2024 October 15/ 01:42: 57am

    उसलाई निद्रा लागेन । बेलाबेलामा हाई काढे पनि पटक्कै निदाउन सकेन ऊ । ओछ््यान फेरिएको थियो । छटपट्टी बढिरह्यो । घरको पूर्वपट्टीको कोठीमा उमेरले असी काटेका बुढा बा र सत्तरीको हाराहारीमा हिँड्दै गरेकी बुढी आमा सुतेका छन् । बालाई खोकी लागिरहन्छ । घरिघरी त लगातार खोकिरहन्छन् बुढा सासै फुस्केला जस्तो गरी । बेला–बेलामा आमाले पनि खोक्छिन् फुको खोकी । आठ वर्षकै कलिलो उमेरदेखि सुरु भएको तमाखु र भुसाहाको अम्मल छुटेको छैन अहिलेसम्म बुढा बा बाट । सजिलै बुझेको छ उसले खोकी लाग्नाको कारण । ओखतीमुलो नगरेको पनि होइन उसले तर रोग र उमेर दुबै छिप्पिसकेपछि केही गर्न सक्दो रहेनछ औषधिले । दम फुल्छ बुढाको । आमालाई पनि सताउँछ कहिलेकाहीँ बाथले समेत । मझेरीमा सुतेको छ ऊ गुन्द्रीमाथि एउटा लम्पट ओछ्याएर । ओढ्नका लागि ध्वाँसे रङको एउटा पुरानो कम्बल छ । उहिल्यै एउटा पल्टनिया लाहुरेले बालाई उपहारस्वरूप दिएको थियो यो कम्बल । अहिले निकै झुत्रो भएछ । नाना कुरा आएर मन बिथोलिन्छ । निदाउन सक्दैन । गाउँको सिरानमा छ उसको घर । घर वनको मुखमा छ । माथितिर ठुलो सालघारी । गाउँको पुछारमा पनि उस्तै ठुलो छ सालघारी । पहिले त थुप्रै घरहरू थिए यस गाउँमा । लगभग साठीवटा थिए । घाँसदाउराको कमी थिएन । गाउँलेहरू हरेकले वस्तुभाउ पालेका थिए । गाउँबेंसीको पाइपात, दुःखसुख गुजारा चलिरहेकै थियो । जब छोराहरू विदेसिए तब गाउँमा रेमिट्यान्स भित्रिन थाल्यो र रेमिट्यान्स सँगसँगै फेरिए गाउँलेका सपनाहरू । छिमेकमा सबैभन्दा नजिकको पल्लो घर मधेसतिर बसाइँ सरेको छ । सँगसँगै त्यतै गएको छ तल्लो घर पनि । बसाइँ सर्नेहरूले त्यत्तिकै छाडेर हिँडेका छन्–घरबारी, पाखापखेरा, बुटाबुटी र टारी खेतहरू पनि । अचल सम्पत्ति किन्नका लागि कोही तयार हुँदैनन् ।
    भारीकाभारी मकै फल्ने बारी बाँझिएको छ । रुखबाटै पात झरेर गएका छन् डाले घाँसका । आफ्नो घरबाट नजिकको अर्काे घर पुग्न पनि आठ दश मिनेट जति लाग्छ । बसाइँ नसर्दासम्म त अधिकांश घरहरूका आँगन पनि जोडिएका थिए । मान्छे बस्न छाडेपछि घरहरू भत्कँदा रहेछन् । त्यै पल्लो घर पनि चिरिएको छ पूरै । आँगनमा मात्र नभएर पिँडीमा समेत झाडी भरिएको छ । घर भत्कनु भन्दा पनि मन भत्कनु ठुलो चिन्ताको विषय रहेछ । चिन्ताको भुँमरीमा फसेपछि उत्रन निकै गाह्रो । अस्ति भर्खर संसाँझै चितुवाले घरमा जोडिएको खोरबाटै बाख्रो थुतेर लगेको सुनाएकी थिइन् आमैले । मनस्थिति ठेगानमा रहँदैन् तैपनि सोचिरहन्छ ऊ–बारी छ, अलिकति टारी खेत पनि छ, पाखुरा चलाउने हो भने वर्षभरीलाई खान पुग्छ । भैँसी र बाख्रा मात्रै पाले पनि कमाइ हुन्छ यहाँ । बारीमा अदुवा लगाउन मिल्छ, पाखामा सुन्तला फलाउन सकिन्छ । अहिले त उहिलेको जस्तो पानीको समस्या पनि छैन । बिहानभरीको