2020 November 30/ 10:42: 10am

केशवप्रसाद बडाल
अध्यक्ष
होमस्टे एशोसिएसन नेपाल

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०२३ साल चैत्र २७ गते साविक पातलेखेत गाविस हालको धुलिखेल नगरपालिका ११ मा मेरो जन्म भएको हो । विद्यालय जाने समयमा मेरो घर छेउ विद्यालय थिएनन् । क ख हनुमान प्राथमिक विद्यालयबाट सिक्ने अवसर पाएँ । उक्त विद्यालयमा कक्षा ३ सम्म मात्रै भएकाले थप अध्ययन पाँचखालको तिनपिप्लेमा रहेको विद्यालयबाट गरें । कक्षा ५ सम्म तिनपिप्लेको विद्यालयमा अध्ययन गरिसके पछि कक्षा १० सम्म पाँचखालको सर्वमंगला माध्यमिक विद्यालयबाट गरें । एसएलसी चाँहि धुलिखेलको सञ्जीवनी माध्यमिक विद्यालयबाट गरें । घर नजिकै विद्यालय थिएन । परिवारको अवस्था विपन्न थियो । उमेर अलिक ढिलो भए पछि मात्रै विद्यालय पठाउने चलन थियो । विहान जंगलमा जाने र घाँस सोत्तर ल्याउने अनि मात्र विद्यालय जानु पर्दथ्यो । परिवारको सन्तानमा दोश्रो थिएँ । छोराहरु ५ मध्ये जेठो थिएँ भने दिदी बहिनी ३ जना हुनुहुुन्थ्यो । दिदीले विद्यालय जाने अवसर पाउनु भएन । भाई बहिनीहरुले विद्यालय जाने अवसर प्राप्त गरे पनि सबैको अध्ययन निरन्तरता भएन । 
    विद्यालय जानु अघि घरमा खाना पाकेको हुँदैन थियो । मकैको च्याख्ला खाएर विद्यालय जानु पर्दथ्यो । नयाँ र राम्रा कपडा लगाउनु पर्ने दिन लामो समय सम्म कुर्नु पर्दथ्यो । कक्षा ५ सम्म कट्टु लगाएर विद्यालय जाने गरेका थियौं । घरबाटै पिर्का वा चकटी लिएर विद्यालय जाने गरेका थियौं । कक्षा ३ पास गरेर पाँचखाल जाने क्रममा कठिन थियो । जान डेढ घण्टा, आउन दुई घण्टा भन्दा धेरै लाग्दथ्यो तर पनि मलाई विद्यालय नजाउ जस्तो लाग्दैन थियो । खेतिपातीको काम, घर परिवारको काम सबै सकेर विद्यालय जाँदा केहि ढिलाई पनि हुन्थ्यो । सानैदेखि म अलिक जब्बर हुन्थें । कुस्ति खेल्थें । क ख चिनाउने गुरु रुद्रनाथ धिताल हुनुुहुन्थ्यो । उहाँको धेरै कारवाहीमा परेको छु । मेरो सुन्दर भविष्यका लागि उहाँले धेरै सजायँ दिनु हुन्थ्यो । कहिलेकाँहि सिस्नुघारीमा पुगेर सिस्नु ल्याएर त्यहि सुताई दिनु हुन्थ्यो । सिसाकलम औंलामा राखेर च्यापि दिनुहुन्थ्यो । उहाँको कारवाहीले मलाई सुधा¥यो । अरु विद्यालयमा शिक्षकको कारवाहीमा परिनँ । सचेत हुने अवसर त्यहि बेला देखि मिल्यो । अभिभावकको कारवाहीमा पनि धेरै परेको छु । उपप्रधानपञ्च हुनुहुन्थ्यो डम्बरबहादुर तामाङले बंगुर, हाँस पाल्नु हुन्थ्यो । उहाँले चराउन ल्याएको बंगुरलाई जिस्कँदा जिस्कँदै ढुंगाले हानेको म¥यो । त्यो रात घरमा गईनँ । भोलिपल्ट विकल्प थिएन घर गएँ । बुबाले लाठी नै लाठीले हानेर धुरुक्क बनाउनु भएको थियो । मसँगै अर्काे एकजना साथी थिए । उनलाई पनी त्यस्तै भएको रहेछ । गाउँका भद्र भलाद्मी बसेर के फैसला भयो थाहा भएन तर हामीले नराम्ररी कुटाई खाएका थियौं । त्यसपछि त्यस्ता उट्फट्याङ्ग गरेनौं । 
