2026 April 30/ 11:57: 05am

मेरो जीवनको त्यो अविस्मरणीय प्रेम व्यथा सम्झिँदा पनि मन झसँग भएर आउँछ । प्रविधिले आकाश छोईरहेको आजको अवस्था अनि यो मेरो प्रेम व्यथा एक अर्कासँग धेरै सम्बन्धित छ । प्रेमका परिभाषा अरबौँ मान्छेले आ–आफ्नै तरिकाले दिए होलान् । करोडौंले अर्थ पत्ता लगाए होलान तर जति व्यक्तिहरुले जसरी परिभाषित गर्न खोजे पनि परिभाषित नभएको शब्द पनि यहि प्रेम नै हो । एसएलसी उत्तीर्ण पश्चात कुनै यस्तो खाली समय नै रहेन १०+२ कक्षा उत्तीर्ण नहुँदासम्म र त्यसको विचमा बचेको समय पनि कम्प्युटर लगायतका विभिन्न तालिमहरु हासिल गर्न गाउँ टोलका दाजुभाई भन्दा म कहिल्यै पछि परिनँ । १०+२ कक्षा उत्तीर्ण पश्चात नै माइतीघर, काठमाण्डौमा पाएको कम्प्युटर सम्वन्धी काममा लाग्न थालेको थिएँ । महँगीले आकाश चुमेको बेलामा महिनाको ५ हजार कमाउन पनि लडाईमा खटिएको सिपाहीले गरेको संघर्षभन्दा कम संघर्षका दिन थिएनन ति । घरदेखि काठमाडांैसम्मको २२ किलोमिटरसम्मको बसको यात्रा, खचाखच मान्छेले भरिएको बसमा जाडो याममा छतमा चिसो हावा खाँदै र गर्मी समयमा बस भित्र कोचिएर हिड्नु दिनच¥या नै बनि सकेको थियो । 
    शनिवार एकदिन आउँदा दशैंको अष्टमी झैं लाग्थ्यो । जीवनको सबैभन्दा रमणीय दिन नै यहि हो कि झैं लाग्थ्यो । आइतबार आउना साथै शुक्रबारको दिनगन्ती शुरु हुन्थ्यो । यो मेरो मात्रै हैन धेरै ब्यक्तिहरुको त्यस्तै हुन्थ्यो होला । सायद दुःख गर्ने उमेर र समय पनि त्यहि थियो होला । विद्यालय स्तरदेखि नै विदेशमा अध्ययन गर्न जाने अनि विदेश मै गएर काम गर्ने इच्छाले प्रभुत्व जमाएको मेरो मनले दिनरात कहिले बेलायत त कहिले अमेरिका, कहिले क्यानाडा त कहिले अष्ट्रेलिया अध्ययन अनि काम गर्न जाने सपना देख्थ्यो सोही कारण म सदैव त्यसका लागि प्रयासरत थिएँ । एक न एक दिन भिसा लाग्नेछ, म आफ्नो आकांक्षा पूरा गर्नेछु भन्ने इच्छा सदैब राख्थे । दिन, महिना, साल बिते तर मेरा आशा निराशामा परिणत हुँदै थियो । म मेरो कम्प्युटर सम्बन्धी काममै व्यस्त हुन थालेँ । अचानक एकदिन अष्ट्रेलियन दुतावासबाट मेरो भिसा लागेको खबर पाएँ । खुशीको सीमा रहेन, अफिसबाट घर कहिले फर्कुला र आमा बुबालाई भनुँला भन्ने उत्साहले सो दिन कार्यालयमा खबर नै नगरी म घर गए । अब तिमीहरुको हप्काई खानु पनि धेरै छैन भन्ने मनमनै सोचेँ । घर पुगी बुबा आमालाई आफ्नो भिसा लागेको र आफू अबको एक महिना दिन भित्रमा नै विदेश जाने कुरा गरेँ । बुबा आमा पनि अब भने छोराले केहि गर्ने भो भनि दंग पर्नु भयो । 
