2020 December 05/ 04:40: 47pm

अञ्जु रञ्जित केसी
संयोजक, नेपाल महिला संघ, पनौती नगर समिति
बाग्मती प्रदेश सदस्य, नेपाली कांग्रेस

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०३५ सालमा साविक बनेपा नगरपालिका वडा नम्वर ६ को वाङ्गख्यटोलमा बुबा मच्छेनारायण रञ्जितकारको पाँचौ छोरीको रुपमा जन्म भएको थियो । बुबाका १२ सन्तान हुनुुहुन्छ । ६ छोरी र ६ छोरा । अहिले हामी १० जना छौं । मलाई छोरीको पाँचौ भएकाले मेरो नाम पञ्चदेवी राखिएको थियो । म भन्दा पछि एक बहिनीको जन्म भएको थियो । धेरै सन्तान हुँदा अभिभावकहरुलाई दुःख स्वभाविक थियो । दाईहरुले अध्ययनको अवसर पाउनु भएको थिएन । म भन्दा अघिका साथीहरु विद्यालय जान्थे । मलाई विद्यालय पठाईएको थिएन । मैले बुबालाई विद्यालय जाने कुरा बताउन थालें । सामान्य अक्षर चिन्ने काम चैतन्य माध्यमिक माध्यमिक विद्यालयबाट शुरु भयो । कक्षा १० सम्मको अध्ययन त्यहिबाट भयो । शुरुमा आधा कक्षा भन्नेमा पढाई हुन्थ्यो । आधा कक्षाबाट पास भएर कक्षा १ मा भर्ना भएको थिएँ । म भन्दा अघिका दिदीहरु कक्षा २ मा फेल भएर बस्नु भएको रहेछ । आधा कक्षामा ६ महिना पढेर पास भए पछि एकै पटक कक्षा २ मा अध्ययन गर्न थालें । दाईले पनि कक्षा २ को किताब किनेर ल्याई दिनु भएको थियो । निरन्तर अध्ययन भईरह्यो । मध्यमखालको पढाई थियो । एसएलसीमा फेल भएँ । त्यो भन्दा बाहेक कुनै कक्षामा फेल भइनँ । टप टेन भित्रको विद्यार्थी थिएँ म । 
    शिक्षकहरु कडा हुनुहुन्थ्यो । एकपटक कारवाही स्वरुप शिक्षकहरुले इट्टा बोकेर एक घण्टा उभ्याउनु भयो । छिमेकी घरको दिदीको विवाह थियो । हामी सबै विवाह हेर्न गएका थियौं । विवाह हेरेर विद्यालय नआएको भनेर कारवाही गर्नु भएको थियो । घरमा मैले कहिल्यै कारवाही भोग्नु परेन । बुबा आमासँगै मलाई दाई र दिदीहरुले हुर्काउनु भयो । बाल्यकालमा धेरै उटफट्याङ्ग हुन्थ्यो । खानामा ढिँडो र रोटी हुन्थ्यो । मलाई र भाई बहिनीहरुलाई ढिँडोको माम्री मन पर्दथ्यो । माम्री कोट्याएर भुटेर चिउरा जस्तै खाने गरेका थियौं । दाबिलाले माम्री निकाल्दा कराई नै प्वाल प¥यो । पछि सम्म दाईले मलाई भन्नु हुन्थ्यो दाबिलो पञ्चदेवीलाई नदिउ है यसले त कराई नै प्वाल पार्छे । कहिल्यै विर्सन्नँ त्यो कुरा । केहि खेलहरु पनि थिए । लुकिडुम खेल्ने गरेका थियौं । एकजना साथीलाई डुम बनाईयो भने एक महिनासम्म त्यहि रहन्थ्यो । त्यो बाहेक हामी दिदीहरुसँग स्विटर बुन्थ्यौं । घरका अन्य कामहरु पनि गर्दथ्यौं । विद्यालयमा हुने केहि अतिरिक्त कृयाकलापहरुमा भाग लिन्थ्यौं । विद्यालय र घर नजिकै भएकाले कहिल्यै कक्षा छाड्ने कुरा भएन । अभिभावकको निर्देशन विना हामी कहिल्यै कतै गएनौं । 
    २०५० सालमा एसएलसी दिएका थियौं । एकजना शिक्षकको गल्तिका कारण ५४ जना विद्यार्थीले एसएलसी दिएकोमा ५० जना फेल भयौं । अंग्रेजी विषयको अध्ययन २ महिना पनि भएन । एकजना शिक्षकले गल्ति गर्दा विद्यालयमा असहज परिस्थिति सिर्जना भयो । केटा र केटीहरु अलग अलग कक्षामा रहेर पढ्नु पर्ने अवस्था भयो । विद्यालयमा ताला लाग्यो । तोडफोड भयो । शिक्षकहरुले प्रथम डिभिजनमा राखेर मुल्यांकन गरेका हामी सबै विद्यार्थीहरु फेल भएका थियौं । त्यो समयमा धेरै विद्यालयका साथीहरु पनि अनुत्तिर्ण हुनु भएको रहेछ । एक वर्ष हामी पछि प¥यौं । शुरुमै हामीलाई फेल हुने कुराको निश्चित भयो । परीक्षा दिएर फर्कँदा म रुँदै आएको थिएँ । घरमा दिदीहरुले पनि सम्झाउनु भएको थियो । धेरै साथीहरुको जीवन माथी खेलवाड गर्ने शिक्षकलाई पनि कारवाही भएन । त्यहि कारण आफ्नो लक्ष्य पनि पूरा हुन सकेन । पढाई रोकिए पछि साथीहरुले सिलाई सिक्नु भयो । मैले पनि सिलाई सिकें । कक्षा ६ मा अध्ययन गरे देखि नै मैले घरमा सुईटर बुन्न थालेको थिएँ । कक्षामा शुल्क तिर्नु पर्दथ्यो । ३२ रुपैयाँ थियो कक्षा ५ बाट कक्षा ६ मा अध्ययन गर्दा । त्यो शुल्क बुबाआमालाई माग्नु नपरोस् भनेर बुनाई गरेको थिएँ । त्यसबाट आएको थप पैसा घरमा नै दिने गरेको थिएँ । २०५० सालमा एसएलसी पास गरेको भए मैले आईएल पढ्न पाउँथें । पछिल्लो वर्ष ल अध्ययनका लागि आईकम उत्तिर्ण गर्नुपर्ने भयो । त्यसले मेरो लक्ष्यमा धक्का लाग्यो । मेरो चाहना त्यहिबाट ब्रेक भयो । कानुन पढेर वकिल बन्ने सपना त्यहि रोकिए पछि मैले दोश्रो पटक दिएको एसएलसीमा पास भए पछि आईकम अध्ययनका लागि काभ्रे क्याम्पसमा भर्ना भएँ । कान्छो दाईले आईकम अध्ययन गर्नु भएकाले किताब पनि अरु किन्न पर्दैन भन्ने सोचले आईकम अध्ययन गर्न भर्ना भएको थिएँ । आईकम पास गरें । कहिलेकाँहि कक्षा बंक पनि हुन्थ्यो । आईकम उत्तिर्ण पछि ब्याचलर अध्ययनका लागि भर्ना भएँ तर अध्ययन गर्न सकिनँ । मेरो दाईहरु सिकर्मी, डकर्मी पेशा गर्नु हुन्थ्यो । दाईहरुले आफ्नो राम्रो गर्नु भन्ने मात्रै सल्लाह हुन्थ्यो । उहाँहरुले यो क्षेत्रमा जानुपर्छ भन्ने सल्लाह भएको भए सायद म अर्काे बाटोमा पनि हुन्थे किँ । 

