गाउँको बिचमा एउटा मनोहर चौतारी थियो । कतै टाढा हिँडेको बटुवा थकाई मार्न होस् वा घाँस दाउराको भारी बिसाएर जिन्दगीको गीत सुसेल्न आउने सबैलाई त्यो चौतारी आफ्नो छहारीमा प्रेमपूर्वक लुकाएर शितलता प्रदान गर्दथ्यो । त्यो चौतारी जहाँ कति कचहरी बस्थ्यो, न्याय अन्यायको फैसला हुन्थ्यो । पण्डित बाजे रामायण बाचन गर्थे, लाहुरे बा लड़ाइँ र युद्धका कथा सुनाउँथे । किशोर किशोरीहरु समूह बनाएर सामाजिक परिवर्तनका योजनाहरु बुन्थे । भित्ते पत्रिका निकाल्थे, सांस्कृतिक कार्यक्रम देखाउँथे । दशैं तिहार आउँथ्यो, लामो डोरी बाटिन्थ्यो र यसैको हाँगामा पिङ राखिन्थ्यो ।
एकदिन गाउँकै एकजना अग्रज शिक्षक चौतारीको त्यही हाँगामा झुन्डिएको भेटिनु भयो, पछाडि हात बाँधेर उनलाई गोली हानिएको थियो । विद्रोहीहरुले क्रान्तिको नाउँमा उहाँको निर्मम हत्या गरेका थिए । जनयुद्ध रोकियो देशमा ठूलो परिवर्तन भयो । गणतन्त्र नाम गरेको व्यवस्था आयो । तर त्यो चौतारीमा आजकल कोही मान्छे पनि जान छाडेका छन् । कसैलाई कसैको मतलब हुन छाड्यो । सामाजिक एकता र अपनत्वको भावना हराए झैँ लाग्न थालेको थियो । ज–जसले छाती भित्र एकता वा चौतारीको अभाव महसुस गरेका थिए तर ती बोल्न नसकी भित्र भित्रै पिल्सिई रहेका थिए । न कसैको आगमन, न कुनै भेला । खै किन हो, सबै जना डराउँथे । चौतारी रित्तो र सुनसान हुन थालेको थियो । एकदिन नाति दौड्दै आयो र भन्यो हजुरबा हजुरबा ... मैले चौतारीमा गुरुको भूत देखें । उनको आत्मा रोइरहेको थियो ।
गाउँ अहिले गाउँ भएन । मेलापात, हाटबजार लाग्न छाडेको बर्षौं भैसकेको थियो । अधिकांश तन्नेरी तरुनीहरु गाउँमा थिएनन्, त्यसैले पारीसम्म सुनिने दोहोरी र लैबरीको भाका, अहँ कहीँ कतै गुन्जदैनथ्यो । गाउँको मध्ये भागमा रहेको चौतारीमा कति प्रेमी प्रेमिकाले कविता जस्ता मिठा प्रेम र अनुरागका संवादहरु गरे, मायाका स्वर्णिम पलहरु बिताए र न्यानो अंगालोमा आफुलाई हराएर जुनी जुनी सँगै जिउने मर्ने कसम खाए । वरपिपलको त्यो चौतारीमा लेखिएका ती सबै कथाहरु आज मेटिई सकेको थियो । दुःखको कुरा मान्छे भौतिक हुदै गैरहेका थिए, उनीहरु मान्छे भित्र मन भन्ने नै हुदैन भन्थे र रुखलाई त अझ काठ मात्र देख्थे । गाउँको माझमा रहेको वर पिपलको रुख पनि ढल्यो । त्यो ठाउँमा गाविस भवन बन्यो । आज गाविस भवन पनि छैन । नयाँ रुप र स्वरुपको भवन बनेको छ । त्यहिबाट सेवा दिन शुरु गरिएको छ । घर दैलोको सरकार भनिएको छ । नाम मात्रैको सरकार छ । कागज बोल्छ । भावना बोल्दैन । मान्छे बोल्छ मन बोल्दैन । बाध्यता बोल्छ समाधान बोल्दैन । अभाव बोल्छ । सहयोग बोल्दैन । मानवीयता हराउँदै गएको समाज र समुदाय एक्लो र निराश हुन थालेको छ । सार्वजनिक छलफल कार्यक्रम भएकोले म पनि त्यहाँ पुगें । एउटा सानो हल भित्र थियो कार्यक्रम । आयोजक, अतिथि, पत्रकार लगायत सबै उपस्थितहरु आ–आफ्नो आसनमा बसे । छलफल शुरु भयो । अगाडि ठुलो ब्यानर टाँंगिएको थियो । त्यहाँ उल्लेख गरिएका शब्दहरुले धेरैको मन खिचेको थियो ।
