संसार विचित्रको रहेछ । केटा मान्छेहरु कतिसम्म स्वार्थी हुँदा रहेछन् भनि साध्य छैन । एउटी केटी मान्छेका लागि मरिहत्ते गर्ने केटाहरु साथी, परिवार, आफन्त सबै विर्सदाँ रहेछन् । पैसाकै लागि मान्छेले सबै त्याग्न थालेको छ । जमाना पैसाको हो भन्नेहरुले मान्छे मार्न थालेका छन् । मान्छेलाई त्यहि पैसाले जस्तोसुकै काम गर्न पनि लगाएको छ । अझ त्यो मामलामा नारीहरु एक कदम अगाडी भएका छन् । पछिल्लो समय सूचना प्रविधिको विकासले झनै परिवार र समाज खल्बलिएको छ । गरिबी नै मान्छेको कमजोरी रहेछ । गरिबी हटाउन र लाज ढाक्न मान्छे जस्तोसुकै काम गर्न तयार हुन्छ । हुनु पर्छ । पहिलो पेट भर्ने कुरा हो । हुन न त सामान्य समस्याबाट पनि जुध्न नसकेर बच्चा देखि जेष्ठ नागरिकसम्मले आत्महत्या गरेका घटना छन् । आत्महत्या, जर्बजस्ती करणी, आत्महत्या दुरुत्साहन, जर्बजस्ती करणी उद्योग लगायतका घटना दैनिक भईरहेका छन् । मन मिलुञ्जेल सहमति, मन नमिलेको दिन जर्बजस्ती भनेर उजुरी गर्नेहरु पनि छन् । कानून भन्दा कम उमेर भएकाले बाल विवाहमा पर्नेहरु पनि छन् । ब्यवहार र कानून फरक फरक भएकाले नागरिकहरुले सास्ति पनि ब्यहोरेका छन् ।
धेरै दिन भएको थियो मलाई सन्चो नभएको । कोठामा साथीहरु पनि थिए । दशै अघि नै मैले समय दिएकी थिएँ । संयोग कोठामा मलाई कहिलेकाहीँ मात्रै भेटिन्थ्यो उनिहरु आएको दिन म कोठामै भएँ । केही दिन देखि मलाई डेगँुको ज्वरो आएको थियो । डेगुँ ज्वरोले मेरो अनुहार परिवर्तन गरेको थियो । शरीर कमजोर भएको थियो । साहस र आँट केहि थिएन । त्यो भन्दा अघिल्लो वर्ष मलाई कोरोना पनि भएको थियो । कोरोनाले थलिएको म डेगुँ हुँदा झनै कष्टकर जीवन भोग्न बाध्य भएको थिएँ । म सधै आफूलाई एक्लो महसुस गर्छु । समाजमा भएका धेरै मानिसहरुसँग हेलमेल छ तर आफ्नो कसैलाई सम्झन सक्दिनँ । नारीहरुका पक्षमा भएका धेरै आन्दोलनहरुमा कहिलेकाँही मेरो सहभागीता पनि हुन्छ । कहिले महिलाहरुको बैठकमा अधिकारका कुरा हुन्छन् । कहिले महिलाहरुको बैठकमा सहभागिताको कुरा हुन्छ । तर मलाई केहिले छोएको छैन । केहि साता अघि मात्रै महिला विरुद्ध हुने १६ दिने अभियान सकिएको छ । हरेक वर्ष यस्ता अभियानहरु संचालन हुन्छन् । तर पनि मलाई यस्ता अभियानहरुले छोएको छैन । हरेक विपद्मा महिलाहरु शिकार बन्ने रहेछन् । भुकम्प होस वा कोभिड । सबै विपद्मा महिलाहरु पीडित नै हुन्छन् । छोरी जन्मँदा महिलाहरुले भोग्ने पीडा त कति हो कति ? मलाई सानो हुँदा देखि नै एउटा चिन्ता रह्यो कसरी आफू थप अध्ययन गर्ने र परिवारको समस्या समाधान गर्ने ? आफ्नो अनुहार देखि त्यति सन्तुष्ट छैन । सानै देखिको हेरचाहमा कसैले ध्यान पु¥याउन सकेको थिएन । पारिवारीक पीडामा हुर्किएकी म