    मैले पनि के सोचेको थिएँ भने विदेशमा गए पछि रुखमा पैसा छ । पैसा फल्छ । यहाँ जस्तो ७ दिन दुःख गर्नु पर्दैन । दुःख गरे पनि पैसा पैसा पैसा हुन्छ ठानेको थिएँ । अष्ट्रेलियन दुतावासले तोकेको निर्धारित दिन नजिकिँदा त्यहाँ जानको लागि चाहिने ऋण सम्बन्धमा, बैंक व्यालेन्स सम्बन्धमा, चाहिने नाता प्रमाणित लागायतका सम्पूर्ण जाने प्रक्रिया पूरा गरेँ । निर्धारित समयमा नै म अष्ट्रेलियाको राजधानी पुगे । केहि समय पछि राजधानी नजिकै एउटा कार्यालयमा काम गर्दै पढाई शुरु गर्न थालेँ । जति कमायो त्यति मेरो शिक्षण शुल्क तिर्दैमा ठिक्क थियो । कहिलेकाहिँ त पैसा नपुगेर म बुबालाई नेपाल मै माग्न विवश हुन्थेँ । बुबा पनि कहिलेकाहिँ दिक्क मान्नु हुन्थ्यो । झन छोराले कमाउला भनि पठाएको उल्टो पैसा दिनु परे पछि दिक्क मान्नु पनि स्वभाविक नै थियो । मैले एक दिनमा २२ घण्टासम्म काम गर्न थालेँ । एक वर्ष पछि मात्र जीवन अलि–अलि सहज बन्दै गयो । मैले त्यहाँको स्थायी बसोबास पत्र पाउने पक्का भयो । २१ औं शताब्दीका ८० को दशकमा जन्मेका हामी नै होला सायद धेरै परिवर्तन देख्ने । धेरै कुरा विज्ञान प्रविधिले सहज गरेकै कारण भाई–बहिनीसँग प्राय इमेल मार्फत कुराहरु आदान प्रदान हुन्थ्यो । नेपालका साथीहरु एक जना मात्र अनलाइन आएर मेसेन्जरहरुमा कुराकानी गर्न बसेपनि म आफ्नो सुख, दुःखका कथा–व्यथाहरु बाँड्न थाल्थे ।
    इमेल मार्फत पठाएका घर–परिवारका फोटोहरु हेर्न पाउँदा खुशीको सिमाना हुन्नथ्यो । प्रविधिले एक पछि अर्काे फड्को मार्दै गयो । अब त यस्तो लाग्न थाल्यो कि सबै घर–परिवार, साथीभाई सँगै बसेका छौं । अनि फेसबुक, भाईबर लगायतका सामाजिक सञ्जालका वेभसाइडहरुको आगमनले त झन दुनियाँलाई नै सानो बनाइदियो । अब त गाउँका, टोल–टोलका भाई–बहिनीहरु समेत मोबाइल मार्फत अनलाईन आएर मसँग कुरा गर्थे । विदेशमा आएर पनि कम्प्युटर सम्बन्धी नै काम भएकै कारण म प्रायःजसो अनलाईन हुन्थे । एकदिन मैले मेरो बाल्यकालको साथी अशेषको फेसबुक प्रोफाइल हेर्न पुगेँ । सानै देखि मोडलिङमा इच्छा राख्ने अशेषका फोटोहरु एक से एक थिए कुनै मोडलभन्दा कम थिएनन् । र त उनका केटा भन्दा केटी साथी बढी हुन्थे । प्रोफाइल हेर्दै जाने क्रममा उनका साथीहरुको लिष्ट हेर्दै गएको थिएँ अचानक मेरो नजर एउटी केटीको प्रोफाइल तस्वीरमा पुगेछ । त्यो तस्वीर हेर्दा यस्तो लाग्यो कि संसारमा त्यो जस्तो राम्री केटी