बाबाले भन्नु भयो भईगो, धेरै तारिफ गर्नु पर्दैन, ल हिँड घर । मैले भने एक छिन त्यो केटीलाई बुबालाई दिनु न बाबा, म उसलाई धन्यबाद भन्न चाहान्छु । बाबाले सिजनलाई बाहिरबाट बोलाएर ल्याउनु भयो । अचानक मेरो बाबाले उसलाई बोलाउँदा उनी छक्क परेकी थिई त्यो कुरा उसकी अनुहारबाट मैले थाहा पाएँ । सिजन मेरो नजिक आएर बिस्तारै सोधिन् । के हो, अस्तितिर मेरै कारणले तपाईंलाई उहाँले कुट्नु भएको थियो तर आज उहाँले आफै बोलाएर तपाईंलाई भेट्नु भन्नु भयो । मैले हाँस्दै भने तिमी त्यहि पल्लो गाउँ कि नेवार्नी केटीको त्यो बाबालाइ थाहा छैन । मैले उसको बारेमा अरू केही पनि बाबालाई भनेका थिए त्यो उसले थाहा पाई सकेकी थिई ।
मैले उसलाई भने बाई । भोलि कलेजमा भेटौंला । उनीले यस्तो हालतमा पनि तपाईं कलेज आउनु हुन्छ भनेर सोधिन् । मैले भने चिन्ता नगर । तिमी कलेज आउनु म जसरी भए पनी आउनेछु । उसले हस, त्यसो भए भोलि भेटौंला भनिन् । म बाई भन्दै बाबा सँगै घर फर्के । घर फर्किदा मात्र उसकै बारेमा सोचिरहें । अब उनी पनि मेरै कलेजमा पढ्ने भइन् । सोचे अब फेरी हामी सधै भेट्नेछौ । कुरा गर्नेछौ । क्या रमाईलो हुनेछ । अर्को दिन म कलेज जानु लाग्दा बाबा आमाले यस्तो हालतमा कलेज नजाउ भन्नु भयो । मैले भने तपाईं चिन्ता नगर्नु केही हुदैन । मेरो परीक्षा नजिकै आउँदैछ । त्यसैले मलाई जानुपर्छ । उहाँहरूले केही पनि बोल्नु भएन । त्यसपछि म खुट्टालाई घिसार्दै कलेज गएँ । खुट्टामा हल्का पीडा हँुदा पनि सिजनलाई भेट्न जाँदै छु । सम्झेर त्यस्तो केही महसुस भएन । कलेज पुग्दा सिजनले मलाई पर्खिदै बसेकी थिई । म उसको नजिक पुग्दा उसले तपाईंलाई कस्तो छ भनेर सोधिन् । मैले भने ठिकै छ अनि तिम्रो ? त्यसपछि हामी बिच विभिन्न कुराहरू हुन थाले । हामी सधै कलेज मै भेट्ने गर्थे । शनिवार भएको दिन उनीसँग भेट नहुँदा वाक्क लाग्थ्यो । सोच्थे शनिबार पनि पढाई भई दिएको भए क्या रमाईलो हुन्थ्यो वा हप्ताबाट शनिबार नै निकालेर हटाएर एक हप्तामा ६ दिन मात्र भई दिएको भए मज्जै हुन्थे । तर सोचें मेरा ती सब कुराहरू को कुनै अर्थ नै थिएन । त्यो संसारकै नियम हो र मैले गर्दा त्यो सब नियम परिवर्तन हुन्छ त्यो म कल्पना पनि गर्न सक्दिन । बरु यि सब सोचेर म आफ्नो मनलाई जसोतसो गरेरे सम्झाउने गर्थे । फेरी आईतबार आउँथ्यो र हाम्रो मिलन फेरी हुन्थ्यो । यस्तै क्रमशः एक बर्ष बित्यो । ती एक बर्षमा थुप्रै कुराहरू बित्यो जुन मेरो जीवनको रामईलो पल थियो । एस.एल.सी. नजिक आयो । सिजन फेल भयो भने मलाई समस्या हुन्थ्यो । किनकी मैले नै उसलाई पास हुने आशमा फेरि स्कुल पढ्न लगाएको थिएँ ।
एस.एल.सी.को पहिलो परीक्षाको दिन आयो । हामी दुबैजना परीक्षा केन्द्र गयौं । मैले उसलाई सोधे तिमी राम्ररी तयारी गरेर आएकी छौ नी ? उनले भनिन् छैन । दुई बर्ष देखि मैले किताबलाई पल्टाएको पनि छैन । अनि कस्तो तयारी गरेको हुँला ? त्यो तपाईं आफै सम्झिनु न । हे भगवान, सिजन कस्तो केटी रहिछ ? आज परीक्षा हो । थाहा हुँदा हुँदै पनि किताब नि पल्टलाएको छैनन् । मैले आफ्नो टाउकोमा हात राख्दै भने अरे यार । एकचोटी पढेको भए हुन्थ्यो नि । उनले भनिन् ह्या छोडदिनु, मैले तपाईको लागि मात्र फेरी स्कुल पढ्न गएको थिएँ । अब फेल भए पनि केही फरक पर्दैन । मैले उसलाई सोधें तिम्रो प्याड खोई । उनले भनिन् ला मैले त ल्याउनै बिर्सें । अरे यार परीक्षाको