2026 March 11/ 10:22: 27am

    कलेज पढ्दा रविन र प्रविनाबीच प्रेम बस्यो । सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि रविन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले बुबाआमा शहर बोलाए, प्रविनालाई लिएर आफू त्यहि पुगे । एक कटेजमा बुवाआमा, रविन र प्रविनाबीच लन्चसहित कुराकानी भयो । प्रमिलाले केही वर्षमा विवाह गर्ने योजना रविनका बुवाआमालाई सुनाइन् । २०७७ सालदेखि प्रेमसम्बन्धमा बाँधिएका रविन र प्रविना नजिकिएनन् मात्र, उनीहरू दुवैका परिवारसमेत नजिकिए । झण्डै ५ वर्ष डेटमा रमाएका रविन–प्रविनाको जोडी काठमाडौं, पोखरा, लुम्बिनी, चितवनदेखि विभिन्न ठाउँमा हप्तौं लामो यात्रामा निस्कन्थे । परिवारको चिन्ता भएन, कसले गाली गरोस्, यसबीच प्रविनाले रविनसमक्ष एउटा प्रस्ताव राखिन्, ‘अमेरिका जाने अनि उतै बस्ने ।’
    रविनले काठमाडौंबाट आईएलटिएस गराए । दुई वर्षअघि प्रविनाले अमेरिकाको भिसापाइन् । रविन आफ्नो जीवन सुध्रिने कुरामा ढुक्क भए, कारण उनी आफ्नै लगानीमा प्रेमिकालाई अमेरिका उडाउँदै थिए । विदेश जाने क्रममा सम्पूर्ण खर्चसहित आफ्नी प्रेमिका एक्लै हुने भन्दै विभिन्न एजुकेसन कन्सल्टेन्सी धाउन थाले, साथी खोज्न । यत्तिकैमा प्रबिनाभन्दा झन्डै चार वर्ष कान्छा एक भाइ फेला परे । सँगै टिकट काट्ने निर्णय भयो । विदेश उड्नुअघि एउटा मन्दिरमा गोप्य रूपमा विवाह गरे उनीहरूले । विदेश जाने बेला आयो, रविन, प्रविना र उनीहरूका परिवारले प्रविनालाई खुबै सम्झाए, ‘केटा मान्छेको भर हुँदैन, आफूभन्दा सानो छ भन्दैमा धेरै विश्वास नगर्नू, भविष्यका बारेमा ध्यान दिनू, रविन आएपछि तिमीहरू दुईजना सँगै भैहाल्छौ, डन्ट वरी ।’ प्रविना रविनको १५ लाखजति लगानीमा विदेश उडिन् ।
    वासिङ्टन पुगेपछि उनीहरू दुवै आ–आफ्नो घर पुगे । प्रविना र रविन बीच दिनरात कुरा भैरहन्थ्यो, तर बिस्तारै प्रविना टाढा हुन थालिन् । नेपालमा रहेका उनका श्रीमान् रविनले प्रविना किन यसरी टाढा भएकी हुन् भन्ने विषयमा जान्न खोजे । उनले कलेजको नम्बर पत्ता लगाए र सोधे । त्यो भाइसँग पनि सम्पर्क गरे । भाइले ‘जन्डिस भएकाले बिरामी भै हस्पिटल हुनुहुन्छ दिदी, बाँकी मलाई थाहा भएन, म बस्ने त टाढा हो दाई’ भने । रविनले उनीहरूको परिवारसँग सोध्दा भने कुरा भैरहेको थाहा पाए । खोज्दै जाँदा रविनले अन्ततः सियाटलमा बस्ने एक जना दाइ फेला पारे । ती दाइसँगको कुराकानीवाट रविनले पत्ता लगाए रहस्य । ती दाइले भने, ‘भाइ राजा प्रविना बस्ने मेरै घरमा हो, ऊ त झन्डै १ वर्षदेखि ती भाइसँग लिभिङ टुगेदरमा छिन् यार । प्रविना अमेरिका गएको सात दिनमै ती युवकलाई आफ्नो रुममा बोलाएर सँगै बस्न थालेकी रैछिन् । 