एसएलसी पछिः हामी एसएलसी दिएर बसिरहेका थियौं । बनेपाकै रस्मिला भोक्षिभोया र राधाप्यारी नकर्मी दिदीहरुले पढेको मान्छे किन चुप लागेर बस्ने ? प्रौढ शिक्षा पढाउनु भनेर अवसर दिनु भयो । टोलका धेरै आमा दिदी बहिनीहरुलाई मैले शिक्षित गराउने अवसर पाएँ । बनेपा नगरपालिकाको उक्त कार्यक्रममा सहयोग थियो । त्यहि क्रममा महिला समुह बनेपामा आबद्ध थिएँ । विश्वमाया श्रेष्ठ, विकुमाया शाक्य दिदीहरुको म नियमित सम्पर्कमा थिएँ । उहाँहरुकै सल्लाहमा मैले काम गरिरहेको थिएँ । प्रौढ शिक्षा पढाउने क्रममा चार समुहलाई पढाएँ । रस्मिला दिदीले सहकारीका बारेमा जानकारी गराउनु भयो । बनेपामा आएको सहकारीमा काम गर्ने अवसर उहाँले दिनु भयो । दाईले पनि आमाको शोकमा घरमा बसेर रुनु भन्दा काम गर्दा राम्रो हुन्छ भन्ने सल्लाह भए पछि म काममा जान थालें । शुरुमै हामीलाई २ हजार ५ सय तलब दिईएको थियो । अरुलाई त १ हजार मात्रै थियो होला । दाईहरु अलग अलग हुनुहुुन्थ्यो । बुबा, कान्छो दाई, बहिनी र म लगायतका चार जना धेरै रुन्थ्यौं । आमाको अभाव धेरै महसुस भयो । टुहुरो भएको अनुभव भयो । 
    पसल पनि थियो । बुबा र बहिनी पसलमा बस्नु हुन्थ्यो । म सहकारीमा काम गर्न जाने गरेको थिएँ । विहान कलेज जाने, खाना खाएर अफिस जाने गर्दा गर्दै दुई वर्षको बीचमा श्रीराम केसीसँग कार्यालयमा भेट भयो । अफिस पनि सँगै, कलेज पनि सँगै । आमा पनि नभएको अवस्थामा उहाँले मेरो मनलाई प्रभावित बनाउनु भयो । अरु समुदायका ब्यक्तिहरुसँग संगत पनि नगर्ने र मन पनि नपर्ने अवस्थामा उहाँसँगै प्रेम प¥यो र विवाह पनि भयो । 

