2025 July 14/ 05:08: 15am

२००१ साल मंसीर ३० गते चौथो सन्तानको रुपमा मेरो जन्म भयो । म भन्दा माथि २ दिदी र एक दाजु जन्मिएका थिए । दुई सन्तान छोरा र छोरी सानैमा बितेपछि बाँकी रहेका हामी दिदी र बहिनी । बुबाले छोराको चाहनामा आफूखुशी अर्काे विवाह गर्नुभयो । एक त बितेका सन्तानको पीडा अर्काे घरमा सौताको आगमनले मेरी आमालाई त्यतिबेला कति पीडा भयो होला ? ती पीडा खप्न नसकेर दिदी र मलाई साथै लिएर उहाँ मामाघर जानुभयो । हाम्रो मामाघर पलाञ्चोक हो । सम्पन्न परिवार थियो मामाको । मामा नेपाल आर्मीमा जागिरे हुनुहुन्थ्यो । हजुरबुबा गाउँको खान्दानी मुखिया । प्रशस्त जग्गा जमिन । कुनै कुराको कमी थिएन त्यो परिवारमा । ६ जना छोरी सानैमा बितेपछि छोरी नफाप्ने रहेर भनेर मेरी आमालाई सात वर्षको उमेरमै विवाह गरिदिएको अरे हजुरबुबाले । हजुर बुबाले साह्रै माया गर्नुहुन्थ्यो मेरी आमालाई । हाम्रो आगमनले उहाँहरु खुशी हुनुभयो । कि कर्मघर कि जन्मघर हामी छौं पीर नगर छोरी हजुर बुबा सम्झाउनुहुन्थ्यो आमालाई । कुनै कुराको कमी थिएन हामीलाई मामाघरमा । मामा हाम्रो अभिभावक र संरक्षक दुवै बन्नुभयो । हाम्रो बाल्यकाल पलाञ्चोकको होक्सेमा बित्दै थियो । हामीसँग खेल्ने तामाङ्ग बस्तीका ति हाम्रा बालसखाहरु सम्झिँदा आज पनि खुशीले मन फुरुङ्ग हुन्छ । कति मिठो माया कति मिठो सम्झना ।
    मामा शहरबाट आउँदा हामीलाई नयाँ लुगा र मिठाई ल्याइदिनुहुन्थ्यो । मामाले ल्याईदिएको नयाँ लुगा लगाएर हामी सारा गाउँ डुल्थ्यौं । मामाको खुब प्रशंसा गथ्र्याैं । मामाघरको छहारीले सबथोक दियो हामीलाई । घरको सबै जिम्मेवारी मेरी आमाले उठाउनु भयो । मामा जागिरे । घरमा हजुरबा र हजुरआमालाई घरको कामधन्दा हल्का भएको थियो । समय बित्दै गयो । हजुरबुबा अचानक बिरामी हुनुभयो । एकदिन हजुरबुबाले सबैको अगाडि मामासँग भन्नुभयो । हामीसँग चल अचल प्रशस्तै सम्पत्ति छ । सहि सदुपयोग गरेमा सन्तानलाई कुनै दुःख हुँदैन । दिदीले हाम्रो धेरै सेवा गरेकी छे । हाम्रो जिउने भाग राखेको धोत्रावेशीको खेत म दिदीको नाउँमा गरिदिन चाहन्छु । त्यसको लोभ नगरेस् है कान्छा । हजुरबुबाको कुरा सुनेर मामा केही बोल्नु भएन । हजुरबुबा बितेको एकवर्ष पछि यहि कुरा लिएर मामा माईजु हजुर आमाबीच मनमुटाव हुन थाल्यो । कठै मेरी आमा । सम्पत्तिको कुरा आएपछि त्यो घरबाट अपहेलित भएको महसुस गर्न थाल्नुभयो । यो समाजले बाबुको सम्पत्तिमा छोरीको कुनै हक लाग्दैन भनेर पन्छाउछ । बाबुआमाले आफ्नो सम्पत्ति दुःख पर्दा अलिकति छोरीलाई दिँदा किन दाजुभाईले मन अमिलो बनाउँछन् ? छोराछोरी समान हुन समान कानुन बन्नुपर्छ । सम्पत्ति दिने कुरामा घरमा कलह भएपछि मेरी आमालाई माईती बस्न उचित लागेनछ । 