दिन पनि उनले केही ल्याएकी थिईनन् । उनले जानीजानी नाटक गर्दैछे कि के हो ? त्यो मैले बुझ्नु सकिन । मलाई थाहा थियो उनीले त्यस्तो गर्छिन् त्यै भएर मैले उनकै लागि पहिला देखि नै प्याड, औजार बाकस, गेस पेपर, गाइड बुक ल्याएको थिएँ । मैले उसलाई ती सब कुरा दिदै भने ल राम्ररी बुक लुकाएर लैजाउ । हुन्छ भन्दै भित्र गईन् । गार्डले चेक गर्ने बेलामा मैले उसलाई दिएको बुकहरू खोस्यो । अब उनी परीक्षामा के लेख्छे । कसरी लेख्छे सोचेर टेन्सन भयो । परीक्षा केन्द्र भित्र एउटा मन्दिर थियो । त्यो मन्दिरको छेउमा स्टिलको जालीले घेरिएको थियो । म बिस्तारै त्यो जालीको छेउमा गएर सिजन भनेर जोरले कराए । उनले मेरो कुरा सुनेर भाग्दै मन्दिर नजिक आईन । मैले अर्को गेस पेपर जालीबाट फ्यालेर उसलाई दिए । उनले गेस पेपर लिएर भित्र गइन । उनलाई गेस पेपर दिए पछि म ढुक्क भए । अचानक पुलिस गार्डहरू सिजनको नजिक आएर त्यँहा भएका बिद्यार्थीहरूलाई चेक गर्न थाले । पुलिसले सिजनलाई पनि चेक गरि कि नाई त्यो त मैले थाहा पाउन सकिन । किनकी त्यहाँबाट उनीहरूलाई हेर्न सकिरहेको थिएन ।
परीक्षा केन्द्रको बाहिरबाट पनि आफु सक्दो उसलाई चिट दिने कोसिस गरे । एकचोटी त पुलिसले हे¥यो । लौराले मलाई खुट्टामा हान्यो । जसोतसो गरेर लडखडाउँदै त्यहाँ बाट भागे । सिजनको प्रतीक्षा गर्न थाले । केही समय पछि सिजन हल्का मुस्कुराउदै आइन । मैले सोधे कस्तो रह्यो परीक्षा अनि कति वटा प्रश्नहरूको उत्तर लेख्यौ ? उसले प्रश्न पेपर मलाई दिदै भने यसमा कलमले चिनो लगाएको सबै बनाए । मैले प्रश्न पेपरमा हेर्दा उनले ३२ वटा प्रश्नहरूमा १४ वटा मिलाएकी रहिछन् । मैले अंक जोड्दा सबै उतरहरू सही भयो भने पास हुनु पर्छ जस्तो लाग्यो । सोचे अब त केही हुनेवाला छैन । सिजन फेल हुने निश्चित नै थिएन । किनकी उनले उतर लेख्दा केही न केही गलत भएकै होला र अंग्रेजी बिषय पनि उस्तै हो । एउटा शब्द गल्ति हुँदा पनि पेपर चेक गर्ने शिक्षकले आधा अंक काटीदिनु भयो भने पक्कै फेल । सोचे जे भए पनि, पछि हेरौला तर अहिले सिजनको मनोबल बढाउनु जरुरी थियो । मैले भने ठिकै छ । ल अब भोलीको बिषयको राम्ररी तयारी गरेर आउनु । उनीले हस भन्दै हामी आ–आफ्ना घरको बाटो लागे । यस्तै क्रमशः सबै परीक्षा सक्यो । परीक्षा सकेर आउँदा खेरी उसको प्रतिक्रिया देख्दा मलाई लागेन उनी पास हुन्छिन् । तर मन भित्र एउटा आश थियो उनी अवस्य पास हुन्छिन । एस.एल.सी सके पछि हामी सँग भेट्ने कुनै उपाय थिएन । अब फेरी कसरी भेट्ने ? कहाँ भेट्ने ईत्यादी कुराले अत्याधिक सताउन थाले । मैले उसलाई सोधे अब कसरी भेट्ने ? उनी भनिन खोई थाहा छैन । मैले सोधे तिम्रो घरमा मोबाईल छ ? छैन टेलिफोन छ भनिन् । त्यो बेला खासै टेलिफोन, मोबाईलहरूको सुबिधा थिएन । कुनै कुनै मान्छेहरूले मात्र मोबाइल बोक्थे । मेरो छिमेकीमा बस्ने एउटा साथीको बाबा बिदेश बस्नु हुन्थ्यो त्यहि भएर उसको घरमा एउटा नोकियाको सानो मोबाईल थियो । मैले उसलाई सोधे तिम्रो टेलिफोन नम्वर दिन मिल्छ ? उनले नाँई भनिन । मैले सोधे किन नाई ? म सँग कुरा गर्न मन लाग्दैन र ? भनिन लाग्छ तर तपाईलाई यदि मैले नम्वर दिँए भने जुन सुकै बेला फोन गर्नु भयो भने मलाई मेरो आमा बाबाले कुट्नु हुन्छ । मैले भने तिमी चिन्ता नगर । तिमी जतिबेला भन्छौ त्यहि बेला फोन गर्नेछु । नम्वर दिदै भनिन राती १० बजे पछि मात्रै गर्नु ?
