पापी पेट पाल्न जीन्दगीलाई संघर्षको धारमा चल्न सक्नु नै जीन्दगीको रित रहेछ । यहि रित अनुरुप जीवनका माटोहरुलाई समयको आकृतिमा ढालिँदै जीवन रुपी संघर्षको ठूलो पर्वत चढ्नु सरह थियो । चरम यातना अभाव र पीडा खेपेर पनि जीन्दगीलाई न्यानो तुल्याउन संघर्षको आगो तापेर बाँच्न सक्ने मान्छेको पृष्ठ भित्र म स्वयं पनि पर्दछु । जीन्दगीको गाडीलाई यथार्थको बाटोमा गुडाउन त्यति सहज देखिदैन । तर यहि सहजता अपनाएर जीन्दगीको गाडी यथार्थको बाटोमा हुइँक्याउन असिम संघर्षको सामना गर्नु पर्दाेरहेछ । संघर्षको अर्काे पाटोमा दुःख सुखलाई झेल्न पनि सक्नु नै मानवीय जीवनमा जटिल उदाहरण बन्न पुग्दछ । संघर्ष झेल्दा झेल्दै जीन्दगीले सुख उपभोग गर्न खोज्दा दुनियाँ आफ्नै बैरी बनि डाहा ईष्र्याको प्रतिभावले आफ्ना खुशी सुखको चैनहरु खोस्न पुग्दछ । आफ्ना भन्नेहरुले आफ्नोबाट आफैलाई बहिष्कार गर्दा सोच्नुहोस् त कसको के लाग्दो रहेछ र ?
आफन्तबाट आफै सर्वस्व लुटिएको मान्छेको पंक्तिमा म स्वयंलाई सबै समक्ष चिनाउन चाहन्छु । मान्छे भित्र जब इष्र्या अनि डाहाको भ्रममा परि मान्छेले मान्छेकै निम्ति विनाशमय संघारमा उभ्याउन बाध्य तुल्याउँदछ तब मान्छे भित्र मान्छेको प्रतिशोधका अग्नीमय ज्वालाहरु मानसपटल भित्र देखि उर्लिदै सल्किन थाल्छन् । यहि प्रतिशोधको भावनाद्वारा रचित रंगमञ्च भित्र पिँजडा भित्र मान्छेले मान्छेलाई थुनाउने दाउमा लागिरहेको हुन्छ चाहे त्यो बालक होस् या युवा जवान होस् चाहे बृद्ध होस् । यस्तै आफ्नै रगतबाट आफै बहिष्कृत हुनुको पीडालाई मैले आज बहन गर्नु परेको छ । यो समयको एउटै साथी मैले संचारमाध्यम बनाएको छु । मलाई आफैं मरेतुल्य झै भएको छ । कसैले जानी जानी चाहेर वा नचाहेर अकाट्य पाप गर्ला र ? यस्तो वृद्धअवस्थामा पनि पापको भारी बोकेर वैंशको माझ कसले विसाउन चाहला र ? आफ्नै रगतको साइनो पर्ने नातिनी सरहको छोरीलाई कसले यस्तो घृणित कार्य गर्न सक्ला र ? कोही कसैले सुन्दा बुझ्दा पनि अवहेलनाको थुक नथुक्ने को पो होला र यहाँ । नातिनीको साइनो पर्ने व्यक्ति सँगको यस्तो पाप कर्मले जिउँदै नर्कमा पु¥याउन शिवाय अरु के नै होला र ? तर कसैले नसोचेको कुराहरु पनि जीन्दगीमा हुँदो रहेछ । मान्छेको ईख अनि सर्पको विख पनि नचाँहदा नचाहँदै लाग्दो रहेछ । मान्छेको इखले जीन्दगीको यथार्थमा टोक्दा जीन्दगीमा सर्पको विख सरि लाग्दो रहेछ । यहि इख आज जिउँदै मार्ने बिख बनेर म निर्दाेषमाथि झुठ र कपटको रचनामय अभिनयको पात्र बनाई षड्यन्त्रको फन्दामा फसाई कानूनको नजर समक्ष दोषी बनाई कानूनको कठघरीमा उभ्याई हातका दुवै नाडीमा हत्कडीको भाग्यदार बनाउने साख्य नातिनी भनाउँदीको अभिप्राय के थियो म बुझ्दिनँ ।
