2026 June 27/ 01:43: 09am

    धुलिखेलको चिसो बिहानमा, विमल मिजारको अनुहारमा हल्का थकाइ थियो । कानुनका किताबहरूले होइन, जीवनका गल्तीहरूले गढिएको अनुहार । उसले थुनछेक बयान दिँदै भन्यो, म सस्तोमा मोटरसाइकल खोज्दै थिएँ, साथी दिनेशले भन्यो–एउटा छ, कागजात पनि हुन्छ भनेको थियो...। 
    विमल महाभारत गाउँपालिकामा एउटा सामान्य परिवारमा हुर्केको थियो । उसको बाबु गिट्टी बालुवा बोकेको ट्रकमा हेल्पर थिए । आमा गाउँमा काम गर्थिन् । उसले आठ कक्षा पढ्यो—त्यसपछि स्कूल टाढा भयो, जीन्दगी नजिक । दस वर्ष अघि पनौतीतिरै एउटा सस्तो मजदुरीमा काम गर्दा उसले दिनेश कोईरालासँग चिनजान ग¥यो । दिनेश पनि खास फरक थिएनन । सानो उमेर देखि मेलामा गाडी पुछ्ने, निर्माण साईटमा बालुवा चाल्ने, अनि कहिले काँही हराउने । कहिले भेटिन्थ्यो, कहिले हराउँथ्यो ।
    दिनेश कुनै समय लेवरको काम गर्थे, तर काम अस्थायी थियो, पैसा कहिल्यै स्थायी हुन्थेन । अनि, एक दिन उनले ‘सस्तो मोटरसाइकल’ बेच्न सुरु गरे । चोरीको मोटरसाईकल लुटपाट होइन, उनी भन्थे पार्किङमा छ, कोही लिन आउँदैन, हामी चिन्छौं सिस्टम...। २०७९ सालमा उसलाई पहिलो चोटि पक्राउ गरियो तीन महिनाको सजायँ भयो । त्यसपछि फेरि कैद, फेरि छुट । उसलाई प्रहरीले पटके चोर’ भन्छ । तर दिनेश भन्थ्यो, काम छैन, परिवार पाल्नुपर्छ, के गरुँ ? विमललाई दिनेशले भने “पल्सर छ, कागजात ठिकै छ, २० हजार दे ।” २० हजार विमलको जीवनको सबैभन्दा ठूलो गल्ती थियो । उसले पल्सर किन्ने सपना पूरा भयो जस्तो ठान्यो । बनिएको बाइक, तागतको बाइक । तर केही दिनमै प्रहरीले सोध्यो–खै कागजात ? उसँग थिएन । अनि, सारा सपना प्रहरीको हिरासतमा पुग्यो । 
    विमलले बयानमा भन्यो–मलाई थाहा थिएन बाइक चोरीको हो । उसले भन्यो सब ठिक छ । म यत्तिको सोचेर किनें । त्यही समय, मण्डनदेउपुरको एक होटलमा अर्को कथा लेखिँदै थियो । अमृत बोम्जन, जो सिन्धुपाल्चोकतिरका थिए छ्याङ्ग र खाजाको बहानामा होटल पसे । कोठामा चार्जमा राखिएको मोबाइल देखे, हात सम्हाल्न सकेनन् । त्यही हातले मोबाइल टिप्यो, अनि भाग्ने क्रममा पक्राउ परे । किन चोरी गर्छन् यी पात्रहरू ? हिरासतमा रहँदा मैले यहि सोचें । के यो चाहना हो ? रहर ? कि बाध्यता ? वास्तविकता फरक छ । यी सबै पात्रहरू समाजको त्यो तहबाट आएका छन्, जहाँ ‘सपना किन्न’ रकम छैन । जहाँ एकवटा पल्सर २० हजारमा पाइन्छ भने, त्यो रहर होइन जीवनको ‘अवसर’ लाग्न सक्छ । तर त्यो सस्तो सपना, अन्ततः महँगो साबित हुन्छ ।
