म अहिले मेरो जीवनको उत्तराद्र्धमा छु । धेरै वर्षको यात्रापछि, धेरै अनुभूति र असंख्य घटनाहरूले मलाई यस्तो बनाएको छ, जस्तो म आज छु । तर सत्य के हो भने म आज पनि सिकिरहेको छु, आज पनि म विद्यार्थी नै हुँ । जीवनको यो अद्भुत विद्यालयमा, मैले पाएको गुरुहरू कुनै मठ–मन्दिरमा मात्र भेटिएका होइनन्, न त तिनीहरू सबै साधु–सन्त थिए । मरो गुरु कहिले एक सानो बच्चा भयो, कहिले आफ्ना प्रेममा पागल भएकी एक स्त्री, कहिले रातको अँध्यारोमा भेटिएको एक चोर, र कहिले अरू कुनै अनौठा पात्र, जसको नाम र अनुहार आज पनि मेरो स्मृतिमा गहिरो कोरिएको छ ।
यो घटना धेरै वर्ष अघिको हो । म कुनै अपरिचित गाउँतिर यात्रा गर्दै थिएँ । बिहानको समय थियो, हल्का कुहिरोले बाटो ढाकेको, अनि चराहरूको चहकिलो स्वरले बिहानलाई जीवन्त बनाइरहेको । मैले धेरै टाढा बाटो हिँडिसकेको थिएँ र बीचमा एक घाम लाग्दो चौतारीमा अलिकति विश्राम लिने सोच बनाएँ । त्यही बेलामा, मेरो दृष्टि परको बाटोतर्फ गयो । त्यहाँबाट करिब पाँच छ वर्षको जस्तो देखिने एउटा बालक आउँदै थियो । उसको हातमा एउटा सानो दियो बलिरहेको थियो । उसको अनुहारमा अद्भुत चमक थियो त्यो दियोको उज्यालो मात्र होइन, उसको आफ्नै मासूमियत र आत्मविश्वासको उज्यालो ।
म उसको नजिक पुगेँ र मुस्कुराउँदै सोधें, बाबु, के तिमी मलाई भन्न सक्छौ यो दियोमा बलिरहेको ज्योति कहाँबाट आएको हो ? मनमा मैले सोचें बालक हो, के बुझ्थ्यो र ! शायद अचम्म मान्नेछ, अलमलिनेछ, अनि म उसलाई आफ्नै ज्ञानको कुरा सुनाउँला । तर उसको प्रतिक्रिया मेरो अपेक्षाभन्दा एकदम फरक भयो । उसले मलाई केही क्षण निहाल्यो । केही बोलेन । त्यसपछि उसले गहिरो सास तान्यो र फुक्यो सिधै दियोको ज्योतिमा । एकै छिनमा त्यो ज्योति निभ्यो । दियो निभाई सकेपछि उसले शान्त स्वरमा भन्यो, अब तपाईं नै भन्नुस्, ज्योति कहाँ गयो ?
त्यो क्षण... मेरो मनमा कुनै शब्द थिएन । मेरो मुख सुक्यो । मैले उसलाई बालक मात्रै ठानेको थिएँ, तर उसले यस्तो प्रश्न फ्याँक्यो जसले मेरो अहंकार चकनाचूर बनाइदियो । म तुरुन्तै उसको खुट्टा समाएँ र मनमनै भनें—आज मैले गुरु भेट्टाएँ । त्यो दिन मैले सिकें उमेरले ज्ञानको परिमाण नापिँदैन । सानो ठानेर उपेक्षा गर्नु अज्ञानताको चरम हो । ज्ञानको ज्योति कहिले र कहाँबाट बल्छ, त्यो हामीलाई थाहा हुँदैन । एक वर्षपछि, अर्को यात्रा गर्दै म एउटा गाउँको चौतारीमा बसिरहेको थिएँ । दिनको मध्यान्ह, घाम कडा थियो । त्यही बेला, टाढाबाट एक स्त्री दौडिँदै आइन् । उनको लुगा अस्तव्यस्त थियो, केही अङ्गहरू ढाकिएका थिएनन् । उनको अनुहारमा हतार र भावनाको मिश्रण थियो । उनी मेरो अगाडि आइपुगिन् र सोधिन्, तपाईंले यहाँबाट कुनै मान्छे गएको देख्नुभयो ? उनको अवस्थामा म अचम्मित भएँ, अनि अलिक रिस पनि उठ्यो । मैले अर्कोतर्फ हेर्दै भनें, पहिला आफ्नो लुगा मिलाऊ, त्यसपछि कुरा गरौं । त्यसपछि उनले मलाई हेर्दै शान्त स्वरमा भनिन्, माफ गर्नुहोस् । तपाईंको भेषभुषा देखेर मलाई लाग्यो तपाईं सन्त हुनुहुन्छ । मेरो प्रेमी वर्षौंपछि यो बाटो हुँदै आउँदैछ भन्ने खबर पाएँ । म उसको प्रेममा यति डुबेँ कि लुगा–कपडाको होस नै रहेन । मेरो तन–मन दुबै उसको कल्पनामा हराइरहे । तर तपाईं—परमात्माको साधक भएर पनि—परमात्माको प्रेममा यति डुब्न सक्नु भएको रहेनछ । जुन म मेरो प्रेमीको प्रेममा डुबेकी छु ?
