2026 April 30/ 09:08: 47am

    आजकल नेपालमा बस्ने युवाहरुको संख्या न्यून हुन थालेको छ । हरेक घरमा विदेश जाने बालबालिकाहरुको संख्या बढिरहेको छ । एकातिर नेपालमा जनसंख्याको घट्दो दर अर्काेतिर भएका बच्चाहरु विदेश । स्वदेशमा बाबु आमाको काखमा हुर्केर, खेलेर दुख भन्ने नसुनेको ब्यक्तिले विदेशमा कसरी संर्घर्ष गर्ला ? ग¥यो भने पनि उनिहरु कसरी स्थापित हुन सक्लान ? कक्षा १२ सक्ने वितिक्कै विदेश जाने भनेको १८ वर्षको आसपासको उमेर मात्रै हो । न परिपक्व, न संर्घषको जानकारी । केवल सपना विदेशको र सुख सुविधाको । 
    घडीको सुईले १२ बजिसकेको थियो । बाहिरको चिसो हावा र गहिरो अन्धकारले घरलाई अझ खाली र डरालाग्ने बनाएको थियो । सानो डाइनिङ्ग रुमको एक कुनामा, दुई वर्षकी छोरी चुपचाप सुतेकी थिई । उनका हात–खुट्टा ओछ्यानमा सुरक्षित रूपमा लुकाइएका थिए । तर, घरभित्रको वातावरणमा शान्ति केही पनि थिएन । उनी थकित थिए, भोकै थिए र कामबाट फर्केका शरीरमा शारीरिक थकानको बोझ थियो । नर्सिङ्गको जागिर, जसले दिनभरको मानसिक र शारीरिक ऊर्जा चुसिसकेको थियो, रातको एकान्तमा थप त्रास उत्पन्न गरिरहेको थियो । तर आजको रात केवल थकानको थिएन, यो रात थियो असह्य भय र शारीरिक हिंसाको सामना गर्ने रात थियो । सासु, श्रीमानको दिदी र आमाजुले मिलेर उनी माथि हमला गरेका थिए । सिधै उनिहरुले पैसाको कुरा गरेका थिए । अपशब्द समेत प्रयोग गरेका थिए । माइतिलाई खुरुखुरु पठाइदिएको छ ? उनको कानमा घोचिरहे । प्रत्येक शब्द, प्रत्येक लात, प्रत्येक धक्का उनको शरीर र मनमा चोटको रूपमा थियो । उनी भुइँमा लडेकी थिइन्, बच्चाले ममि ममि गर्दै चिच्याउँदै थिई । श्रीमान, जसलाई उनले सुरक्षा र माया गर्ने आशा राखेकी थिइन्, रक्सीको प्रभावमा घरमै थिइन्, तर केही गरेनन् । उनले बुझेनन् कि उनको पत्नी र छोरी ज्यानमाथि खतरा भोग्दै थिए ।
    सासु र दिदी आमाजुले निरन्तर उनमाथि लात्ती र धक्का हान्दै थिए । कानको सुनको रिंग, हातको बाला खोसिन थाल्यो । मानसिक र शारीरिक तनावले उनलाई लगभग बेहोस बनाइरहेको थियो । भोक, थकान, डर, र अपमान सबै मिश्रित भएर उनलाई चिच्याउन बाध्य बनाएको थियो । उनी भित्रबाट उठ्न खोजिन् । बच्चा उनको छातीमा चिप्लियो, ममि ममि भन्दै । सानो शरीर उनको रक्षा गर्ने ढाल जस्तो थियो । उनले आफैंलाई सम्झाइन । म मरे भने पनि हुन्छ, तर मेरो बच्चा... मेरो बच्चा जीवित रहोस् । फोन उनको खल्तीमा थियो । डर, थकान, र त्रासका बीच उनले प्रहरीको नम्बरमा डायल गरिन् । फोनको अर्कोतिरबाट सहायक आवाजले उनलाई राहतको अनुभूति दिलायो । उनले मात्र केही शब्द बोलिन्, अनि फोन राखिन् । यसैबीच, ढोकामा बेल बज्यो । प्रहरि आयो । ढोका खोले पछि लामो सास फेरिन् । ज्यान बचाउने पहिलो कदम सफल भयो । प्रहरि उपस्थित भए पछि मात्र उनले आफ्ना बच्चा र आफूलाई सुरक्षित महसुस गरिन् ।
