2026 April 30/ 11:57: 38am

    माया, प्रेम अनि सद्भाव । २०६२÷०६३ पछि प्राप्त लोकतन्त्रको अधिकारका नाममा थुप्रै विकृति विसंगति भित्रिएका छन् । जातीयताका नाममा भएको अराजकता पनि त्यतिक्कै छ । त्यो आन्दोलन अघि गरिने दुब्र्यवहार पनि उस्तै थियो । अधिकारको दुरुपयोग भएको छ । सरकारले जातिय विभेद हटाउन अन्र्तजातीय विवाह गर्ने जोडिहरुलाई प्रोत्साहन रकम पनि वितरण गरेको थियो । त्यो अहिले के छ मलाई थाहा भएन । त्यतिबेला रकम लिएर विवाह गर्नेहरु अहिले सँगै छन् जस्तो पनि लाग्दैन । सरकारले एक लाख रुपैया दिएर अन्र्तजातीय विवाहलाई प्रोत्साहन गरेको थियो । प्रेम रहुन्जेल सबै कुरा राम्रो हुने रहेछ । जब प्रेममा खटपट हुन्छ एकै पटक स्वाहा । पहिला पहिला जस्तो सम्बन्ध अटुट गराउँ । यो बाहेक मेरो विकल्प अरु छैन भन्ने नहुने रहेछ । केटा होस वा केटी सबैले सामाजिक सञ्जालका कारण आफ्नो र आफन्तको सम्बन्धमा दरार ल्याई रहेका छन् । 
    प्रेम र मायामा हरेक मान्छे दोषि हुन सक्छ । आज म दोषी देखिएको छु । अदालतमा मुद्दाको किनारा लागिसकेको छ । जिल्ला अदालतबाट किनारा लागेको मुद्दाको थप उपचारका लागि उच्च जाँदैछु । पछिल्लो समय पुरुषहरु महिलाद्वारा पीडित हुन थालेका छन् । हिजो एक समय थियो महिलाहरु पुरुषहरुबाट पीडामा परिरहेका थिए । अहिले समाज बदलिन थालेछ । धेरै पुरुषहरु महिलाबाट पीडित हुन थालेछन् । ऐन कानून पनि महिलामैत्री बन्न थालेका छन् । आफ्नै श्रीमतीले चाहेको बखत श्रीमान् पाँच वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ । महिलाहरुले जे गरे पनि हुने पुरुषहरुले चाँहि ठाडो शीर मात्रै ग¥यो भने पनि अपराध हुन थालिसकेको छ । उनिहरुकै प्रस्ताव, उनिहरुकै योजना, उनिहरुकै निर्णयमा सहमति जनाउँदा पनि उल्टो अपराधी बन्ने यो समाज, यो कानूनको कसरी गरौं ब्याख्या ? अनुसन्धान सहि हुनु जरुरी छ । अनुसन्धान सहि हुन सकेन भने समाजमा अर्काे विद्रोह जन्मन सक्छ । अर्काे अपराध हुन सक्छ । कानून बनाउँदैमा अपराध न्युनिकरण हुने होईन । कडा कानूनले झनै ठूलो ठूलो अपराध हुन सक्छ । त्यसतर्फ सरोकारवालाले ध्यान दिनु जरुरी छ । हुन त अहिले राष्ट्रकै नाम चिनाउने कलाकार पल शाह र खेलाडी सन्दिप लामिछाने यस्तै प्रकरणमा मुछिएका छन् । हामी सामान्य मान्छेहरुका बारेमा त कसले राख्ने चासो । होला उनिहरु पनि दोषि छन् । म पनि दोषि हुँला । तर गल्ति हाम्रो मात्रै होला त ? उनिहरुको सहमति नहुँदा केटा मान्छेहरुको त्यो आँट र साहस हुन सक्ला र ? 
