म कहिल्यै सोच्दिनथेँ, जीन्दगीको एउटा रातले मेरो सम्पूर्ण जीवनलाई बदलिदिन्छ भनेर । कसैको प्रेममा साथ दिँदै, उनीहरूको खुशीका लागि हात बढाउँदा म आफैं अपराधी ठहरिनेछु भनेर त कल्पनासम्म गर्न सकिनँ । तर नेपालमा कहिलेकाहीँ सत्य बोल्नेहरूको आवाजभन्दा समाजको हल्ला ठूलो हुन्छ, नियतभन्दा आरोप बलियो हुन्छ, र निर्दोषभन्दा इज्जतको नाटक भारी पर्छ । यी शब्दहरू मेरो जीवनको पीडा हुन्, जसले मलाई ‘निर्दोष अपराधी’ बनायो ।
नेपालमा युवाको कथा धेरैजसो एउटै हुन्छ । पढे पछि रोजगारी छैन, अवसर छैन र अन्ततः विदेश जानु नै बाटो । म पनि ती मध्ये एक थिएँ । गाउँमा बसेर के गर्ने भन्ने द्विविधा मनमा थियो । कृषिमा भविष्य देखिनँ, न त सरकारी सेवामा हात लाग्ने सम्भावना । काठमाडौं आएँ, केही काम पाउँला भन्ने आशमा । डान्स बारमा काम थालें, सामान्य तलब थियो तर बाँच्न पुग्थ्यो । जीवन सधैंजसो सामान्य ढंगले बगिरहेको थियो । त्यही बेला मेरो भेट भयो केही मानिसहरूसँग । सोझा, गाउँले र मेरो जस्तै संघर्षरत । ती मध्ये एउटा परिवार थियो, गोर्खाबाट आएको बाबु, आमा, र केही केटाकेटीहरू । हाम्रो डेरा उस्तै गल्लीमा थियो । बोलचाल हुँदै गयो, चिनजान हुँदै गयो, अनि पारिवारिक आत्मीयता पनि ।
त्यो परिवारकी १३ वर्षकी छोरी निकै हँसिली थिइन् । कहिले डेराको आँगनमा खेल्थिन्, कहिले आमासँग बजार जान्थिन् । मेरो श्रीमती शशी (जुनालाई सबैले जुना महतारा भनेर बोलाउँथे) पनि उनीसँग माया गर्थिन्, पढाइको सल्लाह दिन्थिन् । त्यो घरमा कहिलेकाहीँ अर्को केटा आउँथ्यो, करिब १५ वर्षको ।
पहिलो पटक भेट्दा मैले ठानें, सायद आफन्त होला । तर पछि बुझें, उनीहरूबीच प्रेम सम्बन्ध रहेछ ।
बाल उमेरकै प्रेम थियो–एक अर्काप्रति आकर्षण, सच्चा भावना, तर अपरिपक्व निर्णय । शुरुमा हामीले वास्ता गरिनँ । बालक–बालिकाको भावना हो, समयले बिर्साउँछ भन्ने सोच्थ्यौं । तर समयले बिर्साएन, बरु बलियो बनायो । २०७४ साल बैशाखको बिहान उनीहरूले अचम्मको निर्णय लिए–गाउँ फर्किने । मोटरसाइकलमा उनीहरू सँगै गए । शशी र म पनि गयौं, किनभने उनले भने–हामी विवाह गर्छौं, तपाईंहरू साक्षी बन्नुस् । म हाँसेँ, उमेरको कुरा सोच त, कानुनले विवाह मान्दैन । तर ती किशोरले उत्तर दिए–हामी अलग भए म मर्छु । त्यो वाक्यले मलाई हल्लायो । म मौन परेँ । कसरी रोक्ने ? कसरी सम्झाउने ? म सोच्थें, ‘बाँच्न त दिनुप¥यो, जीवनको अर्थ पछि बुझ्नेछन् ।’ त्यसैले हामी गाउँसम्म सँगै गयौं । गाउँमा पुगेपछि परिवारले विरोध गरेन । बरु ‘अब भएछ, सँगै बस’ भन्दै कोठा दिए । ती दुबैजना श्रीमान्–श्रीमतीको रूपमा बस्न थाले । तीन महिना त्यस्तै बित्यो–बिना हल्ला, बिना डर ।
तीन महिनासम्म नातेदार, गाउँले, कसैले केही बोलेन । तर एक दिन जब बाहिरका मानिसहरूले सुने कि ती दुई फरक जातका रहेछन्, समाजको रूप फेरियो । ‘जात मिल्दैन’, ‘लाज नमानी बालिका अपहरण गरियो’ भन्ने हल्ला फैलियो । प्रेमको कथा एकाएक अपराधको नाटकमा बदलियो । ती युवतीका बुबाआमाले प्रहरीमा उजुरी दिए–छोरीलाई अपहरण गरी बन्धक बनाई जबरजस्ती करणी गरियो । तीन महिनासम्म सँगै बसेका प्रेमी–प्रेमिकालाई अपहरण र करणीको मुद्दा बनाइयो । र, जसले उनीहरूलाई बस्न सहयोग गरेको थियो । म र मेरी श्रीमती हामी पनि ‘सहयोगी अपराधी’ बनाइयौं । असार २२ गतेको रात । काठमाडौंमा हाम्रो डेराको ढोका ढकढकियो । तीन जना प्रहरी भित्र पसे–अनुराज नेपाली ? तपाईंलाई पक्राउ गर्न आएको हो । म चकित भएँ, कारण सोधें । अपहरण र जबरजस्ती करणी सहयोगको अभियोग । शब्द नै निस्केन । म न अपराधी थिएँ, न कसैको इज्जतमा हात लगाएको थिएँ । तर प्रहरीको आदेश थियो–बोलाइए पछि कुरा गर्नुहोस् । त्यस रातको अँध्यारोमा मैले सोचें–के मैले कसैको भलो चाहेर गल्ती गरेँ ?