हुन्छ भन्दै अन्तिम पल्ट भेटेर घर फर्के । घर आउँदा किन किन मेरो शरीरको एउटा अङ्ग कतै छुट्यो जस्तै लाग्यो । घरमा बस्न पनि फिटिक्कै मन लागेन । रातको १० कहिले बज्छ भनेर प्रतीक्षा गर्न थाँले । दिनभरीमा हजारौं पटक घडी हेरं । खोई किन हो त्यो दिन समयको गति नै कम भए जस्तो लाग्यो । जसोतसो गरेर रातीको १० बज्यो । म आफ्नो साथीको घर गए । साथी बाहिर आफ्नो पिढिँमा बसेको थियो । साथीले यति राती किन आएको भनेर सोधे । मैले भने एकछिन बाहिर आइज । बाहिर नै भन्छु । उ बाहिर आए । मैले उसलाई सोधे तेरो मोबाइल खोई । उसले सोधे किन ? मैले भने एउटा साथीलाई फोन गर्नु छ । उसले सोध्यो ? कुन साथी ? मैले भने ह्या लिएर आइज न पहिला । मोबाइलमा चार्ज छैन भन्यो । मैले सोचें उसले झुठो बोल्दैछ त्यहि भएर पहिला लिएर आइज भनें । उसले आफ्नो नोकिया ११०० मोेडेल भएको मोबाइल ल्यायो । मैले मोबाईल लिएर हेर्दा साँच्चै नै चार्ज थिएन । त्यो बेला बिजुली पनि थिएन । सोचे अब के गर्ने ? सिजनले मेरो फोनको प्रतीक्षा गर्दै होली । मैले फोन नगर्दा उनले मेरो बारेमा कति नराम्रो सोच्छे होला । कति धेरै गाली गर्छे होला ? म के गरू ? साथीको मोबाइलको आशामा सिजनलाई फोन गर्छु भनेको थिएँ तर मोबाईलको चार्जले धोका दियो ।
सिजनको बारेमा सोचेर चिन्तित भए । यस्तै समयले आफ्नो गति बढाउँदै जाँदा राती १० बजि सकेको थियो । । उसको सम्झनाले गर्दा निन्द्रा नी लागेन । रात भरी चिन्ताले छट्टपटाई रहे ।
अर्को दिन बिहानै बिजुली आएको थियो । मैले साथीलाई भनेर मोबाईल चार्जमा हाल्न लगाएँ । मोबाइलको ब्याट्री फुल भए पछि साथीले मोबाईल ल्याएर ल फोन गर भन्यो । मैले मोबाइल लिएर सिजनको टेलिफोन नम्वर गरेर फोन गर्न थाले । तर अचानक सिजनले राती १० बजे मात्र फोन गर्नु भनेको कुरा याद आयो । मैले छिट्टै फोन काटेर साथीलाई मोबाईल दिदै भने ल अहिले राख राती तिर मलाइ दिनु । उसले सोध्योे किन अहिले के भयो र ? साथीले राति तिर मात्र फोन गर्नु भनेको छ । मैले केटी साथीलाई फोन गर्न खोजेको उसले मेरो बोल्ने शैलीबाट थाहा पाई सकेको थियो । हुन त कुनै केटाले केटीलाई पहिलो चोटी फोन लगाउँदा खेरी हल्का लजाएको अभिनय गर्छ र पटक पटक बिस्तारै बोलेर आफैले आफ्नो स्वरलाई चेक गर्ने गर्छ । सयौ पटकको प्रयास पछि पनि उनीसँग कुरा हुन सकेन । त्यो प्रेम ? त्यो समय । अन्ततः उनीसँग कुरा हुन साता दिन कुर्नु प¥यो । अहिले त्यस्तो समय पनि छैन । प्रेम पनि छैन । अवस्था पनि छैन । प्रविधिले सहज मात्रै होईन दुरुपयोग पनि गराएको छ । त्यो शैलीमा गरिएको प्रेम दिगो र अमर थियो । आज पनि उनि र म त्यो प्रेम अनि सम्वन्धबाट खुशी छौं । पछि विवाह भयो । बच्चा भए । अहिले खुशी छौं । दुनियाँको प्रेम असफल भएको घटना सुन्दा हामी दंग हुन्छौं र आफ्नो प्रेमलाई बलियो बनाउने प्रयत्न गर्छाै ।
सरल दाहाल
बनेपा, काभ्रे