    घरमा आर्थिक अवस्था राम्रो भएको भए कोहि घर छाडेर हिड्दैन थियो । केहि गरौं, केहि कमाउँ र बुबा आमालाई सुख दिऊँ भन्ने प्रायः अधिकांश सन्तानको उद्देश्य हुन्छ । केहि सन्तानले बाटो विराउलान् अलग कुरा हो । मेरो पनि उद्देश्य बुबा आमालाई सुख दिने भन्ने थियो । त्यहि उद्देश्य अनुरुप घर छाडेर कमाउनकै लागि निस्किए । छोरो मान्छेले लाज, घिन, शरम केहि मान्नु हुँदो रहेनछ । छोरी मान्छेहरुका पनि अनेक समस्या छन् । परिवारबाट अलग हुन छोराहरुलाई जति सहज छ छोरीहरुलाई छैन । छोराहरु घर परिवार आफन्त सबै त्यागेर मुग्लान जान एकाएक तयार हुन्छन् । सक्छन् । छोरीहरुलाई त्यो जन्जीर टुटाउन कठिन छ । कठिन जन्जीरको यात्रामा साथ दिने महान् नारीहरुलाई अनेक आरोप लगाईन्छ । तिनै महान नारीहरुकै कारण आज मुलुकमा नारीहरुको हक अधिकार संरक्षण भएको छ । अधिकार दुरुपयोग गर्नेहरुको खेति पनि सप्रिएको छ । अधिकारकै लागि लडेकाहरु अधिकारबाट बञ्चित भएका छन् । पृथ्वी गोलो छ । घुम्छ पनि । कहिले बारी घाम लाग्छ । कहिले पारी घाम लाग्छ । विहान उदाएको घाम बेलुका अस्ताउँछन् । हुरी, हावा, बतास जस्तो अवस्थामा पनि दिन रात भएको छैन । बादलहरुले पनि छेक्ने प्रयास गरिरहन्छन् । निरन्तर सुर्यले आफ्नो तेज, गतिलाई अगाडि बढाईरहेकै हुन्छ । आज मेरो जीवनमा यस्ता थुप्रै घटनाहरु भएका छन् । जेलको घेरा भित्र बसेर यहि कलम र मसीमा आफ्ना दर्दनाक पीडाहरु सुनाउँदै छु । शुरुमा मैले फर्निचरमा काम गर्न थालें । इमान्दार नै मान्थे मलाई । मैले कसैको अपराध गरेको पनि थिईनँ । मान्छेको मन मिल्यो कसको के दोष ? विश्वमा सबै चिजका उपचार गर्ने अस्पताल बन्न थालेका छन् । कुन अस्पतालले मान्छे भित्रको मनको उपचार गर्छ ? मान्छे त्यस्तो शक्ति हो उसले मनको उपचार मनबाटै गराउन सक्छ । प्रविधि जतिसुकै भित्रिए पनि मनका अगाडि उ सबै कुराबाट थाक्न पुग्छ । त्यहि काम गर्दा गर्दै वरपरका मान्छेहरुसँग मेरो भेट भयो । म कसैसँग पनि त्यसरी बोल्ने गरेको थिईनँ । भेटिएकी मध्ये एउटी युवतीसँग मेरो दिल बस्यो । पहिलो भेटलाई निरन्तरता दिने क्रममा हामीले विवाह गर्ने निर्णयमा पुगेका थियौं । चिया पसलमा भएको भेटलाई हामी दुवैले अन्यथा मान्ने कुरा भएन । हेराहेर र देखादेखमा युवतीसँग मेरो बोलचाल भयो । प्रेमको शुरुवात त्यहि रहेछ । केहि दिनको उनको र मेरो हेराई फोनको नम्वर लेनदेनमा परिणत भयो । मोबाईल फोनको आदान प्रदान भए पछि हामी एक आपसमा कुराकानी गर्न थाल्यौं । शुरु शुरुमा हामी खासै केहि कुरा गर्दैन थियौं । विस्तारै माया प्रेमका कुरा हुन थाले । माया प्रेम हुँदा हुँदै हामी त एक अर्का विच छुट्टिन नसक्ने भएछौं । उनको अनुहार देखाईमा मलाई सहजता हुन थाल्यो । मन मिलेकै आधारमा उनको मेरो कुराकानी अगाडी बढिरह्यो । हरेक शब्दहरुमा उनको र मेरो विवाहको मात्रै कुरा हुन थाल्यो । उनले पनि विवाह गर्ने भए प्रेम गर्ने नत्र नगर्ने भन्न थालिन् । २१ वर्ष लागेको मेरो मन पनि पहिलो प्रेम विवाह नै गर्न किन तयार नहुनु ? मैले सहमत जनाएँ । दुबै जनाको सहमति पछि हामीले हाम्रो भेटघाटलाई अगाडी बढाईरह्यो । 
