2020 November 30/ 10:59: 55am

जयराम तिमल्सिना
प्रोपाईटर
बेथान्चोक लज एण्ड रेष्टुरेन्ट, ढुंखर्क, बेथान्चोक

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः साविक ढुंखर्क गाविस वडा नम्वर ८ आहाले हालको बेथान्चोक गाउँपालिका वडा नम्वर २ मा बुबा शेखरनाथ तिमल्सिना र आमा नन्दमाई तिमल्सिनाको कोखबाट मेरो जन्म भएको थियो । बाल्यकाल कष्टकर थियो । गरिबी थियो । परिवारको म जेठो सन्तान थिएँ । २०३४ साल माघ ५ गते मंगलबार थियो । हामी जन्मेको समय भाग्यमानी थियो । आहाले भन्दा पारिपट्टी बेथान्चोक गाउँपालिका वडा नम्वर ३ साविक ढुंखर्क गाविस वडा नम्वर १ ठुलाचौरमा हामी बसाई सरेका थियौं । त्यहि नजिकै रहेको विद्यालयमा हामीले अध्ययन गर्ने अवसर पायौं । घर नजिकै विद्यालय पनि थियो र विद्यालय पठाउनु पर्छ भन्ने सोच अभिभावकमा थियो । समुदाय सचेत थियो । सबै बालबालिकाहरु विद्यालय पठाउनु पर्छ भन्ने मान्यता थियो । 
    हामीभन्दा अलिक पाको उमेरका दाईहरु घाँस दाउरा गरेर समय विताउनु हुन्थ्यो । मेरो बुबाको तीन दाजुभाई हुनुुहुन्थ्यो । बुबाहरु अलग हुने क्रममा हाम्रो बुबा ठुलाचौरमा बसाई सर्नु भएको थियो । बैशाखमा बसाई सरेका थियौं । असार साउनमा परेको वर्षात्ले घर, गोठ बग्यो । हामी थिएनौं र बाँच्यौं । बस्तुभाउ सबै पुरिए । त्यो अविष्मरणीय क्षण थियो । त्यतिबेला विद्यालय जाने उमेर अलिक ठुलो हुन्थ्यो । विद्यालय जाँदा आउँदा हामी केहि उट्फट्याङ्ग गर्दथ्यौं । समय अनुसार हुने फलफुल पनि खान्थ्यौं । विद्यालय नियमित जाने गरेका थियौं । अतिरिक्त कृयाकलाप अन्र्तगत हाजिरीजवाफमा भाग लिन्थें । प्रत्येक शुक्रबार त्यहि कार्यक्रममा भाग लिएर प्रथम हुने गरेको थिएँ । यस्ता कार्यक्रमले मलाई हौसला बढाउँथ्यो । अहिलेको जस्तो बालमैत्री शिक्षा त्यतिबेला थिएन । घोक्नुपर्ने थियो । सामान्य गल्ति हुँदा पनि शिक्षकहरुले कडा कारवाही गर्नु हुन्थ्यो । शिक्षकहरुले दिएको गृहकार्य गर्न नसक्दा कक्षा कोठा भित्रै कुखुरा बनेर बस्नु पर्ने, लाठीले कुटाई खानु पर्ने अवस्था हुन्थ्यो । बेथान्चोक प्राथमिक विद्यालयबाट पार्वती माध्यमिक विद्यालयमा गएका थियौं । त्यतिबेला पूर्व ब्यवसायीक शिक्षा पढाउने गरिएको थियो । पाठ्यक्रम अनुसार माटाका भाँडाहरु, तराजु लगायतका सामाग्री बनाउने गर्दथ्यौं । एक पटक तराजु बनाउने क्रममा ढुंगाको ढक बनायौं । बाँसको तराजु, आल्मोनियमको थाललाई प्वाल पारेर डोरी राखिएको थियो । पूर्व ब्यवसायिक शिक्षा पढाउने शिक्षकले त्यो कार्यक्रम सकेपछि ढुंगा फ्याँकिदिनु भयो । मैले त्यत्रो मेहनत गरेर फालेको ढुंगा पछि पनि काम लाग्छ भन्ने उद्देश्यले म लिन निस्किएँ । शिक्षकलाई सोध्न विर्सेछु । शिक्षकले नमज्जाले शरीरका विभिन्न अंगहरुमा कुट्नु भयो । त्यो सजायँले भावनात्मक रुपमा प्रभाव पा¥यो । गल्ति नगर्दा नगर्दै शिक्षकहरुबाट त्यतिबेला विद्यार्थीले कुटाई खानु सामान्य थियो । 