    प्युठानका शंकर घिमिरेले आफ्नी प्रेमिकाको अमेरिका पढ्ने भिसा लागेपछि काठमाडौंमा साथीभाईलाई बोलाएर भव्य पार्टी दिए । केही दिनपछि आफ्नै खर्चमा उनले प्रेमिकालाई अमेरिका उडाए । झन्डै ५ महिना दिनरात कुरा भए पनि त्यसपछि भने उनीहरू टाढिए । प्रेमिका टाढिन थालेपछि शंकरलाई तनाव हुन थाल्यो । खोज्दै जाँदा थाहा भयो, उनकी प्रेमिका अरू कसैसँग लिभिङ टुगेदरमा छिन् । उक्त कुरा थाहा पाएलगत्तै शंकर डिप्रेसनमा परे । झन्डै एक वर्ष औषधि सेवन गरी हाल उनी लगभग निको भैसकेका छन् । मलाई डर त लागिरहेको थियो, त्यतिका खर्च गरेर विदेश पठाए, पैसा पनि सकियो, फोकटको पीडा मात्र भयो । शंकर अहिले पनि प्रेमिकामाथि विश्वास गरेर त्यत्रो लगानी गरेकोमा पछुताइरहेका छन् । माथिका घटना सामान्य उदाहरण मात्र हुन् । विदेशमा पुग्ने नेपालीहरूबीच लिभिङ टुगेदर डढेलोका रूपमा बढ्दै गएको छ । 
    अमेरिकामा रहेकी एक चर्चित अभिनेत्री लामो समयदेखि लिभिङ टुगेदरमा छिन् । अमेरिका आउजाउ गर्ने नेपालका एक चर्चित सेलिब्रेटी भन्छन्, ‘न्युयोर्कमा बस्ने उहाँको लिभिङ टुगेदरको लफडा अमेरिका गएदेखि नै सुरु भएको हो, अहिलेसम्म आधा दर्जन केटा फेर्नुभयो होला ।’ अमेरिका, अस्ट्रेलिया, बेलायत, हङकङ, जापान आदि देश पुग्ने कतिपय नेपाली युवायुवती लिभिङ टुगेदरमा बस्नु नयाँ कुरा होइन । खर्च बचत गर्न तथा शेयरिङका लागि सजिलो हुने भएकाले अधिकांश युवायुवती लिभिङ टुगेदरमा बसेको पाइन्छ । बेलायत बसेर लामो समयदेखि म्युजिक भिडियो निर्देशन गर्दै आएका विशाल भन्छन्, ‘विभिन्न बाध्यता तथा आवश्यकताका कारण विदेशमा नेपालीहरू लिभिङ टुगेदरमा बसेको पाइन्छ, यो शैलीलाई यहाँ सामान्य रूपमा लिइन्छ ।’ कतिपय विवाह गरौंला भनेर सँगै बस्छन् भने कोही आफ्ना आवश्यकताहरू पूरा गर्न मात्र । ‘पहिले सँगै बस्दा विवाह गरौंला भनेर वाचा गर्छन्, तर अधिकांश भने छुट्टिन्छन् ।’ विदेशमा बस्ने नेपाली युवायुवतीहरूमध्ये कतिपय नेपालमा भएका श्रीमान्–श्रीमतीलाई ढाँटेर लिभिङ टुगेदरमा बस्छन् । विदेशमा लिभिङ टुगेदरमा बस्दा न कानुनी झमेलाहरू छन्, न त समाजबाट बहिष्करणको चिन्ता नै ।
    विदेशमा लिभिङ टुगेदरमा बस्ने युवा होस् वा युवती । उनीहरू त्यहाँको दैनिकी धान्न नसकेर पार्टनर खोजिरहेको पाइन्छ । अमेरिकामा लामो समयदेखि अध्ययनरत काठमाडौंका राजकुमार अधिकारी भन्छन्, ‘म भर्खरै नेपाल आएर विवाह गरी फर्किए, तर अमेरिकामा आउने मेरा अधिकांश साथी लिभिङ टुगेदरमा फस्ने गरेका छन् ।’ लिभिङ टुगेदरमा बस्ने युवा होस् वा युवती, संघर्षका बेला साथ खोज्ने र पछि आफू अलिकति व्यवस्थित भएपछि एकले अर्कालाई लात हान्ने परम्परा मौलाउँदो छ । ‘कसैले कसैलाई माया गरेर लिभिङ टुगेदरमा बस्ने होइन,’ उनले थपे, ‘खर्च सेयर हुने र आफ्नो शारीरिक आवश्यकता पनि पूरा हुने भएकाले सँगै बस्छन् । आफन्तहरूले समेत कुनै कुरा थाहा नपाउने भएकाले यो संस्कृति विदेशमा बस्ने नेपालीहरूबीच मौलाउँदो छ ।’
    सहरीकरणसँगै भागदौडपूर्ण जीवनमा एकअर्काको साथ, भावना साटासाट तथा तनाव कम गर्नसमेत उनीहरू लिभिङ टुगेदरमा बसेको पाइन्छ । जापानमा बस्ने काठमाडौंका ईश्वर उप्रेतीका अनुसार  ‘सुरुमै यहाँ आउनेहरू अलिकति व्यवस्थित जीवनशैली बाँचिरहेका हुन्छन्, पछि आउनेहरूलाई जागिर फेला पार्न तथा यहाँको संस्कृतिमा भिज्न केही समय लाग्छ । विशेषगरी पछि आउने युवतीहरू लिभिङ टुगेदरका लागि पार्टनर खोजिरहेका हुन्छन्, किनभने उनीहरू पैसा र साथको खोजीमा हुन्छन् ।’ नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने अधिकांश विद्यार्थीहरू लिभिङ टुगेदरको लफडामा परेको पाइन्छ । लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका ईश्वरी ढकालका अनुसार लिभिङ टुगेदरमा बस्ने अधिकांश विद्यार्थी छन् तर अधिकांश सुरुमा मिले पनि पछि भने निकै ठूलो तनावमा पर्ने गरेका छन् । मैले सुन्दै र देख्दै आएको कुरा के हो भने, लाखौं खर्च गरेर यहाँ आएपछि अध्ययन र परिवारलाई केही खर्च पठाउनुपर्ने हुन्छ तर लिभिङ टुगेदरको लफडामा परेपछि न पैसा न अध्ययन भएर सडकमा झरेका धेरै विद्यार्थी देखेको छु, उनले भने, ‘विशेष गरी युवतीहरू पछि नेपाल गएर विवाह गर्ने बेला कहीं–कतैबाट विदेशमा लिभिङ टुगेदरमा बसेको जानकारी पाएपछि युवतीहरू थप पीडामा पर्छन् ।’ 
    खर्च व्यवस्थापन गर्न र भावना साट्न विदेशमा आउने नेपालीहरूले यसलाई सामान्य रूपमा लिन्छन्, तर उनीहरू पछि भने सँगै बस्दैनन्, विभिन्न लफडा झिकेर छुट्टिन्छन् । रोजगारीका सिलसिलामा बिदेसिने धेरै नेपालीले उतै आफ्नो लगनगाँठो कसेका छन् । आपसी सहमतिमा गरिएका अनौपचारिक तथा गुपचुप रूपमा कसिएका लगनगाँठोका घटना खाडी मुलुकमा समेत अनगिन्ती छन् । हङकङ बस्ने कतिपय युवायुवती लिभिङ टुगेदरमा बस्दै आएका छन् । युवा होस् वा युवती, एकले अर्काको साथ खोजिरहेका हुन्छन् र अन्ततः सँगै बस्छन् । सुरुमा यहाँ आउँदा आफन्त कोही हुँदैनन्, महँगी अत्यधिक छ । लिभिङ टुगेदरमा खर्च पनि सेयर हुने र विदेश बस्न सहज समेत हुने भएकाले नेपाली युवायुवतीहरू लिभिङ टुगेदरमा बस्ने चलन व्यापक हुँदै गएको उनको भनाइ छ । हङकङमा फ्रिडम छ, परिवारले छोराछोरीहरू के गरिरहेका छन् भन्ने पत्तो पाउने कुरा भएन । तर लिभिङ टुगेदरको केही महिना अथवा वर्षपछि भने विभिन्न बहानामा लफडा सुरु हुने र अन्ततः छुट्टिने धेरै छन् । कतिपय नेपाली युवतीहरू कसैलाई थाहा नदिई विदेशी युवाहरूसँग लिभिङ टुगेदरमा बस्ने गरेका छन् । 
