2025 December 16/ 04:37: 40am

    रुकुमको पहाडी गाउँमा जन्मिएको, जसले संसार देखेको भनेको केबल टेलिभिजनको झ्याल भित्रबाट हो । घरमा बुबा किसान, आमा बिहानै खेतमा जाने र म भने गाउँको चौतारोमा बस्ने, उही पुरानै सोच–कुनै दिन विदेश पुगिएला र बुबाआमालाई सुखका दिन देखाइएला । 
    नेपालमा युवा हुनु भनेको प्रायः विदेश जाने सपना देख्नु हो । हामीले बिस्तारै त्यही सपना साँचेका हुन्छौँ । कति मलेसिया जान्छन्, कति कतार । र म... म चाहिँ ठूलो सपना देख्थें, अमेरिका । टेलिभिजनमा देखिने फराकिलो सडक, बत्तीले झलमलाउँदो सहर, अनि मानिसहरू जसले समय र पैसाको गणितमा मात्र जीवन मापन गर्छन् । त्यो सबै मलाई आकर्षक लाग्थ्यो । २०७९ साल फागुन महिनाको अन्त्यतिरको कुरा हो । काठमाडौंको एक साँघुरो कोठामा म र मेरा काका ललित वली बसिरहेका थियौँ । स्मरण, अमेरिका जान चाहन्छौ ? म झसङ्ग भएँ । अब मौका आएको छ । मैले भरपर्दो मान्छे भेटाएको छु । बिक्रान्त बाँठा मगर । उसले त मेरो भाइलाई पनि पठाएको हो । 
    त्यो नाम सुन्दा नै मेरो मुटु ढुकढुकायो । अमेरिका । त्यो शब्दमा कुनै मन्त्र थियो । मैले सोधें, कति खर्च पर्छ काका ? चुरोटको धुवाँ फ्याँक्दै भन्नुभयो । अन्दाजी पैंसठ्ठी लाख । तर बिक्रान्तले भनेको छ, ‘नपुगेमा पैसा फिर्ता दिन्छु । पैंसठ्ठी लाख ! त्यो रकम मेरो परिवारको तीन पुस्ताको सम्पत्ति भन्दा बढी थियो । तर सपनाले रकम हेर्दैन । घरबाट जग्गा धितो राखेर, केही उधारो गरेर, केही साथीहरूबाट सापटी लिएर, मैले त्यो सपना किन्ने निर्णय गरेँ । एक साँझ ललित काकाले मलाई गंगबुमा रहेको एउटा रेस्टुरेन्टमा लग्नुभयो । रेस्टुरेन्टको नाम अचम्मको लाग्ने थियो । अंग्रेजी अक्षरमा टाँसिएको थियो तर म बुझ्दिनथेँ । त्यहाँ पहिलोपटक मैले बिक्रान्त बाँठा मगरलाई देखें । उसले लेदरको ज्याकेट लगाएको थियो, टेबलमा महँगो मोबाइल राखेको थियो । अनुहारमा त्यो किसिमको आत्मविश्वास थियो, जुन कसैको जीवन बदल्न सक्छ भन्ने विश्वास आफैंलाई हुन्छ ।
    स्मरण, अमेरिका पुग्न तिमीलाई एक महिनाभन्दा बढी लाग्दैन उसले भन्यो । म सिधा रुटबाट लैजान्छु । सबै खर्च मिलाएर ६५ लाख । पासपोर्ट, भिसा, टिकट सबै म गर्छु । नभए पैसा फिर्ता । मलाई लाग्यो, यो मान्छे भगवान् हो । त्यस दिनको रात म निदाउन सकिनँ । मैले आकाशतिर हेरेर सम्झें–अब मेरो जीवन बदलिन्छ । केही दिनपछि मैले आफ्नो पासपोर्ट उसलाई दिएँ । बिक्रान्तले मलाई एउटा बैंक खाताको नम्बर लेखेर दियो । लक्ष्मी सनराईज बैंक । अनि भन्यो, पहिलो किस्ता पाँच लाख पठाऊ । प्रक्रिया सुरु गर्छु । मैले घरमा फोन गरेँ । बुबा केही बेर मौन रहनुभयो । अन्ततः भन्नुभयो, छोरा, यो ठूलो रकम हो, तर तिम्रो भविष्यको लागि हो भने हामी जुटाउँछौँ । त्यो साँझ बुबाले भएको सबै बाख्रा बेच्नु भएछ । आमाले कानमा लगाउने सुनका गहना, पोते दिनु भएछ । म रोएँ । मलाई लाग्यो, म उनीहरूलाई गर्व दिलाउने छु ।  
