2025 February 10/ 03:31: 57am

    २०८१ असोज ११ गते शुक्रबार बनेपामा एक सेट फर्निचर लैजानु थियो । असोज १२ गते शनिबार पनि फर्निचर लैजानु पर्ने भएकाले एकै पटक लैजाँदा यातायातमा लाग्ने खर्च कम हुने सोचेर अघिल्लो दिन फर्निचर बापत प्राप्त ९० हजार नगद घरमा राखिएको थियो । १ लाख २० हजार रुपैयाँमा सामान बुकिङ्ग गरिएको थियो । त्यो सामान पनि लैजान सकिएन । आफ्नै ज्यान बचाउन कठिन भयो । केहि दिन देखि सामान विक्री भएको, सिसा पसलमा भएको ब्यापार तथा केहि नगद, सुन, चाँदी लगायतका गरगहना पनि घरमा नै थिए । मोटरसाईकल, स्कुटर सबै बगायो । लगाएको कपडा पनि आफ्नो रहेन । ओढ्ने, ओछ्याउने केहि निकाल्न पाईएन । शरीरमा भएका कपडाहरु पनि अरुले सहयोग गरेका हुन् । 
    हाम्रो २२ रोपनी बारी थियो । दुई पटक विदेश गएर कमाएर ल्याएको सबै सम्पत्ति फर्निचरमा लगानी गरेको थिएँ । दुईवटा छोराहरुले कमाएको सम्पति पनि यहि लगानी गरिएको थियो । लामो समय पछिको दुःख मेहनतबाट घर बनाएका थियौं । विस्तारै परिवारमा खुशी र समृद्धता प्राप्त हुँदै थियो । त्यो खुशी र समृद्धता धेरै समय टिक्न पाएन । २०८१ असोज ११ गते राति ९ बजे एक्कासी रोशी खोला उर्लियो । खोला नै खोला बगेको पानीको वहावमा ग्यागरिङ्ग सहित आउन थाल्यो । खाना खाएर सबै सुत्ने तयारीमा थियौं । वल्लो घर, पल्लो घर, माख्लो घरका सबैजना चिच्याउन थाले । हामी पनि बाहिर निस्केर हेर्दै थियौं । घर भित्र खोला पसिसकेछ । ४ वटा घर र फर्निचर भएको एउटा टहरा सबै बगायो । २ हजार कुखुरा पुरिए । सबै सम्पत्तिको मुल्य ६ करोड भन्दा धेरै छ । असोज ११ गते रातभर ज्यान बचाउन भागाभाग भयो । उता जाँदा पनि खोला, यता जाँदा पनि खोला । दौडादौड । त्यो दिन सम्झेर अहिले पनि लाग्छ बाँचिएला जस्तो थिएन । असोज १२ गते उज्यालो त भयो तर लगातारको अविरल र भिषण बर्षात्का कारण केहि पत्तो हुन सकेन । बत्ति थिएन । पोलहरु ढलेका थिए । घरहरु बगाएका थिए । ढलेका थिए । रुवाबासी थियो । नागरिकहरु घाईते थिए । कोहि पुरिएका थिए । कोहि बगाएका थिए । बगेकाहरु पनि को को थिए अत्तोपत्तो थिएन । पशुचौपाया मरेका थिए । बगाएका थिए । कुनै कुनै कराउँदै थिए । त्यो चिच्याहट देख्दा लाग्थ्यो राक्षस आएर ताण्डव नृत्य गरिरहेको छ । पृथ्वी रोईरहेको छ । 
    असोज ११ गते खाना खाए पछि हामीले असोज १२ गते साँझ पानी रोकिए पछि मात्रै केहि खानेकुरा मुखमा प¥यो बाँच्न कठिन थियो । बाँचेर पनि सबै सम्पत्ति बगाए पछि झनै तनाव भयो । अहिले पनि त्यहि कुरा सम्झँदा लाग्छ यो सबै देख्न किन बाँचिएछ ? छोराहरु पनि मानसिक तनावमा पुगेका छन् । परिवारका सबै सदस्यलाई मानसिक समस्या देखिन थालिसक्यो । अस्थायी बसोबासका लागि सरकारले दिने भनेको १५ हजार रुपैयाँ पनि प्राप्त भएको छैन । वडाका कर्मचारी, जनप्रतिनिधिलाई हामी पीडित भएको पनि थाहा छ । तर पनि हाम्रो लागि अस्थायी बसोबासका लागि समेत रकम आएको छैन । कोठामा बसेका छौं । भाडा तिर्न सकेका छैनौं । असोज देखि पनौतीमा डेरा लिएर बसेका छौं । शुरु शुरुमा ३÷४ बोरा चामल पायौं । चिसो मौसममा ब्लाङ्ककेट पनि पाउन सकिएन । जस्ता पाता समेत पाउन सकेनौं । आजसम्म भाडा नतिर्दा घरबेटीको अगाडी जान पनि डर लाग्छ । यता घर बनाउन पनि सकेका छैनौ । शुरुमा हामीलाई स्थानीय जनप्रतिनिधिले घर नभत्काउनुस् हामी सहयोग गरौला भने । अहिले त फोटो खिचेर राख । अनि भत्काउ भन्छन् । न हामीसँग मेशिन छ । न भत्काउन लगाउने ज्याला छ । विहान खाए बेलुका के खाउँ ? भन्ने अवस्थाबाट मेरो परिवार बाँचिरहेको छ । कसरी भत्काउँ घर र नयाँ बसोबास श्रृजना गरौं ? 
