सधै हँसिली देखिने रुपा त्यस दिन मलिन देखिन्थिन् । उसको मुहारमा कुनै कान्ती थिएन । सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो । थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडि लुकाउने असफल प्रयत्न गर्दै थिइन् । करिब १ हप्ता पछि मात्रै उनि स्कूल आएकी थिईन् । अन्य दिनमा भन्दा बिल्कुलै फरकपना मैले उनमा पाएकी थिएँ । कक्षा ८ मा अध्ययनरत रुपा उमेरले १६ लागि सकेकी थिइन् । उनको उमेर सुहाँउदो कक्षा थिएन । चार दिदी बहिनी मध्य सबैभन्दा जेठी उनि थिईन् । बाबा, आमा कोठा सर्दै हिड्नाले बिचैमा पढाई छोड्दै पुनः दोहो¥याँउँदै गर्नुपरेकोले कक्षा ८ भन्दा माथि जान सकेकी थिईन । जे भए पनि उनि जेहेन्दार थिइन् । प्रायजसो उत्कृष्ट नम्बर ल्याउने रुपा उमेरले होला स्वभावतः चञ्चले थिइन् तर उस्तो उत्ताउलो भने थिइनन् । मेरो मन पर्ने विद्यार्थीहरुमा उनि पनि पर्दथिइन् । उनि पनि मसँग अरु शिक्षकहरुसंँग भन्दा बढि झ्याम्मिन्थिन् ।
खै के बिशेषता देखिन उनले ममा केहि कौतुहलताका कुराहरु भयो भने धक नमानीकन मलाई सोध्थिन् । आफ्ना मनका भावना अनि घरायसी कुरा समेत किञ्चित अप्ठ्यारो नमानी भन्थिन् । उनको भनाई अनुसार उनिहरुको पहाड घर रसुवा थियो । बुबा डकर्मी काम गर्नुहुन्थ्यो तर कमाएको जति उहि दिन भट्टीमा सकाएर रक्सीले झल्लु भएर आउने गर्दथे । घर व्यबहार टार्न धौ–धौ परेर आमाले रक्सी पार्नु हुन्थ्यो । रक्सी पार्न धुवाँमा बस्नु परेकोले होला प्रायःजसो आमा बिमारी परिरहने । त्यसरी पारेको रक्सी भने रुपाले नै बोकेर भट्टीमा पु¥याउन जानुपर्ने थियो । उनलाई त्यसरी भट्टी चाहार्दै हिड्नुपर्दा साह्रै नरमाईलो महसुस हुन्थ्यो । अरुका सन्तान दुध लिएर डेरीमा जान्थे । उनि रक्सी लिएर भट्टीमा जान्थिन् । बाध्यताबश उनले त्यो काम गर्नैपथ्र्याे । भट्टीमा रक्सी पु¥र्याउन जाँदा खराब नजर भएकाहरुको लोभी नजर उनको सल्सलाउँदो, भर्भराउँदो जीवन माथि हुन्थ्यो । पापीहरु मुखमा आए जति छाडा कुरा गर्न पनि सरम मान्दैन्थे । भर्खर १६ लागेकी रुपामा साँच्चैमा राम्री थिइन् । गरिबकी छोरी अनि त्यसमाथि रक्सी व्यापार गर्ने भने पछि समाजका कलंकहरुको गिद्दे दृष्टि सोझै रुपामाथि पर्दथ्यो । त्यस्ता नरपिचाशहरुबाट बचेर हिड्न निकै गाह्रो हुन्थ्यो । तैपनि आफ्नो पढाई लगायत घर व्यवहार धान्न रुपा बाध्य थिईन् । एकदिन रुपाले घरबाट बाहिर निस्कन मन नलागेको, समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुले बाटोमा कुरा काट्दै हिडिरहेको विषयमा जानकारी गराईन् । रक्सी लिएर आउने भने पछि उनलाई हेर्ने दृष्टिकोण हरेक ब्यक्तिले फरक बनाउँदा रहेछन् ।
