2025 May 14/ 07:31: 51am

    जीवनको लक्ष्य भन्नु नै सहरमा एउटा घर बनाउनु मात्र हो त ? दुनियाँमा घर बनाउनु भन्दा ठुलो काम अरु केही हुँदैन त ? आँखा बिझाए जस्तो लाग्यो । फेरि चिम्लेर निदाउने कोसिस गरें । सकिएन । शरीर तातेको अनुभव भयो । छातीमा छाम्यो । गन्जी पसिनाले निथु्रक्क भिजेछ । तिर्खाको महसुस भयो । कम्बल एकातिर पन्छाएर उठें । बत्तीको स्वीच अन गर्दै गग्रेटामा गई पानी सारेर खाएँ । अहिले जस्तो जगहरु थिएन । अंखुरा हुन्थ्यो । कसैले लोहोटा भन्थे । विशेषगरी केहि केहि सभ्य र धनीमानीका घरमा उतिबेला लोटा लिएर शौच गर्न जाने चलन थियो । खुल्ला दिशा ग¥यो अनि लोटामा लगेको पानीले हात धोयो । अहिले धेरै सुधार भएको छ । घर भित्र शौचालय बनाउनु हुँदैन भन्थे । अहिले घरमा कोठा नै पिच्छे शौचालय हुन्छ । शौचालय भएका स्थानमा मात्रै ओछ्यान हुन थालेका छन् । बत्ती ननिभाई ओछ्यानमै आएर पल्टें । आँखा चिम्लें । धेरै बेरसम्म आँखा बन्द हुन सकेनन् । खुलिहाले एकै छिनमा । फेरि सक्रिय हुन थाल्यो मस्तिष्क ।
    पहिले पहिले कहिलेकाहीँ पढ्दा पढ्दै निदाउने गर्थे । अहिले पनि निद्राको शरणमा पुग्नका लागि पढ्ने विचार गरें । एउटा उपन्यास थियो, घर बस्दा समय बिताउन सजिलो हुन्छ भनेर लिई आएको थिएँ । उठेर झोलाबाट झिकें । अक्षर निकै साना रहेछन, दस प्वाइन्टका । बल्ब सायद पच्चिस वाटको मात्र थियो, भान्छाको माथि पट्टि हुनाले केही ध्वाँसिएको पनि । बत्ती र ओछ्यानको दुरी नजिकको थिएन । आँखालाई गाह्रो प¥यो । अक्षर फुटाल्नै कठिन । चस्मा भने अहिलेसम्म लगाएको छैन । बत्तीको नजिकै गई उभिएरै भए पनि पढ्नु पर्छ कि क्या हो ? एक मनले यस्तो पनि सोच्यो । उपाय केही नभए पछि किताब यथास्थानमै राखें । बत्ती निभाउन मन लागेन । ओछ्यानमै आएर पल्टें । पहिले मुख छोपेर सुत्दैनथें । कम्बलले मुख छोपें । उकुसमुकुस भयो । शरीर भन्दा बढी गुम्सियो मन । कुराले झम्टन थाल्यो मस्तिष्क । शब्दहरूले दोहो¥याएर चिथोर्न थाले । के जीवनको लक्ष्य भन्नु सहरमा एउटा घर मात्र हो त ? मनमा नाना भाँतीका कुरा आए । धुवाँको मुस्लो झैं फैलन थाले कुराहरू । कुरै–कुराको भिडमा बुद्धले दरबार त्यागेको एउटा अर्कै कुरो आएर अडियो मस्तिष्कमा । बुद्धको शान्त र सौम्य अनुहार सम्झयो र केही समय शीतलताको महसुस ग¥यो । घरलाई महत्व नदिने हो भने राम्रो हुन्छ कि ? घर बनाउने कुरालाई मनमा ढिम्कनै नदिने विचार गरें । यही विचारले केही शान्ति मिलेको हो कि जस्तो अनुभव भयो ।
    तल्लो घरको रमेश मलेसिया गएर पैसा कमायो । घरघडेरी जोडेर बाउ आमालाई शहरमा राखेको छ । आफू दुई–दुई वर्षमा आउने जाने गर्छ अरे । पारी टोड्केली साइँलाको छोरो पनि तँ सँगै पढेको त हो नि । आईए पास पनि नगरेर के भो त ? कोरिया गएर आए पछि सहरमा घर बनाएर बाउआमालाई उतै सुखसँग पालेको छ । आमाले गन्थन गर्दा बेलुका सुनाएको यो वचन छुरा भन्दा पनि बढी धारिलो लाग्यो उसलाई । घाउ झैँ वचनले बेस्सरी दुखायो मन । आधारातमा पनि त्यहि कुराले घोच्यो । बुढी आमाको यो वचन अलिअलि पढेको आफ्नै पढाइ प्रतिको व्यङ्गय थियो मलाई । श्रीमतीले भनेको पनि सम्झन पुगें । दिदी पार्वतीलाई बरु कति चैन छ । भिनाजुले मजाले कमाएका छन् । सहरमा ठुलो घर छ । एउटा फल्याट भाडामा दिएका छन् । घरमा काम गर्ने मान्छे छ । लुगा पनि दिनैपिच्छे फेरी फेरी लाउँछे । सुतीसुती खान्छे दिदीले । श्रीमती त पढालेखा नै हुन् तर कसरी भन्न सकेकी होलिन यस्तो कुरा ? 
