जन्म, मृत्यु अनि भाग्य । उमेर, आवश्यकता अनि चाहना । धेरै कुरा त म कसरी बुझ्न सक्छु र ? तर पनि सानै उमेरमा भोगेका अनगिन्ति भोगाईहरुले जीवनलाई कसिलो बनाएको छ । रसिलो पनि बनाएको छ । भरिलो पनि बनाएको छ । तर स्वास्थ्य के हुन्छ ? बाचुञ्जेल यसरी जिउन सकिन्छ ? घटना धेरैका होलान् । बाध्यता पनि धेरैका होलान् । समस्यामा पनि अनगिन्ती मान्छेहरु परेका होलान् । तर हरेक ब्यक्तिका फरक फरक भोगाई र समस्या हुँदा रहेछन् । कोहि रहरले त्यहि पेशा ब्यवसाय गरिरहेको हुन्छ । कोहि त्यहि पेशा गर्न असमर्थ हुन्छन् । रहरले गर्नु र बाध्यताले गर्नु फरक हुँदो रहेछ । केहि केहि कुरा कानूनले पनि बर्जित हुँदो रहेछ ।
पाँचखाल नगरपालिका वडा नम्वर ५ खावा स्थित युथ फ्रेण्डसिप रेस्टुरेन्टमा म पछि मात्रै पुगेको हुँ । त्यहाँ केहि दिन मात्रै काम गरें । त्यहाँ म जस्ता अन्य बालिकाहरु पनि थिए । उनिहरुको मुख्य काम नै बालिकाहरुलाई होटल रेस्टुरेन्टमा वेटरको रुपमा काममा लगाउने र आउने ग्राहकहरुलाई विभिन्न प्रकारले सन्तुष्ट दिनु रहेछ । बनेपाबाट मलाई त्यहाँ लगिएको थियो । बनेपाको भन्दा सहज हुन्छ भन्ने मेरो बुझाई थियो । बुझाई गलत भयो । बनेपामा त्यहि पेशाबाट मुक्त हुने सोच र चाहनाले मैले त्यो रेस्टुरेन्ट रोजेको थिएँ । त्यो बनेपाको भन्दा कडा थियो । असहज थियो । झनै गाह्रो थियो । त्यो होटलका संचालक पुरुष थिए । पुरुष भएकाले महिला तथा बालिकाहरुको भावना बुझ्ने कुरा कठिन थियो । उनको चाहना एउटै थियो हातमा पैसा । पैसा आए पछि उनिहरुले सबै कामलाई सहज ठान्थे । सबै काम पैसाले गर्न सकिन्छ । पैसा भए पछि राजनीतिक दलहरु खरिद गर्न सकिन्छ । समाजमा सामाजिक कार्य गरेको भन्न सकिन्छ । उसकै रवाफ हुन्छ । समाजमा उहि ठुलो मान्छे कहलिन्छ । पसिना चुहाउने अरु, शरीर विक्री हुने अरुको । दानी बन्छ उ । धनि बन्छ उ । सबैलाई मुठ्ठीमा कैद गर्न सक्छ उ । त्यो पैसा हो । त्यहि पैसा चलाउने मान्छे हो ।
मलाई बनेपाबाट उद्दार गरिएको जस्तो अनुभुति भएको थियो । त्यो गलत रहेछ । बनेपामा त्यहि काम गर्दा गर्दा थाकेको म त्यहाँ मुक्त हुन्छु भन्ने सोच थियो । राम्रो अभिभावक पाएँ भन्ने थियो । बाबु सरहको ब्यक्तिले मलाई हरेक दिन फरक–फरक ब्यक्तिसँग सम्वन्ध राख्न निर्देशन दिन्थ्यो । मेरो शरीरको मुल्य उ निर्धारण गर्दथ्यो । मेरो मनस्थिति र अवस्थाका बारेमा ध्यान पनि दिदैन थियो । चाहना भए मान्छेले सगरमाथा पनि चढेकै छन् । चाहना नभएका र अभ्यास नभएका ब्यक्तिहरु सबै सगरमाथा चढ्न सकेका छन् र ? तर पनि सुख थिएन । बाँच्नु छ भने उसले जे जे भन्यो त्यहि गर्नु आवश्यक थियो । बसेर बोले