छेउमा एकजना सिकर्मी भाई काम गरेको पारिश्रमिक लिन आएका थिए । उनी भन्दै थिए कार्यक्रममा प्रयोग भएका सबै फर्निचरको पैसा उनले पाउन सकेकै रहेनछन् । त्यहाँ भएका सबै टेबल कुर्सी दराज लगायतका सम्पूर्ण फर्निचर त्यही बर र पिपलको चौतारी अथवा रुख अथवा काठबाट बनाइएका हुन् । त्यसको हिसाब किताब बाँकी छ । हिजोको चौतारी आज मासिएको छ । त्यहि चौतारी थियो दुःखसुख बाँड्ने ठाउँ । छोटे राजाहरुले धमाधम डोजर लगाएर भत्काउन थालेका छन् । उनिहरुले भत्काएको चौतारोले उनिहरुलाई फाईदा पुगेको होला । त्यो सँगै इतिहास मासिएको छ । भासिएको छ । नासिएको छ । हाम्रो मनहरु कुँडिएका छन् । मनका कुरा कसैले नसुने पनि त्यहि चौतारीले सुन्ने थियो । नसुने पनि निश्चल र पवित्र हावाले उडाएर लैजाने थियो । त्यहि हावा आउने ठाउँ, त्यहि भावना पोख्ने ठाउँमा धमाधम डोजर गुडिरहेका छन् । चौतारो र वर पिपल मासेर भवन बनाईएका छन् । बन्द कोठा भित्रको असिन पसिन स्थानमा बसेर कसले भन्न सक्ला मनका पीडा र ब्यथा ? किन बढिरहेको छ आत्महत्या ? बालबालिकाहरुले किन गरिरहेका छन् ? जेष्ठ नागरिकहरुले किन गरिरहेका छन् आत्महत्या ? माटो र हावापानीसँग कसले राख्न पाएको छ सम्बन्ध ? सुनाउने कसलाई ? कसैलाई फुर्सद छ र सुन्न ? बरु हातमा २४ सै घण्टा मोबाईल चलाएर बस्न तयार हुन्छन् । हामी जेष्ठ नागरिकका कुरा सुुन्न कोहि तयार हुँदैनन् । घरमा कोहि हुँदैनन् । भएका पनि सबै ब्यस्त छन् । ब्यस्त नभएका मोबाईलमा ब्यस्त छन् । चौतारीमा जम्मा हुने, जेष्ठ नागरिकहरु भेला हुने, पुराना कुरा सम्झने, बालबालिकाहरुलाई हाम्रा कुरा भन्ने र पुस्तातन्तरणका अनुभव साटासाट गर्ने त समय नै छैन । अनि कसरी सम्झन्छ पुस्ताले ईतिहास, सँस्कृति, धार्मिक तथा विविधता ??
छिमेकी भाईको छोरा लामो समय विदेश बसाई पछि घर फर्कियो । उसका आफन्त र साथी संगीहरुले उसलाई विदेशको बसाई र रहनसहनका अनुभवहरु सुनाउन अनुरोध गरे । केटाकेटीहरु पँलेटी कसेर सुन्न बसे । उसले भन्दै गयो । रमाइला र रोचक अनुभवहरु त कति छन कति, लेख्यो भने त सिङ्गो किताबै तयार होला तर ती दिनचर्या र अनुभवहरुको थुप्रोमा एउटा चाहिँ सबैभन्दा माथि छ । त्यो हो, गाउँको वातावरण । गाउँको चौतारी । त्यो बालापन । त्यो चौतारीमा खेलिरहँदाको अनुभव । जहाँ हामी फुर्सद हुने बित्तिकै भेला हुन्थ्यौं र मिठामिठा गफ गथ्र्याै । अहिले पनि गर्छौं । एउटा नजानिँदो बानीजस्तै बसेको छ । सबै मुखामुख गर्न थाले । गाउँमा त छैन अचेल चौतारी कहाँबाट भेट्यो यसले विदेशको शहराँ ? पत्याउनेको भन्दा नपत्याउनेको संख्या धेरै भयो । कोही कोहीले चाहिँ समयको चौतारी कुनै अमुर्त वस्तु वा विषयप्रति लक्षित हुनुपर्ने आशंका व्यक्त गरे । उनीहरुको आशंका सही निस्कियो । समयले कम्प्युटर खोल्यो, फेसबुकको झ्यालबाट एउटा गजÞबको चौतारी देखियो, जहाँ गीत, गजÞल, कथा, कविता लेख्ने देखि गीत गाउने, चित्र कोर्ने वा यी सबै हेरेर रमाउने थुप्रै मान्छेहरु छपक्क भेला भैसकेका थिए ।
प्रविधिको युगले सबैलाई बदलेको छ । बदलिएका ति मान्छेहरुको भावना पनि बदलिएको छ । सन्तान जति भए पनि मर्ने बेला बुढा बुढीको दुःख बुढाबुढीलाई भने जस्तो अहिले देखिन थालेको छ । पहिला बाबु आमा मर्लान् भनेर कुरेर बस्थे छोराछोरी । अहिले बाबु आमा मरे पछि शव कुरेर कहिले आउलान् छोराछोरी भनेर बस्छन् आफन्त । शवले कुर्छ सन्तानलाई । सन्तानले कुर्दैन अभिभावक । सम्भव पनि छैन होला । अवसर पनि नभएको होईन । अवसरलाई सदुपयोग पो गर्न जानिएन कि ? मेरा ७ सन्तान छन् । सबै सन्तान लाखापाखा लागेका छन् । घरमा दुई बुढाबुढी बस्छौं । जेठो सन्तान बैदेशिक रोजगारका लागि मलेसिया जाने आउने गरेको १३ वर्ष भईसकेको छ । उ त्यतिबेलाको महान् क्रान्तिमा लाग्न बाध्य पारिएका कारण केहि समय त्यता गए पछि फर्केर विदेशिएको थियो । गाउँका मान्छेहरु छानी छानी चौतारीमा ल्याएर गोली ठोक्न लागे पछि त्रसित गाउँमा मुर्दा नामको शान्तिका लागि उ बाध्य भएर विद्रोही बनेको थियो । विद्रोही आउने सरकारका मान्छे किन राख्या भन्थे ? सरकारका मान्छे आउँथे बन्दुकका कुन्दै कुन्दाले हान्थे । सन्तान जोगाउन सकिएन । एकजनालाई विद्रोहीसँग पठाएँ । अर्काेलाई सुरक्षा निकायमा पठाएँ । मुखमा माड पनि लगाउनु पर्दथ्यो । विस्तारै उनिहरु दुबैले बुझे लडाँई हाम्रा दाजुभाई बीचको रहेछ ।
दाजु घरमा आउँदा भाई भाग्नु पर्ने भाई आउँदा दाजु ? कस्तो विडम्बना । ५ वटी दिदी बहिनीले दुई भाईलाई सँगै टिका नलगाएको २२ वर्ष वित्यो । भाई सुरक्षा निकायमा गयो । पेन्सन पनि भयो । काम गरेको पैसा पनि आयो । देश र जनताका लागि काम ग¥यो । परिवार राम्रो भएको महसुस गरेको छ । उनीहरु काठमाडौ तिर नोकरी गरेर सानोसानो ब्यवसाय गरेर बसिरहेका छन् । जेठो जो विद्रोहीसँग गयो । उ अहिले खाँडीमा जाकिएको छ । उसका सन्तान पनि खाँडी नै जान बाध्य छन् । नाती नातिना अहिले हामीसँग छैनन् । मुलुक समृद्ध होला । निर्माण पछि हामी जस्ता जेष्ठ नागरिकहरुले मर्ने बेला पनि सन्तानकै काखमा मर्न पाउँछौ होला भन्ने अपेक्षा गलत भएको छ । यस्तो अवस्थामा राज्यले गर्छ चाँहि के होला ? युवाहरु अध्ययन गर्न र काम गर्ने जाने नाममा मुलुक खाली हुँदैछ । स्थानीय सरकारका मालिकहरुलाई आफू र आफ्नो बाहेक चिन्ता छैन । मुलुकमा श्रम र जनशक्तिको खडेरी पर्न थालिसक्यो । सोच्ने कसले ? यी सबैकुरा भन्ने चौतारो पनि डोजरले भत्किएको छ । सुन्छ कसले ? सुनाउने कसलाई ? कहाँ बसेर स्वच्छ हावा खाउँ ? कसलाई सुनाउन हाम्रा कुरा ? भएको चौतारी पनि मास्नेहरुले सम्झेका होलान् आफुहरु बुढो हुनु पर्दैन ? त्यतिबेला उनिहरु कहाँ जालान् ? विकल्प त उनिहरुका धेरै होलान । हामी गाउँ रित्तो हुन नदिने र गाउँ छाड्न नसक्नेहरुका लागि चौतारो त हाम्रो सर्वस्व नै हो नि हैन ? भत्किएका चौताराहरुलाई निर्माण गरौ । मक्किएकालाई मर्मत गरौं । नयाँ निर्माण गरांै । पुरानालाई जोगाउँ । यो नै संस्कार र संस्कृति हो कि ? पुस्तालाई के हस्तान्तरण गर्ने ? सोचौ । लागौ । जागौ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा सबैलाई शुभकामना ।
श्रवणबहादुर बस्ताकोटी
मण्डनदेउपुृर, काभ्रे