अहिले पनि त्यस्तै समस्यामा छु । शहरमा बसेर शिक्षासँगै मानवीय आवश्यकताका सबै बस्तुहरु पूरा गर्न र डेरा भाडा तिर्न धौ–धौ परेको छ । शहरका गल्लि गल्लिमा मैले डेरा सारेको छु । कहिले कता डेरा सर्छु त कहिले कता । तर मेरा एउटै समस्या छ आफ्ना ब्यक्तिगत मामलामा अरुले हस्तक्षेप नगरोस् । सम्झौता र शर्त अनुसार काम गरे पछि अरुले ब्यक्तिगत जीवनमा चासो नराखून् ।
म सानै रहेछु । बुबाको निरन्तरको मानसिक दबाबका कारण आमाले मलाई छाडेर जानु भएको रहेछ । शुरुमा म आमासँगै रहेछु । पछि आमालाई जसले विवाह ग¥यो वा आमाले जो सँग विवाह गर्नु भयो उसको त म सन्तान थिईनँ र हुन पनि सकिनँ । आमाले विवाह गरेको ब्यक्ति गाउँमा मान्दै आएको जनजाती । अहिले त जातभातको कुराले मान्छेहरुलाई सताउने गरेको छ । त्यतिबेला त झन के थियो होला ? गाउँलेले मेरो ममीलाई बस्न दिएनछन् । त्यही बेला देखि आमा शहर पस्नु भएको रहेछ । केहि समय म आमासँगै बसेछु । एक वर्ष पछि कसले मलाई घरमा ल्याएछ । अहिले उहाँको अत्तोपत्तो छैन । मेरो आमाका बारेमा गाउँका मान्छेहरुले गरेको बयान मैले सुन्ने गरेको थिएँ । सोझी आमा । घरमा राम्रो ब्यवहार नभए पछि उनले विकल्प खोज्ने क्रममा अर्काे मान्छेसँग जीवन विताउने योजना बनेको रहेछ । त्यसपछि उनलाई न गाउँ आउने बाटो प¥यो ? न सम्भव भयो ? न उनी छोरी सम्झेर आईन् न म आमा खोज्दै जान सके ? घरमा बुवा एक्लै पर्नु भएछ । बुबाले केहि वर्षमै अर्काे विवाह गर्नुभयो । विवाहको केही वर्षमै बच्चाहरु जन्मिए पछि आफ्नै सन्तानको जस्तो माया हुन सकेन । सौतेनी मायाले सताउँदै गयो । म विस्तारै हुर्कदै गएँ । नजिकैको विद्यालयमा क ख सिकें । मायाको अभाव परेकाले मनमा गहिरो चोट थपिदै गयो । त्यही अनुरुप साना तिना समस्याहरु छाड्दै विद्यालय गईरहें । धेरै दिन विद्यालय छुट्ने गरेको थियो । बुबा आमा काममा जाँदा घरमा केटाकेटीहरु हेरेर बस्नुपर्ने थियो । त्यस्तो अवस्थामा घरमै किताब पढेर बस्ने गर्थे । त्यतिकैमा विद्यालयमा तेश्रो हुन सफल भएँ । कक्षा ४ पढ्दा नै हो । मलाई जीवनमा पढेर केही गर्नुपर्छ जस्तो लाग्यो । घरको काम सबै सकेर विद्यालय जान थालें । त्यत्तिकैमा म कक्षा ८ पुगें । कक्षा ८ मा पुग्दा चौथो भएँ । पढाईमा केही कमी हुन थाल्यो । गाउँमै माध्यमिक विद्यालय नभएकाले एक घण्टा भन्दा लामो बाटो हिडेर विद्यालय जानुपर्ने समस्या आईप¥यो । घरबाट नपढाउने भन्ने कुरा हुन थाल्यो । पैसा र कामका लागि विद्यालय नजाउ भनेर बुवाले भनेको भए पनि बुवालाई काम गरेर पढेको पैसा तिरिदिने बचन दिएर निरन्तर विद्यालय जान थालें । कक्षा ८ पढ्दै गर्दा दिउँसो विदामा काममा गएर ल्याएको केही रकमले कापी किन्न पु¥याएकी थिएँ । अझै पनि घरबाट