मैले आश्चर्य मान्दै सोधे किन के भयो ? उनि निकै निराश देखिन्थिन् । उनि भुँईतिर खुट्टाले माटो कोट्याउँदै गम्न थालिन । निकै बेर पछि उनले भनिन् अहिले हाम्रो घरको छेउछाउमा नयाँ मानिसहरु आएर बस्न थालेकाले झनै असहज भएको बताईन् । केहि युवाहरु थिए । केहि केटाहरु अलग अलग आएर जाने गरेका थिए । त्यो समुहमा एकजना ४५ बर्ष जतिको डरलाग्दो मान्छे पनि थिए । यसले हेर्दा पनि डर लाग्छ । डर लाग्ने मान्छे घर अघि आएर बसिरहेका कारण निस्कन डर लागेको उनको हाउभाउले पनि बताउन थाल्यो । म अवाक रहें । किन रुपालाई त्यो मानिस मन नपरेको होला ? फेरी उनलाई जिस्काएर धुरुक्कै पार्ने उत्ताउलो केटो पनि त हैन रहेछ । आफ्नै बाबु सरहको उमेरको मानिस देखेर किन डर लाग्यो होला ? मलाई खुल्दुली लाग्यो । अनि फेरी त्यो कौतुहलता मेट्नलाई अर्काे प्रश्न गरें । त्यसो त बुबा जतिकै उमेरको मान्छे रहेछ नि किन र डर मान्नु परेको ? कुनै कारण भए भन । उमेरको मान्छेसँग डर मान्नुपर्ने त म देख्दिनँ त रुपा, कि कुनै कारण छ ? छ भने भन ।
निकैबेर पछिको भलाकुसारीमा मैले उनको अप्ठ्यारो बुझें । त्यो घर नजिकै कोठामा आएर बस्ने त्यो मानिसको चरित्र राम्रो थिएन । रुपालाई धारा, बाटो जता जाँदा पनि पछ्याउने त्यसको त्यो गिद्दे दृष्टि देखि रुपा तनावमा थिइन् । एक किसिमको बहसी आँखाहरु देख्थिन् रुपा त्यो मान्छेको आँखामा अनि कता–कता भित्र भित्रै डरको साम्राज्य खडा भई दिदोँरहेछ । हुदाँहुदाँ एकदिन त त्यो मान्छे आफ्नै घरभित्र पो पाईनँ । आमा बिरामी हुँदा झारफुक गर्ने झाँक्रीको रुपमा घर भित्र त्यो मान्छेलाई पाउँदा त रुपाको होस हवास नै उडेको थियो । आमालाई फुक्दै अनि रुपा पट्टी पठाउने त्यो राता राता आँखाको डरलाग्दो दृष्टिले रुपामा सन्त्रास फैलिएको थियो । कतिखेर जाला भन्ने सोच्दै गरेकी रुपाले बल्लबल्ल २ घण्टा पछि राहतको श्वास फेरेकी थिइन् । रुपा लगभग १ हप्ता पछि मात्रै स्कुल आउँदा केहि असामान्य अवस्थामा भेटे पछि ममा एक किसिमको नरमाईलो अनुभूती हुदैँ थियो । कपाल २ दिन देखि नकोरिए झै देखिन्थ्यो । अनुहार न्याउरो अनि कपडा अस्तव्यस्त तरिकाले लगाएकी थिईन । कतै कुनै अशुभ घटना घटेको नहोस् भन्ने कामना सहित उनको पाखुरामा च्याप्प समातेर क्यन्टिनको कुनामा लगे । जहाँ हम्मेसी कोहि पनि जाँदैन थिए । उनले कुनै विरोध स्वरुप प्रतिकृया देखाईनन् । चुपचाप