पहिलो पटक उनलाई देखेको त्यो क्षण आज पनि मेरो मनको कुनै कुनामा ताजा छ । कक्षा ८ मा भर्ना हुँदा विद्यालयको प्राङ्गण मलाई नयाँ लागिरहेको थियो । नयाँ अनुहार, नयाँ कक्षा, नयाँ वातावरण । तर सबैभन्दा नयाँ र अनौठो अनुभूति त उनको उपस्थिति थियो । त्योबेला विद्यालयमा थोरै मात्रै बालबालिकाहरु हुन्थे । कक्षा ८ सम्मको फरक विद्यालय थियो । कक्षा ९ पछिको विद्यालय अलग थियो । उनी मेरा लागि अपरिचित थिए तर उनको हाउभाउमा एक किसिमको आत्मीयता थियो जस्तै धेरै वर्षदेखि सँगै हिँडेको साथी । उनै दिन, पहिलो भेटमै, मैले नजिकको मान्छे पाएको जस्तो महसुस गरें । उनी कुरा गर्थे भने सुनिरहन मन लाग्थ्यो, हाँस्दा वातावरण नै उज्यालो हुन्थ्यो ।
कक्षामा थुप्रै अनुहार थिए । सबै गम्भीर थिए । गम्भीर अनुहारहरूबीच ऊ एकैजनाले मलाई सहज, सुरक्षित र चिनिएका जस्तो बनाइदिएको थियो । त्यो उमेर १४ वर्ष । मनमा नयाँ नयाँ अनुभूति उम्रिने समय । तर त्यति बेलै मैले यस्तो किन भइरहेको छ, किन छातीभित्र अनौठो तातोपन फैलिरहेको छ, बुझिरहेको थिइनँ । भोक छैन तर भोक लागेको जस्तो । प्यास छैन तर प्यासले छटपटिएको जस्तो । संसारभरि मान्छे भए पनि, उनको बाहेक कोही देखिएन । अनि एकाएक, सारा संसार नै मेरो विरुद्ध उभिएको छ कि जस्तै ठूलो डर मनमा पलायो । कक्षाका बाकस, ठट्टा, होहल्ला । सबैभन्दा बाहिर, कुनै अदृश्य शक्ति पछाडि तानिरहेको थियो, अनि त्यो तान्ने केन्द्र उनी नै थिए । त्यो किशोर मेरो मनमा । मैले पहिलो गल्ती यही ठानेँ । वस्तु जति मन परे पनि बाँधेर राख्न सकिन्छ, तर मान्छेलाई अनि उसको मनलाई ? मान्छेको मन त पानी जस्तै रहेछ । बाँधेर राख्न खोज्यो भने झनै बगेर जान्छ । त्यो बेलाको आफ्नै अपरिपक्वता थियो तर सुन्दर पनि ।
कक्षा ९ मा पुगें । विद्यालय परिवर्तन भयो । साथीहरु थपिए । थपिएका साथीहरुमा हामी केहि पुरानै थियौं । उ र म सँगै थियौं । पढाई र खेलकूदको घच्घच्चाई बीच उनी थोरै पर सरे, कक्षा १० मा पुगेका थिए । अचानक एक दिन विद्यालयबाट फर्कँदै गर्दा उनले चिठी थमाइदिए । यती लामो चिठी ! धेरै पृष्ठहरू, सबै ब्यागको भित्री भागमै छपक्क मिलेका । घर पुग्नेबित्तिकै बुबाआमाले खाजा दिनुभयो । गाईबस्तुको गोठालो, खेताला दाजुभाइलाई खाजा, बेलुकीको खानाको तयारी सबै काम हतार हतार सकेँ । बाहिरबाट हेर्दा म सामान्य जस्ती थिएँ; भित्र भने पत्र पढ्ने नाममा मन कति उडिरहेको थियो ! रात छिप्पिसकेको थियो । पुसको महिना । सात बज्ना साथ सबै मान्छे आफ्नै कोठामा गइसकेका हुन्थे । सबै निदाएको जस्तो आभाष हुन्थ्यो । दिनभरको काम । विस्तारामा पुगेको लामो समय । ननिदाउने कुरै भएन । हिँड्डुल गर्ने आवाज थामिएपछि मात्र मैले चिठी बिस्तारै खोले ं। श्वास फेरेको आवाज जब बाहिर आयो तब मेरो मन ढुक्कले पत्र खोल्न सक्ने भयो ।