    नेताहरु आउनु हुन्छ । तिमीलाई राहत हुन्छ भन्नुहुन्छ, जानुहुन्छ । आजसम्म केहि प्राप्त हुन सकेन । विरक्त लाग्छ । कोठामा जान्छु । विहानै उठेर आउँछु । बाँकी रहेको संरचना हेरेर दिमाग भतभत पोल्छ । बरु सबै बगाएको भए केहि देखिदैन थियो । खानीको ग्राभेलले यस्तो भयो । पैसा कमाउने खानी र नगरपालिका । क्षति ब्यहोर्ने हामी ? उनिहरु करोडपति बन्ने ? हामीलाई रोडपति बनाउने ? अहिले हामी सडकमा पुगेका छौं । अस्थायी बसोबास समेत निर्माण गर्न सकेका छैनौं । बनेपामा चिनजानका ब्यक्तिले फर्निचरका लागि पुराना दुईवटा मेशिनका केहि सामाग्री पठाएर सहयोग गरेका छन् । बाढीले पुरेका संरचना खोतल्न पनि सकेका छैनौ । हाम्रा लागि न वडा सरकार, न स्थानीय सरकार, न प्रदेश न संघ ? सायद हाम्रो परिवार अहिले मानसिक रुपमा विक्षिप्त छ । मेरो आँगनबाट सडक गएको रहेछ । पुर्जामा भएको सडक अब बन्द गरिदिन्छु । यो सडकका लागि कसैले रकम पनि दिएका छैनन् । हिजो मात्रै नापी कार्यालयको टोलीले मेरो भनेर किला गाडिदिएको छ । मैले खानीवाला र स्थानीय सरकारका ब्यक्तिलाई अल्टिमेटम पनि दिएको छु । अब घर अगाडीको मेरो नामको जग्गामा रहेको सडक बन्द हुन्छ । बाटो चाहिन्छ भने आवश्यक हुनेले किनेर लैजान्छन् । हामी उसै सडकका मान्छे । यसै सडकका मान्छे । हामीलाई कुनै नेता, कुनै निकायले पनि सहयोग नगरेकाले अनागरिक भएर बाँच्नु परेको थप पीडाले अश्रुधारा बगाउँछ । रोशीमा बगेको खोला हेर्दै आँशु पुछ्नुको विकल्प छैन । केहिले १५ हजार नगद प्राप्त गरेका छन् । हामीलाई त्यो अवसरबाट समेत बञ्चित गरियो । राज्यले गरेको विभेदका बारे कहाँ गरौ गुनासो ? कसले सुन्छ हाम्रो पुकारा ? 