पाउनुपर्ने सद्भाव पाउन सकिनँ । कक्षा ९ को शुरुवातमै एउटा डायरी किनें । त्यसमा दैनिकी लेख्ने जमर्काे गरें । प्रत्येक दिन बेलुका दैनिकी लेखेर सुत्ने बानी बसाल्दा पढ्नमा पनि जाँगर चल्यो । एक दिनको कुरा हो । विद्यालयमा जाँदै थिएँ । बाटोमा अर्काे गाउँको एकजना साथी पनि त्यही विद्यालयमा जाँदै रहेछ । चिनजान भयो । सँगै विद्यालय जाने काम हुन थाल्यो । एक दिन विद्यालयमा दिउँसै छुट्टी भयो । त्यही बाटो भएर विद्यालय जाने साथीहरु छाडेर हामी गफै गफमा अलिक एकान्तमा धेरै बेर बस्यौ । उसले घरमा के चाँडै जाने ? कतै शितल छहारीमा बसौ न एक छिन । मनका कुरा गरौं भन्न थाल्यो । घरमा भएका बोझिला काम र कुराहरु साटासाट गर्न मन लाग्यो । विद्यालयबाट आधा घण्टा टाढा एउटा पाखामा बसेर केहि समय कुराकानी ग¥यौं । सबै विद्यार्थीहरु घर–घर लागिसकेका थिए । एकान्त जंगल दुईजना । भर्खर उमेरले १५ वर्ष मात्रै लागेका थियौं । उसले मेरो मनमा बस्ने गरी मिठा मिठा कुरा ग¥यो । घरमा आफन्त कोहि नभएको महसुस भएका बेला मैले उसको विश्वास गरें र अभिभावक सम्झन पुगें । मलाई माया गर्ने, जीवन सँगै जिउने, बाँकी समस्याहरु सँगै बसेर समाधान गर्ने भन्दै मेरो भावनामा खेल्न थाल्यो । कता कता हराएको जस्तो, के पाए पाए जस्तो ? के नभए जस्तो ? अचम्म लाग्न थाल्यो ।
कक्षा ९ को अन्तिम परीक्षा आउँदै थियो । परीक्षा सकिए पछि एकदिन दिउँसभर घुम्न जाने भन्दै उसले समय माग्यो । घरमा के भनेर जाने समस्या भयो । परीक्षा सकिएको भोलिपल्ट प्रयोगात्मक विषयको परीक्षा हुँदै छ भनेर म घरबाट निस्किएँ । विहान १० बजे नै निस्किएको मेरो प्यारो मान्छेसँग अलिक टाढा जाने योजना बन्यो । घरभन्दा अलिक टाढा जंगल छ । त्यहि जंगलमा गएर फर्कने योजना बन्यो । मेरो घरमा विवाहको कुरा चलेको त थिएन तर उनको घरमा विवाहको कुरा भएको रहेछ । हामी दुबै जनाले एक अर्काको दुःखसुखको साथी बन्न सकौ भन्ने कामना ग¥यौं । माया प्रेम अन्धो हुन्छ भने झै भविश्यमा एक अर्कासँग रम्ने सपनासँगै हामी एक अर्कामा लिन हुन पुग्यौं । साँझ हामी घरमा फर्कियौं । खाना खान मन लागेन । अलिक थकित भएकी थिएँ । लामो बाटो हिडिएको थियो । टाउको हनहनी दुखेको थियो । तातोपानी तताएर खाएको भए पनि सौतेनी आमाको गालीले झनै दुखेको थियो । विद्यालय विदा भएकाले केही दिन स्कुल जान पर्दैनथ्यो । कक्षा १० मा जाने समयमा म अलिक पछाडि भएँ । त्यो विचमा उनी सँगको प्रेम निरन्तर थियो । एक दिन मेरो र उसको प्रेमका बारेमा थाहा पाएर पल्लो गाउँका एक जना साथीले भेट्न बोलाए । त्यो ब्यक्तिले हाम्रो प्रेम सम्बन्धका बारेमा सबै गाउँलेलाई भनि दिने र घरमा पनि भनिदिने भन्दै ब्लाकमेलिङ्ग गर्न थाल्यो । जसलाई मैले मनै