    घरमा बुबा हराभरा थिए । सबैथोक थियो उहाँसँग । छोराछोरी थिए । सन्तानमय थियो घर । अप्ठ्यारा र भत्किएका ती बाटोहरु समातेर पुग्नुपथ्र्याे त्यहि घरसम्म । हामी मामाघरबाट हिँडेको केही दिनमा हजुरआमा बितेको खबर आयो । दुःखले धेरै परीक्षा लियो हाम्रो । खाली रहेको आधा घर बुबाबाट बस्नेको लागि पायौं हामीले । सम्पत्तिको नाममा बुबाबाट पाएको आधार घर त्यसमै बसेर गुजारा गर्नुपथ्र्याे बाँकी जीन्दगी मेरी आमाले । सन्तानको हकमा जेठी मेरी दिदी भए पनि बुबाले रोलक्रम मिचेर सानीआमाको जेठी छोरीको विवाह पहिला गरिदिनुभयो । बाबुको पक्षपातपूर्ण व्यवहारले आमालाई दुःखी बनायो । सानीआमाले जे भन्यो त्यहि हुन्थ्यो । आफ्नो कर्तव्य र विवेक गुमाई सकेका थिए बुबाले । के आशा गर्नु र सौतेनी बुबासँग । निको नहुने घाउ बोकेर बाँचुन्जेल दुःखीरह्यौ हामी । बुबाको घरमा चाडपर्व आउँदा हामी अभावका आँशुहरु लुकाउँथ्यौ । कहिले पनि हामीले बुबाको माया र दया पाएनौं । दिदी विरामी परेकी थिई । आमाले सक्दो धामीझाँक्री लगाउनुभयो । कानको गहना सक्नुभयो । तैपनि दिदीलाई निको भएन । १८ वर्षको उमेरमै दिदीले संसार छोडेर गईन् । काजक्रिया गरिदिए बुबाले आफ्नो कर्तव्य पूरा गरे । आमाको लागि संसारै अँध्यारो भयो । आमालाई सम्झाएर यथास्थितिमा ल्याउन साह्रै गाह्रो भयो । दिदीले भनेकी थिई नानी आमालाई राम्रोसँग पाल्नु है । दिदीको त्यो बाक्य मनमा सानैदेखि गडेको थियो । आमालाई कसरी सुख दिन सकिन्छ । म सोच्ने भएकी थिए । मेरो बालमस्तिष्कमा बारम्बार त्यो बाक्यले झस्काइरहन्थ्यो । म आमालाई सोच्ने भएको थिएँ । खुट्टामा सानो चोट लागेको थियो । त्यहि कारण म बिरामी भएँ । मेरो खुट्टा चलाउन नसक्ने भएको थियो । भक्तपुर हस्पिटलमा म भर्ना भएको थिएँ । दिदीको अवसान पछि बहिनीको जन्म भएको थियो । म हस्पिटलको बेडमा बसेर हाम्रा दुःखका दिनहरु सम्झिरहन्थे । बुबाले कहिले हामीसँग सुखदुःख बाँडेनन् । बाबु भएर आफ्नो कर्तव्य पूरा गरेनन् । मेरी आमा किन बिझाइन् मेरो बुबाको आँखामा केबल छोरा दिन नसकेर बस् यति नै थियो मेरो बुबा आमाबीच दूरी बढ्नुको कारण । यसमा मेरी आमाको के गल्ती थियो ? यो प्रश्न मनमा उठिरहन्थ्यो । 