    मेरो वडाको, टोलको जस्तै नगरपालिकाका विभिन्न स्थानमा विपत्तिले धेरै क्षति पु¥याएको रहेछ । २० जनाले ज्यान गुमाउनु भएको रहेछ । एक जना विदेशी नागरिक पुरिएछन् । उनि हाम्रो वडामा नै बस्दथे । खेति गर्दथे । सबैभन्दा धेरै क्षति नै हाम्रो वडामा भएको हो । नगरपालिका भित्र अझै एकजना बेपत्ता छन् । १९ जनाको शव परिवारले बुझिसकेको रहेछ । नागरिकको मृत्युसँगै ५ सय ८६ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ९ सय ४४ वटा घर उच्च जोखिममा छन् । पनौती नगरपालिकाको १६ औ नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार नगरपालिकाका १२ वटा वडा मध्ये सबैभन्दा धेरै क्षति वडा नम्वर १२ मा देखिएको छ । वडा नम्वर १२ मा १ सय ८७ घर पूर्ण क्षति भए भने १ सय ९१ वटा घर उच्च जोखिममा छन् । वडा नम्वर ११ मा १ सय ६१ वटा घर पूर्ण क्षति भए भने २ सय १७ वटा घर उच्च जोखिममा छन् । वडा नम्वर १ मा ४४, वडा नम्वर  २ मा ६९, वडा नम्वर ३ मा ३१ वटा, वडा नम्वर ४ मा ११, वडा नम्वर ६ मा २, वडा नम्वर ७ मा ३९ वटा, वडा नम्वर ८ मा २२ वटा, वडा नम्वर ९ मा ३ वटा, वडा नम्वर १० मा १७ वटा घर पूर्ण क्षति भएका छन् । विपत्तिका कारण २० हजार ८ सय ४६ मिटर कच्चि सडकमा क्षति पुगेको छ । १६ सय ४० मिटरमा आंशिक क्षति पुगेको छ । ११ हजार ७ सय ८६ मिटर पक्क सडक क्षति भएको छ । 
    ३५ सय २८ मिटर पक्की सडकमा आंशिक क्षति पुगेको छ । रिटेनिङ्ग वाल प्लम ९७५ मिटर, ढुङ्गा ४६ सय ७२ मिटर, ग्याविङ्ग ६६९७ मिटर पूर्ण क्षति भएको छ । ड्रेन प्लम ८८ सय ५३ मिटर, ढुंगा २२ सय २३ मिटर र आरसीसी १७ सय ७० मिटर क्षति भएको छ । सिंचाई कुलो २८ हजार ५ सय ७४ मिटर, पाईप ३९ सय ४० मिटर क्षति पुगेको छ । खानेपानीमा ८९ हजार ६ सय ९० मिटर पाईप, ६५ वटा इन्टेक, २५ वटा ट्याङ्की र ३ वटा पम्पमा क्षति पुगेको छ । ४४४ मिटर विङ्ग वाल, १४ वटा पुल, १२ वटा कल्र्भट क्षति भएका छन् भने २२ वटा सरकारी भवन र ११ वटा सार्वजनिक भवनमा क्षति पुगेको छ । कृषितर्फ प्रभावित घरधुरी संख्या ३४ सय ८७ रहेको छ । १८ सय ३३ रोपनी क्षेत्रफलमा रहेको धानमा क्षति भएको छ । जसबाट १ करोड ३४ लाख ५२ हजार रुपैयाँ क्षति भएको छ । २१ सय ७५ रोपनी १२ आना क्षेत्रफलमा रोपिएको आलु नष्ट भएको छ । जसबाट १० करोड ९० लाख ९२ हजार रुपैयाँ क्षति भएको छ । २ सय ११ रोपनी ९ आना क्षेत्रफलमा रोपिएको मकैमा क्षति भएको छ । ४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । तरकारीमा ४ करोड ३७ लाख, ९३ लाख ८६ हजार, फलफुल १ करोड ७८ लाख ९७ हजार, अन्य बाली २१ लाख २७ हजार र बालीमा २३ करोड ६४ लाख ४४ हजार रुपैयाँ क्षति भएको छ । टनेल, च्याउघर, कृषि यन्त्र र उपकरण बराबरको १ करोड रुपैयाँ बराबरको क्षति भएको छ । पुशधन तर्फ ८० वटा गाई, बाच्छा बाच्छी ४ वटा, भैंसी ८५ वटा, ३ वटा पाडापाडी, ३ सय ४३ वटा बाख्रा पुरिएका छन् । ९८ सय ६८ वटा कुखुरा, ६० वटा बंगुर र ५२५ वटा हाँस मरेका छन् । ८ हजार ६३ केजी ट्राउट र ५ वटा कर्प माछा मरेका छन् । 
    यति धेरै क्षतिमा नगरपालिकाले खासै ध्यान पु-याउन सकेन । तेलमा समेत राजनीति गरेर अनियमित गरेका खबर सुनिए । वडा अध्यक्ष, नगर प्रमुख उप–प्रमुखहरु पनि हाम्रा सामु आएर सहयोग गर्छु त भन्छन् तर गर्दैनन् । अब घर कसरी बनाउने ? अस्थायी बसोबास कसरी मिलाउने ? हामी  सहयोगका पर्खाइमा छौं । सहयोग गरिदिन अनुरोध गर्न चाहन्छौं । 

वीरबहादुर तामाङ
कलाँती, रोशी, पनौती