2026 June 25/ 05:38: 01pm

कुशादेवी/प्रहरी चौकी कुशादेवीको दैनिक प्रशासनिक तथा कार्यालय सञ्चालन कार्यलाई सहज बनाउन स्थानीय व्यवसायी चन्द्र हुमागाईले विभिन्न कार्यालय सामग्री सहयोग गरेका छन् ।
    साविक कुशादेवी गाविस २ का स्थायी बासिन्दा तथा हाल पनौती नगरपालिका–४ मा बसोबास गर्दै आएका व्यवसायी हुमागाईले प्रिन्टर, कम्प्युटर, फोटोकपी पेपर, नेपाली कागजलगायतका सामग्री प्रहरी चौकी कुशादेवीका इन्चार्ज असई रामहरी घिमिरेलाई हस्तान्तरण गरेका हुन् । स्थानीय बासिन्दाहरूको उपस्थितिमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा हुमागाईले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र कार्यालयीय कामकाजमा सहयोग पुग्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताए। उनले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट सानो सहयोग गरेको बताए ।
    सहयोग स्वरूप प्राप्त सामग्रीले प्रहरी चौकीको दैनिक प्रशासनिक कार्यसम्पादनमा सहजता ल्याउने विश्वास गरिएको छ । स्थानीयवासीहरूले पनि हुमागाईको सामाजिक उत्तरदायित्वप्रतिको भावना प्रशंसनीय रहेको बताएका छन् । प्रहरी चौकी कुशादेवीका इन्चार्ज असई रामहरी घिमिरेले प्राप्त सामग्रीका लागि हुमागाईप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । स्थानीय समुदाय र प्रहरीबीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्यले गरिएको उक्त सहयोगलाई सकारात्मक रूपमा लिइएको छ । कार्यक्रम दिपेश घिमिरेले संचालन गरेका थिए ।