समयले कता लग्यो ? प्रविधिले किन मान्छेलाई यति धेरै निष्ठुरी बनायो होला ? सँगै भएको ब्यक्तिसँग उ खुशी छैन । हुँदै नभएको ब्यक्तिसँग उ रमाईरहेको हुन्छ । हाँसिरहेको हुन्छ । प्रविधिसँग मान्छे खुशी हुन सकेको छैन । प्रविधिले बालबालिकाहरुलाई एक्लो बनाएको छ । संस्कृति, कला, साहित्य, अध्ययनको बानी बिगारेको छ । विकृती विसंगती बढिरहेको छ । उमेर अनुसार गर्नु पर्ने काम हुन सकेको छैन । विकृतिका कुरा नगरौं कति कति । तर पनि अभिभावकहरु यस्तो प्रेममा भन्दा परिपक्व प्रेममा समेत बाधक बन्ने कुराले युवा पुस्तामा उर्जा भन्दा नैराश्यता बढिरहेको छ ।
प्रविधि, रहनसहन र मान्छेको बुझाई । चेतनास्तर त बढ्यो तर विकृति भित्रियो । त्यतिबेला बुबाआमा मोबाईल बोक्दा यसको फुर्ति भन्दै गाली गर्नुहुन्थ्यो । आजभोलि उहाँहरुलाई मोबाईल भएन भने रातभर निद्रा लाग्दैन । नयाँ पाईन्ट किन्न पनि धौ–धौ हुँदा मलाई नभई हुँदैन थियो । आजभोलि केटाकेटीहरुले भनेको सुन्छु त्यो नहुँदा यो हुँदैन, यो नहुँदा त्यो हुँदैन । बुबाआमा घरमा समयमै नपुग्दा गाली गर्नुहुन्छ । चाँडो नआएको भन्दै सम्झाउनु हुन्छ । मेरो ताल त्यहि थियो । समयमै घर पुग्दा आफ्नो भन्दा उनको धेरै सम्झनाले सताउँथ्यो । गरिबका घरमा कसले बास गर्छ ? न लक्ष्मी न प्रेम ? प्रेम विना न लक्ष्मीले बास गर्दिरहिछन् न सरस्वतीले । भगवानका रुपहरु पनि अनेक । उनिहरुलाई सम्झाउन र बुझाउन पनि मान्छे भित्रको प्रेम प्रकट हुनुपर्दाे रहेछ । प्रेमपूर्ण ब्यवहारका लागि पनि शिक्षा महत्वपूर्ण रहेछ । जसले शिक्षा प्राप्त गर्छ उसले मात्र समाजमा राम्रो काम गर्न सक्छ । शिक्षित ब्यक्तिले पाउने सम्मान र भोगाईमा आकाश जमिन अन्तर छ । कहिलेकाँहि शिक्षित ब्यक्ति पनि अशिक्षित बन्दो रहेछ । त्यसले गर्ने ब्यवहार पनि अशिक्षित झै लाग्दा रहेछन् ।
मान्छेका दुःख भनेर मात्रै के हुन्छ र ? कसले लगाईदिन्छ मल्हम ? दुःख बाँडेर अरुलाई रमाउन दिनु बाहेक के नै हुन्छ र ? मेरो पीडा थामिराख्न सकिनँ । कतै मेरो पीडा अरुका लागि प्रेरणादायी हुन सक्छ कि ? थुप्रै भोगाईहरु सुनिन्छन् । फरक फरक भोगाईले जीवन जिउने साहस दिन्छ । हरेक ब्यक्तिका भोगाई अनुभुतिहरु फरक फरक हुन्छन् । मैले कसैलाई दोष दिएको छैन । म र मेरो गरिबी दोषी छ । गरिबीका कारण नेपालीहरुले के–के गुमाउनु पर्ने रहेछ भन्ने कुराको पूर्ण ज्ञान मैले पाएको छु । एकातिर राज्य गरिबी घटाउन वार्षिक अरबौंको बजेट सार्वजनिक गरिरहेको हुन्छ । अझ तीन तहका सरकार छन् । सुकुम्बासी आयोग छ । त्यसका बाबजुत गरिबी घटेको छैन । आर्थिक मन्दिका कारण संकट माथि संकट छ । अर्काेतिर संविधानमा निःशुल्क शिक्षाको ब्यवस्था गर्ने उल्लेख छ । हामी श्रमिक, मजदुरहरुको श्रम र पसिनाबाट महल बनेका छन् । त्यहि महलमा बसेर हाम्रा लागि नीति नियम बनिरहेका छन् त्यहि नियम हाम्रा लागि फलदायी हुन सकेका छैनन् । म त एउटा प्रतिनिधि पात्र हुँ । म जस्ता लाखौ नेपालीहरु यस्तै पीडाबाट बाँचिरहेका होलान् । सबैका लागि समान हैसियत राख्ने कानुन र ब्यवस्था भएमा मात्र नेपाल सम्वृद्ध बन्न सक्छ । पीडा भोगेको मान्छेलाई मात्र थाहा हुन्छ । सुत्केरी हुनेलाई मात्र थाहा हुन्छ प्रसव पीडाको छट्पट्टी । बाबु बन्न र भन्न सजिलो हुन्छ तर आमा बनेपछि मात्रै थाहा हुन्छ आमा बन्दाको पीडा ।