प्रेम र विवाहः विद्यार्थी जीवनमा प्रेम गर्थे । प्रेम प्रस्ताव पनि आउँथे । मलाई पनि आएको थियो । तर मलाई प्रेम गर्ने कुरा त्यतिबेला मन पर्दैन थियो । आफ्नो समुदायको बाहेक अरु समुदायसँग पनि मेरो घुलमिल हुँदैन थियो । आईकम पास भएर बसिरहेको थिएँ । विविएस भर्ना भए पछि मेरो प्रेम प¥यो । हामी दुबै जना एउटै कार्यालयमा काम गर्दथ्यौं । को–अपरेटिभ लिमिटेडमा काम गर्दथ्र्याैं । उहाँ र म एउटै अफिस, एउटै कलेज । दैनिक भेटघाट हुने गरेको थियो । प्रायः हाम्रो दैनिकजसो झगडा पनि हुने गरेको थियो । झगडा र सम्वन्ध राम्रो हुँदा हुँदै प्रेम परिसकेछ । पत्तै भएन । २०५५ सालमा हाम्रो भेटघाट भएको थियो । २०५७ सालमा प्रेम विवाह ग¥यौं । घर परिवारबाट डराएर भागी विवाह गरेका थियौं । पनौती मल्पी निवासी श्रीराम केसी र मैले  प्रेमलाई दुई वर्ष पछि भागेर विवाह गर्ने निश्कर्षमा पु¥याएका थियौं । 
    हाम्रो प्रेम र विवाह पछिको सम्बन्ध नै अचम्मको छ । भेट भए लगत्तै झगडा हुने र तुरुन्तै सम्वन्ध सुमधुर हुने बानी शुरु देखि नै भयो । विवाह पछि पनि त्यस्तै भयो । हामी दुई परिपुरक भएका छौं । सम्वन्धको २१ वर्षको अवधी राम्रो भयो । एक सन्तान छोरा १५ वर्षका छन् । म नेवार समुदायको छोरी । क्षेत्री बाहुन तथा अन्य समुदायका ब्यक्तिहरुसँग सम्वन्ध राख्दा खासै मन पर्दैनथ्यो । २०५५ सालमा आमाको निधन भयो । आमाको निधन पछि म शोकमा थिएँ । ममीको अभाव श्रीराम केसीसँगको भेटले विर्साउन मद्दत ग¥यो । सहकारीमा काम गरेर मासिक २ हजार ५ सय रुपैया पाउँथ्यौं । म बजार प्रतिनिधि थिएँ । श्रीराम जी कार्यालय भित्र बसेर काम गर्नु हुन्थ्यो । पहिलो चोटी बनेपामा सहकारीमा बजार प्रतिनिधि भएर काम गर्ने म र संगीता श्रेष्ठ भन्ने साथी थियौं । 

