बेथान्चोक गाउँपालिकामा १७ जनाको ज्यान जाने गरी दुखद घटनाले मन चसक्क भयो । एकै परिवारका ८ सन्तानको निधन झनै कहालीलाग्दो । त्यहाँ बाँचेका आफन्त र साना साना केटाकेटीहरुको भविश्यका बारेमा झनै चिन्ता थपिएको छ । जिल्ला शोकमा छ । गाउँ शोकमा छ । आफन्तहरुको जमघटमा भएको दुखद घटना एउटा विपत्ती हो । यस्तै विपत्ती जिल्लामा धेरै भएका छन् । जनधनको क्षति हुने गरी भएका घटनाहरुले पाठ भने सिकाएको छैन । सवारी दुर्घटनामा जिल्लामा बर्षेनी ज्यान गुमाउनेको संख्या थपिएको छ । केहि वर्ष अघि काभ्रेको कोशिपारी जाने बस दुर्घटना हुँदा २७ जनाको निधन भएको थियो । मण्डनदेउपुर, नाला लगायतका क्षेत्रमा भएका दुर्घटनामा पनि नागरिकले ज्यान गुमाएका थिए । सवारी दुर्घटना न्यूनिकरणमा भएका प्रयास साथर्क हुन सकेका छैनन । सवारीको अवस्थाका बारेमा कसैले परिक्षण गर्दैन । सवारी ग्यारेजबाट निकाले पछि एकै पटक यात्रु बोक्न योग्य मानिन्छ । दुर्घटनामा परेर मृत्यु हुनेहरुले शान्ति पाउन । घाईतेहरुले उपचार पाउन । तर जीवनभर अपाङ्गता भएर बस्नु पर्नेहरुलाई हेर्ने र संरक्षण गर्ने दायित्व सबैको हुन सकोस् । जसका आफन्त छैनन । भएका आफन्त गुमाउन पुगेको अवस्थामा स्थानीय सरकार र नागरिकहरुले पनि यस्तो पीडामा मल्हम लगाउन सकुन् ।
म पनि यस्तै विपदको पीडित हुँ । नेपालमा शशस्त्र द्वन्द्वका घाईते अझै कस्टकर अवस्थामा छन् । नेपालमा शान्ति प्रकृया सँगै अपेक्षित मुलुकले दिन खोजेको खुशी र नागरिकहरुलाई न्याय दिन सकेन । संविधान निर्माण पछि मुलुकले कायापलट फेर्छ भन्ने भ्रमबाट पनि मुक्त भयौं । १७ हजार नागरिकको ज्यान जाने गरी गराईएका हिंस्रक घटना केवल एकजना राजा हटाएर सयौ राजा बन्ने अवसर मात्रै बन्यो । संघीयताका नाममा मुलुक दिनानुदिन संकटमा जाँदै छ । गाउँपालिका जत्रा प्रदेश सरकार बनाएर राज्यको अरबौ रकम स्वाहा बनाईएको छ । दुई तहका सरकारमा अधिकार सम्पन्न स्थानीय तह बनाउँदै बजेटको विनियोजन गर्नु पर्नेमा प्रदेश तह राखेर कार्यकर्ता तथा कर्मचारी ब्यवस्थापन गर्ने र मुलुकलाई संकट बनाउने गलत प्रयास भएको छ । पहिलो अभ्यासमा फेल भएको प्रदेश अब दोश्रो पटक पनि झनै संकटमा पुगेको छ । यस्तो ब्यवस्था परिवर्तनका लागि मुलुकले फेरी अर्काे प्रकारको आन्दोलन खोजेको हो कि ? गरिव र पहुँच नहुनेहरुले राज्यको कुनै सुविधा पाउन सक्दैनन । शक्तिका आधारमा विकास र विनियोजन हुने गरेको छ । बोल्न नसक्नेहरुले चामल पनि विक्री गर्न सकिरहेका छैनन । सरकारमा बस्नेहरु दुर्घटना वा विपद हुँदा यसो गर र उसो गर भनेर निर्देशन दिन्छन् । तर नीति बनाउँदैनन । ब्यवस्था गर्दैेनन । स्वास्थ्य बीमा गरिएको छ औषधी छैन । चिकित्सक छन् उपचार हुन सक्दैन । सरकार भुक्तानी दिदैन । यस्तो अवस्थामा नागरिकहरु सन्तुष्ट हुन सक्छन् ?