    आफ्नै श्रीमान् अथवा श्रीमतीजस्तै बसेपछि सबै खर्च धान्नुपर्छ । सन्चोबिसन्चो होला, त्यो खर्च पनि दुवै जनाले मिलाउनुप¥यो । व्यक्तिगत आवश्यकताहरूका साथै कोठाभाडादेखि सबै कुरामा दुवै जनाले खर्च गर्नुप¥यो, तर स–साना कुरामा बिस्तारै लफडा सुरु हुन्छ । अस्ट्रेलियामा बस्ने कमल थापा भन्छन्, ‘एकैछिनको आवेशमासँगै वस्ने निर्णय गर्छन् तर पछि उनीहरू न एकले अर्काको साथ पाउँछन्, न पैसा जोगाउन सक्छन् ।’ जापानमा बसोबास गर्दै आएका विशाल अधिकारीका अनुसार ‘नेपालीहरू यहाँ आएपछि यहाँकै संस्कृतिमा घुलमिल हुन खोज्छन् । लिभिङ टुगेदर पनि यहाँको संस्कृतिजस्तै हो र उनीहरू लिभिङ टुगेदरमा बस्न रुचाउँछन् ।’ लिभिङ टुगेदर केही रमाइलो तथा केही व्यक्तिगत आवश्यकता धान्न बसिए पनि यसले पछि भने धेरैलाई तनावमा पारेको छ । केही आत्महत्याका खबर पनि छन् । कुरा बुझ्दै जाँदा उनीहरू लिभिङ टुगेदरमा बस्ने र खर्च अभाव तथा नेपालको ऋण तिर्न नसक्ने कारणले त्यस्तो निर्णय लिएको देखियो । लिभिङ टुगेदरमा बसेका अधिकांश पछि पछुताएको पाइन्छ ।
    अहिले दैनिक युवायुवतीहरु विदेशिने क्रम बढेको छ । बाबुआमाले सन्तानको खुशीका लागि ऋण काढेर विदेश पठाउने गरेका छन् । लाखौ रुपैयाँ ऋणको ब्याज तिर्न नसकेर यता सम्पत्ति लिलामी हुन थालेको छ । उता सन्तान विदेशिए लगत्तै त्यहाँको तनाव उस्तै छ । भने जस्तो काम छैन । भएको काममा दाम छैन । भएको दामले आफ्नो कलेज शुल्क तिर्न पुगेको छैन । अनि जसले सोधे पनि काम र पैसाका बारेमा मात्रै सोध्ने गर्छन् । अनि उनिहरु विस्तारै परिवार र आफन्तसँग समेत टाढिने गरेका छन् । सन्तानलाई स्वदेशमा नै आत्मनिर्भर हुन सिकाउने, उनिहरुलाई विदेश जान लगानी गरेको रकमले आफु सहित भएर स्वदेशमा नै घरेलु उद्यम तथा आयआर्जनमा केन्द्रित हुने, उनिहरुको सुख र दुःखसँगै ब्यहोर्न नथाल्दासम्म मुलुकको उर्वर जनशक्ति मात्रै बाहिरिदिैन । मुलुकमा असल नागरिकहरुको संख्या पनि फेला पर्न सक्दैन । कि अध्ययनका लागि छात्रबृत्तिमा विदेश जाने र अध्ययन सकेपछि त्यहाँको सीप र शिक्षालाई स्वदेशमा प्रयोग गर्ने वातावरण जबसम्म बन्दैन तबसम्म घरघरका यस्ता कहानीहरु कथा बनिरहने छन् । त्यतिबेलासम्म ढिला भई सक्नेछ नेपालका बाँझो जमिन खन्न र जोत्न अन्य मुलुकका नागरिकहरुको खोजी गर्नु पर्नेछ । 

शरण भण्डारी
काभ्रे, हाल अष्ट्रेलिया