समय लगाएर पानी खेप्नु पर्दैन । घरघरै धारा छन, के छैन र यहाँ बिजुली बत्ती बल्छ । लोडसेडिङको समस्या छैन । सञ्चारका लागि मोबाइलले काम गर्छ । बेंसीमा अस्पताल खुलेको छ । कच्ची बाटो छ । चारपांग्रे जीपहरू नियमित रूपमा गुड्छन् । पहिले पहिलेको जस्तो नुन तेलका लागि दिनभरीको बाटो पैदल हिँड्नु पर्दैन । तैपनि किन बस्न छाड्दै छन् हँ आफ्नै जन्मथलोमा मान्छेहरू । 
    बारीका गराहरू बाँझै छन् । कोदो रोप्ने चलन पनि निकै घटेछ । काम गर्न सक्ने मान्छे नै छैनन् गाउँमा । अशक्त बृद्धवृद्धा, महिला र केटाकेटी मात्र छन् । पहिले त मान्छे मर्दाखेरि मलामी पनि सत्तरी असी जना हुन्थे । अहिले त बीस जना पु¥याउन पनि गाह्रो छ । पहिले जस्तो दिनभरीको समय लगाएर लास कालीगण्डकीको घाटमा पु¥याउनु पर्दैन । अचेल त बेंसीमै खोलाको किनारमा पोल्न थालिएको छ । उफ् १ फेरि खोक्नुभयो बाले । कति लागेको होला यो खोकी पनि । ऊ छटपटियो । तैपनि निद्रा लाग्छ कि भनेर कोल्टे फक्र्याे । एकपटक राजधानीतिरै लगेर भए पनि बालाई अझै राम्रोसँग उपचार गर्नु पथ्र्याे । देखाउन त नजिकको सहरमा राम्रै डाक्टरलाई देखाएको थियो उसले । बुढेसकालको शरीर, रोगले समातेपछि उठ्नै गाह्रो । गाउँ रित्तो छ । एक्लो घर । घरमा बुढाबुढी मात्र छन् । नजिकै हारगुहारका लागि पनि कोही छैनन् । एउटा बकेर्नाे भैसी, त्यसको पाडो र गोडा चार एक बाख्रा छन् चौपायाँका नाममा । सम्पत्ति नभएकाले चोरीको त डर छैन तर रातमा बाघ आएर बुढाबुढीको घ्याँक्रो अँठ्याउन पनि के बेर । आखिर बाख्रा खाए पनि, मान्छे खाए पनि मासु नै त हो त्यसका लागि । वल्ला पल्ला घरमा मान्छे बस्थे भने त केही चिन्ता थिएन । ह्या, के नचाहिने कुरा सोचेको होला यो मनले पनि जुन कुरा नआओस् भन्यो त्यही कुरा मात्रै आउँछ मनमा । बेंसीमा कुहिरो भरिए झैं मन भरिएको छ कुरै–कुराले । न निद्रा लाग्छ, न सोचाइ नै एकत्रित हुन्छ । परारसम्म त त्यहीं टारी खेत पनि अधियाँमा रोप्थे बल भएकाहरूले । अचेल त रोप्न सकिँदैन भन्न थालेका छन् अरे । अधियाँमा त के, गरेर खाऊ भन्दा पनि मान्न छोडेका छन् मान्छेहरू । बरु बेसाएरै खान सस्तो र सजिलो भन्ने सोचले ग्रस्त छ यहाँको मानसिकता । घर पनि गतिलो त कहाँ छ र ? बस्नै पर्ने बाध्यताका कारण घर भन्नुपरेको हो । लगभग बाकै उमेरको । ढुङ्गामाटाको गाह्रो, खरको छानो भएको घर । नछाएको पनि वर्षाै भइसक्यो । बर्खामा त आँटीमा पानीको आहालै जम्छ । आँखो झिमिक्क गर्न पाउन्न म । आमाले भनेको सम्झ्यो उसले । बुढाबुढीसँग खरभिरको खर काटेर ल्याई छाउने सामथ्र्य छैन । भूकम्पका कारण चिरिएको छ अगाडी र सँगसँगै पछाडिको भित्तो पनि । आउने बर्खा पनि धान्दैन कि कुन्नि । गाउँबासीहरू गाउँमै काम गरेर खान बस्न खोज्दैनन् । अचम्ममा पर्छ ऊ, यस्तो किन भइरहेको छ हँ ?