पहिलो पाना नै कलात्मक अक्षरले भरिएका थिए । कुनै कलाकारले जीवन नै सजाएको होस् । मेरा लागि लेखिएको, मेरो लागि बुनेको र शायद मेरो मनको ढोका खोल्ने उद्देश्यले कोरिएको । पाना पल्टाउँदै गएँ, जति पढ्दै गएँ, त्यति नै अचम्म लाग्यो । यति धेरै कसरी ? मेरो बारेमा यति धेरै कसरी जानकारी भयो । मैले आफ्नै बुबाआमासँग पनि कतिपय कुरा कहिल्यै कोरेर भन्न पाएकी थिइनँ, तर उनले ? मृत्युसम्म सुन्न सकिने संवेदनाले भरिएको चिठी थियो त्यो । उनी प्रेम लेख्दै थिए, स्नेह लेख्दै थिए, जीवन लेख्दै थिए । त्यो प्रेम ढोंगी थिएन । त्यो प्रेम स्पर्शमात्र भएर सीमित थिएन । त्यो प्रेम पवित्र थियो । म १५ वर्षकी थिएँ । के सहि के गलत छुट्याउने समय थिएन । तर सम्झिने क्षमता बलियो थियो । बाहिर बच्चा भए पनि भित्र म मन पराउन सिकिरहेकी थिएँ । चिठी सकिन्छ, तर मनभित्र बग्ने शब्द त कहिले सकिँदैन रहेछ । त्यस रात निद्रा लागेन । सिरकले शरीर त छोप्यो, तर मन भने उनको अनुहारले छोपिरह्यो ।
जवानीका बगैँचाको पहिलो फूल । भोलिपल्ट भेट्दा धड्कन बढ्यो । एउटै कक्षा दुबैलाई सजिलो भयो । टेस्ट र एसएलसीको तयारीले विद्यालय व्यस्त थियो, तर हाम्रो मन भने एक–अर्कातिर मस्त अनि व्यस्त । १ बजे भेट्ने मौका मिल्यो । थोरै मिनेट मात्रै तर तिनै मिनेटले प्रेमको जग बसाएको थियो । २०५७ माघ ११ गते । हाम्रो प्रेमको औपचारिक यात्रा सुरु । त्यस दिनदेखि म बदलिँदै गएँ । उसको स्नेह, उसले दिने सम्मान, सम्झने तरिका । यी सबैले बदलिएको मेरो बानीघर बुबाआमाले देख्नुभएन भन्नु बेकार । उ पनि छक्क पर्नु स्वाभाविक थियो । एसएलसी दिए, दुवैजना दोश्रो श्रेणीमा उत्रियौँ । आफ्नै खालको गर्व थियो । त्यसको बीच पनि उसले मलाई विद्यालय ल्याउन लिन आउँथे । गाउँलेले हेर्ने, कुरा गर्ने, कुरा काट्ने—सबै सहज । तर प्रेममा परेका किशोरीलाई ती कुरा कहाँ सुन्नु थियो र ? ति कुनै कुराको अर्थ थिएन । बस मलाई उ र उसलाई म पाउनु महत्वपूर्ण थियो । त्यो पनि पछिको कुरा थियो । तत्काल भेट्ने, बोल्ने र सँगै बस्ने ।
जाडोको विदा थियो । पाखोमा घाँस, बनमा दाउरा अझै पिठो पिध्न जानुपर्ने घट्टमा । यही बहानामा हामी भेट्थ्यौँ । एक दिन बन तिर दाउरा लिन जाने योजना बनायौँ । सुरुमा मेरो बन जाने बानी पनि थिएन । तर त्यो दिन कदम आफैँ चलिरहेको थियो । मस्तिष्कले इन्कार गरे पनि मनले आदेश दिन्छ । त्यो आदेश मानेरै म बनतिर लागेँ । बन सुन्दर थियो । हावा हल्का चिसो । रुखहरु नाङ्गा भए पनि स्नेहले लपक्क ढाकिदिएको थियो । त्यही बनमा— हामीले जीवनका सपना साट्यौँ । भविष्यका बाटा बुन्यौँ । एक–अर्कालाई धोका नदिने बाचा ग¥यौँ । र त्यसै बनको एउटा रूखमा–नाम लेखेर प्रेमलाई स्थायी बनायौँ । आज पनि सम्झँदा त्यो रूख मेरो मनमा हरियो भएर बच्छ । त्यो पहिलो दिन थियो जब शब्द, पत्र र दूरबाटको प्रेम व्यवहारमा पोखिएको थियो । आँखा, हात, शरीर सबै एकैसाथ काँपेर नजिकिएका थिए । प्रेमले उन्मत्त बनाएको, अनभिज्ञ किशोर मनले आफ्नो भविष्यलाई नै उसमा लगानी गर्दै थियो ।