यी शब्दहरू मेरो हृदयमा वाणजस्तै लागे । मैले महसुस गरें—साँचो साधना भनेको संसारिक विकारहरूलाई पार गरेर प्रेममा लीन हुनु हो । त्यसदिन मैले उनलाई मेरो गुरु स्वीकार गरें । ती बालक र प्रेममा डुबेकी नारीसँगको अनुभव पछि मेरो मन अझ शान्त र खुला भएको थियो । म हिँडिरहेको बाटो अब बडो रमाइलो लाग्थ्यो हरेक मोडमा, हरेक अनुहारमा, कुनै न कुनै शिक्षा भेटिन्छ कि जस्तो । एक साँझ, मैले एउटा सानो गाउँको बाहिरको बगैंचामा विश्राम गर्ने निर्णय गरेँ । आकाशमा चन्द्रमा अझै पूर्ण नभए पनि, उसको मधुरो प्रकाशले वरिपरिको बगैंचालाई निलो रजत रंगमा सजाएको थियो । गन्धहरू मिश्रित थिए नजिकैको रातरानीको मीठो सुगन्ध र टाढाको चुल्होको धुवाँ । म पल्टेर ध्यान गरिरहेँ । अचानक, मैले टाढाबाट पाइलाको हल्का आवाज सुनेँ । त्यो आवाज निकै सावधान थियो जस्तो कसैले आफ्नो उपस्थितिलाई लुकाउन खोजिरहेको होस् । मैले आँखामै पातलो मुस्कान ल्याएँ, किनकि यो आवाज म अनजान थिएँ जस्तो गरे पनि मेरो कानबाट छुट्न सक्दैनथ्यो । त्यो छायाँ मेरो नजिक आयो । एउटा दुब्लो, मध्यम उमेरको मान्छे, फाटेका कपडामा, हातमा सानो बोरा सहित । उसको अनुहारमा मिश्रित भाव—त्रास, चातुर्य र निराशा—स्पष्ट देखिन्थ्यो । उसले मेरो छेउमा आइपुगेर बिस्तारै मेरो बोरीतर्फ हात बढायो । मैले आँखा खोल्दै मात्र भनें, तिमी के गर्दैछौ, मित्र ? उसले अत्तालिँदै हात झिक्यो, तर तुरुन्तै फेरि दृढ भयो । म... म चोर हुँ । उसले ढुक्क स्वरमा भन्यो तर तपाईंलाई हानी पु¥याउने मेरो इरादा छैन । भोक लागेको छ, त्यसैले केही खोज्दै थिएँ ।
मैले उसको अनुहार नियालेर हाँसेँ । तिमी चोर भएर पनि यति सजिलै आफ्नै अपराध स्वीकार गर्छौ ? उसले ढुक्क स्वरमा उत्तर दियो, हो । झूट बोलेर कसलाई फसाउने ? सत्य लुकाएर के पाउने ? त्यो वाक्यले मलाई गहिरो चोट दियो मलाई मेरो आफ्नै अतीतको सम्झना आयो, जब मैले आफ्नै त्रुटिहरू लुकाउन धेरै मुखौटा लगाएको थिएँ । मैले बोरी खोलेर उसलाई थोरै रोटी र सुकुटी दिएँ । उसले कृतज्ञतापूर्वक लियो र अघि बढ्ने बेलामा भन्यो साधुजी तपाईंको अनुहारमा शान्ति छ, तर तपाईं अझै पूर्ण स्वतन्त्र हुनु भएको छैन किनकी तपाईं सत्य बोल्ने बेला कहिलेकाहीँ शब्द तौलनुहुन्छ ।
