मेरो बाजे, बाबु र आमाको नाम मलाई थाहा छैन । म सडकमै बस्छु । सडकमै रमाउँछु । सडकबाटै जीवन धानिरहेको छु । म सानै देखि बजार सडकमा मागी खाने र सडकमै सुत्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । म सँगै पक्राउमा परेकी उनीसँग मेरो केहि समय पहिला देखि सडकमै भेटघाट भएको हो । करिब २÷३ महिना पहिला हामी दुवैले विवाह गरी बनेपा बजारमा कवाडी बटुल्ने काम गर्दै आएका थियौं । मैले कक्षा ५ सम्म पढेको छु । मेरो घरमा कोही नभएकोले एक बर्ष पहिला देखि बनेपा बजारमा आई सडकमै मागी खाई सडकमै सुत्ने गरेको थिएँ । म १६ वर्षको भएँ । बुद्ध धर्म मान्दछु । आर्थिक अवस्था कमजोर छ । मेरो नाममा कुनै जग्गा जमिन छैन । बाबु बाजेको नाममा के कति जग्गा जमिन छ उक्त कुरा मलाई थाहा भएन । मैले हालसम्म नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी बनाएको छैन । मेरो अहिले सम्म कुनै सम्पर्क नम्बर छैन । मोबाईल अरुले चलाएको देख्ने हो । आफुले लिएर चलाएको छैन । उमेर भर्खरको भए पनि मेरो हुलिया र तौल अरु मान्छेहरुको जस्तै छ ।
प्रहरीले पक्राउ गरी मलाई बाल न्यायिक हिरासतमा राखेको छ । कर्तब्य ज्यान मुद्दा अभियोगमा मलाई प्रहरीले सडकबाटै पक्राउ गरी ल्याएको हो । बाल हिरासतमा मलाई मानवीय ब्यवहार गरिएको छ । प्रहरीले माया गरेर अपराधका बारेमा बयान लियो । खाने कुरामा पनि ठिकै छ । तर प्रहरीको नियम र हाम्रो सडकको नियम फरक रहेछ । प्रहरीले दिने समयमा हामीलाई भोक लागिसकेको हुन्छ । हुन त हामी अपराधी पनि हांै । अपराधीलाई कति माया गर्ने भन्ने पनि होला ? तर पनि हामीलाई मानवीय ब्यवहार गरियोस् भन्ने हो । विहानै खान मन लाग्छ । हिरासतमा भएकाले भनेको समयमा भनेको चिज खान सम्भव रहेनछ । पटक पटक प्रहरीले पक्राउ गर्ने र छाड्ने गरेको थियो । यो पटक जघन्य अपराधमा परेकाले प्रहरीले तत्काल छाड्ला जस्तो छैन । ब्यक्ति हत्या अलिक कडा नै हुने रहेछ । चोरी, लुटपाट, कुटपिट चाँहि सामान्य रहेछन् । हामी लागु औषध ओसारपसार गर्ने त हैनौ सडकमा भएका सबै चिज खाने बेला त्यो हाम्रो प्राथमिकतामा पर्ने गरेको छ । जसका कारण हामी आफैलाई कोहिसँग डर लाग्दैन । आफैलाई कोहि सँग डर छैन भने बाँकी काम गर्न किन डराउनु ? त्यसकै उपज हो त्यो जघन्य अपराध । अपराधमा मेरो संलग्नता र साथीहरुको सहयोग । हामीले प्रयोग गर्ने खानेकुराहरुले उत्तेजना बढाउँछ । १६ वर्षको उमेरमा उमेरगत हुने फरकता त छँदैछ त्यसमा पनि औषधीको प्रयोगले झनै बलिष्ठ बनाउँदो रहेछ । साहसिक बनाउँदो रहेछ ।
उनी ३२ बर्षकी रहिछन् । पछि थाहा भयो । उनिसँग चिनजान, रिसईवी केहि नै थिएन । न त लेनदेन नै थियो । त्यो आकस्मिक घटना थियो । आकस्मिक भएको घटनामा उनले ज्यान गुमाउन पुगिन् । म प्रहरीको हिरासतमा पुगें । विहानको समय थियो । उज्यालो हुँदै थियो । केहि मान्छेहरु स¥याब¥याङ्ग गरिरहेका थिए । केहि मान्छेहरु उठेर काममा जाने तयारी गरिरहेका थिए । विहानको २ जति बजेको थियो होला । पार्किङ गरि राखेको पुरानो बसमा एकजना महिला सुतिरहेकी देखें । म त्यहि