    अभाव महसुस हुन्थ्यो । तर पनि हामीले कहिल्यै लामो हात गरेनौं । साथीहरुको लहैलहैमा पनि चोरी गरिएन । बरु साथीहरु बीच गुच्चा, कुस्ति खेल्ने गर्दथ्यौं । विद्यालय नजिकै लब्सीको बोट थियो । लब्सीको गेडा झार्न प्रयोग गरिएको ढुंगाले एकजना साथीको आँखामा लाग्यो । उहाँले केहि त भन्नु भएन तर साथीको डरले केहि दिन विद्यालय जानै सकिनँ । पछि उहाँलाई ठिक भएछ । सामान्य बन्दै गयो । कुस्तिमा मलाई असाध्यै अग्रभागमा देख्न सकिन्थ्यो । लक्ष्मीप्रसाद शर्मा गुरुले पनि धेरै सम्झाउनु भयो । पाँचखाल गएपछि पनि मलाई गुरुहरुले सम्झाउनु भएको थियो । गृहकार्य पनि गरेको हुँदैन थियो । विद्यालयबाट घर फर्कदा भोकै भए पनि घाँस, दाउरा लिएर फर्कनु पर्दथ्यो । केहि खाजा लगेको भए पिठ््यौलीका रुख मुनी राखेर विद्यालय जान्थें । फर्कदा कि खाजा हराउँथ्यो, कि भिज्थ्यो । सधै एकै नासले खाजा पनि खान पाईदैन थियो । विद्यालय जाने कुरामा सधैं अग्रसर भईयो । विद्यालय पुगे पछि शिक्षकलाई कुनै न कुनै वाहना बनाएर डाँफे खोलामा पौडी खेल्न जाने गरेका थियौं । विद्यालयमा कहिलेकाँहि पत्र लेखेर छाडेर हिड्ने गरेका थियौं । विद्यालयमा अतिरिक्त कृयाकलाप हुन्थे । संगीततर्फ रुची राख्थें । भलिबलतर्फ मेरो चासो थियो । बाल्यकाल अत्यन्तै अविश्मरणीय भए । धेरै क्षणहरुले अहिले पनि सम्झाई रहन्छन् । पातलेखेतबाट पाँचखालसम्म जाँदा आफैमा कठिन थियो । कहिलेकाँहि घरमा आउँदा रातिको ८ बज्थ्यो । विद्यालयबाट फर्किदा सिजन अनुसारको खेतिको काममा सहयोग गर्नुपर्दथ्यो । काम नभएको बेला घाँसपातको ब्यवस्थापन गर्नुपर्दथ्यो । कहिल्यै खाली विद्यालय जाने र आउने गर्न पाईदैन थियो । डाँफे खोलामा बाढी आएर सधै सहज रुपमा आउन जान सकिदैन थियो । एकदिन तीन घण्टासम्म पर्खदाँ पनि खोलो घटेन । जर्बजस्ती तर्न लाग्दा एकजना साथी पछि माओवादीमा लागेर लेकालीका नामले चिनिनु भयो । उहाँ र मलाई खोलाले बगायो । उहाँले मलाई बचाउनु भयो । सायद मलाई लाग्छ उहाँले त्यो दिन मलाई छाडिदिनु भएको भए मेरो जीवन त्यहि बेला अन्त्य हुन्थ्यो । 
    सर्वमंगला माविबाट एसएलसी दिए पनि म फेल भएँ । त्यहाँ छाडेर मैले धुलिखेलको सञ्जीवनी माविमा भर्ना भएँ । ६ महिना डेरा लिएर बसेर अध्ययन गरें र २०४२ सालको अन्तिम तिर पास भएँ । एसएलसी फेल हुँन्छु भन्ने थिईनँ । दुई विषय लाग्यो । एक वर्ष भित्र पर्खेर परीक्षा दिनु भन्दा तत्कालै दिनु राम्रो भन्ने सोचेर भर्ना भएको थिएँ । धुलिखेलमा बेदप्रकाश कोँजु, मिलासकाजी श्रेष्ठ, अमरनाथ यगोल श्रेष्ठ लगायतका शिक्षकहरुले हाम्रा लागि धेरै मेहनत गर्नुभयो । उहाँहरुको मेहनतलाई मैले जसरी पनि एसएलसी पास गर्नु पर्छ भन्ने सोचें र पास हुन सकें  । पाँचखाल र धुलिखेलमा फरक थियो पढाउने शैली । मेहनत गर्ने अवसर पनि थिएन पाँचखालमा । घरबाट जाँदा आउँदा पनि कठिन थियो । धुलिखेलमा बसेर अध्ययन गर्ने कुरामा परिवारको साथ र सहयोग आवश्यक थियो । उहाँहरुको पूर्ण साथ र सहयोगले मलाई सहज बनायो । मैले चाहे अनुसारकै श्रेणीमा एसएलसी पास भएँ । दोश्रो श्रेणीमा एसएलसी पास हुँदा खुशीको सिमा रहेन । एसएलसी दिईरहँँदा उमेर पनि ठुलो भई सकेको थियो । 