    तीन महिनापछि बिक्रान्तले मलाई फोन ग¥यो । स्मरण, सबै प्रक्रिया पूरा भयो । अब नयाँ दिल्ली आउ, भोलि तिम्रो फ्लाइट छ । बाँकी पच्चीस लाख सामाखुसीमा मेरो मान्छे गोपाल थापालाई देऊ । त्यो नाम मेरो कानमा बज्न थाल्यो । गोपाल थापा । मलाई थाहा थिएन, त्यो मेरो भाग्यको कालो अध्यायको सुरुवात थियो । म र मेरो साथी ललित काकाको भाई, दाई शिव खत्री सामाखुसी पुग्यौं । गोपाल थापा नामको मध्यम उमेरको मान्छे गाडी भित्र बसिरहेको थियो । मैले हातमा रहेको ब्यारलमा राखेको नगद पच्चीस लाख उसलाई दिएँ । उसले मुस्कुरायो, अब तिम्रो जिन्दगी बदलिन्छ । राति बिक्रान्तले फोन गरेर भन्यो, १५ सय डलर साथमा लिएर आउनू, त्यो फ्लाइटका लागि चाहिन्छ । २०७९ पुस २ गते म काठमाडौं विमानस्थल पुगेँ । बुबाआमाको अनुहारमा गर्व थियो । मेरो आँखामा भविष्य । विमानको झ्यालबाट देखिएको त्रिभुवन विमानस्थलको बत्तीहरू मलाई जीवनको नयाँ सुरुवातको संकेत जस्तै लाग्थे । नयाँ दिल्ली पुगेपछि गोपालले मलाई होटल निल गगन पठायो । त्यो होटलको ढोका खोलेर म भित्र पसेँ । त्यहाँ ललित काकाको भतिज, म भन्दा अलि सानो उमेरको छोरा, पनि थियो । ऊ पनि त्यही बाटो हुँदै अमेरिका जान लागेको रहेछ । हामी दुई जना एउटै सपना बोकेका थियौँ । तर त्यही होटलमा बितेको पहिलो हप्तादेखि नै मलाई केही अजीब लाग्न थाल्यो । बिक्रान्तले फोन गथ्र्यो, काम हुँदैछ, केही दिन पर्ख । तर के काम ? भन्ने प्रश्नको उत्तर कहिल्यै दिँदैनथ्यो । हामीलाई एक महिना त्यही होटलमा राखियो । कहिले दिल्लीको चिसो रातमा एक्लो महसुस हुन्थ्यो, कहिले आफ्नो गाउँ सम्झिन्थेँ । हरेक बिहान म आफैंलाई सम्झाउँथें । थप केही दिन मात्रै, त्यसपछि अमेरिका ।
    एकदिन बिक्रान्त आफैं आयो । उसको हातमा नयाँ टिकट थियो । उसले भन्यो, श्रीलंका हुँदै दुबई, त्यसपछि उज्वेकिस्तान । त्यहाँबाट अर्को प्रक्रिया हुन्छ । मलाई अचम्म लाग्यो, तर उसले विश्वास जगाउने आवाजमा भन्यो, यो छोटो र सुरक्षित बाटो हो, मैले धेरैलाई यही बाटोबाट पठाएको छु । हामी दुबई पुग्यौं । विशाल भवनहरू, चम्किला गाडीहरू, अनि विदेशी बास्नाले मलाई लोभ्यायो । तर त्यो चमकभित्र लुकेको डर मलाई थाहा थिएन । दुबईको होटलमा बसेको भोलिपल्ट बिक्रान्त हामीलाई भेट्न आयो । उसले टिकटका फाइलहरू हातमा लिएर भन्यो, उज्वेकिस्तान जानुपर्छ ।  त्यहाँबाट अर्को फ्लाइट हुन्छ । त्यसपछि हाम्रो यात्रा सुरु भयो । जुन बाटो वास्तवमा अमेरिका पुग्ने बाटो थिएन ।