सामाजिक संस्थामा आबद्धः विवाह पछि केहि समय म खाली बसें । घर परिवार, आफन्त सबैको साथ पनि थियो । २०५७ सम्म सहकारीमा काम गरिरहँदा प्राविधिक कारण सहकारी बन्द हुन पुग्यो । २०५८ सालमा सामाजिक संस्था जिल्ला समन्वय समितिमा काम गर्न थालें । २०६२ सालसम्म सहजकर्ता, सुपरभाईजरका रुपमा मैले त्यहि संस्थामा रहेर काम गरें । जिल्लाका विभिन्न गाविसहरुमा मेरो आवतजावत हुन थाल्यो । चण्डेश्वरीबाट बनेपा आउँदा खुट्टा दुखेर मर्नु हुने मान्छे म गाउँमा दिनभरी हिड्दा, भोकभोकै पर्दा जीवन के हो भन्ने बुझें । त्यहि बेला मेरो बाबुको जन्म भयो । श्रीमान विदेश जानुभयो । हरेक क्षेत्रमा कठिन र सुख दुबै थियो । परिवारको सहयोगले मलाई सबै सहज बनायो । 
    म ब्यक्ति मात्रै थिएँ । मेरो अभिभावक बुबा, आमा, दाई भाउजु हुनुुहुन्थ्यो । विस्तारै संस्थाको, श्रीमान सँगै बुहारी अनि समाजको जिम्मेवारी सम्हाल्नु पर्ने अवस्था भयो । घर परिवारको पूर्ण सहयोग र साथले मैले सबै जिम्मेवारी सफलता साथ पुरा गरें भन्ने अनुभूति भएको छ । हामीले काम शुरु गर्दा माओवादीको सशस्त्र द्वन्द्व चर्किर्दै थियो । एकदिन तेमालको चापाखोरीमा हामीलाई माओवादीका कमाण्डरहरुले लिन आए । हामीसँगै जाउँ भने । हामीले कार्यक्रम र हाम्रा बारेमा बताए पछि उहाँहरुले हामीलाई छाडिदिनु भयो । हामी तीनजना थियौं । हेल्थपोष्टका कर्मचारीहरु पनि मसँगै भएकाले सहज भयो । कार्यक्रम गर्दा उहाँहरुलाई खबर गरेर मात्रै गर्नुभयो । युनिसेफको डकाउ कार्यक्रममा थिएँ म । कार्यक्रम सकिए पछि मैले त्यहाँ काम छाडें । त्यसपछि म एक वर्ष घरमा बसें । २०६४ सालमा कन्र्सन नेपालमा आबद्ध भएर काम गरें । पनौती क्षेत्रमा गिट्टी कुटेर जीवन निर्वाह गर्ने आमाबुबाका सन्तानलाई छात्रबृत्ति दिने कार्यक्रममा मैले सेवा गर्ने अवसरस पाएँ । चलाल, पनौती, भुमेडाँडा रोशीमा मैले जिम्मेवारी पुरा गरेको थिएँ । २०६९ सालसम्म त्यो काम निरन्तर गरिरहें । २०६५ सालमा श्रीमान विदेशबाट फर्किसक्नु भएको थियो । 
    ब्यवसाय शुरु गरेको केहि वर्षमा पनौतीमा गठन भएको उद्योग बाणिज्य संघको कोषाध्यक्ष भएर काम गरिरहेको छु । लायन्स क्लव अफ, माँ चण्डेश्वरी लगायतमा आबद्ध छु । मानव अधिकार संगठन पनौतीको उपाध्यक्ष छु । सहकारी संघ संस्थाहरुमा पनि छु । शान्ति जनआदर्श सेवा केन्द्रमा पनि संचालक सदस्यको रुपमा कार्यरत छु । 