    प्रमाणपत्रले काम नगरे पनि हातपाखुरा सबल नै छन् भने त काम पो गर्नुपर्छ । काम नगरेर सुती सुती खानेहरूको जीवन पनि जीवन हो र ? श्रममा विश्वास नगर्नु र सघंर्ष देखि विचलित हुनु के जीवनबाटै पलायन हुनु होइन र ? त्यस्तो जीवनलाई पनि कसरी सुखी ठान्न सकेकी होलिन् ? तनाव नहुनु भनेको जीवनकै अस्त हुनु हो भन्ने लाग्छ मलाई । तनावबाटै पार पाउनका लागि मानिस क्रियाशील बन्छ, गतिशील हुन्छ र सघंर्षको मैदानमा होमिन पुग्छ । अहिले को चाँहि विदेश गएको छैन । विदेश नगएका घरहरु कति होलान ? कोहि अध्ययनका नाममा गएका छन् । कोहि रोजगारका नाममा गएका छन् । खाँडी मुलुक जानेहरुको कथा पनि उस्तै छ । विद्यार्थी बनेर युरोप जानेहरु, अमेरिका जानेहरुको कथा पनि उस्तै छ । बुढेसकालमा गाउँमा आधारविहीन भएर एक्लै बसेका बुढाबुढीलाई शहरमा आफूसँगै राखेर हेरविचार गर्न सके सन्तोष मिल्थ्यो । गाउँले दाजुभाइ र इष्टमित्रहरूले पनि छोराले आफ्नो बाबुआमालाई हे¥या छ है भन्ने थिए । कुरा काट्नेहरूको मुखमा बुजो लाग्थ्यो । यति गर्न सके कसैको नजरमा नालायक छोरो पनि भइँदैनथ्यो होला नि ? गाउँकै एकदुई जना भाइखलकले बाआमालाई छोरो त काम नलाग्ने हुतिहारा जन्माएछौ सम्म भन्न भ्याएछन् । त्यसैले पढ्नुको के अर्थ भयो र । बाबुआमालाई यस्तो सास्ती छ । आफू आफ्नो परिवारसहित सहरमा चैन काटेर बसेको छ । यही भन्छन् रे आफन्त र गाउँलेहरूले पनि । साँच्चै एउटा झुप्रो त बनाउनै पर्ने हो सहरमा । तँ व्यावहारिक हुन सकिनस । धेरै मान्छेले सुनाए मलाई । मैले सोचें सहरबजारमा घर बनाउँदैमा व्यावहारिक भइन्छ भने बनाउनुपर्छ कि क्या हो एउटा घर ? फेरि सम्झे आफ्नै आर्थिक अवस्था त्यस्तो त कसरी बनाउने घर ? न जागिर गतिलो छ, महिना भरिको कमाइ खान बस्नमै ठिक्क हुन्छ । कहिलेकाहीँ अलि ठुलो खालको दुःख बिमार पर्दा त त्यै पनि मुस्किल छ । डेरामा बसिएको छ । 
    मैले बुबाआमा ल्याउन प्रयास नगरेको पनि हैन । उहाँहरु डेरामा बस्न मान्नु भएन । त्यो मेरा लागि अर्काे चुनौती र सकस थियो । बुढाबुढी मान्थे भने त म अझै बढी तनाव लिएर पनि बाँच्थे । मान्दैनन् त के गरौ ? वरपर केही मान्छेहरू हुन्थे भने त बुढाबुढीका हरेक चाहना जतिसक्दो पूरा गरिदिन हुन्थ्यो । यहीँ बस्थे, बस्न त गाउँमै राम्रो नि । हावापानी राम्रो, ताजा तरकारी, अन्न फलफूल । स्वच्छता र स्वस्थताका लागि यिनै त हुन् चाहिने कुरा । बजारमा एउटा कोठामा कुचुक्क परेर बस्यो, कसैलाई कसैको दुःखसुखको वास्ता हुँदैन । नक्कली मान्छेहरूको भिडमा उसिनिएर बस्नुलाई पनि कसरी सुखी बसाइ ठान्न सकेका होलान् मान्छेले । सक्कली मान्छे बस्ने ठाउँ त गाउँ नै हो नि । बरु अब कसरी स्याहारसुसार गर्ने होला यी बुढाबुढीको ? ओहो कस्तो छटपटाहट । सिरानीको छेउबाट मोबाइल झिक्यो र स्विच अन गरें । आँखा मिच्दै हेरें । बिहानको चार बजेछ । बलजफती निदाउनका लागि भनेर उठें । कम्बल केही छोटो थियो । खुट्टा खुम्च्याएर भित्तातिर फक्र्याे । निदाउनका लागि अन्तिम प्रयत्न स्वरूप आँखा चिम्म गरें । झकाउन पाएकै थिएन, घरक्क ढोका उघ्र्याे । आमाले रहेछ । आमाकै हातबाट बत्ती बल्यो । अंगेनामा गएर