कसैले सुन्दैन थियो । उठेर बोल्दा हावाले उडाई दिन्थ्यो । टोलमा, समाजमा र छिमेकमा उक्त होटलले बालिकाहरुको यौन शोषण गर्छ भन्ने थाहा रहेछ । तर पनि उसलाई कारवाही गर्ने आँट कसैको रहेनछ । उ विरुद्ध बोल्ने आँट पनि कसैले गर्दाे रहेनछ । कतिसम्म भने उसले समाजमा अरुलाई शासन गर्दाे रहेछ । कहिले कुन दलका नाममा, कहिले कुन दलका नाममा भेष बदल्दो रहेछ । यस्तो फाईदा उठाउँदै हामी साना साना बालिका र महिलाहरुको जीवन विक्री गरेर पैसा असुल्दो रहेछ ।
पटक–पटक उक्त रेस्टुरेन्टका बारेमा प्रहरीमा उजुरी परेको रहेछ । मौखिक पनि भनिएको रहेछ । कसैले उसलाई कारवाही गर्ने तर्फ लाग्दो रहेनछ । शक्तिका आडमा उन्मुक्ति पाउँदै आएका रहेछन । रेस्टुरेन्टका संचालक उद्धवराज गिरी र म्यानेजर सुवर्ण तामाङ त्यहाँका मुख्य मान्छे हुन् । हामी बालिकालाई होटलमा आउने केटा ग्राहकसँग कोठामा बस्न बाध्य बनाउँथे । खाजा खाने बाहनामा हाम्रो शरीरको मुल्य निर्धारण हुन्थ्यो । एक पटक खाजा खाँदा २ हजार जति बिल उठ्यो तर हाम्रो मुल्य १५ सय थियो । त्यसमा पनि हामीलाई १ हजार दिने गरिएको थियो । ५ सय रुपैया प्रत्यक्ष कमिसन लिने गरेको थिए । त्यो भन्दा फरक मुल्यमा हाम्रो शरीरको मोलमोलाई हुन्थ्यो । मानौ हामी कुनै पशु हौ । कुनै ग्राहकलाई शरीर विक्री भईरहेको छ । त्यसको पुरा मुल्य पनि हामीले पाईरहेका थिएनौं । प्रति ब्यक्ति १ हजार ५ सय लिएर जर्बजस्ति यौन धन्दा गर्न बाध्य बनाउने गरेका थिए । मैले प्रहरीलाई दिएको बयानमा म जस्तै अन्य केहि बालिका र महिलाहरुलाई पनि सोहि रकममा यौन धन्दा गर्न बाध्य बनाउने गरेका संचालक र म्यानेजरले ग्राहकरुलाई यौन सन्तुष्टी दिए बापत लिएको रकम मध्ये बालिका र महिलाहरुलाई प्रति ग्राहक बराबर १ हजार दिने गरेका छन् । उक्त कार्य नगरे रेस्टुरेन्ट संचालक र ब्यवस्थापकले कुटपिट गर्ने, आफै पनि यौन सन्तुष्टी मेटाउन खोज्ने गर्दै आएका थिए । आफ्नो चाहना र सहमति विपरीत शरीर बेच्न बाध्य बनाउने कार्यमा संलग्न गराउने गिरी र तामाङलाई कानून अनुसार हदैसम्मको कारवाहीको माग मैले गरेको छु । अरु महिलाहरुले पनि उनिहरुलाई कारवाहीको माग गरेको भए पनि बोल्न सक्ने अवस्थामा छैनन् । काभ्रेका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा बालिका र महिलाहरु राखेर यौन ब्यवसाय संचालन हुने गरेको भए पनि प्रहरीको सक्रियता छैन । बेरोजगार समस्याका प्रमुख जड रहेको भए पनि स्वस्फुर्त र जर्बजस्ति ब्यवसाय गर्नेहरुलाई पनि प्रहरीले अनुसन्धानमा ध्यान दिन सकेको छैन । सायद उनिहरुको सक्रियता भएको भए हामी जस्ता धेरै बालिकाहरुको समयमा नै उद्धार हुन्थ्यो कि ?
