2026 April 30/ 09:10: 14am

    असोज १६ गते, दशैंको टिकाको बिहान । पाँचखाल नगरपालिका–६, शिखरपुर । पहाडको बस्ती त्यतिबेला नाङ्गो सूर्योदयको उज्यालोमा बिस्तारै जाग्दै थियो । हावा शीतल थियो, तर गाउँमा रमाइलोको ताप चलिरहेको–टिका, जमरा, आशीर्वाद र नयाँ कपडाको उत्साहले भरिएको । तर त्यो बिहान, ३७ वर्षकी मैयाँ कामीका लागि दशैं रमाइलो होइन, दशा बनेर आयो । घाम उक्लँदै थियो, तर उनको शरीर भारी । छातीभित्र कतै पोल्ने महसुस, कहिले बलिरहेको जस्तो, कहिले च्यापिएको जस्तो । तीन महिनादेखि बेलाबेला छाती दुख्थ्यो–कहिले हल्का, कहिले असह्य । तर उनले सधैं बेवास्ता गर्थिन् । “सामान्य होला,” भन्ने सोच्छिन्, “दिनभर खेत–बारी, मकै, दाउरा, पानी–यही त हो जीवन ।”
    तीन सन्तानकी आमा–दुई छोरी, एक छोरा । श्रीमान् मजदुरी गरेर पेट पाल्थे । घरमा सम्पत्ति भनेको गाउँको किनारमा भएको सानो घडेरी । न व्यावसाय, न स्थायी काम । धेरैजसो दिन बेलुका खानको चिन्ता । त्यो अवस्थामा आफ्नै रोगका लागि अस्पताल धाउनुपर्छ भन्ने कुरा उनले कहिल्यै सोचिनन् । मैयाको जीवनमा एक परिवर्तन आएको थियो–तीन–चार महिनाअघि उनी ‘चर्च’ जान थालिन् । पास्टरहरूलाई भेट्थिन्, प्रार्थना गर्थिन्, र कहिलेकाहीँ आफूलाई शान्त महसुस गर्थिन् । छाती दुख्थ्यो, तर उनी भगवान् र प्रार्थनाबाट निको हुन्छु भन्ने विश्वासमा थिइन् । शनिबारको बिहानै चर्च पुग्थिन् । त्यहाँ उनको नाम लिएर प्रार्थना हुन्थ्यो । पास्टरले हात राख्थे र भन्थे–“ईश्वरले तपाईँलाई निको पार्नुहुनेछ ।” कहिले केही राहत महसुस गर्थिन्, कहिले दुखाई बढ्थ्यो । तर जीवन चल्दै थियो । मैयाले कहिल्यै श्रीमान्लाई स्पष्ट भनिनन्, किनभने श्रीमान्ले चर्चमा जानु मन पराउँदैनथे । “त्यो कुरा मन पराउँदैनन्,” उनले भनिन्, “म चर्च गएँ भने रिसाउँछन् ।”
    २०८२ साल भदौ २८ गते–बिहानको ९ बजेतिर । मकै भाँच्दै गर्दा उनको छाती अचानक पोल्यो । श्वास छोटो भयो । हातमा बल छैन । तर उनले कसैलाई भनिनन् । बच्चाहरू सुतिरहेका थिए, श्रीमान् काममा गएका थिए । “मलाई त के भो ?” भनेर एकछिन सोचिन्, तर फेरि मकै भाँच्न थालिन् । त्यो दिनभरी दुखाई रह्यो । उनी सोच्थिन्, “थाकेका कारण होला, काम धेरै भयो होला ।” तर त्यो सामान्य थिएन । त्यो ‘संकेत’ थियो–मुटुको । तर गरिब महिलाले संकेत र लक्षणबीचको भिन्नता कहाँ बुझ्थिन् र ? उनका लागि “डाक्टर” भनेको विलासिता थियो, अस्पताल भनेको खर्च र डरको पर्याय । असोज १३ गते, शनिबार । मैया फेरि चर्च गइन् । तर यो पटक अवस्था गम्भीर थियो । छाती दुख्ने, बान्ता आउन खोज्ने, पसिना पसिना हुने । पास्टरले उनलाई चर्चमै राखे र प्रार्थना गराए । केही दिन त्यही राखियो । तर दुखाई कम भएन । पास्टरले बुझ्थे–अब प्रार्थनाले मात्र हुँदैन । त्यसपछि उनले सहयोगका लागि हात फैलाए, र केही रकम जोहो गरे–मैयालाई धुलिखेल अस्पताल लैजानका लागि ।