    अर्काे एउटा घटना भयो । नेपाली विषयमा ह्रस्व दीर्घ मिलेनछ । पत्र लेख्नु पर्ने थियो । सबैका सामु त्यो कुरा नमिले सुझाव दिनुपर्ने थियो । तर शिक्षकले हेपेर हामीलाई बेईज्जत हुने गरी कारवाही गर्नुभयो । हामी विद्यालय जाने मात्रै होईन घर परिवारले अह्राएका सबै कार्यहरु गर्नु पर्दथ्यो । विद्यालयमा अतिरिक्त कृयाकलाप गर्ने उद्देश्यले एउटा समुह बनाएका थियौं । त्यो समूहले पनि धेरै कृयाकलापहरु हुन्थे । अभिभावकको कारवाहीमा पनि परेको छु । आमा असाध्यै कडा हुनुहुन्थ्यो । एकदिन साथीभाईसँग खेल्दै थिएँ । नराम्रो शब्द रहेछ । मैले बोल्न पुगेछु । आमाले नमज्जाले कुट्नु भयो । त्यो बेला देखि मैले कहिल्यै त्यस्ता शब्दहरु बोलिनँ । केटाकेटीहरुलाई आदरपूवर्क तिमी भन्छु भने ठुला मान्छेहरुलाई हजुर तपाई भन्छु । त्यो जीवनका लागि सबैभन्दा ठुलो प्रभाव पार्ने घटना भयो । हामी विद्यालय जानु अघि घरमा हुने घरायसी कामहरु हुन्थें । विहान घाँस काट्ने, गाई बस्तुभाउको भकारो सोहोर्ने र अन्य कामहरु गर्दथ्यौं । बेथान्चोक प्राविमा कक्षा ५ मा अध्ययन गर्दा संस्था खोलेका थियौं । गुरु रामप्रसाद ज्ञवालीले नाटक देखाउनु हुन्थ्यो । हामी नाटक प्रर्दशन गर्दथ्यौं । रचनात्मक कृयाकलापमा संलग्न भएको भन्दै अभिभावकहरुले हौसला दिनु भएको थियो । खेतिपातीका काममा हाम्रो सक्रिय सहभागिता थियो । कक्षा ८ देखि नै मैले बुबा आमाको संरक्षणमा आफ्नै कमाईमा अध्ययन गर्दथें । करेसाबारीमा सिजन अनुसारका तरकारी लगाउँथे । मेलापात जान्थें । तरकारी विक्री गरेको पैसा आउँथ्यो । ज्याला गरेको पैसा आउँथ्यो । एकपटक विद्यालय निर्माणका लागि साथीहरुको समुहले गिट्टी कुटेको थियो । त्यहाँबाट आर्जन भएको पैसाबाट हामीले सामान्य ज्ञानका किताबहरु किनेका थियौं । कुमार तिमल्सिना, शिव तिमल्सिना, मोहन तिमल्सिना, माधव तिमल्सिना लगायतको समुह थियो । कविता लेख्ने, सामान्य ज्ञान अध्ययन गरेर फरक ज्ञान आर्जन गर्ने कुरामा हामी सक्रिय थियौं । बाल्यकालमा केहि उट्फट्याङ्ग हुन्थे । विद्यालयमा एकपटक भाईलाई गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्नु भएको रहेछ । भाईलाई सजाँय दिएको विरुद्धमा शिक्षक विरुद्ध नाराबाजी ग¥यौं । भोलिपल्ट हामीलाई पनि सजायँ भयो । गाउँमा कहिलेकाँहि चौथीको अवसरमा काँक्रा चोर्ने काम गरियो । साथीहरुको लहैलहैमा बुबाको खल्तिमा रहेको पैसा चोरेर भागेको छु । 