सानै छँदा गाउँघर छाडेर बुबाआमासँग म बनेपामा बसोबास गरेको थिएँ । बनेपामा डेरा कोठामा बसिरहेका समयमा बाबुको निधन हुन पुग्यो । आमाले केहि समय राम्रो गर्ने प्रयास गरिन् । हरेक अभिभावकको चाहना आफ्ना सन्तानले राम्रो शिक्षा, दिक्षा पाउन भन्ने नै हुन्छ । त्यसमा म पनि परें । भाग्यमानीका रुपमा लिनुपर्छ । जसले गाउँमा भन्दा शहरमा राम्रो शिक्षा दिन सकिन्छ । अवसर पनि पाईन्छ । आफु निरक्षर भए पनि सन्तानलाई राम्रो शिक्षा दिउ भन्ने सोचका साथ शहर पस्छ । मेहनत गर्छ । पसिना बगाउँछ । अर्काे सन्तान जन्मिएको थिएन । भाग्यको लिला । मेरो अभागीपन । बुबा सामान्य अवस्थामा नै वित्नु भयो । शुरुमा हल्का ज्वरो आएको थियो । ज्वरो आउँदा उहाँले रक्सि खानु भएछ । दिनभर भारी बोकेर आउनु हुन्थ्यो । भारी बोकेर आउँदा कति थकाई लाग्थ्यो होला । त्यहि थकाई मेटाउन उहाँले रक्सि खानु भएको होला । दिनभरी कमाई भएको पैसा मलाई गन्न लगाउनु हुन्थ्यो । एकदिन बाबा अलिक ढिला आउनु भयो । साहुको भारी बोकेर ढिला भएको भन्दै हुनुहुनथ्यो । आमा पनि मिलेसम्म काममा जानु हुन्थ्यो । शुरुमा मलाई नीजि विद्यालयमा पढाउने योजना बनाउनु भएको थियो । जहाँ हामी डेरा बसेका थियौं त्यहाँ निर सरकारी विद्यालय थियो । सबैले बच्चालाई त्यहि पढाउनु भनेकाले मलाई त्यहि भर्ना गरिदिनु भएको थियो ।
एउटा सन्तानलाई पढाउन, डेरा भाडा तिर्न र खाना खान धौ–धौ थियो । बुबाको मात्रै कमाई थियो । बुबाको कमाईले नभ्याउने भएकाले आमाले पनि अरुको घरमा काम गर्न थाल्नु भएको थियो । मलाई भने कुनै काम गर्न दिनु भएको थिएन । बुबाको थकाई, रक्सि अनि स्वास्थ्य प्रतिको हेलचेक्रयाईका कारण उपचार गर्न नपाई निधन भयो । त्यो सकस हामीले कति ब्यहो¥यौ होला ? बयान गरि साध्य छैन । बुबा वितेको केहि महिना पछि हाम्रो कोठामा नयाँ नयाँ मान्छेहरु आउन थाले । कसैले केहि सहयोग गर्छु भन्थे । कसैले केहि सहयोग गरेको जस्तो गर्दथे । तर पनि गरेको देखिदैन थियो । दिउँसो म स्कुल जान्थे । को को आउँथे जान्थे धेरै थाहा हुँदैन थियो । एक दिन म विद्यालय गएको थिएँ । बेलुका आउँदा आमा थिईनन् । साँझसम्म पनि आईनन् । धेरै बेर बाटो हेरे । घरमा भएको केहि चिज खाएँ । तर पनि आमा आईनन् । भोलिपल्ट पनि आईनन् । उमेर सानै थियो मेरो । म कहिल्यै कोठामा एक्लै पनि बसेको थिईन् । घरबेटी पनि थिएनन । अरु भाडामा बस्नेहरु थिए । सोधें आमा कहाँ गईन् ? उनिहरुले पनि बताउन सकेनन् । उनिहरुको सहारामा म त्यो रात बिताएँ ।