उसको त्यो वाक्यले मलाई निद्रामा जानै दिइएन । एक चोर, जसलाई समाजले अधम ठान्छ, तर जसले आफ्नो सत्यलाई लुकाउँदैन र म, जसले सत्यलाई कहिलेकाहीँ आफ्नो सुविधा अनुसार ढाल्छु । त्यो रात मैले महसुस गरें सत्य बोल्ने साहस र जीवनको स्पष्टता कहिलेकाहीँ उच्च शिक्षा वा पवित्रता भन्दा पनि ठूलो हुन सक्छ । यी तीन घटनाले बालकको दियो, नारीको प्रेम र चोरको सत्यताले मेरो साधना मार्गलाई उल्टो दिशामा मोडिदियो । म अब किताबका सूत्रभन्दा, जीवनका घटनाबाट सिक्न थालेँ । तर यो यात्रा यत्तिमै रोकिने थिएन । म अझ धेरै पात्रहरूलाई भेट्ने थिएँ जसले मेरो सोचलाई थप परिष्कृत गर्ने थिए । भोलिपल्ट, म गाउँ घुम्न निस्कें । गाउँमा मानिसहरू साधारण जीवन बाँचिरहेका थिए, तर हरेक अनुहारमा एउटा कथा, एउटा अनुभवको चमक थियो । मैले ती पात्रहरूलाई नजिकबाट बुझ्न थालेँ । सबैभन्दा पहिले भेटें बुढो किसान कृष्णबहादुर । ऊ केवल धान टिप्ने काममा व्यस्त थिएन ऊ हरेक दिन बिहान उठेर नदी किनारमा बसेर ध्यान गथ्र्यो । मैले सोधेँ, तपाईं दिनको १२ घण्टा काम गरेर पनि शान्त हुनुहुन्छ, तर तपाईं कसरी यति संतुलित रहनुहुन्छ ? उसले मुस्कुराउँदै भन्यो जीवनमा सबै कुरा दुईवटा हातले आउँछ । हामीले लिने र हामीले दिने । जब दिने हात सफा हुन्छ, लिने हात पनि हल्का हुन्छ । यो कुरा मलाई पहिलो चोटि गहिरो अर्थमा छोयो ।
त्यसपछि भेटें, नानी राधा, सानो छोरी, जसले मबाट केही अपेक्षा नगरी हरेक बिहान मलाई पानी र फूल लिएर स्वागत गरिन् । तिमी यहाँ किन हिँड्छौ ? मैले सोधेँ । म बस खुशी दिन चाहन्छु, ऊ सरल उत्तर दिइन् । त्यो सानो मुटुको सरलता र आत्मीयता मलाई फेरि याद दिलायो । जीवनको वास्तविकता कहिलेकाहीँ जटिलता होइन, सरलतामा बस्छ । गाउँको छेउमा, पहाडको चुचुरोमा, म भेटें एकल डोकर । ऊ न बोल्थ्यो, न कुनै संकेत दिन्थ्यो । ऊ केवल चुपचाप मुनि हिँड्ने माईक्रो दर्पण जस्तो लाग्थ्यो । मैले सोधेँ, तपाईंको जीवनको रहस्य के हो ? ऊसले केवल हात उठाएर पहाड तर्फ ईशारा ग¥यो । मैले नजर फेरें र देखेँ हाम्रो जीवन, हाम्रो विचार, हाम्रो कर्म सबै ठुलो पहाड जस्तै, कठिन तर उच्च छ ।
त्यो अनुभवले मलाई अन्ततः बुझायो सत्य, प्रेम र साहस केबल शब्दमा होइन अनुभवमा सिकाइन्छ । पहाडमा बसेर म सोचिरहेँ जीवनका यी विभिन्न पात्रहरूले मलाई जे सिकाए, त्यो केबल ज्ञान होइन, साधना थियो । सन्त बच्चादेखि सुरु भएर, प्रेममा मग्न नारी, सत्य बोल्ने चोर, गाउँका साधक र नानी सबैले मलाई देखाए कि सत्य साधना केवल मन्दिर