    कक्षा ८ अध्ययन गर्दै थियौं । हामीलाई पनि काठमाडौ गए काम पाईन्छ, पैसा पनि कमाईन्छ भन्ने जानकारी गराईयो  । एकसय रुपैयाँ चोरेर काठमाडौं गएका थियौं । काठमाडौंमा पुग्दा सबै नयाँ थियो । केटाकेटी नै थियौं हामी । केहि साथीहरुको समूह नै थियो । बल्खुमा एउटा प्लाष्टिक कारखानामा काम पायौं । केहि समय त्यहि बित्यो । कलर ल्याबहरुमा चाहिने प्लाष्टिक उत्पादन गर्ने रहेछ त्यो कारखाना । तीन वर्ष उतै बस्यौं । त्यसपछि मनमा अनेक कुरा उठ्यो । घरको याद आउँथ्यो । दशैं तिहारमा पनि हामी घरमा आएनौं । बल्खुका चउरहरुमा खेलेर समय विताउँथ्यौं । गाउँघरका साथीभाई, घरका बस्तु भाउ, खेतिपातीले सताउन थाल्यो । अरुको काम गरेर बस्नु भन्दा आफै केहि गर्नुपर्छ भन्ने उद्देश्यले घर फर्किएँ । अरु साथीहरु उमेर धेरै भएकाले लाज लाग्ने भन्दै विद्यालय जान मान्नु भएन । म पुनः विद्यालय भर्ना भएँ । बुबाहरुले धेरै स्थानमा खोजी गर्नु भएको थियो । उहाँहरुले खोजी गरे पनि हामीलाई कसैले भेट्टाउने अवस्था थिएन । विद्यालयमा भर्ना भए पछि पहिलाको भन्दा अध्ययनमा केहि सुधार भयो । मेहनत धेरै भयो । घरमा पनि ब्यवहारीक बन्न थालियो । बुबा आमाको माया ममता असाध्यै धेरै रह्यो । तीन वर्षको अवधिको अभाव र समस्या, हाम्रो कारण भोग्नु परेको पीडा बताउँदा भावुक भएँ । 
    २०५४ सालमा एसएलसी दिएँ । गणित विषयमा मलाई कठिनाई हुन्थ्यो । तर पनि अप्सनल विषय लिएर अध्ययन गरें । रातको १ बजेसम्म मैले प्राक्टिस गर्ने गरेको थिएँ । जुन विषयमा आउँदैन भनेर पछि हटिन्छ त्यो विषयमा कमजोर हुने रहेछ । सकिन्छ भन्ने सोचेर काम गरियो भने जुन कुरामा पनि सहजै सफलता प्राप्त हुने रहेछ भन्ने उदाहरण बन्यो । नियमित पास हुन भाग्यले साथ दिएन । अंग्रेजी विषयको अध्ययन राम्रो भए पनि परीक्षाको समयमा विरामी हुँदा खासै लेख्न सकिनँ । त्यहि विषयमा फेल भएँ । त्यहि समय देखि एक विषय लाग्दा पूरक दिन पाउने ब्यवस्था गरियो । पूरक दिएर अंग्रेजी विषयमा पास भएँ । त्यसपछि थप अध्ययनको बाटो खुल्यो । त्यतिबेला एसएलसी पास गर्नु ठुलो कुरा थियो । मैले पास गरेर भविष्यका अन्य सम्भावनाहरु खुल्यो । विद्यालयमा अध्ययन गर्दा मैले रेडक्रसको अध्यक्ष भएर सामाजिक काम गरेको थिएँ । प्राकृतिक विपत्तीमा सेवा गर्ने अवसर पाएँ । 