    धुलिखेल, पाँचखाल, बनेपाजस्ता सहरहरूमा चोरी बढ्नु, केवल अपराध होइन । सामाजिक असन्तुलनको संकेत हो । जब काम छैन, शिक्षा अधुरो छ । अभाव घरको ढोका ढकढक्याइरहन्छ । त्यही बेला दिनेश र म जस्ता पात्रहरू सस्तो समाधान रोज्न बाध्य छौं । तर कानुन सस्तोमा पाइँदैन र जिन्दगी पनि । काभ्रेमा मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गर्दा प्रहरी सक्रिय देखिएको छ । तर चोरहरू किन यस्तो बाटो रोज्छन् ? जहाँ पैसाको मात्र होइन, नियतिको पनि कारोबार हुन्छ ।
    धुलिखेलको प्रहरी नियन्त्रणमा रहेको एक सानो कोठा । भित्तामा झुण्डिएको पुरानो घडीको काँटा रातको १० बजिसकेको जनाउँछ । एउटा कोठाको कुर्सीमा २६ वर्षीय विमल मिजार चुपचाप बसेका छन् । उनले केही समयअघि २० हजार रुपैयाँमा किनिएको पल्सर बाइक चोरीको भनेर समातिए । पुलिसको सोधपुछमा विमलले भने, मलाई थाहा थिएन त्यो बाइक चोरीको हो । दिनेशले भनेको थियो सबै कागजात मिलेको छ, सस्तोमा दिएको मात्र हो । विमलको जन्म महाभारत गाउँपालिकाको एउटा सामान्य परिवारमा भयो । उनी पाँच भाई बहिनी मध्ये कान्छा थिए । बाबु मजदुरी गर्थे—प्रायः निर्माण क्षेत्रमा । आमा गाउँमा बारीमा ब्यस्त हुन्थिन् । उनि स्कूल जान्थे, तर दुई घण्टा हिँड्नुपर्ने बाटो, अनि भोकले पढाइभन्दा पेट नजिक थियो । आठ कक्षा पार गरे पछि स्कूल छाडे । बाँच्नका लागि उनले काठ ताने, गिट्टी बोके, सिमेण्ट उठाए । कहिले कलंकी, कहिले बनेपा, कहिले पनौती—जहाँ काम पाइन्छ, त्यहीँ विमलको गन्तव्य हुन्थ्यो । पनौतीको एउटा घर निर्माण साइटमा काम गर्दै गर्दा विमलले दिनेश कोईरालालाई भेटे । उनी दुवैजना उस्तै थिए—गरीबीले हुर्काइएका, जीवनसँग लड्न सिकाइएका । दिनेश केही वर्ष विमलसँग मिलेर काम गरे । त्यसपछि हराए । कहिले काठमाडौं, कहिले सिन्धुपाल्चोक, कहिले काम खोज्दैछु भन्दै फेसबुकमा स्टोरी हाल्थे । एकदिन अचानक फोन आयो ‘ए भाइ, बाइक चाहिन्छ भने भन है । सस्तोमा पल्सर छ, नम्बर पनि मिलेको । कागजात ठीक्क छ ।’
    विमलले थोरै संकोच गरे । तर मनमनै भने २० हजारमा पल्सर ! त्यो पनि २२० सिसि ? जीन्दगीमै यस्तो मौका फेरि आउँछ र ? त्यसपछि बनेपाको चारदोबाटोमा दिनेशले उनलाई बाइक दिए । केही दिनसम्म विमल बाईक चलाउँदै बनेपा, धुलिखेल घुमिरहे । आँखा तन्किएका थिए, आत्मबल उँचो भएको थियो । उनलाई लाग्यो–अब ‘केही’ भएको छ । तर सपना धेरै टिकेन । एकदिन चेकजाँचमा प्रहरीले कागजात माग्यो । विमल अलमल्ल परे । आफूसँग न त कागजात थियो, न स्पष्टीकरण । त्यहीँबाट प्रहरीले मोटरसाइकल नियन्त्रणमा लियो । नम्बर प्लेट नक्कली पाइयो ‘बा ९९ प ४८५६ भन्ने नम्बर वास्तविकता होइन रहेछ । प्रहरीले अनुसन्धान बढायो । असली बाइक नम्बर ३–०२–०१२ प ३०११ रहेछ, जुन पाँचखाल–४ स्थित राजेश श्रेष्ठको घरबाट २०८२ जेठ १३ गते राति चोरी भएको थियो । विमल समातिए । बाईक पनि बरामद भयो । बयानमा उनले खुलेर भने–मैले बाइक चोरेको होइन । किनेको मात्र हो । प्रहरीले जब अनुसन्धान अगाडि बढायो, तब थाहा भयो बाइक बेच्ने दिनेश कोईराला पहिल्यैदेखि चोरीका घटनामा संलग्न व्यक्ति हुन् ।