म सँग सम्पत्ति थियो । अहिले पनि छ । त्यहि सम्पतिमा धेरै मान्छेको आँखा गाडिएको थियो । कसरी हुन्छ मलाई फसाएर मेरो सम्पत्ति हत्याउने षड्यन्त्र थियो । प्रमाण छैन । चाहिँदैन पनि । बोल्दिए मात्रै पुग्ने नेपालको कानून दैवले जानून् । मैले संघर्ष झेली कठिनतापूर्वक पाएको सुखलाई उपभोग गरी मर्न नपाउँदै यस्तो नर्कमा जिउँदै मार्न खोज्नुको तात्पर्य के हो ? म अहिले पनि अनभिज्ञतामा खडा भएर अलमलमा अल्झिन पुग्दछु । आफ्नै दाजुभाई एवं नातेदारहरु नै मेरो बर्बादीको पक्ष बनेर मलाई जिउँदै मरोस् भन्ने अभिप्रायले यस्तो ढोंगी बनावटी नाटक रचेर वास्तविकताको चित्रणमा ढाल्ने षड्यन्त्र किन गर्न पुगे साँच्चै म जान्दिनँ । उनीहरुको षड्यन्त्रले मेरो जीन्दगीलाई बर्बादीको खाल्डोमा खसाल्नुको रहस्य मैले विस्तारै आफ्नै परिवारबाट ज्ञान गर्दै गए । रातको घडी एक्कासी घरको ढोका बाहिरबाट ढकढकाउँदा ती ढकढकाईले एवं स–परिवार निद्राबाट अनायसै झसंग बिउझिन पुग्यौंं । हत्तपत्त ढोका खोल्न म जुरुक्क उठेर ढोका खोलि हेर्दा त प्रहरीको एक हुलले पूरै घर घेरिसकेको थियो । प्रहरीहरुको कानूनी अनुसन्धान प्रक्रियालाई पूरा गर्ने उद्देश्यको निम्ति प्रहरीहरुले मलाई आफूसाथ जानको निम्ति अनुरोध गर्नुभयो । प्रहरीसँगको प्रत्यक्ष अन्तरलाप र घरका सम्पूर्ण परिवारसँग सरसल्लाह मुताबिक परिवारमाथि केही शारिरीक एवं भौतिक क्षति नहोस् भन्ने हेतुले धैर्यधारणको सहानुभूति दिलाई प्रहरीको साथ गएँ । प्रहरीहरुले मध्यरातमा एक्कासी घरमै आई किन ल्याईयो ? म दोधारमै थिएँ । प्रहरी कार्यालय पुगेर प्रहरीको मौखिक कुराबाट थाहा पाएँ कि आफ्नै साख्य नातिनी पर्ने छोरी चेलीमाथि मैले अनैतिक व्यवहार गरि हातपात गरि उनी माथि मैले आफ्नो यौन तृप्ति मेटाउने प्रयास गरेछु । षड्यन्त्रको कैदी कानूनको पासामाथि फ्याँकी असत्यलाई कानूनी तवरमा नाटकीय अभिनय गरि रचेका बनावटी जालझेल माथि कुनै पनि तहकिकात अनि अनुसन्धान विनै सत्यताकै आधार मानेर जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरेको आधारको हिसाबले हावादारी तालमा छानविनकै नाटक गरी अन्धाधुन्ध मध्यरात घर भित्र आई लैजानुमा केही शंकाको गहकिलो पक्ष यसभित्र तैनाथ थियो । हुन त अहिले म जेल मुक्त भईसकेको छु । कानूनलाई उदृत गर्दै करणी गरेको प्रमाणित नभएको र प्रयास गरेको पीडित भनिएकी महिलाको बयानका आधारमा २ वर्ष कैद राख्ने फैसला सुनाएको थियो । तर जति आरोप र घटनाको विषयको कथा बुनिएको छ त्यो सत्य थिएन । म जस्तो उमेरले पनि जेष्ठ नागरिकको सूचीमा परिसकेको ब्यक्तिलाई लगाउने आरोप र लगाउनु पर्ने कारणका बारेमा सायदै कोहि किन संवेदनशील नभएका होलान् ।
जेल भित्र धेरै थरीका मान्छे रहेछन् । मेरो जस्तो अभियोग लागेका दर्जनांै थिए । उनिहरु केहि अपराध गरेकै कारण जेलमा थिए । केहि त मलाई जस्तै स्वार्थ सहित फसाईएका ब्यक्तिहरु थिए । कानूनले आँखा देख्दैन भन्ने कुरा पनि सत्य रहेछ । एकाध घटनामा भएका आततायी ब्यवहारले समग्र क्षेत्र र ब्यक्ति सबै खराब हुन् कि ? भन्ने भान पर्न गएको छ । आफ्नै साख्य रगतले नातिनी पर्ने छोरी चेली माथि यस्तो पापमय सम्बन्ध गाँसेर कसले पो गाउँ समाजलाई मुख देखाउन लायक होला र ? आफ्नो भन्नेहरुको हृदयभित्र द्वेष र रिसरागको अग्नी बलेर म माथि यस्तो प्रतिशोधको भावना जगाएर फन्दामा पार्न चाहनु नै आफन्तहरुकै चाहना थियो । सम्पूर्ण असत्य गवाहीलाई सत्यताको रंग पोतेर बनावटी ढाँचाले छोपी वास्तवमा यथार्थ नै हो भनि पुष्टि गरि कानूनले मलाई आफ्नै जंजिरमा बाँधी थुनुवा बनाएर अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले कारागार