    एसएलसी दिएर म काठमाडौंमा फुपुको घरमा बसेको थिएँ । रेडियो नेपालबाट भनेको सुनेर थाहा पाएँ । धेरै पछि गोरखापत्र हेरें । काठमाडौ पहिलो पटक पुगेको थिएँ । ट्रली बस चलेको देख्दा, ठुला ठुला घरहरु देख्दा मलाई अचम्म लाग्दथ्यो । त्यो बेलाका केहि नयाँ अनुभवहरु रहे ।

एसएलसी पछिः एसएलसी पछि मैले पाटन संयुक्त क्याम्पसमा भर्ना भएँ । अहिलेको +२ तहको अध्ययन त्यहि क्याम्पसबाट गरें । नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने क्रममा जेबी टुहुरे लगायतका नेताहरुले प्रगतिशील गीतहरु गाउनु भयो । मुलुक निर्माणका लागि राजनीतिमा लाग्नु पर्ने रहेछ भन्ने लाग्यो । भूमिगत संगठनमा सक्रिय हुनु भएका राजेन्द्र न्यौपाने लगायतलाई मैले क्याम्पसका बारेमा अनुभव सुनाउँथे । उहाँले त्यहि अनुभवका आधारमा हामीलाई संगठनमा आबद्ध गराउने योजना बनाउनु हुँदो रहेछ । केशव बडाल, तेजबहादुर खड्का लगायतका नेताहरु पुग्दा हामीलाई भेटाउने र कुरा गराउने गर्नुहुन्थ्यो । पञ्चायतलाई उपयोग गर्ने भन्ने पार्टीको निर्णय भएको रहेछ । त्यसलाई कसरी प्रयोग गर्ने भन्दा निर्वाचनमा सहभागी भएर आफ्नो उद्देश्य पूरा गर्ने सोचले पार्टीले उम्मेदवार बनायो । जनपक्षीय निर्वाचन २०४३ सालमा वडा अध्यक्ष पदमा मलाई उम्मेदवार बनायो । पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अठोटका साथ मैले निर्वाचनमा भाग लिएँ । विजयी पनि भएँ । गाउँमा हुने खाने ब्यक्तिहरुको दबदबा थियो । बुबा सामाजिक र प्रगतिशील चिन्तन बोक्नु हुन्थ्यो । धनीहरुले गरिबहरुलाई गरेको ब्यवहारले मलाई घोचिरहन्थ्यो । त्यहिबेला देखि मलाई त्यसको विरुद्ध र गरिबहरुका दिन फर्काउने अभियानमा लाग्ने कुराले प्रेरणा दिन्थ्यो । 
    अध्ययनलाई निरन्तरता दिन सकिनँ । विचारले संगठनमा आकर्षण गर्नुपर्छ भन्ने कुरा थियो । क्याम्पसमा हुने स्ववियुको निर्वाचनका फरक खालको प्रतिस्पर्धा थियो । पाटन संयुक्त क्याम्पसमा चुनावी प्रसार प्रसार हुँदा प्रहरी प्रशासनको हर्कत हुन्थ्यो । प्रहरी विरुद्ध आन्दोलन गर्दा प्रहरीले हानेको लाठीले मेरो हात समेत मर्किएको थियो । राजनीतिक प्रतिस्पर्धा क्याम्पसमा निरन्तरता हुन्थ्यो । आईए उत्तिर्ण गरे पछि मेरो यात्रा गाउँ तिर शुरु भयो । गाउँमा मलाई शिक्षक बनाउने प्रस्ताव थियो । मैले जागिरमा रुची देखाईनँ । अवसर भए पनि मैले सामाजिक सेवामा लाग्ने प्रेरणा प्राप्त गरेकाले त्यता नै कृयाशील भएँ । भाई बहिनीहरुको अध्ययनका लागि मैले काठमाडौमा