    दशैंको टिका दिन ः इमरजेन्सीको ढोका । सबैजना नयाँ लुगा, टिका, मिठाइ र खुशीमा डुबेका थिए । तर त्यो दिन धुलिखेल अस्पतालको आपत्कालीन कक्षमा एक महिला, कमजोर, आत्तिएकी, पसिनाले भिजेकी, छाती समाउँदै ल्याइँदै थिइन्–मैया कामी । डा. राजेन्द्र कोजुको नेतृत्वमा चिकित्सकको टिम तयार थियो । परीक्षणका क्रममा रिपोर्ट आयो–मैयालाई हृदयाघात भएको थियो । उनी ‘एन्जियोप्लास्टी’ बिना बाँच्ने सम्भावना न्यून थियो । तर समस्या–पैसा । उनको स्वास्थ्य बीमा थिएन । साथमा ल्याइएको पैसा थोरै । दशैंको दिन–बैंक, कार्यालय सब बन्द । अस्पतालका चिकित्सकहरूका लागि त्यो चाड होइन, जीवन र मृत्युको घडी थियो । डा. कोजुका शब्दमा–“चाडपर्वभन्दा ठूलो कुरा मान्छेको ज्यान हो ।” मैयालाई तुरुन्त क्याथल्याबमा लगियो । त्यो मुटुको उपचारको ‘युद्धकक्ष’ हो–जहाँ हरेक सेकेण्डले जीवन र मृत्युबीचको दूरी तोक्छ । डा. राजेन्द्र कोजु र उनको टोलीले तयारी सुरु ग¥यो । एन्जियोग्राम गरियो– मैयाको मुटुको धमनी बन्द भएको देखियो । एकछिनमै निर्णय–“एन्जियोप्लास्टी गर्नुपर्छ ।” डाक्टरको अनुहारमा गम्भीरता थियो, तर आँखामा दृढता पनि । “हामी यिनीलाई बचाउँछौं,” डा. कोजुले आफ्ना टोलीलाई भने ।
    मैयाको मुटु बिस्तारै ढिलो–ढिलो धड्किन थाल्यो । क्यामेरामा डाक्टरहरूले धमनीभित्रको रक्तप्रवाह देखे । बन्द धमनीमा स्टेन्ट राखियो । र एकाएक–मैयाको मुटु फेरी धड्कन थाल्यो । सर्जरी सकिएपछि मैया बेहोस अवस्थाबाट बिस्तारै होसमा आइन् । डाक्टरले उनी ठीक हुँदै गएको बताए । तर उनी उठ्ने बित्तिकै पहिलो कुरा सोधिन्–“छोरी खै ?” डा. कोजुले अचम्म माने । “किन सोध्नुभयो ?” उनको उत्तर– “म निको भएँ भने छोराछोरीका लागि केही गर्न सक्थेँ । उनीहरूको भविष्यका लागि म बाँच्नुपर्छ ।” डा. कोजु केही बेर मौन रहे । त्यो वाक्यले उनलाई हल्लायो । मैयाको शरीर कमजोर थियो, तर उनको आशा बलियो । डा. कोजु भक्कानिए र भने–“नआत्तिनुस्, तपाईंलाई निको हुन्छ । उपचारका लागि लाग्ने रकम म आफैं सहजीकरण गर्छु ।” त्यो क्षणले अस्पतालको ‘मुटु बचाउने’ अभियानको साँचो अर्थ उजागर ग¥यो–मेसिन र प्रविधि मात्रै होइन, मानवीय करुणा पनि उपचारको हिस्सा हो । 