जीवनमा कहिल्यै मैले देखेकै छैन । मैले उनीलाई फेसबुक मार्फत तुरुन्तै साथीत्वको प्रस्ताव पठाई हालेँ । चार दिन पश्चात मैले उनीद्वारा सहर्ष साथीत्वको अनुमति दिएको इमेल पाएँ । त्यसपश्चात उनीद्वारा संकलित केहि तस्बिरहरु तुरुन्तै हेर्न पुगेँ । प्रत्येक तस्वीरहरुमा प्रतिक्रिया दिएँ । दिनहरु बित्दै गए उनीले पनि मेरा प्रत्येक तस्वीरहरुमा प्रतिक्रियाहरु दिन थालिन् । म खुशी, उनी खुशी अनि संसार नै हामी जस्तै खुशी देख्न थाल्यौँ । 
    साथी बनेको केहि महिनापछि एक दिन मैले उनीलाई प्रेम प्रस्तावको इमेल पठाएँ । प्रस्ताव पठाएको एक सातासम्म इमेलको प्रतिक्रिया आएन । म डराउन थालेँ कँहि केहि त भएन । कस्लाई सोध्ने, को मार्फत बुझ्ने ? अन्यौलमा परेँ । एकदिन उनै साथी अशेष मार्फत मैले उनका विषयमा सोधें । मेरो प्रेम सम्बन्धका सबै कुरा बताएँ । सोहि दिन बेलुका मैले उनको ईमेल रिप्लाई पाएँ । उनले मेरो प्रेम प्रस्ताव सहर्ष स्वीकारिनँ । अब भने दिन–रातको अन्तर नै रहेन हामी घण्टौ कुरा गर्न थाल्यौं । प्रविधिको भरपुर प्रयोग ग¥यौं । दिनको ५० औं पटक मैलै आई लभ यु भने हुँला । काभ्रे घर भए पनि मैले उनलाई काठमाडौ भनेको थिएँ । उनि झनै नजिक हुन खोजिन । आमा–बुबा, भाई–बहिनी सबैको मन जितिन उनले । अब भने मेरो एउटै धोको थियो नेपाल आई विवाह गरेर उनलाई साथै अष्ट्रेलिया लाने । मलाई छुट्टी मिल्न केहि महिना बाँकी थियो । उनको मायाले एक–एक दिन बिताउन पनि यति धेरै गाह्रो हुन्थ्यो कि म कहिलेकाँहि त विरामी नै हुन्थेँ । विरामी पर्दा उनीले फोन मार्फत नै यति धेरै माया गर्थिन् कि आँखाबाट आँसु बग्दथ्यो । यति धेरै गहिरो माया, यति धेरै चोखो माया कस्को पो होला ? यति धेरै माया गर्ने मान्छे मैले सायद यो दुनियाँमा नपाउँला म यस्तै सोचाईमा रुमलिन्थे । माया पनि २१ औं शताब्दी सुहाउँदै थियो । हाम्रो, समाजमा एउटा नयाँ उदाहरण कायम गर्नेछ हाम्रो कालजयी प्रेमले भन्ने सोचाई राख्थे म । 
अष्ट्रेलियाबाट फर्कन १५ दिन बाँकी थियो । मेरो आमा–बुबाले उनका आमा–बाबुसँग विवाहको कुरा छिनिसक्नु भएको थियो । लामो प्रेम कहानीमा मैले उनको केवल थोरै दिन स्वर सुनिनँ । त्यो पनि मैले प्रेम प्रस्ताव राखे पछि । त्यो पश्चात आज अचानक उनले दिनभर मेरो फोन उठाइनन् । पुनः मलाई तनाव भयो । आमालाई फोन गरेँ र उनीको घरमा पठाएँ । २÷३ दिन भो अरे उनले राम्ररी कसैलाई नबोलेको । आमा उनको घर पुग्दा उनी घरमा थिइनन् । बाहिर साथीकोमा गएको छ भन्ने