गरिब परिवारमा जन्मिएको जेठो सन्तान हुँ । दिदी, भाई र दुई बहिनीहरु छन् । जहाँ गरिब त्यहाँ धेरै सन्तान । सात जनाको परिवार ज्यालादारी गरेरै बाँचिरहेका थियौं । अहिले पनि हाम्रो यो दिनचर्या फेरिएको छैन । सन्तान मध्ये म र दिदी अनपढ भयौं । विद्यालय गएको भए भाई बहिनीहरुले साँवा अक्षर समेत चिन्न सक्दैन थिए । बुबा आमा काममा जाँदा उनिहरुलाई विद्यालय पु¥याउने जिम्मेवारी हाम्रो थियो । पकाउने, खुवाउने, बस्तुभाउको धन्दा गर्ने सबै दिनचर्या थियो । पढ्न नपाउनुमा मेरो परिवार जति जिम्मेवार त्यति मेरो भाग्य पनि छ । छोरा भएर जन्मिएको भए सायद मेरा जीवनमा खुशी नै खुशी आउँथे होलान् । दिदीले कहिले काँहि भन्नुहुन्थ्यो छोरी भएर जन्मिएकै कारण मेरा सबै खुशी र सपनाहरु लुटिएका छन् । छोरीलाई समाजमा लक्ष्मीका रुपमा लिने गरिन्छ । छोरी विनाको घर परिवार, समाज र राष्ट्र केहि चल्न सक्दैन । छोरी विना केहि नचल्ने अनि उसैलाई पछि पार्ने कस्तो सस्कृति हो यो ? पुरुषकै मात्र दासत्व हुने नेपाली समाजमा कहिले महिलाहरु माथि आउन सक्लान् ? तर म दिदीलाई भन्थें तपाईले र मैले अध्ययन गर्न नपाउनुमा के महिला र पुरुष भएकै कारण हो त ? त्यो त हाम्रो गरिबी हो ? चेतनाको कमी हो । छोरीहरुले नपढेकै कारण धेरै समस्या भोग्नुपर्छ । छोराहरुले पनि भोगेकै छन् हरेक समय चर्चा छोरीहरुको मात्रै हुँदा त्यहि घरको एउटा ब्यक्ति जसले अध्ययन गर्ने समय भाई बहिनीहरुको भविष्यका लागि खर्चियो । त्यहाँ दिदीको बारेमा बहस हुँदा मेरो बारेमा हुनु जरुरी छैन ?
अहिले समय फेरिएको छ । परिस्थिति बदलिएको छ । अनिवार्य शिक्षा र विद्यालय भनिए पनि गरिबीकै कारण विद्यालय जान नसक्ने थुप्रै विद्यार्थीहरु छन् । महिलाहरुको समान अधिकारको ब्यवस्था गरिए पनि हामी नाम मात्रका छौं । सबै जिम्मेवारी पुरुषले नै गरिरहेका छन् । उमेर बढ्दै गए पछि शहर पसें । बनेपा कहिल्यै नआएको म एक्लै आएँ । पहिलो दिन पनौती फाँटको १६ खुट्टे पाटीमा सुतें । रात पर्न लागेको थियो । नजिकैको घरमा खानेकुरा मागेर खाएँ । सबैको मन ढुंगाको जस्तो हुँदो रहेनछ । उनिहरुले मलाई शुरुमै कहाँबाट आएको हो कतै काम गर्ने त ? भनेर सोधेका थिए । मैले केहि भनिनँ । भोकाएर मर्न लागेको बेला खुशी भएको मनले दिएको आशिष लाग्छ बुबा आमाले त्यहि सिकाउनु भएको थियो । धेरै वर्ष पछि त्यो होटलका मान्छेहरु पनौतीमा भब्य घर बनाएर बसिरहेका रहेछन् । उनिहरु कसैको अहित चाँहैन थिए । केहि दिन पनौतीमा रहेका सबै पाटीहरुमा बसियो । एकजना ब्यक्तिले गाडीमा काम गर्न जाउँ भन्दै सिकायो । शुरु शुरुमा रमाईलै भयो । खान र बस्नको चिन्ता भएन । गाडीको काम सिक्न भन्दै मलाई प्रयास गरियो । मेरो दिमागमा पैसा बाहेक केहि थिएन । काठमाडौ चल्दथ्यो बस । सह–चालकले पैसा उठाएर आफु लुकाउँथ्यो । चालकलाई समेत नभनी लुकाएको पैसाका बारेमा मलाई थाहा हुन्थ्यो । अति ग¥यो भने मलाई नदिने भए भनि दिन्छु भनेर झगडा गरिदिन्थे । त्यसपछि केहि पैसा मेरो भागमा आउँथ्यो ।