अध्ययन गरिनँ । एकपटक जागिरका लागि जुम्ला पुगेको थिएँ । तीनदिन लगाएर जुम्ला पुग्दा मलाई सहज लागेन । पातलेखेतकै नवराज पाण्डे स्वास्थ्य कार्यालयमा हुनुहुँदो रहेछ । जागिरमा प्रतिस्पर्धा भई सकेको रहेछ । अवसर प्राप्त गर्न सकिनँ । मलाई बस्न पनि लागेन । वातावरण पनि मिलेन । त्यसपछि गाउँमै फर्किए र समाजसेवामा कृयाशिल भएँ । बनेपाको चैतन्य क्याम्पसमा ब्याचलर तहको अध्ययनका लागि भर्ना भए पनि निरन्तरता दिन सकिनँ । 

राजनीतिमा प्रवेशः २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा हाम्रो सहभागिता थियो । चेतनाको हिसाबले हामीलाई राजनीतिका बारेमा धेरै कुरा बुझाउने अभ्यास क्याम्पस गएको बेला भयो । प्रगतिशीलको पक्षमा, जनताको पक्षमा लाग्ने कुरा त्यहिबेला शुरु भयो । मौरीका घारबाट निस्किएका मौरीहरु चर्न निस्किए जस्तो मलाई पनि २०३६ सालको आन्दोलनले केहि प्रभाव पारेको थियो । क्याम्पसका गतिविधिले मलाई संगठित बनाउने काम ग¥यो । 
    समाजसेवा, राजनीतिमा लाग्नु पर्छ र लाग्ने उद्देश्य मेरो सोच थिएन । मेरा राजनीतिक गुरु राजेन्द्र न्यौपानेले वडा अध्यक्ष सहित केहि साथीहरुको टिम तयार गर्न भन्नुभयो । २०४३ सालमा हुने जनपक्षीय निर्वाचनका लागि केहि साथीहरुको टिम तयार गरें । वडा नम्वर ६ का लागि गोपालप्रसाद प्याकुरेल, विष्णु लामा वडा नम्वर ७, रमेश पाठक वडा नम्वर ८ को अध्यक्ष जित्नु भयो । मैले वडा नम्वर ५ को अध्यक्षमा जितें । गाउँ पञ्चायतमा ८÷९ हजार रुपैयाँ मात्रै जाने रहेछ । पञ्चायतको विरुद्ध धावा बोल्नुपर्ने रहेछ भनेर मैले त्यहि अनुसार काम गरें । रामप्रसाद न्यौपाने तीन पटक प्रधानपञ्च बन्नुभयो । पछि हाम्रै पार्टीमा आबद्ध हुनुभयो । उहाँले धेरै सहयोग र साथ दिएर हामीलाई अगाडि बढाउनु भयो । चेतनाको माध्यमबाट प्रहार गरेर संगठन निर्माण गर्ने अभियानमा जोड दिएँ । रामप्रसाद न्यौपानेको प्रेरणाले मलाई अगाडि बढ्ने हौसला प्राप्त ग¥यो । मेरा विरुद्ध धनाढ्य ब्यक्तिको उम्मेदवारी थियो । पछि उहाँले अर्कै ब्यक्तिलाई सार्नु भयो । तर पनि उहाँले उठाएका ब्यक्तिले जित्ने अवस्था थिएन । मेरो सक्रियताले मलाई निरन्तरता दियो । दुई वर्ष हामीले पञ्चायतका विरुद्ध काम ग¥यौं । २०४५ मा जनआन्दोलनको घोषणा भयो । २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै संगठनमा खुलेर अगाडि बढ्यौं । पार्टी र संगठनलाई ध्यान दिएर निरन्तर लागिरहें । 