देखि प्रेम गरें । जसलाई विश्वास गरें । त्यो केटा नै खराब भएको कुरा जानकारी भयो । उसको धन्दा नै त्यस्तै रहेछ । जो संकटमा छ उसको भावनामा खेल्ने र प्रेमको नाटक गरी आफ्नो स्वार्थ पूरा भए पछि छाडिदिने गर्दाे रहेछ । म सँग प्रेम गर्नु भन्दा पहिले उसले अर्कै एउटा केटीलाई त्यस्तै पारेर छाडि दिएको रहेछ । त्यो घटना ईज्जत जाने डरले वाहिर आउन सकेको रहेनछ । त्यो मान्छेले मलाई पढाईका लागि केही रकम सहयोग गर्ने, कसैलाई नभनि दिने र आईन्दा त्यो केटासँग नबोल्न दवाब दियो । पढ्दै गरेको त्यो पनि भर्खर १५ वर्ष मात्रै भएकी एउटी बालिकालाई गाउँकै युवाहरुले ब्लाकमेलिङ्ग गरिरहेको घटनाले मैले आत्महत्या गर्ने योजना बनाएँ । तर सकिनँ । सबै कुरामा सहमत गरेर जीवन वर्वाद भएको महसुस गर्दै अध्ययनको लागि निरन्तर लाग्ने योजना बनाएँ । अहिले दैनिक आत्महत्या बढेको खबर सुन्न पाईन्छ । तर म त्यो कहालीलाग्दो घटनाबाट कसरी जोगिएँ पत्तो भएन । जीवनमा अगाडी जे पर्छ त्यहि गर्छ भन्ने लक्ष्यका साथ मैले १० कक्षा पास गरें । त्यो केटा पास भएन । अर्काे केटाले मलाई निरन्तर आर्थिक सहयोग गरि रह्यो ।
उच्च शिक्षा पढ्न आएको दुई वर्ष वितेको छ । दुई वर्षमा मैले धेरै साथीहरु आफ्ना बनाएँ । उनिहरुले पैसा आउने श्रममा मलाई पठाउँछन् । अध्ययन र काम सँगसँगै गरिरहेको छु् । साथीहरु कसैले आर्थिक सहयोग गर्छन्, कोही भौतिक तर विना स्वार्थ सहयोग गर्ने मान्छे कोही फेला परेनन् । महिला माथि हुने विविध समस्याहरु झेल्दै निरन्तर अगाडी बढ्ने लक्ष्य लिएँ । आर्थिक समस्याकै कारण थुप्रै स्थानमा डेरा सरें । सबै पुरुषहरु त्यस्ता हुँदैनन् । काम गरिरहँदा पनि खान र लाउनै समस्या हुने रहेछ । +२ सम्मको अध्ययन सकेर एउटा संस्थामा काम गरें । ब्याचलर तहको अध्ययन पनि सकाएँ । अहिले एउटा विद्यालयमा पढाई रहेको छु । मास्टर तहको अध्ययन र विवाह । दुबै तहको मेरो परिक्षा चलिरहेको छ । विवाह गरौं कसरी ? नगरौ सधै एक्लै बस्न सम्भव होला र ? न मैले आमाको माया पाएँ । न मैले आफ्नो भनिनेहरुको माया पाएँ । जन्म दिने आमा नै निष्ठुरी भए पछि अरुको त के कुरा ? बाल्यकालमै मानसिकतामा परेको चोट मेटाउन कठिन हुने रहेछ । हे आमा तिमी त सुखी भयौ होला । अहिले पनि सुखी नै छौ होली । मलाई यस्तो अलपत्र किन पा¥यौ ? न मर्न सकें न बाँच्न नै ? भोलि म पनि आमा बनें भने तिमी जस्तो निष्ठुरी आमा बन्दिनँ भन्ने प्रण गरेको छु । हुन त तिमीलाई पनि मेरो याद नआएको त कहाँ होला र ? आजसम्म कसैले हामीलाई भेटाउने प्रयास गरेन कि भगवान नै बाधक बने होला ??? अभिभावकका कारण घर न सडक पुग्नु पर्ने बालबालिकाहको मस्तिकमा कस्तोे छाप पर्छ होला ?
सम्झना गौतम
धुलिखेल, काभ्रे