गाडीको काम विस्तारै सिकियो । पैसा खुवाएर लाईसेन्स पनि निकालियो । बस चलाउन पाए पछि मलाई सहज भयो । घर परिवारमा पनि मैले सहयोग गर्दै गएँ । त्यतिबेलासम्म चल्थ्यो गाडीको चालकलाई महिलाहरुले धेरै विश्वास गर्छन् । नभन्दै उमेर अनुुसार मेरो पहिलो विवाह भयो । मन पराएर गरिएको विवाह केहि समय टिक्यो पनि । दुई सन्तान भए । उनिहरुको रेखदेख र लालपालनका लागि आमाले सहयोग गर्नु भयो । उनले पनि सहयोग गरिन् । बालबालिकाहरुले राम्रो अध्ययन गरुन भन्ने उदेश्यले शहरमा डेरा गरि परिवारलाई राखियो । गाडीको क्यु कहिले काठमाडौ कहिले पनौती हुन्थ्यो । कहिले बनेपामा पनि बसियो । मैले पनौतीको गाडी छाडेर मेलम्चीको पनि चलाउन थालें । बनेपामा डेरा थियो । मेरो कोठामा आउने समयको एकिन थिएन । मेरो श्रीमतीले मलाई धोका दिदै अर्कै ब्यक्तिसँग सम्बन्ध बढाईछन् । दुई सन्तान र मलाई छाडेर उनले अर्काे विवाह गरिन् । म के गर्ने नगर्ने तनावमा भएँ । परिवारका सदस्यहरुले सन्तानका लागि अर्काे विवाह गर्ने कि नगर्ने ? त्यस्तो केहि सोच नहूँदा नहुँदै अर्काे विवाह भयो । उनी पनि धेरै समय टिकिनन् । कसरी टिकाउँ श्रीमती ? सरस्वती हुन् कि लक्ष्मी ? घर परिवारमा प्रवेश गरे पछि सहज बनाउने लक्ष्मीहरुले किन पटक पटक धोका दिईरहेका होलान् ?
विस्तारै श्रीमती नामको सम्वन्धबाट मलाई वितृष्णा भयो । चालकको जागिर छाडेर बैदेशिक रोजगार गएँ । केहि वर्ष बसेर नेपाल फर्किएँ । सन्तान हुर्कँदै गए । उनिहरु आ–आफ्नो बाटो लागे । म त एक्लो भएँ । उमेरले ४५ कटेपछि फेरी विवाहको प्रस्ताव भयो । मानौ कि नमानौ ? नमाने एक्लो हुने । मानौ पटक पटक भोगेको पीडाबाट अतालिएको थिएँ । विच्किएको थिएँ । पुरुषहरुको साथी महिला हुन् । त्यसको विकल्प छैन । अझ बुढेशकालको साहारामा श्रीमान श्रीमती एक अर्काका परिपुरक हुन् । एक सिक्काका दुई पाटा हुन् । म फेरी चालक पेशा गर्न थालें । बच्चाहरु विदेशमा छन् । उनिहरु खुशी छन् । सुखी छन् । घर परिवारका सदस्यहरु पनि खुशी छन् । त्यहिबेला बसमा आएर एउटा बाईक ठोक्कियो । घटनास्थलमै ब्यक्तिको मृत्यु भयो । केहि समय हिरासतमा बसें । जीवनका हरेक भोगाईहरुलाई कसरी ब्यक्त गरौं । अहिले भएकी श्रीमतीको साथ र सहयोग छ । बच्चाहरुले गर्ने ब्यवहार पनि राम्रो छ । अनपढ भएकै कारण भोगेको भोगाई, गरिव भएका कारण भोग्नु परेका पीडा असंख्य छन् । सबै सन्तानलाई शिक्षा दिउँ । संस्कार दिउँ । श्रम र रोजगार गर्ने वातावरण स्वदेशमा नै बनोस् । हामी मजदुरहरुको चाहना यो भन्दा ठुलो के हुन सक्छ र ?
सञ्जीव खत्री
धुलिखेल, काभ्रे