    त्यो रात उनी र बच्चा सुरक्षित भए पनि, मनमा अझै डर थियो । उनले बुझिन् कि यो केवल व्यक्तिगत समस्या मात्र होइन, सामाजिक, कानुनी, र सांस्कृतिक जरा भएका घरेलु हिंसाको परिणाम हो । घरेलु हिंसा, विशेषगरी आप्रवासी परिवारमा, केवल व्यक्तिगत समस्या होइन । अमेरिकामा बसेका नेपाली आप्रवासीहरूको डेटा अनुसार, महिला आप्रवासीहरूको ४०–५०% हिस्सा शारीरिक, मानसिक वा आर्थिक हिंसाको सामना गर्छन् । सामाजिक संरचनामा पुरुष–महिला शक्ति असमानता, आर्थिक निर्भरता र पारिवारिक दबाबले महिलालाई सुरक्षा खोज्न कठिन बनाउँछ । महिलाले स्वतन्त्र आर्थिक क्षमता सीमित भएको, पति र परिवारको साथ नपाएको र कानुनी सहायता तत्काल उपलब्ध नभएको कारण अत्यन्त जोखिमपूर्ण अवस्था भोग्न बाध्य अवस्था छ । 
    नेपालको राष्ट्रिय सर्वेक्षण (२०७८) अनुसार, विवाहिता महिलामध्ये करिब २५% महिलाले पति वा परिवारबाट शारीरिक हिंसा भोगेको रिपोर्ट छ । आर्थिक निर्भरता महिला हिंसाको जोखिम बढाउने प्रमुख कारण हो । आप्रवासी महिलाहरूमा, कानुनी सहायता, भाषा र सामाजिक सञ्जालको अभावले हिंसाबाट बच्न कठिन बनाउँछ । तत्काल सुरक्षा, सुरक्षित आवास, कानुनी सहायता, मनो–सामाजिक परामर्श आवश्यक छ । प्रहरीले घर छोडे पछि पनि पीडितको मनमा डर अझै बाक्लै थियो । रातको हिंसात्मक घटनाले उनको चेतना मात्र नभई जीवनको आधार नै हल्लाइदिएको थियो । बच्चा सुरक्षित भए पनि, भविष्यको अनिश्चितता, आर्थिक चुनौती र पति परिवारको निरन्तर धम्कीले उनीलाई मानसिक र भावनात्मक रूपमा थिचिरहेको थियो ।
    घर बाहिर निस्किन पनि डर लाग्दथ्यो । उनका लागि शहरका सडक, साथीको घर र सार्वजनिक ठाउँहरू पनि पूर्ण सुरक्षा प्रदान गर्न सकेका थिएनन् । यस बीच उनले साथीसँग सुरक्षित आश्रय खोजिन् । बच्चा बोकेर उनी साथीको अपार्टमेन्टमा पुगिन् । प्रहरी र पुलिसलाई सबै जानकारी दिइन् । यहाँ उनले पहिलो पटक महसुस गरिन् कि कानुनी सुरक्षा, सामाजिक सहयोग र व्यक्तिगत साहस एकैसाथ आवश्यक छ । घरेलु हिंसाको घटना पश्चात उनलाई थाहा भयो कि पति र परिवारले अलग–अलग केस दर्ता गरिसकेका छन् । डिभोर्स÷सेपेरेसन मुद्दा, बच्चाको कस्टडी, घरेलु हिंसा । यस्तो अवस्थामा, कानुनी प्रक्रिया जटिल र महँगो हुने भए पनि, महिलाको अधिकार सुनिश्चित गर्न आवश्यक छ । उनले बुझिन् कि निजी वकिल नभएकोले निःशुल्क कानुनी सहायता खोज्नु अपरिहार्य छ, तर यसले पूर्ण संरक्षण नदिने खतरा छ । त्यो रातको हिंसाले उनीलाई केवल शारीरिक चोट दिएको मात्र होइन, भावनात्मक आघात पनि पु¥यायो । अहिले मानसिक स्वास्थ्य समस्याको खतरा छ । बच्चामा पनि माता–पिताको झगडाबाट आघात भोग्ने सम्भावना छ । आत्म–सम्भावना र आत्मविश्वासमा गिरावट आएको छ । अमेरिकामा गरिएका अनुसन्धान अनुसार, घरेलु हिंसा भोगेका महिलाहरूमा गहिरो मानसिक तनाव र सामाजिक अलगाव देखा परेको छ । घरेलु हिंसा केवल व्यक्तिगत नभई सामाजिक संरचना र सांस्कृतिक मूल्यहरूसँग जोडिएको हुन्छ । पारिवारिक शक्ति संरचना, आर्थिक निर्भरता, सांस्कृतिक धारणाहरू, आप्रवासी चुनौती थपिदै गएको छ । पीडितका लागि आर्थिक स्वतन्त्रता सबैभन्दा ठूलो चुनौती थियो । कामबाट थकान, भोक र बच्चाको हेरचाहको सन्तुलन । निजी बैंक अकाउन्टमा पहुँच नभएको, डेबिट कार्ड प्रयोग हुँदै आएको थियो । गाडी र घर समेत पति वा परिवारको नाममा थियो । 