म सँंग लुरुलुरु हिडिन । कुनामा पुगे पछि मैले उनले आफ्नो गाला छोप्न प्रयोग गरेको सल तानें । रुपामा एक प्रकारको हैरानी देखिरहेको थिएं । किन किन रुपा त्यो सल हटाउन मानिरहेकी थिइनन् तर पनि मेरो त्यो कार्यलाई ठाडै प्रतिरोध भने गर्न सकिनन् । म हतप्रत भएँ । अचानक कसैले मलाई कुनै गहिरो खाडलमा धकेले झै अनुभव भयो ।
मेरा हात खुट्टाहरु फतक्कै गल्यो । म निस्तब्ध भएँ उनको गाला र घाँटी वरीपरि कुनै नरपिचासले जथाभावी आक्रमण गरेर घाउ नै घाउ बनाएको थियो । अझ प्रष्ट रुपमा नियालेर हेरें । निर्दयी दाँतका निशानीहरु थिए । रुपा एक्कासी मेरो काखमा घोप्टो परि रुन थालिन् । मानौ कति समयदेखि थामेर राखेको पिडा अहिले आँशुको रुपमा बगाउँदै थिइन् । म चुपचाप रहें । उनको कपाल बिस्तारै हातहरुले खेलाएँ । ढाडमा धाप मारें तर मौन बसिरहें । मलाई लाग्यो रुपामा वेदना र दुःखको भेल उर्लिदै छ यसलाई छेक्न हुन्न । अबिरल बग्न दिनुपर्छ । एकछिनमा यो आफै साम्य हुनेछ । उनि धित मरुन्जेल रोई सकेपछि शान्त थिइन् । मानौ कुनै समुन्द्रमा आएको तुफान शान्त भएको थियो । उनि सम्हालिएको आभास पछि बिस्तारै विश्वस्त तुल्याउन थालें । अब उनि पुरै म प्रति विश्वस्त भएर आफ्नो पीडा सुनाउन थालिन् । विद्यालय विदा भएको दिन शनिवार राती उनि ट्वाईलेट गएकी रहिछन् । त्यस्तै रातको १२ बजेको हुदोँ हो घरबाहिर जानुपर्ने बाध्यता थियो । सधैको नियमित प्रकृया नै थियो । सधैजसो त्यस दिन भएन । फर्किदाँ अनौठो आवाज सहित कुनै कालो छाँया देखिन रुपाले । डरले कराउन मुख के खोलिथी कुनै भयंकर जनावरको पञ्जाले झै मुख बन्द गरिदियो । अध्याँरोको साम्राज्य चलिरहेकोले रुपाले को हो भन्ने नै भेउ पाउन सकिनन् । त्यो दानवको हातबाट फुस्किन रुपाले भएभरको बल लगाइन् तर रुपाको त्यो अजङ्गको राक्षससंग के जोड चल्थ्यो ? केहि बेरको घमासान युद्ध पश्चात रुपा भुईमा लड्न पुगिन् । त्यो भिमकाय राक्षससँग रुपाको के लाग्थ्यो र ? अब त्यो यौन पिपासुले रुपाको स्तन, गाला, घाँटी लगायत शरीरभरी यत्रवत रुपमा लगातार राक्षसी दाँतहरु गाडिरह्यो । असह्य पीडाले रुपा गल्न थालिन् । क्षणभरमै रुपाको कौमार्य लुटिएको थियो । उनि लुटिएकी थिइन । कुनै नरपिचासबाट बलात्कार भएकी थिइन् । आफ्नो अभिष्ट पूरा गरि सकेपछि त्यो छाँया त्यतै कतै विलिन भयो । कताबाट आयो कता गयो रुपा अनभिज्ञ थिइन् ।