    केहि दिनमै हामी विवाह गर्न राजी भएका थियौं । भाग्ने सम्भावना थिएन । मैले उनको बुबा मुमालाई नसोधी सम्भव छैन भन्दा पनि उनले मानिनन् । उनकै जिद्दी धेरै थियो । उनकै जिद्दीका कारण मैले उनको निर्णयलाई साथ दिएको थिएँ । राति भाग्ने योजना बन्यो । मैले सबै तयारी सकेको थिएँ । मात्र उनि र म बेहुला बन्न बाँकी थियो । त्यो समयको पखाईमा थियौ हामी । काम गरेको स्थानमा मागिएको जति पैसा नदिए पनि तत्कालका लागि संकट टार्ने पैसा दिएका थिए । विविध कारण त्यो दिन हामी घरबाट निस्कन सकेनौं । अब त अति भयो भन्ने लाग्यो । उनको मनमा म नामर्द पुरुष भएँ । उनको चाहनामा हामी भाग्न नसक्ने कस्तो हुत्तिहारा ? प्रेममय शब्दहरुमा आफ्नो कमजोरी खोतल्ने प्रयासलाई टाल्न खोजें । केहि दिन पछि भाग्ने वातावरण मिल्यो । म प्रेम गर्थैं । उनि पनि प्रेम गर्थिन् । तर हामी त्यति चाँडै भाग्ने योजना थिएन । बुबाआमाले उनलाई दिएको दबाब प्रमुख थियो । हामीले खराब केहि काम गरेका पनि थिएनौं । गरेका पनि छैनौं । अनि सहमतिमा हामीलाई तिमीहरुको विवाह सम्भव छैन है भनेको भए पनि हामी टाढा हुने थियौं । म काम खोज्न आएको ब्यक्ति अन्यत्र पनि काम गर्थे होला । हामीलाई सम्झाउने भन्दा पनि हामीलाई कारवाही गर्ने र फसाउने प्रपञ्च भएछ । त्यहि प्रपञ्चका कारण अपराध नगर्दा नगर्दै म अपराधीको भूमिकामा जेलमा छु । कानुन पनि कस्तो ? अनु्सन्धान पनि कस्तो ? कसैले बयान दिएकै आधारमा गर्दै नगरेको अपराधमा सजायँ भोग्नु पर्ने ? उनि प्रेम गर्छिन् । मैले प्रेम गरेको हुँ । घर परिवारले प्रेम गर्नु अपराध हो भनेर ब्याख्या गरेर प्रहरीकोमा गलत विवरण सहितको उजुरी दिएका भरमा म अपराधी भएँ । उनलाई कसैको साथ छैन । साथ दिने कसम खाएको नामर्द पुरुष म जेलमा छु । उनले बाच्नका लागि पनि परिवारले जे जे भन्छन त्यो मान्नै परिहाल्यो । हे भगवान कसैसँग सत्यको मन छ भने मलाई चाँडै न्याय दिनुस् । 
    हामी भाग्न कस्सियौं । त्यो दिन हाम्रा लागि महत्वपूर्ण थियो । दिउँसै हाम्रो भेट भयो । उनी मेलमा पिठो पिध्न गएकी रहिछन् । म कोठामा आएँ । कोठामा दिउँसो साँढे ३ बजे देखि नै बसेका थियौं हामी । साँझ कसैले नदेख्ने गरी भाग्ने योजना बनेको थियो । भाग्न मिल्ने अनुकूल समयको पखाईमा रहेका हामीले साँझको समय उपयुक्त देख्यौ । कोठामा रहेको समयमा केहिले हामीलाई देखेका पनि थिए । पर्वाह नै नगरी कोठाबाट निस्किएर तत्काल विपी राजमार्गमा आयौं । बाटोमा बसहरु थिएनन् । तरकारी बोक्ने गाडी चढेर हामी काठमाडौ पुग्यौं । काठमाडौ पुग्दा नपुग्दै हामी भन्दा अघि उनका आफन्त हामीलाई खोज्ने क्रममा पुगिसके छन् । हामी काठमाडौको लजमा बस्ने अनि आफ्नै गाउँ जाने योजनामा थियौ । राति ११ बजे उनका दाई र आफन्त आएर मलाई मरणासन्न हुने गरी कुटपिट गरे । उनलाई साथमै लिएर फर्किए । प्रहरीकोमा उजुरी गरे । घटना बनाईयो । युवतीलाई जर्बजस्तिकरणी गरेर अपहरण गरी बन्धक बनाईएको छ । अझ विक्रीका लागि लिएर गएको हो । प्रेम गरेको हामी दुबैले थियौं । एकाएक म त जर्बजस्तिकरणी गर्ने अपराधी, अपहरण गर्ने अपराधी, केटी बेच्ने दलालका रुपमा चिनिन पुगें । आज तीनवटै मुद्दा खेपिरहेको छु । कमाउन घरबाट निस्किएको केटो यस्ता अपराधमा फसेपछि बुबाआमाको पिर कति हो कति । हामी सामान्य परिवारका मान्छे इज्जतको कुरा भएन । तर कमाएर पठाउने सन्तान नभएकाले बुबा आमा पिरमा मात्रै होईन भोकै पनि हुनुहुन्छ । आमा विरामी हुनुहुन्छ । मृगौलाको विरामी आमालाई उपचार गराउन रकम अभाव छ । कमाउने मान्छे छैन । भाई बहिनी साना साना छन् । कानून हाम्रा लागि रहेछ । न्याय हामी किन्न सक्दैनौं । भलै कामना गर्छु उनिहरुको राम्रो होस् । म जुनि जुनि जेल बसिरहन पाउँ । 

मानकुमार विसी
भक्तपुर