खबर मात्र पाएँ । त्यसको भोलिपल्ट म फर्कन केबल १३ दिन बाँकी हुँदा अचानक मेरो ईमलेमा नचिनेको इमेल ठेगानाबाट यस्तो एउटा तस्वीर पाएँ जसमा मैले आफ्नो प्राणभन्दा प्यारो मानेकी उनीलाई कसैले अंकमाल गरी म्वाई खाइरहेको दृष्य देखेँ । म छानाबाट खसे झैं भएँ । मेरो सपना, कल्पनामा परिणत हुन लागेको विपना सबै भताभुङ्ग भयो । मैले केहि बोल्न सकिन घण्टौंसम्म मैले त्यो एकोहोरो तस्वीरलाई हेरिरहेँ । विश्वास लागेन यो तस्वीर फोटोसप प्रोग्रामबाट बनाएको पो हो कि ? बारम्बार हेरेँ । अझै विश्वास लागेन, सोही इमेलमा प्रतिउत्तर सहित तपाईं को हो ? किन मलाई यो तस्वीर पठाएको जस्ता प्रश्नहरु सहितको इमेल पठाएँ । मलाई त्यो अपरिचित व्यक्तिको इमेलको प्रतिक्षा शुरुको प्रेम प्रस्तावको रिप्लाई भन्दा बढी भयो । आधा घण्टा पश्चातको प्रतिउत्तर मैले यस्तो पाएँ । तपाई जो केटीसँग प्रेम गरिरहनु भएको थियो उ मेरो गल्डफ्रेण्ड हुन् । पहिलो प्रेमी उनको म हुँ । हामी दुई विचको सम्बन्ध तिमी सात समुद्र पारी बस्नेलाई के थाहा ? अनगिन्ती नसोचेका शब्दहरु, कल्पना नगरेका यथार्थहरु सहितको इमेलले मेरो होसै उडाई दियो । म कस्लाई के भनुँ, त्यत्तिकै रातोपिरो भएँ । अनुहार भरी पसिना जीउ भरी पसिना–पसिना भएँ । फेरि त्यहि तस्वीर एकपटक नियालेँ । म आमालाई फोन गरुँ कि, भाईलाई, बुबालाई केहि भनुँ या बहिनीलाई, केहि सोच्नै सकिनँ । आँखाबाट अनायास आँसु बग्न थाल्यो । अश्रुधाराले अगाडीको किबोर्ड नै भिजिसकेछ थाहै भएन । आँशुका धारा बगाउँदै मैले उनलाई फोन गरेँ । फोन उठाईन र मेरो स्वर सुनेर चुपचाप बसिन । मैले प्रश्न माथि प्रति प्रश्न गरे, उत्तर केहि आएन केबल चुपचाप, चुपचाप फोन लाईन काटियो । उनीसँग गरेको अन्तिम वार्ता यहि नै थियो । 
     जब कोहि हुन्न तब भगवानको याद आउँदो रहेछ । भगवानलाई मनमनै सोधेँ । भगवान किन यो मन बनायौ, किन माया यसरी बसायौ, दुःख छोप्न साहस अनि खुशी ढाक्न मन दिई भोक मेट्न आँसुलाई खाना बनायौ, रुनलाई बह पोख्नलाई न आमाको काख दियौ न बुबाको काँध नै, किन यस्तो सात समुद्रपारी ल्याई मलाई रुवायौ ?? रात बितेको पत्तै भएन काममा पनि गईन, न त पढ्न न गएँ । धेरै विरामी भएँ । तीन दिनसम्म थला परेँ ओच्छयामा । घरी फोनमा त घरी कम्प्युटरमा आँखा गई रहन्थ्यो । अन्तिम नै पटक भए पनि उनका फोटो हेरौं हेरौं लाग्थ्यो । उनका स्वरहरु सुनौ सुनौ लाग्थ्यो । म विछिप्त भएँ । केहि गर्ने साहस ममा रहेन । कुनै मिठो सपनाको आश रहेन । म पुरै चुडेको चङ्गासरी भएँ । मेरो प्रेम त संसारकै छुट्टै प्रेम कथामा रुपान्तरण हुनुपर्ने हो । यस्तो व्यथा त पक्कै नबन्नु पर्ने  हो । पल–पल यी शब्दहरुले घोचिरह्यो, मनमा विझिरह्यो । चौथो दिनमा मैले सबैकुरा आमा–बुबा अनि घर परिवारलाई बताई दिएँ । अनौठो प्रेम कथा बोकेर घर आएँ । 