    भक्तपुर अस्पतालमा खुट्टाको अप्रेसन गरियो । मलाई त्यहि अस्पतालमा काम गर्ने दिदीले असाध्यै माया गर्थिन् । घरबाट मलाई भेट्न ठूलो बुबाको छोरा दाई आउथ्यो । शहरमा आर्मीमा भर्ति थियो उ पनि । दाजुको साथमा एकजना अपरिचित अनुहार मलाई भेट्न बारम्बार आइरहन्थे । दाजु भन्नुहुन्थ्यो यि पनि आर्मीमा जागिरे छन् । घर पनौती तिर हो । श्रीमतीको मृत्युपछि घरमा छोरा बुहारीले यीनको राम्रो वास्ता गर्दैनन् । घर छ तर त्यो घरलाई यिनको आवश्यकता छैन । यिनी एक्ला छन् । यो स्वार्थी दुनियाँमा जय आफ्नो लागि गर्छ मान्छेले । तिनको अनुहारले सबै भने जस्तो लाग्थ्यो । सहाराहीन जीवन उनको पनि । अस्पताल हुँदै दाईसँग घरमा पनि आउन थाले उनी । एकदिन आमा र ठूली आमाबीच तिनैसँग मेरो विवाहको कुरा चल्दै गरेको सुने मैले । म त्यतिखेर मात्र १३ वर्षको थिएँ । त्यस्ता बुढा मान्छेसँग मेरो मैले केही सोच्नै सकिनँ । आमालाई दाजुले मनाए पछि मेरो विवाह तिनैसँग हुने भयो । आफ्नो नियतिलाई सम्झेर आफूलाई धिक्कारी रहे । त्यतिखेर आफ्नो जन्मदाता बाबुले मलाई यस्तो बेमेलबाट बचाउँलान् । राम्रै ठाउँमा मेरो भविष्यको फैसला गरिदेलान् सोचेको थिएँ । तर बुबाले त्यसो गर्नुभएन । उहाँको कुनै निर्णय नआएपछि मेरो विवाह तिनैसँग भयो । एउटा वृद्ध र बालिकाको विवाह । नियतिले एउटा दुःखको सागरबाट अर्काे दुःखको सागरमा हालिदियो मलाई । आमासँग हुँदा दुःखमा पनि माया हुन्थ्यो । मायाले दुःख छोपेर हाँस्थ्यौं हामी । घरभरी छोरा बुहारीको खटनपटन । सौतेनी आमा पो भए म । मेरो रिस गर्थे । सम्पत्ति बाँड्नुपर्ने भयो भनेर । फेरी मेरो जीवनमा सम्पत्ति आयो । घरघरि सम्पत्तिको नाउँमा हाम्रो हाँसो गुम भएको छ ।
    सम्पत्ति के हो त्यतिबेला बाल मस्तिष्कले बुझेको पनि त थिएन । आज यो उमेरमा आएर सोच्दा लाग्छ । सम्पत्तिको हकदावी गर्नेले कर्तव्य पनि निभाउनु पर्छ । अरुको मन दुखाएर लिएको सम्पत्तिको कुनै महत्व हुँदैन भन्ठान्छु म । यो मेरो बुद्ध अनुभव हो । त्यतिखेर म बालिका थिएँ । सम्पत्ति बुझेको थिइनँ मैले । मैले सम्पत्ति पाउँछु भनेर विवाह पनि गरेको होइन । माया र कर्तव्यले बाबुको मन जितेर पालेका भए ति बुढा मान्छेले किन विवाह गर्थे होलान् र ? सबै पाएकै थिए । आमाको निकै याद आइरहन्थ्यो । मेरी आमा एक्लै थिइन् । सबैबाट निरश थिइन् । एक्लोपनको खडेरीमा गुमसुम एक्लै बाँचिरहेकी आमालाई कसरी बाहिर ल्याउने म सोच्न थालें । यो विषयमा बुबासँग कुरा गरें । यी आमा र बहिनीको जिम्मा अब हजुरले लिनुपर्छ बुबा । यिनीहरु