    मलाई आजसम्म त्यो दिन स्पष्ट सम्झना छ । जब दुबईको सूर्यको तातो किरणले होटलको सिसा पग्लिँदै थियो र म भविष्यको सपना र अनिश्चितताको बीचमा अलमलिँदै थिएँ । बिक्रान्त बाँठा मगरले फोन गरेर भन्यो, अब सबै तयारी पूरा भयो । भोलि उज्वेकिस्तान जानुपर्छ । त्यसपछि दुई हप्ता भित्र तिमी अमेरिका पुग्नेछौ । त्यो सुनेर म खुशीले ओभिएको थिएँ । मैले ललित काकाको भतिजलाई भनेँ– अब त हाम्रो सपना पुरा हुँदैछ, हैन ? ऊ मुस्कुरायो, हो, दाइ । घरमा सबैलाई म अमेरिका पुगेँ भनेर भन्नुहुन्छ होला । तर हामीलाई थाहा थिएन, हामी अमेरिका होइन, नरकतिर उड्दै थियौँ । उज्वेकिस्तानको चिसो र बिक्रान्तको धोका । दुबईबाट अबुधाबी हुँदै हाम्रो फ्लाइट उज्वेकिस्तानका लागि थियो । त्यो देशको नाम म पहिले कहिल्यै सुनेको थिइनँ । विमानबाट तल झर्दा चिसो हावाले मुटु काँपायो । हामीलाई एयरपोर्ट बाहिर एकजना अन्जान मान्छेले पिकअप ग¥यो । त्यो होटल मिनी भनिने पुरानो भवनमा हामीलाई लगेर राखियो । अर्को बिहान, बिक्रान्तले फोनमा भन्यो, अब अर्को प्रोसेस सुरु हुन्छ । तर थप पैसा चाहियो । घरमा भन्नु । म स्तब्ध भएँ । 
    बिक्रान्त दाई, हामीले त ३० लाखभन्दा बढी तिरेका छौँ नि । अनि त्यो खर्चले अमेरिका पुगिन्छ भन्थें र ? यी कुरा बुझ्नुपर्छ, स्मरण । सबै देशमा शुल्क तिर्नुपर्छ । त्यो आवाजमा धम्कीको झल्को थियो । मलाई कुनै विकल्प थिएन । मैले दाइलाई फोन गरेँ, अनि बुबालाई । उनीहरूले आफ्नो पसलको आम्दानीबाट, जग्गाको धितोबाट, अझ केही नजिकका मान्छेबाट ऋण उठाएर २५ लाख रुपैयाँ विभिन्न खातामा पठाए । त्यो पैसाले मेरो सपना अझ महँगो बन्यो तर गन्तव्य झनै टाढा । उज्वेकिस्तानमा बितेका ती दिनहरूमा हामीलाई कामको नाममा केही गराइएन । केही रातहरू भोकै बित्थ्यो, केही बिहानहरूमा होटलको टेबलमा ठण्डा रोटी मात्र हुन्थ्यो । म कहिले टिभीमा अमेरिका हेर्थें, कहिले आफ्नै अनुहार ऐनामा हेरेर सोध्थें । यो मान्छे कुन बाटो हिँड्दैछ ? भिसा सकियो, र बिक्रान्तले हामीलाई फेरि दुबई पठायो । त्यहाँ पुग्दा ऊ देखिएन । केवल मेसेज आयो, कुनै चिन्ता नगर, अर्को देशको भिसा मिल्दैछ । 
    दुबई संसारको चम्किलो शहर हो तर मेरो लागि त्यो एउटा सुनको जेल बन्यो । हामीलाई एक सानो अपार्टमेन्टमा राखियो । निलो आकाश बन्द झ्यालझैँ लाग्थ्यो । बिक्रान्त समय समयमा भिडियो कलमा देखिन्थ्यो । कहिले हाँस्थ्यो, कहिले गाली गथ्र्यो, कहिले भन्यो, स्मरण, अब निकरागुवा रुटबाट जान्छौं, अमेरिका पुगिन्छ । मलाई निकरागुवा कहाँ छ भन्ने थाहा पनि थिएन । तर उसले बोलेपछि नाई भन्ने अवस्था थिएन । दुबईमा सात महिना बिते । त्यो अवधिमा मैले आफूभित्रको आत्मविश्वास बिस्तारै हराउँदै