पेशा ब्यवसायः सामाजिक कार्यमा म सहभागी थिएँ । हामी दुवैजना सहकारी अभियानबाट कार्य शुरु गरेका थियौं । बीचमा उहाँ विदेश जानु भयो । फर्किए पछि नेपालमै केहि गर्ने योजना बनायौं । हजुरबुबाले आफ्नो नाममा भएको जग्गा धितोमा राख्ने अनुमति दिनुभयो । ५ लाख रुपैयाँ ऋण लिएर हामीले कुखुरा ब्यवसाय शुरु ग¥यौं । मल्पिमा अंकलहरु सहित तीन जना मिलेर कुखुरा पाल्न शुरु ग¥यौं । शुरुमा ब्रोईलर पाल्यौं । दुई वर्ष पछि लेयर्स पाल्न थाल्यौं । ६ सय कुखुराबाट शुरु भएको यात्रा १० हजारसम्म पुग्यो । अहिले अवस्था राम्रो छैन । बजार राम्रो छैन । पटक पटक हाम्रो ब्यवसायमा समस्या सिर्जना भयो । एक दशकमा हामीले भोगेको पीडा असाध्यै छ । नाकाबन्दी हामीले नै खेप्नु प¥यो । जिउँदो कुखुरालाई नखुवाई राख्न पनि मिलेन । १ दिनमा खाने खाना १० दिनलाई पु¥यायौं । मानव भएर मानविय सेवा समेत पु¥याउन नसकेकोमा झन तनाव भयो । 
    वर्ड फ्लु रोगको मारमा पनि प¥यौं । २०७३ देखि २०७४ अन्तिमसम्म केहि राम्रो भयो । २०७५ सालको शुरु देखि नै अण्डाको मुल्य आउन सकेन । अहिले झनै खराब अवस्था छ । किसान मारमा परिरहेका छन् । पुँजी निर्माणका हिसाबले डेढ करोड लगानी भएको छ । लगानी समेत उठ्न सकेको छैन । किसानलाई माथि उठाउने कार्यक्रम कतैबाट हुन सकेन । हामी कृषकहरु सधै पीडा र घाटामा प¥यौं । अब यो पेशालाई परिवर्तन गर्ने सोचाईमा लागेका छौं । अहिले श्रीमान श्रीराम केसीले क्रसर तथा खानी ब्यवसाय शुरु गर्नु भएको छ । मैले विद्यालयहरुका लागि समेत हुने गरी टिर्सट लगायतका सामाग्रीहरु उत्पादन र विक्री गर्ने काम शुरु गरेको छु । अन्जुश्री सप्लार्यसबाट मैले त्यो काम गरिरहेको छु । हामी दुबै जना अलग अलग ब्यवसायमा छौं । ब्यवसायबाट सन्तुष्ट छौं । कुखुरापालनबाट विस्तारै पलायन हुने मनस्थितिमा छौं । 