एक्लो भए । हजुरसँगै यहि परिवारमा ल्याएर राख्नुस् । यी पनि तपाईकै परिवार हुन् । बुबाले मेरो कुनै उत्तर दिनुभएन । उहाँलाई डर थियो सानी आमाको । बुबा मौन रहेपछि सानीआमाले भन्नुभयो हामी यिनीहरुको जिम्मा लिन सक्दैनौं । सक्छेस भने लगेर पाल । तिमीहरुको भागमा परेको सम्पत्ति हामीलाई चाहिँदा पनि चाहिँदैन । बुबासँगको नाता त्यसैदिन तोडियो मेरो मनबाट । मलाई अब बाबुको कुनै सरोकार थिएन । घरको साँचोको झुप्पा आमाको हातमा राखिदिनुभयो उहाँले । घर व्यवहार आमाको निर्देशन अनुसार चल्ने गथ्र्याे । उहाँका छोरा बुहारी पहिले नै छुट्टिसकेका थिए । उनीहरुलाई रोजाएर सम्पत्ति बाँडेछि बचेकुचेको जायजेथाबाट उहाँले बुढेसकालको यात्रा रोज्नुभएको थियो । जीन्दगी चल्दै गयो । छोरा जन्मिएपछि सबैभन्दा खुशी मेरी आमा हुनुभयो । आमाले नै हुर्काउनुभयो छोरालाई । आमाकै इच्छाअनुसार नै छोराको विवाह गरिदियौं । श्रीमान् बित्नुभयो क्यान्सरले । जीवनमा ठूलो घात सहनुप¥यो । जे जस्तो आइपरे पनि मान्छेले बाँच्नै पर्नेरहेछ । सहनै पर्ने रहेछ । क्रमशः समयले दिएका चोटहरु समयले नै पुर्दै लैजादो रहेछ । नत्र कसरी बाँच्न सक्छ मान्छे । आमा बित्नुभयो निमोनिया भएर । हिन्दु धर्म अनुसार मरेपछि दागबत्ती दिन र काजक्रिया गर्ने छोरा चाहिन्छ । त्यसैले होला मान्छेले छोराको चाहना गरेको पनि । आमा बिते पछि दाजु आयो र भन्यो मैले काजक्रिया गर्नुपर्ने भए मलाई सम्पत्ति चाहिन्छ । दाजु ठिकै छ । मेरो छोराले गर्छ मेरी आमाको काजक्रिया र अन्तिम सँस्कार हजुरले दुःख गर्नु पर्दैन । मैले दाजुलाई फर्काइदिएँ । बाँचुन्जेल पाल्यौं । रहरले पाल्यौैं । खुशीले पाल्यौं । अवसानपछि धार्मिक सँस्कार पूरा ग¥यौं । यहि हो उहाँप्रतिको हाम्रो अन्तिम श्रद्धाञ्जली । आमाको शरीर पञ्चतत्वमा बिलिन भयो र उहाँको बाँकी यात्राको निम्ति स्वर्गतर्फ लाग्नुभयो । 
    भनिन्छ मृत्युपश्चात पनि एउटा संसार छ । जहाँ मरेकाहरु भेट्नेछन् । भेट्छन् या भेट्दैनन् । थाहा छैन । यदि आमा ! हजुरको बुबासँग भेट भयो भने सोध्नुहोला उहाँ कति खुशी हुनुहुन्छ छोराले दिएको पिण्डपानी खाएर । कति स्वस्थ हुनुहुन्छ ? तपाईले छोरीलाई हेला गरे पनि मलाई छोरीहरुले गरेको पालनपोषण र मायाको अवश्य कुरा गर्नुहोला । मेरी आमाले कतै न कतै पुनर्जन्म लिएर आएको हुनुपर्छ । भगवानसँग म लाखौंलाख प्रार्थना गर्दछु । आमा सधै खुशी रहनु । हामी तपाईकै प्रार्थना गरिरहेका छौं । 

उन्नती तिमल्सिना
सुडाल, भक्तपुर