२०७२ को भुकम्प र त्यसका बाछिटा बाँकी नै छन् । त्यस पछि विश्वले कोरोना भाईरसको चपेटा ब्यहोर्न पुग्यो । केहि महिना अघि डुेगु अर्काे महामारीका रुपमा थियो । कोरोना भाईरसले ब्यक्तिहरुको दुरी मात्रै टाढा गराएन । मनहरु पनि टाढा गराए । सुविधासम्पन्न हुने नाममा विदेश जाने र त्यसमै गर्व गर्ने बाबु आमा समेत बुढेसकालको सहारा हुन नसक्दा अस्पतालको शैयामा छटपटाउन पुगे । त्यति बेला पनि धेरैका पीडा सार्वजनिक भए । धेरैले पीडा भोगे । सम्पति छ । सन्तान छन् । आफन्त छन् । छिमेकी छन् । समाज पनि छ । तर संकटमा नजिक कोहि छैन । कोभिड १९ ले निम्त्याएको संकटले झनै टाढा बनायो समाज । भावना भएर मात्रै हुँदो रहेनछ त्यसको स्पर्श हुन नसक्दा ब्यक्तिले मानव भएको महसुस गर्न सक्दैन रहेछ । शहरको एउटा परिवार थियो । त्यो परिवारका सन्तान अमेरिकामा थिए । अमेरिकाबाट हरेक दिन अभिभावकलाई गर्नु पर्ने माया, सद्भाव र रेखदेख नियमित गरेकै थियो । प्रविधिको माध्यमबाट गर्नु पर्ने कर्तब्य सबै पुरा भएकै थियो । अभिभावकसँग सन्तान नहुँदा जतिसुकै माया गरेको लागे पनि अपुरा हुने रहेछ । घर छ । सम्पति प्रशस्तै छ । आफन्तहरु पनि छन् । दाजुभाई पनि छन् । तर त्यो संकटमा कोहि आफ्ना हुन सकेनन् । भाडामा बस्नेहरु सहयोगीकै रुपमा थिए । सरकारले लगाएको निषेधाज्ञाले उनिहरु पनि आफ्नै घर गाउँ फर्के । घरमा जेष्ठ नागरिक दुईजना मात्रै । शुरुमा जेष्ठ नागरिक मध्ये महिलालाई अलिक गाह्रो भयो । अमेरिकामा रहेका सन्तानसँग समस्या साटासाट गरे । नजिकै रहेका आफन्तलाई खबर गरे । कोभिडको आशंकामा घर भित्र कोहि जान मानेनन् । जेष्ठ नागरिक दुबैले खाना पकाउन सक्ने अवस्था पनि रहेन । केहि छाक भोकै बस्न बाध्य भए । साथिभाईले घरको मुल ढोकामा खानाको प्याकेट ल्याएर राखिदिए । सक्रिय युवाहरुले केहि दिन खाना ढोकामा पु¥याए । ढोकामा राखेको खाना समेत माथी लैजाने हिम्मत दुबैमा भएन । दुबै जनालाई कोभिडको लक्षण मिल्न गयो । ज्वरोका कारण थलिएका बृद्धबृद्धाको उपचार आवश्यक भयो । अस्पताल लैजाने सन्तान नेपालमा छैनन । आफन्त, छिमेकी त झनै भएनन् । कोभिड सर्ने डरले घरमा प्रवेश गर्न कसैले साहस देखाएनन् । सन्तान अमेरिकामा । अभिभावकको चिच्याहट नेपालमा । पैसा छ । साहारा कसैको छैन । अमेरिकामा रहेका सन्तानले धेरै ठुलो प्रयास पछि अस्पतालमा सम्पर्क गरे । कोभिड डेडिकेटेड अस्पतालले सन्तानको मञ्जुरीनामा माग्यो । इमेल मार्फत सन्तानको मञ्जुरी प्राप्त गरे पछि कोभिड डेडिकेटेड अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरबाटै दुबै जनाको उद्दार गरी अस्पताल ल्यायो । कोभिड पोजेटिभ देखिएसँगै दुबैजनालाई आईसियु कक्षमा राखेर उपचार शुरु गरियो । जेष्ठ नागरिक दम्पतिका लागि अस्पताल सन्तान भन्दा माथी भगवान बनिदियो । दम्पत्ति दुबैले भोमी कोभिड डेडिकेटेड अस्पताललाई धन्यवाद दिए । अहिले पनि दुबै जना शकुसल छन् तर अमेरिकामा ।