वा आसनमा बसेर प्राप्त हुँदैन । सत्य साधना भनेको दैनिक जीवनमा धर्म र नैतिकता पालन गर्नु, अन्य मानिसको पीडा र खुशी बुझ्नु, आत्मानुशासन र धैर्य अभ्यास गर्नु, मैले महसुस गरें कि म आफैं धेरै पटक भ्रममा थिएँ, मैले सोच्थें, म सन्त हुँ, म भगवानको प्रेमी हुँ तर ती पात्रहरूले मलाई देखाए सच्चा प्रेम, सच्चा भक्ति, सच्चा ज्ञान अनुभवमा मात्र हुन्छ ।
म याद गर्छु, ती दिनहरू जब चोरसँग बिताएँ । ऊ प्रत्येक रात चोरी गर्न जान्थ्यो, तर कहिल्यै निराश भएन । खाली हात फर्केर पनि ऊ उत्साहित रहन्थ्यो । त्यो अनुभवले मलाई सिकायो जीवनमा असफलता केवल अर्को अवसरको तयारी हो । निराश हुनु होइन, पुनः प्रयास गर्नु नै वास्तविक साहस हो । भगवानको खोजीमा धैर्य र विश्वास अति आवश्यक छ । त्यो चोर, जसलाई सबैले गलत ठान्थे, मेरो गुरु बने । ऊ मेरो लागि सहनशीलता, आशा, र दृढ विश्वासको प्रतीक थियो ।
स्त्रीको प्रेम र भक्ति । त्यस नारी जसको प्रेमले मलाई झस्कायो, ऊ केवल प्रेममा मग्न थिएन । उसले मलाई भक्ति केवल ध्यानमा बस्ने होइन, भक्ति भनेको संसारिक मोहबाट मुक्त भएर पूर्ण प्रेममा डुब्नु भन्ने सन्देश दिई । वस्त्र र शरीरको नाङ्गोपन वास्तविकता होइन; वास्तविकता भनेको मन र आत्माको शुद्धता हो । त्यसदिन देखि, मैले मेरो साधना र भक्ति बुझ्न थालेँ भौतिकतालाई त्यागेर मात्र आत्माको शुद्धता प्राप्त हुन्छ । कृष्णबहादुर, नानी राधा, एकल डोकर सबैले मलाई सिकाए जीवनका साना अनुभव, साना भेट, साना कुराहरू सबै शिक्षक हुन् । हरेक मानिससँग सिक्ने कुरा छ । हरेक परिस्थिति, चाहे सुख होस् या दुःख, जीवनको शिक्षा हो । मैले महसुस गरें कि सत्संग, गुरु, भक्ति, साधना–यी सबै केवल बाहिरी चीजहरू होइनन् । जीवन नै सत्संग हो । जीवन नै गुरु हो । त्यसपछि ममा परिवर्तन शुरु भयो । ती अनुभवपछि मेरो सोच, मेरो व्यवहार, मेरो साधना सबै परिवर्तन भयो । जीवनका प्रत्येक पलमा सिक्न तयार छु । हरेक मानिस र घटनामा आध्यात्मिक शिक्षा खोज्छु । आफ्नो मनलाई धैर्य, प्रेम, र शुद्धतामा केन्द्रित गर्छु । सत्य, प्रेम, भक्ति, धैर्य—यी सबै गुण मेरो जीवनमा स्थिर भए । अब मैले बुझें कि जीवनका गुरु केवल पुस्तिका, पुस्तक, वा मठका साधक मात्र होइनन् । जीवनकै प्रत्येक व्यक्तिले, प्रत्येक घटना, प्रत्येक चुनौतीले हामीलाई गुरु बन्न सक्छ ।
श्रीनिवास खतिवडा
सुडाल, भक्तपुर