बाटो हुँदै हिडिरहेको थिएँ । हामी सडकमा खाने सुत्ने सडक बालबालिकाहरु हौं । मेरा केहि साथीहरु पनि छन् । एक वर्ष अघि देखि नै घर छोडी घरमा नबसी सडकमा नै बस्ने खाने र सुत्ने गर्दै आएकाले मेरा साथीहरु सडकमै हुने भए । त्यहि क्रममा हाम्रो समुहमा रहेकी एक जना मेरो भन्दा कम उमेरकी बालिकासँग मेरो माया बस्न थाल्यो । हामी चिनजान भए पछि सँगै बस्दै आएको थियौं । हामी ४ जना र सहित रविन्द्र खड्का लगायतका साथीहरुसँग भेट भयो । मैले समेत दाजु भनि बोलाउने विजय भन्ने रोशन तामाङले मलाई तिमीहरुले ठुटी भन्नेलाई देखेको कि छैन भनेर सोधे । मलाई गाग्री चोरको दोष लगाएकी छिन् मलाई कवाडीको काम गर्ने साहुले गाली गरेको छ । त्यसलाई मैले भेटी भनि छोडदिन भनेकाले हामीहरु बजारमा कवाडी बटुल्ने क्रममा राती ८ बजेको समय तिर ठुटी भन्नेलाई खोज्न निस्कियौं । उनलाई देखे पछि मैले दाजु मानेको विजय भन्ने रोशन तामाङलाई बोलाई चारजनाको समुह मिली ठुटी भन्ने महिलालाई खोलामा फालेका थियौ । पछि उनी खोलाबाट बाहिर निस्किदा नाक र मुखबाट रगत बगिरहेको थियो ।
कपडा पुरै भिजेको थियो । बसपार्कमा कपडाहरु पाउने भएकाले उसले ठुटीलाई त्यता लिएर गयो । हामीलाई भने त्यहि बस्न अनुरोध गरेको थियो । हामीहरु केहि बेर सोही स्थानमा बस्दा समेत रोशन भन्ने विजय तामाङ र ठुटी भन्ने महिला आएनन् । उनिहरु नआए पछि सोहि राती ११ बजेको समयमा हामी चारजना सहित मेने भन्ने रबिन्द्र खड्का र पुन्टी भन्ने चिनीमायाँ तामाङ पुरानो बसमा सुत्न आयौं । सधै हामी सुत्ने स्थानमा मैले नचिनेको एकजना ढाकाटोपी कोट पाईन्ट स्टार गोल्ड जुत्ता लगाएको अन्दाजी ३५÷३६ को पुरुष ब्यक्ति बसबाट बाहिर निस्किए । उक्त पुरुष बसपार्क तर्फ लागेका थिए । हामीहरु चारै जना उक्त बस भित्र पस्यौं । बस भित्र मैले ३२ वर्षकी महिलालाई अर्ध नग्न अवस्थामा देखें । उक्त पुरुष र ति महिला शारिरीक सम्पर्क राखेर निस्किएका रहेछन् । साथीहरुले तँ पहिला उक्त महिलासँग शारिरीक सम्पर्क राख अनि पछि हामी भनेर कसम खुवाए । त्यसपछि मैले उनीसँग जर्बजस्ती सम्पर्क राखें । ३÷४ मिनेट सम्पर्क राखे पछि उनले छाडा शब्द प्रयोग गरी गाली गर्न लागिन् । मलाई सन्तुष्ट आएकै थिएन । उनको गाली हामीले सहन सकेनौं । त्यसलगत्तै मेरा साथीहरु मध्ये एकजनाले उनको मुख थुनि दिए । अर्का एकजनाले खुट्टा समाते । अर्का एकजनाले थिची ढुङगाले टाउकोमा हिर्काई टाउको र निधार फुटाई दिए । त्यति भए पछि तिनले ऐया भन्न पनि पाईनन् । बोल्न छाडे पछि मात्रै थाहा पायौं हामीले उनि त मरि सकिछन् । हामी चार जनाबाट ६ जना भईसकेका थियौं ।