एसएलसी पछिः पूरक दिएर एसएलसी पास भएपछि गाउँमै निजी विद्यालय खोल्ने योजना बन्यो । त्यो योजनामा मेरो सहभागिता रह्यो । ४÷५ जना शिक्षकको समूहले बालबालिकाहरुलाई मेहनतका साथ पढायौं । बालबालिकाहरुलाई अंग्रेजी माध्यमबाट पढाउने हाम्रो उद्देश्य थियो । २÷३ वर्षपछि त्यो विद्यालय बन्द भयो । ठुलाचौरको नेपालडाँडामा थियो विद्यालय । त्यो विद्यालयमा भर्ना भएका विद्यार्थीहरु विभिन्न क्षेत्रमा कृयाशिल हुनुहुन्छ । त्यो विद्यालयमा एक वर्ष काम गरेको थिएँ । रामबहादुर थापा शिक्षकले उहाँका साथीहरु मार्फत भक्तपुरमा खोलेको विद्यालयमा जानलाई अनुरोध गर्नुभयो । त्यो मेहनत मैले भक्तपुरमा प्रयोग गर्ने योजना बनाएँ । थप अध्ययन गर्ने मेरो चाहना थियो । भक्तपुरमा डेमोस विद्यालय स्थापना भयो । विद्यालय स्थापना गरे देखि लगातार १० वर्ष सेवा गरें । भक्तपुरको सरस्वती मावि, नवदुर्गा मल्टिपल क्याम्पसमा ब्यवस्थापन संकायमा भर्ना भएर पास गरें । भक्तपुर बहुमुखी क्याम्पसमा ब्याचलर तहको अध्ययन गरे । अतिरिक्त कृयाकलापको जिम्मेवारी मलाई थियो । उपत्यका स्तरको हाजिरिजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थियौं । मैले धेरै सिक्ने अवसर पाएँ । विद्यालयको पनि उन्नती प्रगति भयो । मेरो स्वभाव फरक खालको थियो । जुन काममा लाग्दा पनि निरन्तर लाग्ने र त्यसलाई सफल बनाउने भन्ने थियो । पछिल्लो समय निजी विद्यालय खुल्दै गए । सामुदायिक विद्यालयहरुको अवस्था खस्कँदै गयो । मलाई सामुदायिक भन्दा निजी विद्यालयमै गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने लागिरह्यो । आर्थिक रुपले सबल हुने भए पनि अरु कुरामा निजी विद्यालय राम्रो थियो । 
    मैले नेपाली विषय पढाउँथें । शुद्धाशुद्धी नहुँदा गुरुबाट म विद्यालय तहमा लज्जित भएको थिएँ । त्यो घटना स्मरण गर्दै बालबालिकाहरुलाई सरल तरिकाले नेपाली विषय पढाएँ । नेवार र तामाङ समुदायका बालबालिकाहरुको संलग्नता थियो । उनिहरुको भाषामा पनि सुधार गराउन सफल भएँ । सेवा सुविधाका हिसाबले सन्तुष्टि हुँदासम्म कार्य गरिरहें । पैसा कमाउने भन्दा पनि अध्ययन गर्ने उद्देश्यले मैले त्यहाँ निरन्तरता दिएको थिएँ । कमाउने भन्दा पनि जीवन निर्वाह थियो । धेरै पारिश्रमिक थिएन । मैले १ हजार ९ सयबाट काम गर्न शुरु गरेको थिएँ । त्यसले नपुग्दा ट्युसन पढाएर खर्च जुटाउने गरेको थिएँ । १० वर्षमा मेरो कमाई ८ हजार पुगेको थियो । पछिल्ला केहि वर्ष मैले छात्रावासको जिम्मेवारी लिएको थिएँ । बालबालिकाहरुलाई पढाउँदा आत्मसन्तुष्टि थियो । खान, बस्न सुविधा भएपछि कमाएको केहि पैसा जोगिएको थियो । एक दशक पछि मलाई त्यो संस्थाप्रति भन्दा पनि पेशा ब्यवसायबाट अर्काे कुनै काम गरौं भन्ने लाग्न थाल्यो । निर्वाहमुखी जीवन भन्दा फरक केहि गरांै भन्ने सोच पनि आयो । सेवामूलक, कृषि कर्म र शिक्षण पेशा आकर्षक मानिन्थ्यो । संचालक भएर विद्यालयलाई अगाडि बढाउन पैसा थिएन । विद्यालय र शिक्षक, विद्यार्थी र शिक्षकहरु बीचको सुविधा, भविष्यका बारेमा सोचौ भन्ने कुरामा संचालकहरुसँग कुरा मिलेन । लगानीकर्ताले फाईदा र नाफाको कुरा हेर्दा रहेछन् । त्यहि विषयमा भएको मतभेदले मैले विद्यालय छाडें । 

