरु, ब्यवस्थापन समितिको गठन र निरन्तरता, औषधीहरुको सहजतालाई कायम गर्न सफल भयौं । धुलिखेल अस्पतालमा जँचाउने र हाम्रो स्वास्थ्य चौकीमा औषधी लिने चलन शुरु भएको थियो । नेपालकै पहिलो कम्प्युटराईज स्वास्थ्य चौकीका रुपमा चिनिएको थियो । सरकारी कार्यालयहरु पनि गुणस्तर हुँदै गएका छन् । केहि समय स्वास्थ्य चौकीहरुको गुणस्तरका बारेमा प्रश्न उठ्ने गरेको थियो । अहिले त्यस्तो छैन । सर्वसाधारणको सेवाका लागि स्वास्थ्य चौकीहरुले नियमित गुणस्तरी सेवा प्रदान गरेका छन् । १३ वर्ष पछि मेरो समायोजन भएर धुलिखेल नगरपालिकाको स्वास्थ्य शाखामा काम गर्ने अवसर मिल्यो । ३ वर्ष देखि मैले त्यहि रहेर काम गरिरहेको छु । स्वास्थ्य शाखा सँगै न्यायिक समितिको काम पनि हेरिरहेको छु । मेरो जागिरको अधिकांश समय धुलिखेल भित्रै बित्यो । देवीटार अहिले धुलिखेलमा प¥यो । शारदा बतासे पनि धुलिखेलमा प¥यो । धुलिखेल नगरपालिकाको एउटा गौरवको विषय छ । धुलिखेल अस्पताल हाम्रै क्षेत्रमा पर्छ । अन्य स्वास्थ्य चौकीहरुको गुणस्तर पनि बढाउँदै लगिएको छ । धुलिखेल नगरपालिकालाई हेल्दि सिटी बनाउने रणनीति अनुरुप कार्य भईरहेको छ । गुणस्तरीय शिविर आयोजना गरिएको छ । 
    जागिरको अवधीमा मैले धेरै जिल्लामा पुगेर तालिम संचालन गर्ने अवसर पाएँ । अधिकांश साथीहरुले मलाई तालिमको सहजिकरणका लागि बोलाउनु हुन्थ्यो । झण्डै ४६ वटा जिल्लामा तालिम लिएर पुगेको छु । दोलखा जिल्ला पुगेका बेला ठुलो पातल गाविसमा एउटा अवस्था देखें । म जुन घरमा बसेको थिएँ त्यो घरमा सुत्नलाई कपडा रहेनछ । लगाएको कपडामै म सुतें । खानाको लागि उहाँहरुले सक्दो ब्यवस्थापन गर्नुभयो । सुत्नलाई पछ्यौरा दिनुभयो । तालिमबाट आएको ६ हजार रुपैयाँले त्यहि घरका लागि ओढ्ने ओछ्याउने किनेर दिएँ । त्यो अविश्मरणीय रह्यो । 