रुपा अचेत हुन पुगिन् । लगभग आधा घण्टा पछि होस आउँदा उनले खुला आकाश मुनि बारीमा लडिरहेकी पाईन् रुपाले । आफ्नो त्यो निर्जीवतुल्य शरीरलाई थाम्दै कोठामा पु¥याईन् । सबै मस्त निन्द्रामा थिए । कसैले चाल पाएका थिएनन् । उनले त्यो घटना कसैलाई पनि सुनाउन सकिन यद्यपी आमालाई पनि सकिनन् । शरीरमा भएको घाउहरु त कपडाले ढकिन्थ्यो तर मनमा लागेको चोटले उनि गल्न पुगिन् । बिरामी परिन् । गाला एवं घाँटीको घाउ छोप्न भने उनले सलको प्रयोग गरेकी थिइन् । आमा–बाबा आफ्नै व्यबहारमा व्यस्त हुनाले रुपालाई के भएको भन्ने समेत भेउ पाउन सकेका थिएनन् । उनिहरुलाई ध्यान थियो त कसरी बिहान बेलुकाको छाक टार्ने र कमाएको पैसा भट्टिमा खर्च गर्ने, रुपा चुपचाप रहिन् । केहि बोलिनन् । बोलुन् पनि कसरी एक त समाजमा त्यस्तो घटनाको दोषी स्वंय महिला हुनुपर्छ भने दोषी को भन्ने पनि रहस्यमय नै थियो । लोकाचारको डरले पनि रुपा खुलस्त हुन सकिनन् । करिब एक हप्ता पछि अलिक सञ्चो भए पछि रुपा त्यो दिन स्कुल आएकी थिइन् । म उनको त्यो दर्दनाक घटनाबाट विक्षिप्त भैसकेकी थिएँ । के भन्ने मेरो दिमागले कामै गर्न छोडेको थियो । आफैमा ग्लानी भएको थियो । रुपाको त्यो वेदनाको मसँंग कुनै उपचार नै थिएन । घटना ताजा चाँडैं थाहा पाएको भए केहि कानुनी उपचारको लागि न्यायको ढोका ढक्ढक्याउथें । तर अब ढिला भैसकेको थियो । मात्रै सान्त्वना र ढाडस बाहेक मसँग अरु केहि थिएन । अपार स्नेह उर्लिदैँ थियो मेरो रुपा प्रति । कसैलाई नभन्ने अनुनय गरेकी थिइन रुपाले मसँग त्यसैमे म चुप थिएँ । ६ महिना बितिसकेको थियो त्यो घटना । रुपा स्कुल आउन छाडिसकेकी थिइन् । दिउँसो मात्रै सुनेको स्कुलका केटाकेटीहरुले भनेका रुपाले त खै कसको हो गर्भ बोकी छे अनि उनको बाबुले त्यहि रुपालाइ कहिल्यै मन नपरेको त्यो डर लाग्दो हेर्दै खाईदेला जस्तो पल्लो घरमा बस्ने ४५ वर्षिय मान्छेसँग विबाह गरिदिए रे । त्यो घटनाले मलाई झनै विक्षिप्त बनायो । सायद रुपा धेरै समय टिक्न सकिनन् । पछि सुनें बच्चा नपाउँदै रुपाले संसार त्यागेकी रहिछन् ।
नेपालमा आत्महत्या बढिरहेको छ । त्यो पनि बालबालिका र महिलाहरु आत्महत्या गर्ने क्रम तिब्र भएको छ । बालबालिकाहरुको मनोभावना बुझ्न नसक्दा वा महिला र बालबालिकाहरुले पीडा सुनाउन नसक्दा, पीडा सुनाउँदा प्रहरी वा अन्य निकायले राम्रोसँग सम्बोधन नगर्दा पीडितहरु झनै पीडामा परेका छन् । समाजका हरेक ब्यक्तिसँग सम्पर्क सम्वन्ध बनाएका यस्ता ब्यक्तिहरुबाट समाजका कति रुपा पीडित होलान् ? प्रश्न गम्भिर छ । समयमै यस्ता घटनामा ध्यान दिनु जरुरी छ ।
संजिता रुपाखेती
हालः काठमाडौ