गएको महसुस गरेँ । मैले पैसा माग्न घरमा फोन गर्दा बुबाको स्वर भारी हुन्थ्यो । छोरा, अझै कति चाहिन्छ ? थप दुई लाख मात्र, बाबा । अन्तिम प्रक्रिया हो । म आफैं झूट बोल्थें, किनकि मलाई पनि अब लाज लाग्न थालेको थियो । जुन सपना मैले परिवारको न्यानो हातको मूल्यमा किनेको थिएँ, त्यो सपना अब अपराधको चपेटामा थिएँ । अन्ततः दुबईबाट हामीलाई कतार हुँदै स्पेन पठाइयो । स्पेनको नाम सुन्दा मेरो मुटु धड्कियो । अब त अमेरिका नजिकै होला भनेर । तर त्यहाँ पुगेपछि बिक्रान्तले मलेसियाको पासपोर्ट दिएर भन्यो । यो पासपोर्ट लिएर फ्लाइट चढ, यो सबै मिलेको छ । त्यो नक्कली पासपोर्टको सिसा झैं चम्किलो थियो तर म त्यहीमा आफ्नो जीवनको प्रतिबिम्ब हराउँदै गएको देख्थें ।
    स्पेनको मड्रिड भनिने एयरपोर्टभित्र हामी २४ दिन बस्यौं । भिसा सकिएको कारण हामी बाहिर निस्कन पाएका थिएनौं । भित्रकै कुर्सीमा निदाउनु, कफी र बिस्कुटमा जीवन चलाउनु र हरेक बिहान त्यही सवाल थियो कहिले अमेरिका पुग्ने ? एकदिन एउटा भारतीय मूलको मानिस आयो । ऊ आफैंलाई क्याप्टेन भन्थ्यो । उसले मलाई मलेसियाको पासपोर्ट थमाउँदै भन्यो, अब बाटो तयार छ, निकरागुवा पुग्यौ भने अमेरिका नजिकै छ । त्यो बेला मेरो मस्तिष्कले काम गर्न छोड्यो । म विश्वास गरिरहेँ किनभने अब मसँग विश्वास बाहेक केही बाँकी थिएन । स्पेनबाट उडेर अर्कै देशमा पुगियो । त्यो पानामा रहेछ । त्यहाँ इमिग्रेशन अफिसरले मेरो पासपोर्ट हेर्दा मात्रै अनुहार बदलियो । त्यो नक्कली थियो । त्यो क्षण म न अपराधी थिएँ, न निर्दोष केवल हराएको मान्छे । मलाई हतकडी लगाइयो । जुन हातले मैले आमाको गहना बेचेको पैसा पठाएको थिएँ, त्यही हातमा अब फलामको घेरा थियो । पानामाको जेलमा ५६ दिन राख्यो । हामीजस्तै सपना देख्ने, ठगिएका, बेचिएका । कोही भारतबाट, कोही बङ्गलादेश, कोही अफ्रिकाबाट । सबैका कथा एउटै थियो हामी अमेरिका पुग्ने सपना देख्यौं । 
    पानामाको इमिग्रेशनले अन्ततः हाम्रो डिपोर्ट प्रक्रिया सुरु ग¥यो । हतकडी लगाएर नेपाल पठाइयो । विमानमा फर्कदा म झ्यालबाट तल हेर्थें । पृथ्वी गोलो छ भन्ने सुनेको थिएँ, तर त्यो यात्राले मलाई सिकायो संसार सानो हो, तर धोका ठूलो । विमान त्रिभुवन विमानस्थलमा अवतरण भयो । विमान भित्रको हावा भारी थियो । पानामाको जेलको गन्ध अझै मेरो कपडामा थियो । नेपाली इमिग्रेशनका दुई जना प्रहरीले हामीलाई हतकडी खोलेर भने, अब तपाईंहरूको जिम्मा नेपाल प्रहरीले लिन्छ । त्यो वाक्य मेरो जीवनको सबैभन्दा गहिरो चोट थियो । अमेरिका पुग्ने सपना बोकेर निस्किएको म, अब अपराधी झैँ झुकेको टाउकोसहित फर्किएको थिएँ । विमानस्थलको सानो कोठामा प्रहरीले प्रश्न सोध्न थाले–कसले पठायो ? कति पैसा तिरेको ? कसरी सम्पर्क भयो ? म बोल्न सकिनँ । जुन मुखले मैले आमालाई ‘चाँडै पैसा पठाउँछु’ भनेको थिएँ, त्यो मुख अब लाजले बन्द थियो । केही समयपछि प्रहरीका फाइलमा मेरो नाम लेखियो । स्मरण ओली, गैरकानूनी बाटोबाट अमेरिका जाने प्रयासमा पक्राउ परेको व्यक्ति ।