    यता आमा–बुबाले बुहारीको आगमनका लागि सबै तयारी गरिसक्नु भएको थियो । म फर्केको तीन दिन पछि नै हाम्रो विहे हुने पक्का पक्की भईसकेको थियो । मेरो केवल १५ दिनको छुटृी थियो । कुनै कुराले मन खुशी पार्न सकिनँ । स्वदेश फर्के पछि उनीसँग भेट्ने, डुल्ने अनि कैयन वाचाहरु सम्झेँ । यता बुबाले मेरो सबै अवस्था बुझी ममीलाई भनि केटी खोजिसकेको मलाई थाहै थिएन । एकदिन मलाई बाहिर घुम्न जाने बहानामा कुनै एकजना केटीलाई भेटाउनु भयो । उनी पनि म जस्तै विदेश जान इच्छुक थिईनँ । नेपाल कलेज अफ मेडिकल साइन्सेस, पोखराबाट वीएससी नर्सिङ उत्तीर्ण गरेकी रहिछन । साँच्चै उनी राम्री मात्रै थिईन बोलीमा ब्यवहारिकपन देखिन्थ्यो । मैले आफ्नो पीडा सबै उनलाई सुनाएँ । उनी अचम्ममा परिन् । उनले उल्टै मलाई प्रश्न गरिनँ । विवाहको लागि सबैकुरा छिनोफानो भए पनि रगत परिक्षण गरेर मात्र विवाह गर्ने युगमा तपाई यस्तो प्रेमलाई साँचो प्रेम भन्नु हुन्छ ? मेरो प्रेमले केहि प्रभाव नपर्ने र मसँग अबका सातौँ जन्मसम्म पनि साथै जीउने कसम उनले खाइनँ । मन त थिएन तैपनि म अब भने बाध्य भएँ उनैसँग विवाह गर्न । राजी भएँ । मन फर्कियो । निर्धारित समयमा नै कुरा मिल्यो र मेरो नयाँ जीवन शुरु भयो । 
    म विदा सकाएर विदेश फर्किएँ । उनको कागज तयार गर्ने क्रम शुरु भयो । केहि महिना पछि उनी पनि विदेश आईन् । मेरो विगतको जस्तो खुशीको जीवन फेरी शुरु हुन थाल्यो । कहिल्यै पैसा कमाउन नसकेको मैले उनी जीवनमा आए पछि पैसा पनि कमाउन थालें । बुबाले मलाई विदेश पठाउन र विवाह गर्दा लागेको रकम एक वर्षमा हामी दुबै मिलेर तिर्न सफल भयौं । अहिले म अष्ट्रेलियामा नै छु । मेरो सन्तान पनि भएको छ । मेरो जस्तो सामाजिक संञ्जालको माया प्रेम र नौटङ्कीले कतै तपाईले पनि आफ्नो जीवन बर्वाद त पार्नु भएको छैन ? उनीसँग कुनै गुनासो छैन तर एउटा कुरा भन्न मन छ मान्छेको मन दुखाउने जोसुकै होस् उसले जीवनमा आँशु झार्नु पर्छ । तर म चाहन्छु उनले कहिल्यै दुःख नपाउन् । उनको आँखाबाट एक थोपा आँशु पनि झर्न नपाओस् । बाँकी जीवनको शुभकामना । आई लभ यु । 

रोहन श्रेष्ठ
बनेपा, हाल अष्टेलिया