महानगरीय प्रहरी बृत्त बालाजुमा लगियो । त्यहाँ धेरैजना प्रहरी, कागजका फाइलहरू र हतारो । मलाई सोधियो–केटीलाई कहाँ लग्यौ ? मैले भनें, “मैले कहाँ लगें ? म त गाउँमा साक्षी भएर गएकै हुँ । तर कसले सुन्ने ? उनीहरूको नजरमा म पहिले नै अपराधी थिएँ । बयान लेखियो, हस्ताक्षर गराइयो । मलाई काभ्रे जिल्ला प्रहरी पठाइयो । तीन दिनसम्म सोधपुछ, बयान र हल्ला । शशी पनि पक्राउ परिन् । हामी दुबै ‘जबरजस्ती करणी सहयोगी’ बन्यौं । त्यो समयमा म कानुनभन्दा समाजको नजरबाट बढी डराएको थिएँ । किनभने एक पटक ‘करणीको आरोपी’ भनिए पछि सत्यले पनि विश्वास गुमाउँछ ।
जेलमा जीवन कुनै कथा होइन । त्यो पीडाको पाठशाला हो । निर्दोष भए पनि हरेक नजरले अपराधी ठान्छ । मैले कैदीहरूलाई हेरें । कोही साँचै अपराधी, कोही नियतले फसेका । म पनि त्यही नियतका कारण भित्र थिएँ । रातमा निद्रा आउँदैनथ्यो । ‘शशीलाई के भयो होला ?’ ‘गाउँमा के कुरा हुँदै होला ?’ ‘त्यो प्रेमी–प्रेमिकाले त केही बोले होलान् कि ?’ तर दिन बित्थ्यो, उत्तर आउँदैनथ्यो । कहिलेकाहीँ मलाई लाग्थ्यो–सत्य बोल्नेहरूलाई यहाँ कसले सुन्छ ? ती युवती र किशोर तीन महिनासम्म एउटै घरमा बसेका थिए । सामाजिक स्वीकृति पनि थियो । तर जब जातको कुरा उठ्यो, इज्जतको डरले सत्य दबियो । ती युवतीले पनि पछि प्रहरीलाई भनिन्–मलाई ललाइफकाई लगियो । तर किन तीन महिनासम्म केही भनिएन ? किन त्यति लामो समयसम्म परिवार मौन रह्यो ? किन ‘प्रेमी–श्रीमती’को रूपमा बस्दा समाज मौन, र जब जात उठ्यो, अपराधको कथा लेखियो ? यी प्रश्नहरूको उत्तर कहिल्यै पाइएन ।
नेपालमा न्यायालय कागज हेर्छ, नियत होइन । कानुनका अक्षरहरू स्थिर छन्, तर मानिसका भावना चलायमान । कानुनले भन्यो–बालिका नाबालिग, सम्बन्ध अवैध । तर के प्रेमले उमेर सोध्छ ? के सहमतिले अपराध बनाउँछ ? हामी वकिलका शब्दमा ‘सह–अपराधी’ ठहरियौं । न मसँग अपराध थियो, न उद्देश्य । म केवल दुई युवा आत्माहरूको प्रेमलाई परिवारले स्वीकारोस् भन्ने चाहन्थें । तर समाजले त्यसलाई इज्जतको घाउ बनायो । नेपालमा एक पुरानो भनाइ छ–सय अपराधी बाँचुन्, तर एक निर्दोष जेल नपरोस् । तर अहिलेको समाजमा त्यो उल्टो छ–सय अपराधी बाहिर छन्, निर्दोषहरू जेलमा । म यही कुरा बारम्बार सोच्थें । अपराध गर्नेहरू राजनीतिक पहुँच र पैसाले छुट्छन् । हाम्रो जस्ता सामान्य मानिसहरू, जसको नियत असल थियो, उल्टै दोषी बनाइन्छ । सिस्टमले कहिल्यै नियतको खोजी गर्दैन ।