    वडा कमिटी सदस्य, संयोजक, गाउँ कमिटी सदस्य, सचिव, क्षेत्रिय कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, २ नम्वर क्षेत्रको इन्चार्ज, संगठन विभाग प्रमुख, पार्टी सचिवालय सदस्य लगायतको जिम्मेवारी पुरा गरें । २०४९ सालमा फेरी निर्वाचन भयो । निर्वाचनमा हामीले पराजय ब्यहो¥यौं । गाउँ विकास समितिको अध्यक्षको उम्मेदवार भएको थिएँ । पहिलो कांग्रेस, दोश्रो राप्रपा र तेश्रो नेकपा एमाले बन्यो । हारलाई शिक्षाका रुपमा लिएर संगठनलाई पहिलो बनाउने अभियानमा निरन्तर लागिरहें । कल्क्षेको खानेपानी योजना सम्पन्न, ठुलीटार क्षेत्रमा खानेपानी लगायतका क्लवहरुको स्थापना, सांस्कृतिक कार्यक्रम, प्रगतिशील सांगितिक कार्यक्रमहरु आयोजना गरियो । हार पछि संगठनमा उत्प्रेरणाका साथ लागें । २०५४ सालमा फेरी अध्यक्षको उम्मेदवार भएँ । त्यहि कामले हामी पहिलो भयौं । कांग्रेस तेश्रो भयो । २०७४ सालको निर्वाचनमा पनि हामी पहिलो भयौं । राप्रपा त्यहि बेला देखि हाम्रो पार्टीमा समाहित भयो । साथीहरु हाम्रो पार्टीमा प्रवेश गर्नुभयो । हामी पहिलो स्थानमा रहेका छौं । अहिले पनि हाम्रो पार्टीको संगठन निरन्तर कृयाशील छ । 
    २०५४ सालमा हामीले केहि महत्वपूर्ण कार्य शुरु ग¥यौं । जसका कारण पातलेखेत अहिले समृद्ध बनिरहेको छ । २०४३ साल देखि आजसम्म म निरन्तर पातलेखेतको समृद्ध योजनामा कृयाशिल भएको छु । निर्वाचनमा विजय हासिल गरिसके पछि पातलेखेतको भिजन बनाएँ । फस्कोटमा रहेका १४ घरमा बाहेक बत्ति थिएन । पानी थिएन । सडक थिएन । गरिबी धेरै थियो । कृषिमा विषादी रहित उत्पादनका लागि गोविन्द शर्माले तालिम केन्द्र्र संचालन गर्नु भएको थियो । त्यो आज पनि निरन्तर चलिरहेको छ । गाउँ विकास समितिमा ५० हजार रुपैयाँ मात्रै बजेट थियो । गाविसलाई कस्तो बनाउने ? के के गर्ने ? भन्ने विषयमा सबै पक्षको सल्लाह र सुझावका लागि हामीले ३ दिने कार्यशाला आयोजना ग¥यौं । ६८ जनाको सहभागीता थियो । उहाँले सहजीकरण गर्नुभयो । सहभागीहरुले दिनु भएको सुझाव, समस्या, सम्भावनाले हामीलाई हौसला मिल्यो । शिक्षा, सडक, बत्ति, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गर्ने योजना बन्यो । साझेदारी र सहयोगका श्रोतहरु खुल्दै गए । विपी राजमार्गको प्रवेश भएको थियो । भित्री सडकहरुको निर्माण, आय आर्जनका श्रोतहरु पहिचान गर्ने, छिमेकी गाविसहरुको विकासको अवस्थाका बारेमा समेत अध्ययन गरिरहेको हुन्थें । शिक्षामा लब ग्रीन नेपालको सहकार्यता शुरु भयो । गोरेकाजी, अमिरा दलिको सक्रिय सहभागिता र सहयोग रह्यो । जिल्ला विकास समितिको सहयोगमा डोजर उपलब्ध भयो र सडक खनियो । सरकार र स्थानीय सहभागितामा सडक खन्ने काम शुरु भयो । बत्ति बाल्ने काम पनि सम्पन्न भयो । शौचालय निर्माण, बायो ग्याँस निर्माण, स्वास्थ्य चौकीहरु निर्माण भए । सहकारी स्थापनामा समुह परिचालन, बचत संकलन शुरु भयो । चेतना केन्द्रका रामहरी केसीले बचत गराउने अभियान शुरु गराउनु भयो । बचत बढे पछि सहकारी बन्यो । सामुदायिक भवन पनि बन्यो । जनप्रतिनिधि हर दिन जनताका पक्षमा लागिरहँदा जनताका धेरै काम गर्न सकिन्छ भन्ने विश्वास मलाई लागेको छ । 