बैदेशिक रोजगार र ब्यवसायः विद्यालयमा पढाउँदै थिएँ । मलाई एउटा अवसर आयो । सिटिईभिटीबाट एउटा तालिम प्रदान गरिएको थियो । खाने बस्ने सुविधा सहितको एक महिने तालिम लिएँ । सुरक्षा कसरी गर्न सकिन्छ ? बैदेशिक रोजगारमा जाने ब्यक्तिले कुन कुन कुरामा ध्यान दिनु पर्छ ? त्यस्ता विषयहरु धेरै थिए । ५० भन्दा धेरै ब्यक्तिहरु थिए । गुरुहरुको म सहयोगी बनें । गुरुहरु खुशी हुनुभयो । म उत्कृष्ट भएँ । तालिम सिकेको केहि दिनमै बैदेशिक रोजगारका लागि मान्छे मागियो । मैले आवेदन दिएँ । म पास भएँ । पहिलो नम्वरमा मेरो नाम निस्कियो । स्वास्थ्य परिक्षणमा मलाई दुःख दिने काम गरियो । छातिमा दाग रहेछ भनेर पटक पटक समस्या देखायो । आर्थिक शोषण गर्ने काम भयो । ठगी भयो । गाउँमा सोझासिधा ब्यक्तिहरुलाई कसरी बैदेशिक रोजगारका नाममा ठग्न सक्छन् भन्ने कुराको उदाहरण म आफै बनें । मलाई पनि पैसाको बार्गेनिङ्ग गरियो । म्यानपावरका संचालकले मलाई सहजीकरण गर्दै युएई जाने अवसर प्रदान गर्नु भयो । १ लाख ५० हजार रुपैयाँ तिरेर म विदेश गएँ । त्यो मेरो जीवनको अर्काे भोगाई थियो । 
    विदेशमा रहँदा फरक अनुभव भयो । विदेश जानु हुँदैन भन्ने मेरो सोच थियो । पहिले अरुले विदेशबाट पठाएका पत्रहरु पढेर सुनाउँथे । भाई बहिनीहरुलाई त्यहि पत्र पढाएर सुनाउँथे । विदेश नगई स्वदेशमा केहि गर्नुपर्छ भन्ने सोचका बारेमा जानकारी गराउँथें । त्यहि सोचका विपरीत म पनि विदेश जान बाध्य भएको थिएँ । विदेशमा धेरै कुरा सिक्ने अवसर पाएँ । भाषाका केहि समस्या थिए । धेरै देशका मानिसहरुसँग संगत गर्नु पर्दथ्यो । शुरुमा असहज भए पनि विस्तारै बानी पर्दै गयो । नेपालको प्रतिनिधित्व गर्दै विदेश गएको थिएँ । नेपाल र नेपालीको इज्जत कसरी बढाउने भन्ने मात्रै योजना थियो । इमान्दार र कर्मशिल मान्छेहरु छन् भन्ने कुरा चिनाउने अवसर मिल्यो । ९ वर्ष विदेशमा रहें । त्यहाँ सिकेका धेरै कुराको अनुभवले नेपालमा आएर ब्यवसाय शुरु गरें । कमाईको हिसाबले पनि राम्रै थियो । शारिरीक श्रम थिएन । समय समयमा घर आउने जाने गरें । भुकम्पको समयमा पनि एक महिना जति भग्नावशेष हटाउँदै सहयोग ग¥यौं । हामी मौरी हौ । फुलको रस चुस्न टाढा पुगेका छौं । मह आफ्नै देशमा गएर बनाउने हो भन्ने उद्देश्यले घर फर्किएँ । शुरुमा मासिक ६० हजार जति कमाई हुन्थ्यो । पछि मासिक १ लाख भन्दा धेरै कमाई हुन थालेको थियो । ९ वर्षको बीचमा मैले ६०÷७० लाख रुपैयाँ कमाएँ । 
    नेपाल फर्किए पछि के गर्ने भन्ने योजनामा थिएँ । नेपालमा पर्यटन वर्षको तयारी शुरु भएको थियो । बेथान्चोक गाउँपालिकाले पनि पर्यटन वर्षको तयारी स्वरुप पर्यटकहरुको आगमन बृद्धि गर्ने योजना बनाएको सुनें । बेथान्चोक नारायणस्थान आफैमा धार्मिक पर्यटकीय क्षेत्र हो । महाभारत श्रृखंलाको अग्लो स्थान बेथान्चोक जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन भईरहेको थियो । त्यसलाई अझै प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने सोच बनिरहेको थियो । विदेश जानुअघि म स्थानीय सामुदायिक बनको अध्यक्ष थिएँ । सडक निर्माण तथा सामुदायिक बनको संरक्षणमा मेरो सक्रियता रहिरह्यो । बाटो बनाउँदा काटिएका काठहरु विक्री गर्दा पनि ऋण तिर्न सकेन । अध्यक्षबाट म हटें । विदेश रहँदा उहाँहरुले वनलाई ब्यवस्थित गर्नु भयो । त्यो वनबाट आम्दानी भएको रकमले भवन बनाउनु भयो । भवन बन्यो तर प्रयोगमा आउन सकेको थिएन । समितिमा सल्लाह भयो । मैले ब्यवसायिक प्रयोजन सहितको प्रस्ताव पेश गरें । पर्यटकहरुको सुविधाका लागि रेष्टूरेन्ट बनाउने योजना बनाएँ । पर्यटकहरुको सुविधा र पर्यटन क्षेत्रको विकासका लागि बेथान्चोक लज एण्ड रेस्टुरेन्ट खोलें । 
    नाफामुखी भन्दा सेवामुखी उदेश्यले उक्त लज एण्ड रेस्टुरेन्ट खोलेका हौं । बेथान्चोक मन्दिर जाने ब्यक्तिहरुका लागि सहज रुपमा सहजीकरण गर्छाै । पथप्रर्दशक आवश्यक भए त्यसको ब्यवस्था गर्छाै । बासको ब्यवस्था गर्छाैं । स्थानीय क्षेत्रमै उत्पादन हुने मकैको ढिँडो र सिस्नु, हिमाली धानको चामल, स्थानीय तरकारी खुवाउने ब्यवस्था मिलाएका छौं । पर्यटक तथा पैदलयात्रीहरुलाई परेका हरेक समस्याहरुको समाधानमा हामी सक्रिय हुनेछौं । कृषि र पर्यटन जोडिएको छ । जीवनभर मेरो यहि पेशा रहनेछ । पर्यटनको माध्यमबाट पनि देशलाई समृद्ध बनाउन सकिन्छ । रोजगारीको सिर्जना गर्न सकिने यो महत्वपूर्ण पेशा हो । म मात्रै होईन मेरा सन्तान पनि यहि पेशामा सक्रिय बनाउन प्रयत्न रहनेछु । 