    मैयाको उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भयो । नेपाल सरकारले उपलब्ध गराउने एक लाख सहायता आयो, बाँकी रकम अस्पताल र चिकित्सकहरूको सहजीकरणबाट । तर उपचारपछि पनि समस्या सकिएको थिएन । मैयाले सोधिन्–डाक्टर साब, अब औषधि त महँगो हुन्छ नि, म के गरूँ ?” डा. कोजुले मुस्कुराउँदै भने–“हामी तपाईंको साथमा छौं, सकेको गर्छौं ।” त्यो संवाद साधारण थियो, तर त्यसमा एक आशाको धड्कन लुकेको थियो । धुलिखेल अस्पताल अब केवल क्षेत्रीय अस्पताल होइन, यो ‘जीवन फर्काउने थलो’ बनिसकेको छ । यहाँको क्याथल्याबले पछिल्लो नौ महिनामा ३३० जनाको मुटुको उपचार गरिसकेको छ । जसमध्ये ३०१ जनाको एन्जियोग्राम, १०४ जनाको एन्जियोप्लास्टी र ८ जनामा स्थायी पेसमेकर जडान गरिएको छ । एक समय मुटुको समस्या आए राजधानी धाउनुपथ्र्यो । तर अहिले पहाडका गाउँबाट बिरामी सिधै धुलिखेल पुग्छन् । त्यहाँ उनीहरूलाई अनुभवी विशेषज्ञहरूको हातमा जीवनको नयाँ सम्भावना भेटिन्छ । 
    डा. राजेन्द्र कोजु — धुलिखेल अस्पतालमा मुटु उपचारको यात्रा उनका नामसँग जोडिएको छ । सुरुवातमा उनी एक्लै थिए, तर अहिले उनका वरिपरी ३० जनाको समर्पित टोली छ । टिममा प्रा.डा. सञ्जय हुमागाई, सह–प्रा.डा. सूर्यराज पाठक, डा. निशान भट्टराई, डा. अनिश जोशी, डा. रविन कर्माचार्य, डा. सतिश बैद्य, डा. जीज्ञाशा रेग्मी, डा. श्रीजन सिलवाल–सबै मिलेर बालबालिका देखि बृद्धसम्मका मुटुहरू धड्काइरहेका छन् । “मुटु बचाउने धुलिखेल” केवल अस्पताल होइन, भावना हो । त्यहाँ प्रविधि पनि छ, सेवा पनि । तर सबैभन्दा ठूलो कुरा–मानवीय करुणा । र यही करुणाले गाउँकी महिलालाई दशैंको दिन जीवन फिर्ता दिएको हो । 
    धुलिखेल अस्पतालमा मुटु विभाग एक सपना जस्तै सुरु भएको थियो । डा. राजेन्द्र कोजु एक्लै आएर बिस्तारै यसलाई व्यवस्थित गरे । सुरुवातमा केवल आधारभूत उपकरण, सीमित स्टाफ । तर अहिले–लगभग ३० जना विशेषज्ञ, सह–सहयोगी टिम, बालबालिका, युवा र बृद्धसम्म सबै उमेर समूहका बिरामीको उपचार । क्याथल्याबमा दैनिक आपतकालीन सेवा उपलब्ध छ । बार्षिक ४ सय भन्दा धेरैले उपचार पाइरहेका छन् । एन्जियोग्राम, एन्जियोप्लास्टी, पेसमेकर, र आईसिडी जस्ता अत्याधुनिक सेवा समावेश छन् । पहाडका गाउँबाट बिरामीहरू राजधानी धाउनुपर्ने बाध्यता कम भएको छ । तर चुनौती अझै छ–आर्थिक अवस्था कमजोर, स्वास्थ्य बीमा अभाव, उपकरण र औषधि महँगो, पूर्वाधार सीमित । मैयाको परिवार जस्तै सयौं परिवारलाई यही समस्या छ । त्यसैले धुलिखेल अस्पतालको भूमिका केवल उपचार मात्र होइन, आशा र जीवनको अवसर प्रदान गर्नु पनि हो ।