हामी सबै महिलाको सम्मान गर्छौं । तर केही घटनामा ‘महिलाको पक्ष’ भन्ने नाममा निर्दोष पुरुषहरूलाई सजायँ दिइन्छ । कसैले उजुरी दियो भने, कानुनले तुरुन्त विश्वास गर्छ । त्यसपछि सत्य–असत्यको सन्तुलन हराउँछ । म महिलाको विरोधी होइन । तर म न्यायको खोजीमा छु । न्याय भनेको तटस्थ सुन्ने र बुझ्ने हो । यदि नियत असल छ भने, त्यसले गल्ती गरे पनि अवसर पाउनुपर्छ । जेलबाट छुटेपछि गाउँ फर्कें । तर गाउँलेहरूको नजर बदलिइसकेको थियो । त्यो करणीको अभियुक्त हो भन्ने हल्ला चल्थ्यो । मन्दिर नजिक गएँ भने कोही मसँग बोल्दैनथ्यो । दुकानमा सामान किन्दा पनि फुसफुस आवाज सुन्थें । अपराध अदालतले मात्र होइन, समाजले पनि तोक्दो रहेछ । शशीले पनि धेरै झेलिन् । उनी रुनथिन्, हामीले त भलो गर्न खोजेका थियौं, यो के भयो ? त्यो वाक्यले मेरो मन हरेक रात पोल्थ्यो ।
कहिलेकाहीँ लाग्छ–म किन यति ईमानदार रहेँ ? म मौन बसेर पनि दोषी ठहरिएँ । सायद यो देशमा इमानदारी अब कमजोरी बनेको छ । तर मनभित्रको आवाजले भन्छ–तिमीले गलत गरेनौ, अनुराज । तिमीले असल नियतले साथ दिएको थियौ । त्यो सानो आवाज नै मेरो आशा हो । सत्य मर्छ, तर हराउँदैन । आज पनि म त्यो घटना सम्झन्छु । ती युवती सायद अब जवान भइसकेकी होलिन् । शायद उनले पनि बुझिसकेकी होलिन् कि हामी अपराधी थिएनौं । तर त्यो बुझाइ अब अदालतमा के कामको ? सत्य कहिल्यै मर्दैन, तर धेरैपटक हराउँछ । हामीले खोज्नै पर्ने हुन्छ–भोलि अर्को निर्दोष जेल नपरोस् भनेर । मेरो देश, मेरो सपना । म अझै नेपालमै छु । काम गर्छु, पसिना बगाउँछु, र आशा गर्छु–कुनै दिन यो देशमा नियतको कदर हुनेछ । कुनै दिन प्रेमलाई अपराध बनाइने छैन । कुनै दिन समाजले इज्जतको नाममा निर्दोष नथिच्नेछ । नेपाललाई बदल्न सरकारभन्दा पहिला सोच बदल्नुपर्छ । युवाहरूले काम गर्न लाज मान्ने होइन, जिम्मेवारी लिन सिक्नुपर्छ । म पनि त्यही गर्छु । आफ्नो काम, आफ्नो आत्मसम्मान । म निर्दोष थिएँ । तर समाजले मलाई अपराधी बनायो । तर म अझै बाँचिरहेको छु, लडिरहेको छु, सत्य बोलिरहेको छु । मेरो कथा केबल मेरो होइन । हजारौँ युवाको कथा हो, जसलाई समाजले नियत नहेरी निन्दा गरेको छ । म चाहन्छु, म जस्ता निर्दोषले कहिल्यै पनि कानुन र समाजको दोहोरो अन्याय भोग्न नपरोस् । म चाहन्छु, प्रेम गर्नेहरूलाई अपराधी नबनाइयोस् । र म चाहन्छु, नेपालमा सत्यको आवाज फेरि ठूलो होस् । आरोपभन्दा, हल्लाभन्दा र इज्जतको झुठो पर्दाभन्दा ।
अनुराज नेपाली
धुलिखेल, काभ्रे