आगो सल्काए पछि गाग्रीबाट पानी सारेर पोतारी घिसार्न पुगें । आमाको एउटा हात, अर्काे हातमा डल्लो लोहोटा थियो । अब त झन् कसरी निदाउनु, कम्बल छोडेर म उठें । आँगनको छेउमा गएँ । डिलमा तल खोलाबाट बोकी ल्याएको लाम्चो ढुङ्गो बिछ्याएको थियो । त्यसैमा थुचुक्क बसें । मिर्मिरे उज्यालोमा धित मरुन्जेल हेर्न मन लाग्यो बाबुले बनाएको बुढो घर । अनिदा आँखाहरूलाई पाली हुँदै धुरीसम्म पु¥याए । रातो माटो, कमेरो र कालो माटो पोतिएर उभिएको घर । निकै सुन्दर लाग्यो लगभग पौने शताब्दीदेखि यही रूपमा उभिएको आफ्नो घर । आजसम्म आफू जन्मेको यही घरलाई त्यति राम्रोसँग नियालेको थिईन मैले । आवश्यक पनि थिएन । त्यसको महत्व पनि बुझेको थिईन ।  घर निकै आकर्षक लाग्यो । सानै उमेरमा बाले दुःखसुख गरी बनाएको यो घर । भूकम्पले चर्काएको भागलाई चन्द्रमाको दागसँग तुलना गरें । अर्काे घर बनाउन सकेको थिईन । सरकारले दिने भनेको रकम थोरै थियो । डिलमुन्तिर आँखा पुगे । लहलहाउँदा नील परेका सागका पातहरू र मुलाका माथिल्ला भागहरू प्रस्टै देखिए । त्यो परिवेश हेरिरहन मन लाग्यो । त्यस भन्दा तल्लो गहमा आँखा पुग्यो । ठुलो गहे त्यसैको एका छेउमा पानीको धारो । गोठमा सुतिरहेको भैँसी उठ्यो । आमाले भैँसीलाई घाँस दिनुभएको रहेछ । बिहानीपखको त्यो परिवेशले निकै रोमाञ्चित तुल्यायो । 
    मुटु भरि आफ्नो जन्मथलो प्रतिको माया उर्लेर आयो । आफू जन्मेहुर्केको यो ठाउँ छोड्नै मन लागेन । मनमनै साहूको नोकरी छोड्ने विचार गरें । बरु केही बाख्रा र एउटा भैँसी थप्ने विचार पलायो । बाआमाको सेवा यहीँ बसेर गर्ने सोच बनाउँदै गएँ । टापु डाँडे काइँला बा घाँस काट्नका लागि उकालो लाग्दै गरेको देखेर आँसी उध्याएँ मैले । एउटा हातमा नाम्लो र अर्काे हातमा आँसी लिएर म पनि काइँला बासँगै घाँस काट्न घर माथिको जङ्गलतिर गएँ । बानी हराएछ । उहाँले मलाई सहयोग गर्नु भयो । केहि घण्टा पछि एक भारी घाँस लिएर घर आएँ । आमा खुशी हुनु भयो । आमालाई मैले शहरको जागिर छाड्ने निर्णय सुनाएँ । उहाँले मान्दै मान्नु भएन । शहरमा बस्दै नबस्ने बताउनु भयो । मेरो मनले मानेको थिएन । मनले नमाने पनि भएन । आमाको चाहना सबैका छोराहरु शहरमा बस्दा आफ्नो छोरा गाउँ फर्किएको कदापी मन परेको थिएन । तर पनि सन्तानको सुख, सन्तानको खुशी र प्रगति बाबुआमाको चाहना नै थियो । त्यो समय मेरा लागि झनै सकसपूर्ण बन्यो । अन्तिम पटक जागिरमा गएर घर फर्कने निधो गरें । केहि दिन बसें र बुबा आमालाई समेत शहर डुलाउन लैजाने निर्णय गरें । शहर डुलाएर उहाँहरुलाई गाउँ फर्काउने योजना थियो । उहाँहरुले नै पछि भन्नु भयो तिमी पनि गाउँ फर्क । गाउँमा शान्ति छ । तनाव नलिकन बाँच । त्यसमै हामी सन्तुष्ट हुन्छौं । तर तनाव अर्कै थियो । समाजको । आफन्तको । इष्टमित्रको । सबै छाडेर म गाउँ फर्किएँ । अब रित्ता गाउँहरु विस्तारै भर्नु छ । बाँझो जमिन खन्नु छ । मुलुकमै प्रगति गर्नु छ । जागिर भनेको आफ्नै उत्पादन हो । अरुलाई समेत अवसर दिने गरी काम गर्नु छ । त्यो गर्छु आउनुस अब तपाईहरु पनि शहरमा घर बनाउने र देखाउने चाहना छाडेर गाउँ फर्काै । 

रमण खत्री
भक्तपुर