    अस्पतालमा सबै उपकरण आधुनिक छैनन् । पेसमेकरको ब्याट्री परिवर्तन प्रत्येक १० वर्षमा गर्नु पर्छ । एन्जियोप्लास्टीका लागि स्टेन्ट महँगो छ । आईसिडी जडान सीमित छ । यदि सरकारले पर्याप्त पूर्वाधार र उपकरण उपलब्ध गराए, सयौं बिरामीलाई राजधानी धाउन नपर्ने स्थिति सिर्जना हुनेछ । मैया जस्तै दैनिक भर्ना हुने विरामीको कथा करिब करिब उस्तै उस्तै छ । रामकृष्ण क्षेत्री, ५८ वर्ष – धमनीमा अवरोध । एन्जियोग्राम पछि स्टेन्ट राखियो । “धुलिखेल आएर बाँचें,” उनले आँसु पुछ्दै भने । सिता थापा, ४२ वर्ष – हृदयघातको शंका । बच्चा र घरधन्दा सबै सम्झेर चिन्तित । अस्पतालमा उपचारपछि जीवन फर्कियो । यी कथाहरूले देखाउँछन्, धुलिखेल अस्पतालले केवल औषधि मात्र दिन्छ भन्ने होइन, जीवन, विश्वास, र आशा पनि दिन्छ ।
     डा. कोजु र टिम केवल चिकित्सक होइनन् । उनीहरू जीवन र मृत्युबीचको पुल हुन् । अस्पतालको सफलता डाक्टरको दक्षता मात्र होइन, उनको मानवीय दृष्टिकोण र सहयोगको भावना पनि हो । तथ्यांकले देखाउँछ कि धुलिखेल अस्पतालले केवल स्थानीय होइन, राष्ट्रिय स्तरमा पनि जीवन बचाउने सेवा उपलब्ध गराएको छ । सरकारले विपन्न नागरिकका लागि १ लाख रुपैयाँको सहायता उपलब्ध गराउँछ । तर उपकरण र प्रविधि महँगो भएकाले आर्थिक अवस्थामा सामान्य मानिसले उपचार सजिलै पाउँदैनन् । त्यसैले अस्पताल र डाक्टरहरूको सहयोग, सहजीकरण, र समुदायको सहभागिता महत्वपूर्ण छ । धुलिखेल अस्पतालको मुटु विभाग अझ विस्तारको आवश्यकतामा छ । आधुनिक उपकरण, पर्याप्त पूर्वाधार, दीर्घकालीन औषधि पहुँच, प्रशिक्षित विशेषज्ञ । यी सबै भए, मुटुको समस्या भएका बिरामीले राजधानी धाउन नपर्ने, सजिलो, छिटो, र सुरक्षित सेवा पाउनेछन् । 
    मैयाको उदाहरणले देखाउँछ–एक गरीब, ग्रामीण महिला पनि जीवन फिर्ता पाउन सक्छ । उनको मुटुको धड्कनले केबल उनको होइन, उनको परिवार र भविष्यको पनि आशा जगायो । छोरीहरू फेरि स्कूल जान सक्छन् । श्रीमान् अब परिवारसँग सुरक्षित छन् । मैयाले दशैंको टिका लगाउन सकिन्–तर यो टिका केवल पर्वको होइन, जीवनको पुनर्जन्मको टिका बन्यो । धुलिखेल अस्पताल केवल भवन र उपकरण होइन । यो जीवनको विश्वास हो । प्रविधि र दक्ष जनशक्तिको संयोजन, मानवीय करुणा र समर्पणले यहाँको सेवा अद्वितीय बनाएको छ । गरिब नागरिकहरूले पनि राजधानी धाउन नपरी, छाती दुख्दा तुरुन्त उपचार पाउने आशा राख्न सक्छन् । मैयाको कथा केवल एउटा जीवनको होइन, सयौं जीवनको प्रेरणा बन्यो । “मुटु बचाउने धुलिखेल अस्पताल” केवल स्वास्थ्य सेवा होइन, आशा, जीवन, र भविष्यको गहिरो भरोसा हो । जहाँ चिकित्सकको समर्पण, टिमको मेहनत, र राज्य–समुदायको सहयोग मिल्छ, त्यहाँ जीवन फेरि धड्किन्छ ।