त्यो दिनहरूको मिठास धेरै लामो समय टिकेन । गाउँमा खबर फैलियो । आफन्तका नजर बदलिन थाले । अनि झट्का लाग्ने गरी खबर आयो । गोत्र एउटै रहेछ । कसैले नबताएको कुरा, नसोचेको कुरा । हामीले थर फरक भएपछि विवाह हुन्छ भन्ने मात्र सुनेका थियौँ । गोत्रको महत्व, समाजको कडापन—कसैले सिकाएको थिएन । बुबाको शब्द अझै सम्झन्छु–अब छाडिदेउ । समाजले मान्दैन । तिमीहरुलाई दुःख नहोस् भनेर मैले भोगेको तनाव यही हो । बुबा सही पनि हुनसक्नुहुन्थ्यो । तर प्रेम त तर्क सुन्दैन, मनका पर्खाल जहिले पग्लिन्छन् । हामीले एक–अर्कालाई बाचा गरिसकेका थियौँ । आकाश खसून्, धर्ती फाटोस्, साथ नछाड्ने । त्यो बाचा तोड्नु भनेको जिन्दगी फुटाउनु थियो ।
उ उच्च शिक्षा पढ्न शहर गएको थियो । म पनि पछि पछि उसकै साथ बस्न शहर गएँ । अध्ययन र काम सँगै गर्नु पर्छ भन्ने सोच थियो । काम खोज्ने क्रममा मासिक ६ हजार कमाउने जागिर मिल्यो । उ काम पनि गर्न थाल्यो । सानो जागिर, सानो कोठा, खाने–बस्ने सबै कटौती गर्दै हरेक महिना गुजारा निकै गाह्रो । तर युवा उमेरमा गरिबी पनि किन मिठो लाग्छ ? सँगै बसेको केही मिनेटले नै ती सबै कमीलाई ढाकिदिन्छ । छोरा जन्मियो । केही समय माईतीमा बसें । अनि फेरि फर्किएँ । अर्को बच्चा—छोरी । त्यसपछि परिवार नियोजन । जीवन स्थिर हुँदै गयो । तर समय कहिले पनि एउटै हुँदैन । जुन हातले पहिलो प्रेमको शब्द लेखियो, त्यो हात बिस्तारै पराइँ हुँदै गयो । जागिर खाने क्रममा उसले अर्काे कार्यालयमा काम गर्ने एउटी केटी साथीसँग हिमचिम बढाएको रहेछ । शुरुमा सामान्य चिनजान । पछि नजिकिँदै गयो । अनि मेरो संसार चिरिँदै । एकपटक जसले मलाई संसार बराबर मायाले भरिदिएको थियो,
त्यही व्यक्तिले अब मेरो आँखाको नानीबाट बगेको पानी पनि नहेर्ने भयो । हाम्रो घरमा कतिपय कुरा निदान थिए । कामको थकान, पैसाको अभाव, बच्चाको जिम्मेवारी सबै । तर मूल समस्या चाहिँ उनको मन विचलित हुनु नै थियो । अन्ततः, उसले त्यहि अर्को केटीसँग विवाह ग¥यो । म दुई सन्तानसँग एक्लै परें । माईती गएँ केही दिनका लागि । तर एकल महिलाको जीवन कति कठिन हुन्छ त्यो त समाजले हरेक दिन सम्झाइदियो । तर हिम्मत गरेर छोरा–छोरीलाई स्कुल भर्ना गराएँ । आफैलाई सम्हाल्ने प्रयास गरिरहेँ ।
ज्योतिषले भनेको कुरा दुई सन्तान पछि छुटिन्छौ । विश्वास गर्ने कि नगर्ने ? सत्य जस्तै लाग्न थाल्यो । तर त्यो त गोत्रको दोष थिएन, त्यो त उनको कर्म र मेरो भाग्य मात्र रहेछ । पीडामा, आत्मसम्मानमा, बाध्यतामा म साउदी गएँ । तीन वर्ष उतै बसें । गर्मी, पसिना, थकान तर मनमा चाहिँ एउटै आगो छोरा–छोरीका लागि बाँच्नु छ । नेपाल फर्केर एउटा कार्यालयमा सहयोगीको काम गर्न थालें । गर्व गरिनँ, तर लाज पनि लागेन । किनकी मेहनत कहिल्यै लाजको विषय हुँदैन । एक्लै महिला भएर बाँच्नु कठिन छ । समाज दयालु देखिए पनि मनभित्र शंका राखेर हेरिन्छ । पुरुषहरू कहिलेकाहीँ भावना भन्दा पनि शरीरको कुरा बढी गर्छन् । तर सबै पुरुष त्यस्तै हुँदैनन् तर धेरैमा त्यो कमजोरी देखिन्छ । मैले जीवन भोगेको छु । केहि सिकेकी छु । आत्मसम्मान बिना कुनै जीवन सुन्दर हुँदैन । पुरुष वा समाज कसैले दिइदिने चीज होइन आफैँले कमाउनुपर्ने चीज हो । मैले भोगेको, नभोगून् अरुले । विशेषगरी जो प्रेममा पहिलोपटक पग्लँदैछन्, तिनीहरुले बुझ्न जरुरी छ । प्रेम मिठो हुन्छ, तर मनको मूल्य जान्दैन भने यही प्रेमले मन भत्काइदिन्छ ।
उन्नती पाठक
हालः सुर्यविनायक, भक्तपुर