    अमेरिकामा बसेका आप्रवासी महिलाहरूमा आर्थिक निर्भरता र कानुनी असुरक्षा मिलेर जोखिम थप्छ । यसैले, आर्थिक सशक्तिकरण केवल आवश्यक नभई जीवन–रक्षाको उपाय पनि हो । कानुनी सुरक्षा, अस्थायी र स्थायी सुरक्षा आदेश, सामाजिक सुरक्षा, अदालत, कस्टडी र पुनर्निर्माणको बाटो विकल्प थियो । अर्को बिहानको सूर्यले घरलाई प्रकाश पार्दै थियो, तर पीडितको मनमा अझै अन्धकार थियो । रातभरको त्रास, थकान र डरले उनीलाई थिचिरहेको थियो ।  बच्चाको मुस्कानले मात्र उनलाई धैर्य दिलाइरहेको थियो । प्रहरीले उनलाई सुझाए अनुसार, अब कानुनी प्रक्रिया सुरु भएको थियो । पति र परिवारले छुट्टाउने प्रयास गर्दै अदालतमा डिभोर्स र कस्टडी मुद्दा दर्ता गरिसकेका थिए । उनले बुझिन् कि अब न्याय पाउनको लागि धैर्य, साहस र कानुनी तयारी अपरिहार्य छ । अमेरिकामा बसोबास गर्ने आप्रवासी महिलाहरूले सामना गर्ने कानुनी जटिलता अत्यन्तै चुनौतीपूर्ण हुन्छ । पति अलग हुन चाहन्छ । बच्चाको अधिकार र संरक्षण । घरभित्रको हिंसा प्रमाणित गर्न पुलिस रिपोर्ट, चिकित्सकीय प्रमाण, र साथीको बयान आवश्यक थियो । पीडितले सानो रकममा पनि वकिलको सेवा लिन सकिनन् । त्यसैले उनले निःशुल्क वकिल सहायता खोजिन् । यहाँ पनि चुनौती थियो । धेरै वकिलहरूले आप्रवासी केसमा पर्याप्त समय र स्रोत नदिने, प्रक्रिया ढिला र जटिल, पति र परिवारको आर्थिक शक्ति बलियो तर उनले हार मानेकी थिइनन् । उनको सोच थियो मेरो बच्चा सुरक्षित रहोस् । म जिउँ या मरेँ, उनको भविष्यको लागि म लड्नै पर्छ । बच्चाको सुरक्षाको प्रश्न सबैभन्दा महत्वपूर्ण थियो । बच्चालाई कब्जामा लिन र उनको कमजोरी देखाउने प्रयास थियो । पुलिस, सामाजिक सुरक्षा समूह र साथीहरूको सहयोग थियो । अदालतको निर्णय प्रक्रियामा बालहित सर्वोच्च भन्ने धारणा लागू हुने थियो । भौतिक सुरक्षा पर्याप्त छैन । बच्चाको मानसिक, भावनात्मक र सामाजिक विकास पनि सुनिश्चित गर्न आवश्यक छ ।
    नेपालमा भन्दा विदेशमा त्यो पनि अमेरिकामा सहज हुन्छ र जीवन सुख बन्छ भन्ने सोच बोकेर विदेशिएकी एक महिलाको व्यक्तिगत संघर्ष मात्रै होइन यो घटना । आम नेपाली महिलाहरुले भोगिरहेको चित्कार पनि हो ।  सामाजिक, आर्थिक, कानुनी र मानसिक चुनौतीको चित्रण हो । साहस, कानुनी सहायता र सामाजिक समर्थनले मात्र जीवन र बच्चाको भविष्य सुरक्षित रहन सक्छ । समाजले महिला अधिकार, बच्चाको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । कानुनी प्रणालीले प्रभावकारी, शीघ्र र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्नु आवश्यक छ । पीडितले भोगेका रात र उनका संघर्षले देखाउँछ कि घरेलु हिंसा केवल व्यक्तिगत मात्र नभई सामाजिक चुनौती हो । केवल पुलिसको उपस्थितिले मात्र होइन, कानुनी संरक्षण, आर्थिक सशक्तिकरण, सामाजिक सहयोग, र मानसिक स्वास्थ्य सेवाले मात्र समाधान ल्याउन सक्छ । 

रमेश खरेल
हालः अमेरिका