प्रेम र विवाहः मैले प्रकृतिसँग प्रेम गरें । प्रकृति मलाई मनपर्छ । सामाजिक कार्यमा पनि रुची भएकाले सबैमा सकारात्मक कुराको प्रेरणा दिनु पर्छ भन्ने लाग्थ्यो । प्रेममा अल्झँदा उत्पादनमुखी कार्यमा लाग्न सकिदैन भन्ने थियो । प्रेम विवाह पछि गरें । २०५९ साल माघ १५ गते मागि विवाह भयो । हामीबाट दुई सन्तान छोरी जन्मिएका छन् । उनिहरु अतिरिक्त कृयाकलाप गायन क्षेत्रमा रुची राख्छन् । उनिहरु अध्ययन गरिरहेका छन् । घरमा आएका पाहुनाहरुलाई संगीत सुनाएर मोहित बनाउने काममा उनिहरुलाई तालिम प्रदान गरिरहेको छु । ब्यवसायसँग पनि उनिहरु जोडिएका छन् । होमस्टेकै शैलीमा मैले लज तथा रेष्टुरेन्ट चलाउने योजनाले अगाडी बढिरहेको छु । मेरो कार्यमा घर परिवारका सबै सदस्यहरुले साथ दिईरहेका छन् । 

राजनीतिः विद्यालय जीवनबाट मैले राजनीति शुरु गरें । पार्वती माविमा हुँदा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बनें । तीन वर्ष अध्यक्ष भएँ । पछि क्षेत्रिय कमिटीमा रहेर काम गरें । विद्यालयमा काम गर्न थाले पछि राजनीति गरिनँ । अहिले पार्टीका सदस्य छु । कृयाशिल राजनीतिका लागि पदमा छैन । 

जीवनः संघर्ष । 

प्रेमः आत्मीयता । 

विवाहः जीवन अगाडि बढाउने माध्यम । 

शारिरीक सम्वन्धः प्राकृतिक आवश्यकता । 

अन्त्यमाः युवाहरु विदेश जानै हुँदैन भन्ने होईन विदेशमा सिकेको सिप र भोगाईलाई आफ्नै क्षेत्रमा प्रयोग गर्नुपर्छ । युवाहरु आत्मनिर्भर बन्नुपर्छ । आत्मनिर्भरबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ ।