आजभोलि धेरै समस्या पारिवारीक हुन थालेका छन् । सामाजिक सञ्जालको प्रयोगसँगै दुरुपयोग, संचारमाध्यमको विकास र प्रविधिको बढ्दो आवश्यकताका कारण सामाजिक सद्भाव, पारिवारीक सम्बन्धहरु भत्कन थालेका छन् । कतै श्रीमती श्रीमान्का कारण पीडित हुन थालेका छन् भने कतै श्रीमान्हरु श्रीमतीका कारण पीडित हुन थालेका छन् । प्रविधिको प्रयोगसँगै बैदेशिक रोजगार अर्काे समस्या बनेको छ । ब्यक्तिले अनुशासन बिर्सेको छ । मर्यादा विर्सेको छ । जिम्मेवारी र दायित्व भुलेको छ । समाजमा उठेका विग्रहरुलाई साम्य पार्ने हो भने मान्छेका मन नियन्त्रणको अभ्यास गरिनुपर्छ । जबसम्म मन नियन्त्रण हुँदैन तबसम्म ब्यक्तिले शान्ति पाउँदैन । ब्यक्तिको मन भड्कँदा ब्यक्तिले ज्यान नै फाल्ने जस्तो गम्भीर अपराध आत्महत्या गर्न थालेको छ । कुनै न कुनै पीडा र संकटमा संघर्ष ब्यक्तिले बिर्सन थालेको छ । संघर्षमा जुध्ने साहस पैदा गराउने आध्यात्मिक ज्ञानको अनुभुति गराउनु पर्ने आजको आवश्यकता हो ।
श्रीमान् श्रीमती दुई रथका दुई पांग्रा मानिन्छन् । श्रीमान्ले श्रीमतीका लागि कतिसम्म गर्दाे रहेछ ? के–के गर्दा श्रीमती आफ्नो हुन सक्ने रहिछन् ? श्रीमती आफ्नी हुन एउटा पुरुषले के गर्नुपर्छ ? थुप्रै पीडा र अनुभव छन् । नेपालको कानुनले पुरुषलाई धेरै पीडित बनाएको छ । सर्वाेच्च अदालतले समेत पूरुष कहिल्यै बलात्कृत हुन सक्दैनन् भन्ने आशयको फैसला गरेको छ । के साँच्चै श्रीमतीहरुबाट श्रीमान् कहिल्यै पीडित हुँदैनन् त ? यो गम्भिर विषय बनेको छ । महिलाहरुले चाहेको बेला वा खुशी भएको बेला श्रीमानलाई भगवानका रुपमा पुज्ने अनि सानो सानो विषयमा भएको असमझदारीमा अपराधी करार गर्न प्रयत्न गर्ने ? हुन त सर्वाेच्च अदालतमा कार्यरत एक जना श्रीमान् नै श्रीमतीको तनावका कारण राजिनामा दिन बाध्य भए । उनको श्रीमती त अनसन पनि बसिन् । ब्यक्ति÷ब्यक्ति भित्रको अहंमता निवारण गर्न नस्क्दा समाजमा यस्ता कयन घटना घटिरहेका छन् । कानूनले वैवाहिक बलात्कारको ब्यवस्था गरे पछि श्रीमान्हरु झस्किएका छन् । हरेक दिन श्रीमतीहरुबाट खतरा ? एम्बुस हुन् श्रीमती । मायाका खानी हुनुपर्ने श्रीमतीहरुलाई कसरी एम्बुस जस्तै बनाईयो ? विगतमा कुन पुरुषले के ग¥यो भन्ने कुराले समग्र पुरुषहरु खराब हुन्छन् भन्ने सोच पनि गलत छ । समग्र महिला खराब हुन पुग्छन् भन्ने अतिवादी सोच पनि खराब हो ।
पछिल्ला केहि तथ्याङ्कहरुले श्रीमान्हरु श्रीमतीबाट पीडित भएका मुद्दाहरु दर्ता हुन थालेका छन् । सम्बन्ध विच्छेदमा पनि महिलाले भन्दा धेरै पुरुषले मागिरहेको देखिन्छ । श्रीमतिसँग सम्बन्ध विग्रिएपछि वा श्रीमान्सँग सम्बन्ध विग्रिए पछि त्यसको पहिलो शिकार श्रीमान् र बच्चाहरु हुने गरेका छन् । म त्यस्तै एउटा पीडित पुरुष हुँ । अहिले त लोग्ने मान्छेहरु पीडित भएको भन्दा पनि पत्याउन थाल्यो । केहि समय अघिसम्म समुदाय र समाजले त्यस्तो भन्दा पनि पत्याउँदैन थियो । प्रहरी, अदालतमा उजुरी गर्ने अवस्था पनि थिएन । उजुरी गरे पनि अहिलेसम्म न्याय पाउन महिलालाई जस्तो पुरुषलाई सहज छैन । धेरै ब्यक्तिहरुका आफ्नै कथा होलान् भोगाई अलग होलान् । त्यहि भोगाईको एउटा पात्र हुँ म । समग्र पुरुषहरुले भोग्नुपर्ने कयन घटना र भोगाईहरुको एउटा अंश हुँ म । कतिले भन्लान वा ब्यक्त गर्लान् । कतिले नगर्लान् । तर पनि आफ्नो मन हलुङ्गो बनाउने मनको चौतारी मोरातीको कथा ब्यथा स्तम्भ हो ।
धेरै पुरुषहरु श्रीमतीबाट हुने पीडाहरु कसैलाई सुनाउन सक्दैनन् । चाहँदैनन् । किनकी श्रीमतीको हर्कतका बारेमा भन्यो भने यो कस्तो काँतर पुरुष रहेछ भनेर गिज्याउन थाल्छन् । ज–जसले जे भने पनि घटना र ब्यथा भोग्नेले मात्रै बुझेको हुन्छ । श्रीमतीका अनेक हर्कतहरु वाहिर ल्याउने प्रयास गरेको छु । पीडालाई शक्तिमा बदल्ने यो बाहेक अर्काे कुनै उपाय छैन । जिल्लाको विकट डाँडापारीमा मेरो घर हो । अहिले पनौती बस्दै आएको छु । मनमा उठेका अनेक प्रश्नहरुको जवाफ नै दिन सकिँदैन । कसले दिन सक्छ ? पनौतीमा बसेर गाउँमा रहेको जग्गामा खेतिपाती गरिरहेको छु । अहिले त जंगली जनावारहरुले खेति पनी बाँकी राखेका छैनन् । केहि महिना गाउँमा बस्छु । केहि महिना पनौती बस्छु । पनौतीका गल्लि गल्लिमा डेरा सरें । भौतारिएँ । नेपाल गए कपालसँगै बर्मा गए कर्मा सँगै भन्ने उखानले मलाई छाडेन । गरिबको दुःख जता गयो उतै त्यस्तै । कहिल्यै बदल्न सकिनँ । न कि आफू बदलिन सकें । घर न घाटको भएपछि अहिले मजदुरी गरिरहेको छु । भुकम्पमा पाएको काम कोरोनाले लुट्यो । कोरानाले धेरै ब्यक्तिलाई सहज रुपमा सडकमा ल्यायो । मैले कहिले रिक्सा चलाएँ त कहिले मजदुरी गरें । आखिर जे गरे पनि पेट भर्ने नै हो ।
२०३७ सालमा जन्मिएको म जेठो सन्तान । सामान्य परिवारमा हुर्केको भए पनि त्यतिबेला गाउँमा कक्षा ५ सम्मको विद्यालय नजिकै थियो । कक्षा ६ देखि दैनिक ३ घण्टा जान र ३ घण्टा नै हिडेर आउनु पर्ने भए पछी विद्यालय जान सकिनँ । माथिल्ला कक्षा अध्ययन गर्न असहज भए पछि म कामको खोजीमा पनौती आएको थिएँ । पनौतीमा गाउँका केही मान्छेहरु पनि बसेकाले केही सहज भएको थियो । कहिले घर बनाउने काममा जाने त कहिले खेत बारीको मजदुरीमा जाँदा जाँदै सामान्य होटल गर्दै आएको एक परिवारको छोरीसँग चिनजान भयो । उनकै होटलमा दैनिक खाजा खाने तथा कहिले काँही खाना समेत खाँदा होटल साहुको छोरीसँग एकतर्फी प्रेम पर्न गयो । होटल साहुनीलाई पैसाको धेरै खाँचो रहेछ । म सँग काम गरेको ठाउँबाट लिएको तीन हजार पैसा थियो । खाजा खाएर पैसा तिर्न लाग्दा साहुनीले पैसा देखिन् । केहि भन्न सकिनन् । भोलिपल्ट छोरी मार्फत केही दिनको लागि रकम सापट माग्न लगाईन् । मेरो मन मनकारी थियो । स्वार्थ थिएन । निश्वार्थ एकतर्फी प्रेम गर्थें । त्यो उमेरको पनि दोष थियो । मन पराए पनि भन्न सकेको थिईन । तर उनले पनि सांकेतिक रुपमा मन पराएको सहमति दिएको आभाष हुन्थ्यो । अरुलाई गर्ने ब्यवहार र मलाई गर्ने ब्यवहार फरक थियो । खानपान, रेखदेख पनि फरक थियो । भएर त सापट मागे नी ? केहीबेर मनमा कुरा खेल्न थाल्यो । पसल राखेर बसेका ब्यक्तिहरुलाई पनि पैसाको खाँचो पर्छ होला त ? म सोझो थिएँ । दिमाग पनि सानै थियो । कसरी धेरै कुरा सोच्ने । फेरी मसँग भएको पैसा थोरै मात्रै थियो । मँ सग किन ऋण मागे होलान् ? दिने कि नदिने ? कोठा भाडा तिर्न बाँकी भएको दुई महिना भएको थियो । कहिलेकाँही रासन बाँकी खाएको एक हजार पैसा तिर्नु थियो । आखिर सधै खाजा खाएर पनि भए पनि कटाउँला नि त भन्ने सोच आयो । अन्यत्रको सबै छाडेर उनिहरुलाई सापटी दिने निर्णय गरें ।
मेरो दैनिकी फेरिन थाल्यो । प्रायः उधारो खाजा खाने म उधारो खानै छाँडे । पैसा नभएको दिनमा त्यो होटलमा गएर खाजा खानै जाँदिन थिएँ । अर्काे होटलमा गएर खाजा खाएको साहुनीको छोरीले थाहा पाईन् । तिनी पनि पढाई छाडेर बसेकी रहिछन् । कहिलेकाँही आमालाई सहयोग गर्ने नत्र सुईटर बुनेर दिन कटाउने गरेकी थिईन उनी । सापटी दिएको पैसा कति न हुन्थ्यो र खाजा र खाना खाँदा खाँदा सकियो । ख्याल ख्यालमा मेरो र उनको विवाहको प्रसङ्ग चल्यो । म नियमित काम गर्दथें । तर खाने कुरामा आफुलाई अनुशासित राख्थें । परम्परा अनुसार हाम्रो विवाहको कुरा चल्यो । बुबाआमासँग कुराकानी पनि भयो । उहाँहरु मेरो खुशीका लागि तयार त हुनुभयो । तर शर्त थियो बुहारी गाउँमै बस्नु पर्ने । त्यो सम्भव पनि थिएन । मैले नै उहाँहरुलाई सम्झाएको थिएँ । आवश्यक पर्दा हामी दुबै जना गाउँ फर्कन्छौ । नभए उतै काम गरेर पैसा कमाउँछौं । विधी अनुसार विवाह गरियो । दुवै परिवारमा खुशी छायो । विवाहको केहि समयमा नै हामी शहर आयौं । विवाह पछि सम्बन्धमा फरकपन आउनु प¥यो । ससुरालीसँग डेरा पनि नबस्ने भनेर मैले अन्यत्र डेरा सर्ने निर्णय गरें । केहि समय हामी सँगै भएकाले म काममा जाँदा उनि माईतीकै होटलमा काम गरेर बस्ने गरेकी थिईन् ।
विस्तारै सम्बन्धलाई कसिलो बनाउँदै पैसा पनि कमाउँदै गयौं । भारी बोकेर भए पनि कमाएको पैसाको आनन्द अलग्गै थियो । उनकै आग्रहमा हामीले कमाएको केहि पैसा होटल विस्तारमा लगानी भयो । कोभिडले होटल डुब्यो । ससुरालीले त्यो पैसा दिने कुरा गरेनन् । भरियाको ३ लाख ठुलै रकम थियो । ससुरालीले छोरी नै सुम्पिएका छन भने जाबो त्यति पैसा । मेरो लोभ भएन । तर उनीहरुको नियत त्यस्तो हैन रहेछ । म सोझो देखेर उनिहरुले मेरो पसिना लुटिरहेका रहेछन् । म त उनिहरुको देखावटी ज्वाई रहेछु । अरु केहि पैसा हामीले सहकारीमा जम्मा गरेका थियौं । हरेक दिन पैसा सोध्ने कुरा पनि भएन । मेरो नागरिकताहरु दुरुपयोग गरेर हस्ताक्षर समेत दुरुस्तै हुने गरी किर्ते गरिछन् । सहकारीमा राखेको रकम पनि निकालिछन् । होटलमा लगानी गरेको बाहेक अरु पैसा उनले अन्य ब्यक्तिलाई दिएकी रहिछन् । धेरै ब्याज आउने लोभमा दिएको मलाई भने पनि उनको सम्बन्ध पनि राम्रो रहेनछ । म दिनभर काममा जाने उनि दिनभर अन्य पुरुषसँग रमाईलो गरेर बस्ने । मोजमस्ति गरेर हिड्ने । होटल रेस्टुरेन्टहरुमा गएर खाजा खाने । म आफु भने एक बोरा धेरै भारी बोक्न नपाउँदा श्रीमती र बच्चाहरु रुन्छन भन्ने सोचेर काम गर्ने गरेको थिएँ । बेलुका घरमा पुग्दा झर्केने, खाना राम्रोसँग नबनाउने, उल्टो मलाई सधै बनाउन सकिन्छ त ? आफै बनाएर खानु भन्ने जस्ता अपशब्द प्रयोग गर्न थालिन् । उनका सबै हर्कतहरु थाहा भए पछि मैले उनिसँग मेरो पैसाको हिसाब किताब मागें । ढुङ्गो बोल्ला मान्छे बोल्दैन । सम्बन्ध, पैसा । उनी अवाक्क हुन्छिन् । प्रहरीकोमा उजुरी दिएँ । केहि भन्दिनन् । धेरै पछि थाहा पाएँ उनले त प्रहरी कार्यालयमा बैवाहिक बलात्कारको मुद्दा दर्ता गरिछन् । पछि प्रहरीले पनि मलाई बोलायो । छलफल गरायो । उनिहरुले चाहे जस्तो सबै कहाँ हुन्छ र ? भगवानले त हेरेका हुन्छन नि ? प्रहरीबाट मलाई मुद्दा नचलाउने निर्णय ग¥यो । मैले पनि न्याय पाएको महसुस गरें । तर पसिना बगाएर खाई नखाई मुटु फुट्ने गरी कमाएको रकम नासिँदा म कति रोएँ होला ? पसिना र आँशुको श्राप तिनलाई लाग्ला कि नलाग्ला ? तिनी मसँग छैनन् । जहाँ भए पनि खुशी हुन् । मसँग छोरी छिन् । उनको हुर्काई र लालनपालन मेरो पहिलो शर्त हो । तर महिलाहरुले प्राप्त अधिकारको दुरुपयोग गरेका कारण म जस्ता धेरै पुरुषहरु पीडित भएको महसुस भएको छ । सम्वन्ध विच्छेदको मुद्दा राखेको १ वर्ष हुन लाग्यो । फैसला भएको छैन । उनि र मसँगै छैनौं । तर पनि उनले दिएको दुःख र हर्कत बयान गरी साध्य छैन । आफ्नै श्रीमानले राति राति कुट्न पठाईन् । जतिबेला आए पनि म उनका लागि ढोका र खाना कुरेर बस्नु पर्दथ्यो । टन्न मादक पर्दाथ सेवन गरेर हल्लिदै आउँदा पनि म चुपचाप बस्नु पर्दथ्यो । तिज शुरु हुन लागेको छ । अधिकार महिलाका लागि मात्रै हो कि पुरुषलाई पनि ? यस्ता विभेदकारी कानूनका कारण हामी कतै पुरुष र कतै महिला पीडित बन्नु परेको छ
सिंहबहादुर तामाङ
पनौती, काभ्रे