राजनीतिः मेरो बुुबा सानैदेखि राजनीतिमा हुनुुहँदो रहेछ । बनेपाबाट सिन्धुलीसम्म पार्टीका पत्र आदान प्रदान गर्ने काममा मेरो बुबा सक्रिय हुनुहँुदो रहेछ । बनेपाका राजदास बादेले मेरो बुबालाई हजुरबुबाको पसल सिन्धुलीमा हुँदा पत्र बोकाएर पठाउनु हुँदो रहेछ । विपीको पालामा स्वतन्त्र सेनानीका रुपमा २००३ साल देखि काम गर्नु भएको रहेछ । सिन्धुलीको खुर्काेटमा हजुरबुबाको पसलमा जाँदा यताको पत्र उता र उताको पत्र यता ल्याउने काम गर्नु हुँदो रहेछ । बुबालाई प्रहरीले पत्र लगेको छ भनेर टकटकाएर हेर्ने भएकाले हजुरआमाले पटुकाको मुजामा सिलाएर लैजाने गर्नु भएको थियो । बुबा १७÷१८ वर्षको हुनुुहँदो रहेछ । विपीले विराटनगर जाउँ भन्नु भएको रहेछ । तर उहाँले मान्नु भएनछ । बुबाको मध्यम परिवार भएकाले विहान बेलुका केहि समय पार्टीका लागि दिने र बाँकी समय घरमा काम गर्ने उहाँको बानी थियो । घरमा त्यसको प्रभाव थियो । विद्यालयमा त्यसको प्रभाव थियो । अत्याचारको प्रतिकार गर्ने बानी थियो । त्यो बानीलाई सबैले साथ दिनु भएको थियो । 
विवाह भए पछि ससुराबुबा र श्रीमानले पनि मलाई साथ दिनु भयो । २०६९ सालमा तरुण दल नगर समितिको कोषाध्यक्ष भएर काम गरें । पार्टीका हरेक कार्यक्रममा मेरो सहभागिता थियो । कार्यक्रम प्रभावकारी हुन नसकेका कारण त्यति धेरै सक्रिय हुने अवसर थिएन । परिचित हुने गरी कार्यक्रममा सहभागि हुने अवसर पनि पाएको थिइन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मैले टिकट पाए पछि परिचित भएँ । नेपाली कांग्रेस पनौती नगर समितिको तर्फबाट उपप्रमुखको उम्मेदवार पाएँ । कम तयारी, पनौतीको बुहारी भएका नाताले पनि मेरो सबै वडामा सक्रियता भईसकेको थिएन । थोरै मत नपुगेकाले म पराजित भएँ । मैले मतदाताको विश्वासलाई खेर फाल्न नदिने प्रतिवद्धता ब्यक्त गरेको छु । मलाई टिकट दिदाँ समावेशिता थियो । जनता, नेता र पार्टीको विश्वासलाई तोड्ने छैन । जीवन रहेसम्म पार्टीैमा कृयाशिल रहनेछु । प्रजातन्त्रमा सबैको मत बराबरी हो । मेरा प्रत्यासी गिता बञ्जारा हरेक कुराले सिनियर हुनुहुुन्थ्यो । स्वभाविक हो उहाँले जित्नु भयो । मैले हारेको महसुस भन्दा पनि विश्वास महत्वपूर्ण हो । पनौती ऐतिहासिक शहर हो । त्यसलाई पर्यटकिय हिसावले अगाडी बढाउने, कृषिमा ब्यवसायिकता दिने लगायतका थुप्रै योजनाहरु थिए । खोपासीको जलविद्युत्त, पनौतीका ऐतिहासिक क्षेत्रहरु, आलु उत्पादनको पकेट क्षेत्र निर्माणमा मेरो विशेष चासो थियो । अहिले पनि मेरो क्षेत्रबाट त्यो काममा सक्रियता देखाई रहेको छु । निर्वाचन महिलाहरुका लागि कठिन छ ।  राजनीति झनै कठिन छ । निर्वाचनका बेला मैले धेरै कुरा भोगेको छु । परिवार, पार्टी र सहयोगि संस्थाहरुको सदासयता रहेर मैले निर्वाचन सकाएँ । अरु बेला पनि त्यस्ता खालका सहयोग भए मात्रै सम्भव छ । एक्लै त केहि गर्न सम्भव पनि छैन । राजनीतिमा सक्रिय हुन सबै भन्दा ठुलो सहयोग घर परिवारबाटै हुनु पर्छ । 
म उद्योण बाणिज्य संघ पनौतीको कोषाध्यक्ष छु । त्यसबाट पनि पनौती क्षेत्रमा उद्योगको कामलाई अगाडी बढाउन सहयोग पुगेको छ । पार्टीबाट मलाई पछिल्लो समय नेपाल महिला संघको पनौती नगर समितिको विस्तारीत अवस्थाको संयोजकको जिम्मेवारी दिईएको छ । बाग्मती प्रदेशको सदस्यको रुपमा जिम्मेवारी प्रदान गरिएको छ । सबै जिम्मेवारीलाई मैले कुशलतापूर्वक निर्वाह गर्ने योजना बनाई रहेको छु । 

भावी योजनाः ब्यापार ब्यवसाय । सामाजिक र राजनीतिक कार्यमा निरन्तर लाग्नेछु । पार्टीलाई आवश्यकता परेको समय र जीवन सबै सुम्पनेछु । 

अविश्मरणीय क्षणः आमा बित्नु हुँदा म धेरै विक्षिप्त भएँ । पछि २०६५ सालमा बुबा पनि वित्नु भयो । बुबा वित्नु भएको केहि वर्ष पछि दाजु पनि वित्नु भयो । परिवारका सदस्यहरु गुमाउँदाको पीडा विर्सनै सक्दिनँ । तर पनि समाज, जीवन जिउनै प¥यो । 

जीवनः संघर्ष । 

प्रेमः माया । सद्भाव । 

विवाहः आवश्यकता । 

शारिरिक सम्वन्धः प्राकृतिक नियम । विवाह पछिको एउटा पाटो ।