    दिनेशको पृष्ठभूमि झनै जटिल छ । पाँचखाल–२ अनेकोटमा हुर्केका उनी पनि विमलजस्तै मजदुरीमा थिए । तर केही वर्षदेखि चोरी उनको नयाँ पेशा बनेको थियो । २०७९ सालमा उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले मोटरसाइकल चोरीमा तीन महिना कैद र २५ हजार जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो । तर सजायँपछि पनि सुधार भएन । पुन ः उनी मोबाइल, मोटरसाईकल चोरी लगायत विभिन्न घटनामा संलग्न हुन थाले । यसपटक उनले राजेश श्रेष्ठको घरबाट बाइक चोरेर विमललाई बेचेका थिए । पक्राउ परे पछि दिनेशले बयानमा भने–‘बिमलले बाईक चाहिएको भने पछि मैले देखेको बाईक चोरेर दिएको हुँ । उसले पैसा दियो, म खुशी भएँ ।’ तर कानूनले दिनेशको सस्तो समाधानलाई सस्तोमा स्वीकारेन । उनी अहिले अर्को अभियोगमा कारागारमा छन् । नयाँ मुद्दा चलिरहेछ । 
    विमलले अपराध गरेनन् भन्ने प्रश्न कानुनी छ । तर उनले चेतावनीलाई बेवास्ता गरे । नेपालमा दैनिकजसो चोरी हुने मोटरसाइकलहरू कतिपयजसो यस्ता निर्दोष क्रेतासँग भेटिन्छन्, जसले किन्नु त सक्छन्, तर कानुनी कागजात बुझ्ने हैसियत हुँदैन । यो घटनाले देखाउँछ सस्तोमा पाइने सपना प्रायः कहालीलाग्दो सस्तो जाल हुन्छ । यी दुई घटनाले देखाउँछ चोरी अपराध हो, तर त्यसको मूल जरा अभाव हो । मोटरसाइकल चोरी, मोबाइल चोरी जस्ता घटनाहरू हरेक दिन दोहोरिँदै छन् । तर, के हामी यसलाई केवल अपराधका रूपमा मात्र हेरिरहेछौं ? कि यसभित्र लुकेको बेरोजगारी, गरीबी, असमानता र अवसरको अभाव बुझ्ने प्रयास पनि गरिरहेछौं ?
    जब समाजले शिक्षा, सीप र रोजगारी दिन सक्दैन, तब सडकले उनीहरूलाई रोज्छ । विमल वा दिनेश, अमृत वा अरू यी पात्रहरू समाजका गल्ली भित्र गुम्सिएका संवेदनाहरू हुन् । कतिपय त साँच्चिकै ‘जानाजान’ चोरी गर्छन् । तर कतिपय ‘बाँच्नका लागि’ चोरी गर्छन् । प्रहरीले यसप्रकारका घटनामा सक्रियता देखाएको छ । तर दीर्घकालीन समाधान भने समाजबाट सुरु हुनुपर्छ । चोरी गर्नेहरूको संख्यालाई कम गर्न चाहने हो भने उनीहरूले किन चोरी गर्छन् भन्ने प्रश्नलाई गम्भीर रूपमा लिनुपर्छ । त्यसका लागि चाहिन्छ शिक्षा र सीप तालिम विस्तार । सस्तो र कानुनी रूपमै गाडी किन्न सकिने नीति, अपराध पुनर्वास कार्यक्रमहरू, पुनरावृत्त अपराधीहरूका लागि निगरानी संयन्त्र आवश्यक छ । विमल मिजार अहिले धरौटीमा छन् । दिनेश कोईराला कारागारमा छन् । अमृत बोम्जन अदालतको कारवाहीमा छन् । तर यी त प्रतिनिधि पात्र मात्र हुन् । यो कथा केवल चोरीको खबर होइन, यो एउटा समाजको ऐना हो जहाँ सस्तो बाइकले जीवन महँगो पार्दछ । 

उदय मोक्तान
बनेपा, काभ्रे