धेरै दिन आमा आईनन् । कोठामा भएको अन्न सकियो । खानेकुरा थिएन । म बनेपाको एक सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्दै थिएँ । मैले विद्यालय पनि छाडें । खान लाउन समस्या भयो । बनेपाको बजार घुम्ने क्रममा मेरो साथीको दिदीसँग भेट भयो । उनले मेरो समस्या सुने लगत्तै होटलमा काम गर्ने हो भन्दै जिज्ञासा राखिन् । खान नपाउनु भन्दा काम गर्छु भन्ने सोचले मैले सहमति जनाएँ । त्यसो हुँदा डेरा भाडा तिर्नु पर्देन थियो । उनिहरुकै घरमा बसेर काम गर्न पाउँदा सहज हुन्छ भन्ने मेरो सोच थियो । बनेपाको गोदामचोकमा रहेको एउटा होटलमा म काम गर्न थालें । सोहि होटलमा खाजा विक्री गर्ने भन्दा पनि अरु काम हुँदो रहेछ । होटल साहुनीको नाम चञ्चली थियो । हामी उनलाई चञ्चली आमा भनेर बोलाउँथ्यौं । उनले सबैलाई फरक फरक स्वाद छ होटलमा भन्दै पल्काउँदी रहिछन् । शुरुमा त मलाई छोरी जस्तै माया गरिन् । विस्तारै मलाई केटाहरुसँग जिस्कन, उनिहरुसँग गएर बस्न भनिन् । पछि त पैसा आउँछ उनिहरुले भनेको मान्नु भनेर पठाईन् । हुँदा हुँदा चञ्चलीले कतिसम्म गराउन लगाईन भने दैनिक ९÷१० जना पुरुष केटाहरु शारिरीक सम्पर्कका लागि पठाउन थालिन् । एकजनासँग शारिरीक सम्पर्क राखे बापत ५ सय रुपैया दिन थालिन् । अंकमा गन्दा दैनिक ५ हजार कमाए जस्तो हुन्थ्यो । १३÷१४ वर्षको उमेरमा मैले के बुझ्थे होला र ? के हो शारिरीक सम्पर्क ? भन्ने जानकारी नहुँदै मेरो शरीरमा चञ्चली आमाले ब्यापार गरिरहेकी थिईन् । केटा ग्राहकहरुको लाईन लाग्थ्यो । विरामी भएर उठ्न नसकेको अवस्थामा पनि चञ्चलीको आदेशमा यौन ब्यवसायमा संलग्न हुन बाध्य हुन्थें । कसैलाई भन्ने आँट नै हुँदैन थिएन । आएका सबै पुरुषहरु ब्वाँसा जस्तो लाग्थ्यो । न भावना बुझ्ने न मन । निर्जिव पशु जस्तो गरी उनिहरु प्यास मेटाउँथे जान्छे । त्यहाँ आउने एकजना ग्राहकसँग मेरो चिनजान भयो । गोदामचोकको होटलमा छाडेर खावामा रहेको रेस्टुरेन्टमा काम गर्न जाने प्रस्ताव गरे । गोदामचोकमा जस्तो काम गर्नु पर्दैन भने जान्छु भन्ने मलाई लाग्यो ।
२०८१ कार्तिक ५ गते उनैसँग खाजा खाएर खावामा रहेको युथ फ्रेन्डसिप रेस्टुरेन्टमा पुगें । त्यहि रेस्टुरेन्टमा बस्ने र खाने गर्दै थिएँ । त्यहि दिन देखि मेरो रोजगार शुरु भएको थियो । कार्तिक ६ गते देखि नै मलाई बनेपामाको होटलमा गरेको काम जस्तो अनैतिक कार्यमा बाध्य पारियो । कार्तिक ९ गते मलाई यौन ब्यवसायमा संलग्न गराएको कसैको उजुरीका आधारमा सिभिल पोशाकका प्रहरी गएर उद्धार गरियो । मैले धेरैलाई भनें रोए कराई गरें । कसैले सुनेनन् । मलाई अध्ययन गर्न दिनुस् । रोजगार दिनुस् । अभिभावक दिनुस् । मेरो पुकारा कसैले सुनेनन् । समाज कति निर्दयी भएको । न महिला न पुरुष । न नेता न कर्मचारी । पैसा भए पछि सबै मान्छेले मानवता, जिम्मेवारी र दायित्व भुल्दा रहेछन् । ढिलै भए पनि मैले न्यायको महसुस गरेको छु । हेरौ मेरो जिवनमा नयाँ उमंग आउँछ कि ?
जर्बजस्ति यौन ब्यवसायमा संलग्न गराएकी
पीडित बालिकाले गरेको बयान
धुलिखेल, काभ्रे