लुगा पेल्ने ट्याक्टर राखेको स्थानमा गई रात बितायौं । त्यहि ट्रयाक्टरमा हामी सुत्यौं । भोलिपल्ट कोही कसैले नदेख्ने स्थानमा गई तास खेली रमाईलो गरी बस्यौं । तास खेल्न रहर पुगे पछि हामीहरुले काम गरेको (कवाडी) बटुलेको साहुकोमा पैसा माग्न गयौं । उनले पैसा नदिए पछि खोलामा माछा मार्न गयौं । अन्दाजी १ किलो जति माछा मारी बजारमा एक हजारमा विक्री ग¥यौं । त्यहि पैसाले बस चढेर घुम्न गयौं । उनलाई जर्बजस्ति गरेको कुरा बाहिर आउँछ र प्रहरीले पक्राउ गर्छ भन्ने डरले सबैजना मिली उनलाई मार्ने निर्णयमा पुगेका थियों । त्यो भन्दा अघि उनले मलाई चोरीको अभियोग लगाएकी थिईन् । केहि गर्दा नमरेपछि घाँटी निचोरेर ढुंगाले टाउको र निधारमा हानेर मारेका हौं । हामीले पानीमा खसाली दिएकी ठुटी पनि मरिछिन् । उनलाई लिएर जाने दाजुले के गरे मलाई थाहा भएन । तर हामी सबै मिलेर उनले चोरीको आरोप लगाए पछि सहन नसकेर खोलामा फालिदिएका हौं । दुबै महिलाले एकै रात ज्यान गुमाउन पुग्नु भएछ । हामी पनि प्रहरीको कस्टडीमा छौं । यो सबै आवेगको घटना थियो । आकस्मिक भएकाले हामीले योजना बनाएर हत्या गर्नु कुनै कारण थिएन । सडकमै बस्ने भए पनि हाम्रो स्वाभिमान थियो । आफ्नै साथीहरुको समूहले पनि नभएको आरोप लगाए पछि हामीलाई रिस उठ्नु स्वभाविक हो । त्यहि कारण ठुटीलाई खोलामा फ्याँकेर बसमा सुत्न आएका थियौं । बसमा त्यो अवस्था देखे पछि हामीले सहन सकेनौं । हुन त मैले केहि महिना पहिला मात्रै विवाह गरेको थिएँ । तर पनि साथीहरुले पहिला तँ आँट भनेकाले अरु कुरा विर्सिन पुगेछु । मेरो श्रीमतीले पनि थाहा पाउने डर भयो । उनले पनि अरुलाई भन्ने डर भयो । उनी नबोलेको भए पनि केहि हुन्न थियो होला । मुखमुखै लागेको हामीले सहन सकेनौं साथीहरु सबैजना मिलेर मारिदियौं ।
प्रहरीले उक्त घटनाको अनुसन्धान सुक्ष्म ढंगबाट गरेको रहेछ । प्रहरी समक्ष घटनाका बारेमा सत्यतथ्य बताएका छौं । उनलाई हामीले हिजो पनि चिनेका थिएनौं र पछि पनि चिनेनौं । घटनाको गम्भीरतालाई मनन् गरी प्रमाण संकलन र अनुसन्धान कार्य थप प्रभावकारी तरिकाले गर्न प्रहरीले तत्काल फोरेन्सिक मेडिसिन विभागको विशेषज्ञ टोली झिकाएर अनुसन्धान गरेको रहेछ । प्रहरीले घटनास्थलमा फेला पारेको यौनबद्र्धक सामानहरु, रगत लागेको ढुङ्गा लगायतका प्रमाणहरु पछि हामीलाई मुद्दा चलायो । हामीले भएको विवरण सबै जस्ताको तस्तै दिएका छौं । अपराध गरेको घटना लुकाउन डर नै छैन । म किन सडकमा आएँ ? म सडकमा आउन बाध्य पारिनुका पछाडिका कारण के छन् ? यस्ता विषयमा अध्ययन गरी हामीलाई परिवार र समाजमै पुनस्र्थापना गर्ने हो भने अपराधमुक्त र मानवमुक्त सडक बनाउने अभियान सफल होला कि ? तर अझै पनि हामीलाई जानकारी छैन ति महिला को थिईन् ? किन त्यसरी पुरानो बस भित्र आईन् । ति पुरुष को थिए ? तर अपराधमा हामी जोडियौं । अहिले त उमेरका कारण हामी कारागारमा सारिएका छौं । यो सुधार गृह पनि रहेछ । यहाँ भित्र हामीले सीप सिकिरहेका छौं । पैसा पनि कमाई हुन्छ । म जेल परे पछि श्रीमतीले छाडि सकिछन् । बच्चा थिएन ठिकै भयो । भए पनि सडकमा नै जाने थियो । अब जेल सजायँ भोग्न १० वर्ष जति होला । यो समय मेरा लागि थप उर्जा र सुधारको मौका हो । अरु साथीहरु पनि छन् । बुनाईको काम गरिरहेका छौं । मलाई यहाँबाट बाहिर निकालेर नियमित काम लगाए हुने जस्तो लाग्छ । जेल भित्र रहेका थुप्रै ब्यक्तिलाई श्रममा लगाउन सके मुलुकमा थप विकास हुन्थ्यो कि ?
सिर्जल तामाङ
डिल्लीबजार कारागार
कार्यालय