    कसरी हिँडेर आइस् नि बाबु यत्रो बाटो यो नाकाबन्दीमा ? घर भेटिका साथ आमाले भनेकी थिइन् । भारतले नाकाबन्दी गरेका कारण राजमार्गबाट गाउँतिर जाने जीपहरू चलेका थिएनन् । पहिले पहिले यही बाटो जति पनि हिँड्न हुने, अहिले जीप चल्न थाले पछि हिँड्नै नहुने भन्ने छ र ? हाम्रो मानसिकतामा दरिद्रता किन ? मनमनै प्रश्न गरेर सोचमग्न भयो ऊ । सानैमा पनि असाध्यै माया गर्थिन् आमाले, सम्झ्यो उसले । कपाल फुलेर सेत्तै भएका छोराहरू पनि सानै देखिँदा रहेछन् आमाका नजरबाट । नत्र यत्तिको बलियो ज्यान छ, पाँच सात घन्टा पैदल हिँड्दैमा केको चिन्ता ? बुढाबुढीको मात्रै कति चिन्ता लिनु ? आफूले पनि कुन दौलतको चैन काटिएको छ र ? सहरमा अस्थायी नोकरी न हो । आम्दानीको अर्काे दोस्रो कुनै स्रोत छैन । साहूले निस्की भनेको बेलामा कुम्लोकुटुरो बोकेर बाटो लाग्नैपर्छ । सानो छोरो पढाउन भनेर सहरमा बसे पछि छोराको स्याहारसुसारका लागि श्रीमतीलाई पनि सँगै राख्नै प¥यो । काखी च्यापेर बुढा भएका बाबुआमालाई हेलाँ ग¥यो भन्ने प¥या होला । सहरमा घरघडेरी जोड्न सकेको भए त बाबुआमालाई पनि उतै राखेर हेरिहाल्थेँ नि । यसो भनेर पनि भएन । अरु बेला त ठिकै थियो, अब भने बुढाबुढी नै अशक्त हुँदै गएका छन् । बाबुआमालाई सन्तानले नहेरेर कसले हेर्छ त ? सन्तानलाई बुढेसकालको सहारा भन्छन् । सहारा दिनेवाला नै बेसहारा भएपछि कसरी सहारा हुनु नि । हाँसो उठ्यो अँध्यारामा । जे होस, खित्कै चाहिँ छुटेन । यो हाँसो उसले आफैप्रतिको व्यङ्गय ठान्यो । तैपनि निदाईन्छ कि ? आधा मिनेट जति कोसिस गर्याे । मनमा कुनै कुरा आउन दिएन । ‘बेसहारा’ शब्द आएर रोपियो मुटुमा भाला रोपिए झैँ । मन सीमाभन्दा बाहिर पुगेर दुःख्नुसम्म दुःख्यो । बिहे भएर पराई घर गएका बहिनीहरूलाई सम्झ्यो । उनीहरूको अवस्थालाई सम्झ्यो । सम्भावना नहुँदा नहुँदै पनि सहयोगको आशा ग¥यो । अर्काे एउटा शब्दले पनि जिस्क्यायो उसको मस्तिष्कलाई । मानसपटलबाट हटाउन चाह्यो उसले भर्खरै जिस्क्याउन आएको शब्द ‘बृद्धाश्रम’लाई । अब भने यो शब्द आउन मात्रै थाल्दा पनि उसले सोचाईलाई अर्कैतिर मोड्न थाल्यो ।
    जीवनको अधिकांश समय लगानी गर्दा पनि सहरमा एउटा बास बनाउन नसकेकामा ऊ चिन्तित भयो । बजारमा लगेर राखिस् भने त बरु आधा पेट खाएरै बस्थेँ म । काम नगरेपछि त भोक पनि लाग्दैन होला नि । आमाको गुनासो सम्झ्यो । विचरी आमा । बिहान सबेरै उठ, अँगेनामा खरानी खोस्रेर आगो फुक, दैलोपोतो, ढिकीजाँतो, कुँडोपानी, घाँसदाउरा, भातभान्छा, जुठोभाँडो, मेलापात, चुलोचौको यिनैमा सीमित रहे आमाका तीन बिस जति वसन्तहरू । जिन्दगीमा यहाँभन्दा कति खेप्नु दुःख । दिन प्रतिदिन जीर्ण बन्दै छ शरीर । आधाभन्दा बढी जसो त दाँत पनि झरेछन् । बाको त झन् एउटै पनि छैन । दाँत भए पो खानपान राम्रो । चपाउने दाँतै नभएर त होला नि बुढाबुढीको शरीर झन् बढी कमजोर बन्दै गएको । उफ् निद्रा किन नआएको होला ? मुलुकमा आर्थिक मन्दी भन्या छन् । हुनेखानेहरुका लागि सधैं उस्तै छ । हामी गरिबहरुका लागि सधै तनाव नै छ । सहकारीहरुको कारोवार ठप्प छ । जग्गा कारोवार प्रायः सुनसान छ । ब्यापार ब्यवसायमा मन्दी छ । गाउँमा भएका समस्या समाधानका लागि स्थानीय सरकारले जति चासो दिँदा पनि सम्भव छैन । गाउँमा विकास थिएन मान्छेहरु थिए । अहिले विकास पुग्यो मान्छे छैनन् । काला सडकहरु छन् । बृद्ध बा आमाहरु मात्रै छन् । समस्या अनगिन्ती छन् । मनका पीडा कसलाई सुनाउँ ? कसले सुन्छ ? वैदेशिक रोजगारमा खाँडी मुलुक जानेहरु मुुलुक फर्कने भए । अध्ययनका लागि विदेश जानेहरु फर्कन कठिन छ । मेरा बा आमाको जस्तो कठिन अवस्था सायद सबैको घरमा होला कि ? चाडवाड नजिकएका छन् । यादहरुले कसरी पछ्याउला ??

सन्तोष शर्मा
हालः काठमाडौ