प्रेम र विवाहः विद्यालय जीवनमा प्रेम परेको थियो । प्रेम प्रस्तावलाई मैले स्विकारेको थिएँ । तर त्यो अहिलेको जस्तो प्रेम थिएन । एकोहोरो मन पराउँदा पनि फरक ढंगबाट हेरिन्थ्यो । प्रेमलाई समाजले पनि राम्रो मान्दैन थियो । २०४२ सालमा परिवारकै चाहना अनुसार मागि विवाह भयो । विद्यालय जीवनको प्रेमका कारण परिवारमा केहि असहजता आउने कुरा भएन । परिवारकै सहयोगमा मैले आफ्नो राजनीतिक र ब्यक्तिगत जीवनलाई सफल बनाएँ । बुबा आमा, श्रीमती सबैको सक्रिय सहयोग र सहभागिता रह्यो । परिवारको ब्यवस्थापन पनि मैले गरिरहेको थिएँ । 
    हामीबाट चार सन्तानको जन्म भयो । दुई छोरा र दुई छोरी । एउटा छोरा अध्ययनका लागि बाहिर छन् । एक छोरीको विवाह भईसकेको छ । एक छोरी र एक छोरी अध्ययन गरिरहेका छन् । परिवार राम्रै छ । सुखी परिवार । समृद्ध परिवारका रुपमा मैले लिएको छु । 

सामुदायिक होमस्टेमा प्रवेशः जनप्रतिनिधि हुँदा खेरी नै मैले शिक्षा क्षेत्रको सहयोगका लागि लबग्रीन नेपालसँग सहकार्य शुरु गरेको थिएँ । विद्यालयहरुको निर्माणमा अध्यक्ष गोरेकाजी संगतले मलाई विदेशी पाहुनाहरुका लागि होमस्टेको सुझाव दिनुभयो । उहाँकै सल्लाहमा हामीले हाम्रो क्षेत्रबाट देखिने हिमाल, सुर्याेदय लगायतका दृश्यहरुको बारेमा अलिक बढी जानकारी राख्यौं । १७ जनाको सहयोगमा २०६८ सालमा हामीले त्यो कार्यक्रम शुरुवात ग¥यौं । २४ जना जापानिज ल्याएर हाम्रो कार्यक्रम उहाँबाटै शुरु भयो । २०११ मा सरकारले नेपाल भ्रमण वर्ष मनाउन शुरु ग¥यो । त्यहिबेला सरकारले एउटा कानुन बनायो । लाईन एजेन्सी तारा गाउँ विकास समिति थियो । ६८ वटा जति होमस्टे तयार भएको थियो । पोखरामा भएको भेलाले तदर्थ समिति गठन ग¥यौं । कालिमाटीमा भएको भेलाले २०७२ मा भिम केसीको अध्यक्षतामा समिति बन्यो । २०७५ माघमा देशभर ४ सय होमस्टे बनिसकेका थिए । देशभरका होमस्टेहरुलाई भेला गराएर त्यहिबाट राष्ट्रिय अध्यक्ष भएँ । अहिले प्रदेश र स्थानीय तह अनुसार पनि समितिहरु बनाईरहेका छौं । देशका ग्रामिण भेगमा रहेका सबै होमस्टेहरुलाई संस्थागत विकास र आय आर्जनका रुपमा अगाडी बढाउन हामी कृयाशिल भएका छौं । 
    नेपाल भ्रमण वर्षमा विदेशी पाहुनाहरुलाई २० प्रतिशत निःशुल्क दिने घोषणा गरेका छौं । विदेशमा रहने नेपालीहरुले एकजना विदेशीलाई नेपाल पठाउन अनुरोध गरेका छौं । कर्णाली प्रदेशमा यसको विस्तार कम भएको छ । आय आर्जन नभएका तर ब्यवसाय गर्न मन भएकाहरुलाई कृषि विकास बैंक मार्फत सहुलियत ऋणको उपलब्ध गराएका छौं । केहि परियोजनासँग समन्वय गरेर रैथाने बालीहरुको संरक्षण र प्रर्बद्धनमा कृयाशिल भएका छौं । सबै प्रदेशमा कमिटीहरु गठन गरेर अगाडि सारिरहेका छौं । बाँकी जीवन सांगठनिक कार्यमा सक्रिय हुनेछु । यहि पेशा ब्यवसाय पनि निरन्तरता दिने छु । 

जीवनः संघर्ष हो । 

प्रेमः दुई आत्माको मिलन । 

विवाहः जीवन धान्नका लागि गर्नुपर्ने कर्म । 

शारिरीक सम्बन्धः मनोरञ्जन सहित जीवन जिउने माध्यम ।