राजनीतिः बाल्यकाल देखि नै त्यसको प्रभाव प¥यो । हामीलाई पढाउने दलबहादुर श्रेष्ठलाई कक्षाबाटै प्रहरीले समाएर लैजाने गरेको थियो । उहाँलाई पक्राउ गरेपछि हामीले त्यसका बारेमा बुझ्थ्यौं । घरमा पनि राजनीतिक विषयमा कुराकानी हुन्थ्यो । कम्युनिष्टका बारेमा पनि जानकारी भयो । धुलिखेल सञ्जीवनीमा अध्ययन गर्दा मैले हसिँया हथौडाको चित्र बनाएर विद्यालयको भित्तामा टाँसिदिएँ । शिक्षकबाट कारवाहीमा परेको थिएँ । चित्र लेखन पनि पहिलो पटक हँसिया हथौडाबाट भएको थियो । त्यसले मलाई झनै हौसला मिल्यो । घर परिवारको वातावरण पनि कम्युनिष्ट विचारसँगै नजिक थियो । क्याम्पसको वातावरण पनि त्यस्तै भयो । अम्बुभवानी कार्की लगायतका ब्यक्तिहरुले राजनीतिमा थप प्रभाव पार्नु भयो । शुरु शुरुमा हामी जनप्रतिष्ठा पत्रिकामा लेख्थ्यौं । अम्बुभवानी कार्की त्यहि पत्रिकाको सम्पादक हुनुुहँदो रहेछ । राजनीतिमा हौसला काभ्रे क्याम्पसबाट भयो । 
    निजामती सेवामा प्रवेश गरेसँगै म देवीटार गाविसमा कार्यरत थिएँ । पाँचखालमा इलाका कार्यालय थियो । त्यतिबेला तल्लो तहका कर्मचारी भने पछि असाध्यै हेप्ने चलन थियो । हाकिमहरुले तल्ला तहका कर्मचारीहरुको सेवा सुविधा लगायतमा अधिकारका लागि स्वास्थ्यकर्मी संघ खोलेर संघर्ष शुरु गरें । जिल्ला स्वास्थ्य कार्यालयले गर्ने ब्यवहारका विरुद्ध स्वास्थ्य प्राविधिक संघको कोषाध्यक्ष भएर काम गरें । त्यसले जिल्लामा एउटा तरंग ल्यायो । २०५६ सालको कुरा थियो त्यो । मेरो पारिवारीक पृष्ठभूमीले काम ग¥यो । सरोज कुईकेल दाईको नेतृत्वमा टोलमा धेरै काम भयो । उहाँको सल्लाह र सुझावबाट हामीले अन्य सामाजिक कार्यहरुको नेतृत्व गर्ने अवसर मिल्यो । स्वास्थ्यकर्मीहरुको बढुवाका लागि कानुन कर्मचारी मैत्री थिएन । कानुन संशोधनका लागि आन्दोलनको घोषणा भयो । देशभर आन्दोलन भयो । केहि दिन स्वास्थ्य कार्यालयहरु सबै बन्द भए । तत्कालिन स्वास्थ्य मन्त्री अमिक शेरचनले वार्तामा बोलाउनु भयो । वार्तामा सहमति भयो । यता हामी आन्दोलन गर्ने २२ जनालाई अवकाश गर्ने पत्र बनाईएको रहेछ । स्वास्थ्य क्षेत्रबाटै सचिव बनाउनु पर्ने आन्दोलनको माग अनुसार सरकारले सुनुवाई ग¥यो । हाम्रो आन्दोलनबाट सचिव भए पछि उहाँले आन्दोलन दबाउने भूमिका खेल्नु भयो । मैले उहाँको कठालो समातेर उहाँलाई त्यसको बदला लिन खोजेको थिएँ । पछि साथीहरुले छेक्नु भयो । मलाई पनि आक्रोश पूर्ण त्यो तरिका ठिक भएन कि जस्तो लाग्यो । त्यस्ता थुप्रै जिम्मेवारीमा मेरो सहभागिता रह्यो । स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको समायोजन नभई सरुवा मात्रै भयो । मन पर्नेलाई एकातिर, मन नपर्नेलाई अर्काेतिर पठाउने काम भईरह्यो । मन्त्री परिवर्तन भइरह्यो । एकताका समायोजनका लागि १० करोड रकमको खेल भयो भन्ने हल्ला पनि चलाईयो । अहिले भर्खर भानभुक्त ढकाल नियुक्ति हुनु भएको छ । उहाँले पक्कै पनि यो समस्या समाधान गर्छु भन्नु भएको छ । २०६७ साल देखि म कृयाशिल थिएँ । समितिमा बसेर भन्दा पनि सल्लाहकार समितिमा बसेर काम गरें । 
    सबै साथीहरुको सल्लाह अनुसार मैले निजामति कर्मचारी संगठनमा रहेर काम गर्ने इच्छा ब्यक्त गरें । मेरो इच्छालाई साथीहरुले पूरा गरिदिनु भयो । अरु साथीहरुको पनि चाहना थियो । तर सबै साथीहरुले सर्वसम्मत गराउनु भयो । त्यहि बेला देखि म नेतृत्वमा छु । पार्टी एकीकरण भएको दुई वर्ष भयो । गतिविधिहरु सुस्त छन् । राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारी संगठनसँगै बसेर काम गरिरहेका छौं । एकीकरण भएको छैन । 
    
प्रेम र विवाहः
विद्यालय जीवनमा प्रेम गर्ने कुरा थिएन । पछि मलाई मन पराउने र मैले पनि मन पराउने अवस्था बन्यो । तर त्यो मेरो थर सँग मिल्ने अवस्था थिएन । मन परेका केटीहरुलाई पोस्टकार्ड दिने चलन थियो । अन्य सम्वन्ध भन्ने हुने थिएन । सिएमए अध्ययन गर्ने क्रममा परेको प्रेम सफल हुन सकेन । बुबा बनेपाबाट घर आउने क्रममा बाटोमा एक जना केटी मान्छेले भनेको सुन्नु भएछ । मेरो उनीसँग प्रेम थियो । उनले सरोजसँग विवाह गर्नेसम्म कुरा गरे पछि बुबालाई मनमा गढेछ । नयाँ एउटा कपडा किनेर ल्याई दिनुभयो । म अचम्ममा परें । केटी हेर्न जाउँ भन्नुभयो । म छाँगाबाट खसे झै भएँ । २०५४ सालको कुरा थियो । केटी हेर्न गए पछि त्यहि केटी विवाह गर्नुपर्ने भयो । मैले विवाहको बारेमा कसैलाई भनेको थिईनँ । १५ दिनको विदाको समयमा विवाह भएको थियो । फिल्डमा गएका बेला साथीहरुले मेरो घरमा जाने कुरा गर्नु भयो । म चाँहि विवाह गरेको कुरा थाहा पाउलान भनेर बाटो छलेर गएको भाईलाई भेटेर साथीहरुसँग मेरै घरमा पुग्नु भएछ । घरमा पुगे पछि विवाहको केहि दिन पछिको अवस्था थाहा पाएर साथीहरु रिसाए । मैले सबै कुरा भनें । 
    भक्तपुरको छालिङ्गमा मेरो ससुराली छ । उनी तरकारी खेती गर्छिन् । ब्यवसायीक तरकारी खेतीमा उनी रमाई रहेकी छिन् । म पनि बाँकी रहेको समय तरकारी खेतीमा सहयोग गर्छु । एक छोरी केयुमा र दुई छोरा विद्यालयमा अध्ययन गरिरहेका छन् । आजसम्म उनीसँग कहिल्यै झगडा परेको छैन । असाध्यै मिलेको परिवार छ । हामी आत्मनिर्भर छौं । आफुलाई चाहिने खाद्यान्न, तरकारी उत्पादन मात्रै होईन विक्री वितरण पनि गर्ने गरी ब्यवसायीकतामा छौं । परिवार सुखी र खुशी छ । 

जीवनः संघर्ष । जिउने आधार हो । 

प्रेमः अनुभूति । 

विवाहः पारस्परिक करार । 

शारिरीक सम्वन्धः प्राकृतिक चाहना ।