पठाउने आदेश पछि म जेल गएको थिएँ । कारागारको चारतल्ले दिवार अनि वरिपरी काँडेतारको बारले बेरिन पुगेको अभागी पुर्पुरो परिस्थितिको एकान्त कन्दरामा जीवन यथार्थहरु बरफ झै पग्लिन थाल्दा बेदनाहरु मन देखि अनायासै उब्जिएका उर्लिँदो वेदनाहरु छलछली आँखाबाट अश्रु बनि बर्रबरी साउने झरि झै झरिरहँदो रहेछ । यस्तो विषम परिस्थितिमा पनि कठैबरा भनेर सान्त्वनाको भाव दर्साउने कोही साहारा छैन । ओरालो लागेको मृगलाई बाछीले पनि लखेट्दो रहेछ । साँच्चै यस्तै भएको थियो मेरो जीन्दगीमा । कसैबाट पृथक भएर एक्लिँदै जीवन जिउन मजबुर भएको छु । सायद रित्तिएको भाग्य लिएर मृत्यु सहेर जीउने मान्छे मध्ये म स्वयम् एक आफैं ठान्दछु । जसले जुन नियत लिई म जस्तो दुर्भाग्यता माथि ताली मारेर प्रतिशोधको भावना जगाई मेरो जीन्दगीमा बदनामको तातो तेजाब छर्केर चरित्रको रुपहरु कुरुप तुल्याउन सबल घटिया अनि निजले रचेको जुन बर्बादीले बर्बाद हुन पुगेको छु । त्यसको पालोको पैंचो तिराउन दैवको लेखान्त पुस्तकमा तिम्रा कर्तुत हेरी यसको लेखा तिमीले स्वयम पनि तिर्नुपर्ने छ । आज म झै तिमी पनि बेसहारा अनि बेवारिस जीन्दगी लिएर मेरो सामु भिख माग्ने हालमा काबिल बन्ने छैनौं ।
जेलबाट निस्किए पछि विरक्त लाग्यो । भएको सम्पत्ति पनि आफ्नो जस्तो लागेन । जसले मलाई आरोप लगाएर जेल पु¥यायो उ आफै सडकमा थिईन् । जसको प्रपञ्चमा उनले मलाई फसाएकी थिईन् उनलाई पापको भकारीको भार परिसकेको थियो । खान लगाउन समेत संकट परिसकेको थियो । मेरो सम्पत्तिका लागि बनाएको योजना एक हिसाबले विफल भएको थियो । सम्पत्तिका लागि गरिएको प्रपञ्च सफल हुन सकेको थिएन । भलै मलाई जेल पठाउनुमा नै उनिहरुले आफ्नो सफलता ठाने । तर त्यो सत्य थिएन । सडकमा मागेर खानु पर्ने अवस्थामा पुग्नु भनेको पाप धुरीबाट कराउनु पनि हो । मेरो हिसाबले भन्दा मेरो आँशुको श्राप लागेको हो । त्यो श्रापले मलाई मात्रै होईन उनी स्वयम्लाई पनि जेल पठाउन बाध्य हुन्छ । म त्यहि दिनको पखाईमा छु । उमेर, बैंश र शरीरको आकर्षण सधै उस्तै हुँदैन । पैसा र शक्ति पनि सधै आफ्नो हुुँदैन । जतिबेला कमजोर हुन्छ त्यतिबेला यसले आफ्नो रुप देखाउँछ । भलै म समाजमा स्थापित हुने प्रयासमा छु । धेरैले बुझि नै सकेका छन् । तर पनि मलाई बुझ्न बाँकी रहेकाहरु वा मेरो प्रगति भन्दा दुर्गती चाहनेहरु खुशी पनि भएका होलान् । कोहि म जेलबाट छुटे पछि दुखी पनि भएका होलान् । तिमीले मलाई किन दुःख दियौ त म अझै भन्न सक्दिन । यति याद छ कि तिमीले मलाई दुःख दिएर आफ्नै मनलाई धिक्कारेको अनुभूति भने छ । नाता जे होस् सम्बन्ध महत्वपूर्ण कुरा थियो र हो । कहिल्यै गलत दृष्टिकोणबाट नजर नराखेको ब्यक्ति अपराधको भागिदार बन्न पुग्छ । तिम्रो उमेरको बैश छचल्किँदा तिमीले ठान्यौ होला संसार मेरै हो । मैले धानेको छु । मैले जे गर्दा पनि हुन्छ । त्यो तिम्रो महाभुल थियो र हुनेछ । मान्छेको शरीर एउटा बाहना रहेछ । मन र आत्मा ब्यक्तिको चलायमान शक्ति हो । जुन शक्तिलाई ब्यक्तिले चलाउँछ त्यसले निरन्तर अगाडी बढाई रहन्छ । अझै भन्छु भगवानले सत्य छुट्याउँदै त्यसको बदला लिनेछन् ।
सहकुल बस्नेत
पनौती, काभ्रे