शहरको मुख्य चोक । चोकमा सबै भन्दा अग्लो घर । ब्यस्त सडक । ३० बर्षिया महिलाको कोरोनाका कारण उपचारकै क्रममा निधन भयो । भाडामा कपडा पसल चलाउँदै आएकी महिलाको निधन पछि घरधनीलाई छट्टपट्टि भयो । केहि दिन पछि घरधनी युवा स्वाब परिक्षणका लागि पुगे । ढिलो भएका कारण स्वाब नदिई फर्किए । केहि दिन देखि उनमा कोरोनाको लक्षण मिल्दोजुल्दो ज्वरो थियो । एक दिन विहानै ओछ्यानमै उनको निधन भयो । शंकास्पद कोरोना । भाडामा बस्नेको कोरोनाबाट निधन । परिवार आत्तियो । आफन्तलाई खबर गरे । तत्काल घर भित्र कोहि जान सकेन । प्रहरी, प्रशासन, सेना, स्वास्थ्यकर्मी सबैलाई हारगुहार भयो । घर भित्र प्रवेश गरी शव उठाएर अन्त्येष्टी गर्न कोहि तयार भएन । जनप्रतिनिधि, नगरपालिका सबैको प्रयास निरर्थक रह्यो । अन्ततः आफन्तहरुले पशुपतिबाट शव उठाउने तीन ब्यक्ति ल्याए । दिउँसो ४ बजे ओछ्यानमै रहेको शवलाई तन्नामा पोको पारेर बोलेरोमा अन्त्येष्टीका लागि पशुपति पु¥याईयो । न छिमेकी, न दाजुभाई, न आफन्त । कोरोनाको त्रासले आफन्तले शव छुने आँटसम्म गर्न सकेनन् । श्रीमती र तीन छोरीका आँशु रोकिएनन् । परिवार शोकमा प¥यो ।
यस्ता घटनाले समाजमा मानवीयता हराउँदै गएको पुष्टि भयो । कोरोना संक्रमण फैलन नदिन राख्नुपर्ने भौतिक दूरीका कारण मान्छे भित्रको मान्छे हराउँदै गएको थियो । एक पछि अर्काे संकट टार्न सुरक्षाका सबै उपाय अपनाउँदै मानवीय सेवामा लाग्नुपर्ने आजको पुस्ता समेत यस्ता घटनामा रमिते बन्न बाध्य भयो । देखासिखीले सन्तानको खुशी भन्दै विकसित राष्ट्र पठाउने अभिभावकले भोग्न थालेका यस्ता कयौ समस्या छन् । सबैथोक छ सन्तान आफुसँग छैनन् । सम्पति छ आफन्त छैनन् । मान्छे आफ्नो रोग हैन । कोरोना नसक्दै डेँगुले होनाहार ब्यक्तिहरुको ज्यान लियो । नेपालीहरुले भेग्नु पर्ने कयन समस्यामा सरकार र राजनीतिक दल गम्भिर छैनन । रासायनिक मल छैन । उत्पादन छैन । भएको उत्पादन विक्री छैन । कति पोख्नु दुख । अस्पताल छन् पहुँचवालाहरुका लागि । सबै निकाय पहुँचवालाहरुका लागि । हामी जस्ता निमुखाहरुका लागि जमिन पनि छैन । सुकुम्बासी नेताहरुको भोट बैक । कसलाई कहाँ गएर दुख पोखौं ? मेरो मात्रै होईन आम नेपालीहरुले भोग्ने समस्याबाट म कसरी अछुतो रहन सकौला र ? यस्ता विपद र संकट न्यूनिकरण गर्न आफ्नै स्थानबाट केहि गर्न सकिन्छ कि ?
रामहरी शिवभक्ति
पाँचखाल, काभ्रे