    घर फर्किने डर । घर फर्कन मन थिएन । तर मसँग अर्को बाटो पनि थिएन । बुबाले फोन गर्नुभयो, छोरा, फर्केर आऊ, सबै कुरा थाहा पाएका छौं । त्यो वाक्यले मेरो आत्मालाई चिरेको थियो । बसमा चढेर रुकुम फर्कँदा म बाहिर हेर्न सकिनँ । हरियो पहाडहरू, माटोको गन्ध, अनि गाउँका मान्छेका अनुहार । सबैले मलाई प्रश्न सोधिरहेका जस्ता लाग्थे । घर पुग्दा आमा ढोका नजिक रोइरहेकी थिइन् । म भित्र छिरेँ, आमा मसँग लिप्टिइन्, तर केही नबोली । बुबा परतिर बसेर चुपचाप मलाइ हेर्दै थिए । यो रात म निदाउन सकिनँ । मैले सम्झें उज्वेकिस्तानको चिसो, पानामाको जेल र बिक्रान्तको हाँसो ।  सपना र यथार्थबीचको दुरी त्यति लामो थिएन, तर म त्यो दुरीमा हराएको थिएँ । मसँग अब एउटा मात्रै उद्देश्य बाँकी थियो सत्य उजागर गर्नु । अर्को दिन म काठमाडौं फर्कें । प्रहरीको सिआईवीमा पुगे । बिक्रान्त बाँठा मगर, गोपाल थापा र ती सबै ठगहरूको नाम । तपाईंजस्ता धेरै छन्, स्मरणजी । तर धेरै बोल्दैनन् । तपाईं बोल्नु भएको ठूलो कुरा हो । त्यो वाक्यले मलाई केही आशा दियो । तर बिक्रान्त ? ऊ त पहिले नै गायब भइसकेको रहेछ । केही समयपछि थाहा भयो, ऊ भारततिर भागेको रहेछ । म अदालत धाएँ । गाउँका मान्छेहरू पहिले हेला गर्थे, तर बिस्तारै उनीहरूले बुझ्न थाले । म अपराधी होइन, धोका खाएको मान्छे हुँ । 
    समय बित्दै गयो । ऋणका भारीहरू, समाजका कुरा, र आफ्नै आत्मग्लानि । बुबाको एउटा वाक्य मेरो आधार बन्यो । छोरा, जिन्दगीको बाटो अमेरिका पुगिएन होला, तर तिमी अहिले पनि बाँचिरहेछौ । त्यो नै ठूलो कुरा हो । त्यो वाक्य मेरो आत्मामा लेखियो । मैले काठमाडौंमा सानो कम्प्युटर इन्स्टिच्युटमा काम सुरु गरेँ । विद्यार्थीहरूलाई आधारभूत तालिम दिन्थें, कहिले कहिले आफ्नै अनुभव सुनाउँथें । कसैले सोध्थे, दाइ, अमेरिका किन नजानुभयो ? म मुस्कुराएर भन्थें, किनकि मैले जुन बाटो रोजें, त्यो बाटो अमेरिका पुग्दैन । ३५ वर्षको भएँ । जीवनले धेरै पटक हल्लायो, तर एकपटक पनि भत्काएको छैन । अब म थाहा पाउँछु, अमेरिका केवल नक्सामा होइन, हाम्रो भित्रको सपना, हाम्रो विश्वास, हाम्रो श्रमभित्र पनि हुन्छ । म कहिले काँही विद्यालयहरूमा जान्छु, विद्यार्थीहरूलाई विदेश जाने सोचको बारेमा बोल्छु । सपना देख्नु गलत होइन, तर सपनाको बाटो गलत भयो भने त्यो सपना जेलमा पुग्छ । 

स्मरण ओली
हालः काठमाडौ