2026 April 30/ 11:47: 09am

    परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एक अर्काको जीवनसाथी हुन पाएकोमा यति खुशी अनि पूर्णता आभास गर्छौ । जीन्दगीको हरेक अभाव पूर्ण खुड्किलाहरु पनि एक अर्काको साथ र हौसलाले सजिलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै बेग्लै । राजधानीको बसाई । वहाँ भाडाको ट्याक्सी चलाउनु हुन्छ र म तरकारीको सानो पसलमा व्यस्त थिएँ । यही पेशामा हाम्रो सानो परिवार धेरै खुशी र सन्तुष्ट थियो । यही पेशाले हामीलाई गाँस, वास र कपास दिएको थियो । तर आज पहिलो पटक महसुस गर्न बाध्य भइरहेछु खुशीमय पारिवारिक जीवन जिउँन यति मात्र कुरा प्रयाप्त नहुँदोरहेछ । देशको आर्थिक, राजनैतिक परिवेशले पनि महत्वपूर्ण भूमिका खेल्ने रहेछ ।
    देशभर लैङ्गिक हिंसा विरुद्धको अभियान जारी छ । यो अभियानका क्रममा पनि महिला माथी हुने हिंसा रोकिएका छ्रैनन् । बालिका माथी हुने जर्बजस्ति करणी रोकिएका छैनन् । घर भित्र हुने अपराधको संख्या बढिरहेको छ । तर नेपालको कानुन दैवले जानुन् भने झै विवाहको उमेर बढाईएको छ । निर्दाेष पुरुषहरु जेल गईरहेका छन् । सहमतिमा हुने विवाह र विवाह इतरको सम्बन्ध त छँदैछ विवाह अघि हुने सम्बन्धलाई पनि सहमति हुँदा पनि जर्बजस्तिका नाममा पुरुषहरुलाई दुःख दिने पेशा जस्तै बन्न थालेको छ । कलाकार, खेलाडी, राजनीतिकर्मी तथा समाजमा केहि गरौं भन्ने योजनाका साथ अघि बढेका पुरुषका पाईलाहरुमा महिलासँगको सम्बन्ध बाधक बनेको छ । लैङ्गिक हिंसामा यस्ता विषयमा बहस हुनु जरुरी छ । नेपालमा नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष छ । १८ वर्षमा उसले आफ्नो मताधिकार गर्न पाउँछ । मत कसलाई दिने भन्ने निर्णय गर्न सक्ने ब्यक्तिले जीवनका बारेमा निर्णय गर्न सक्दैन र भन्या ? लाईसेन्स पाउँछ । त्यो पनि चार पाङ्गग्रे सवारी साधनको । दुई पांग्रेको त उसले १६ वर्ष पुरा हुने वित्तिक्कै पाउँछ । अनि विवाह गर्न २० वर्ष कुर्नु पर्नै चाँहि किन हो ? महिलाहरुले स्वास्थ्य अवस्थालाई ध्यान दिएर यो कानून बनाएको हो भने पनि ब्यवहारिक छैन । 
    पहिले पहिले ७ वर्षमा विवाह हुन्थ्यो । रजश्वला नहुँदै छोरीहरुलाई कन्यादानका रुपमा विवाह गरेर पठाउने चलन थियो । शिक्षा थिएन । चेतना थिएन । स्वास्थ्यका बारेमा जानकारी थिएन । अहिले समय बदलिएको छ । प्रविधिका कारण जन्मँदै गरेको बच्चा मोबाईलमा गीत सुन्दै खाना खान मन पराउँछ । अनि १२÷१३ वर्ष देखि उसले सहि के हो गलत के हो बुझ्दै जान्छ । १८ वर्ष पूरा भए पछि विवाह गर्ने उमेरलाई मान्यता दिनु पर्छ भन्ने मेरो मत हो । नदिँदा भित्रिएका विकृति र विसंगतिहरुलाई कसरी न्यूनिकरण गर्ने ? सोचनीय विषय बनेको छ । अझ अहिले समस्या बनेको छ बेरोजगार । बेरोजगार समस्याका कारण उत्पन्न हुने कयन समस्या उब्जिएका छन् । राजधानीमा थुप्रै पेशा छन् । हरेक पेशामा सुरक्षा र असुरक्षा दुबै छन् । काठमाडौमा भोगिरहेका समस्या पनि अनेक छन् । अहिले सुकुम्बासी समस्यमा छन् । भर्खरै चुनाव सकिएको छ । पटक पटक आयोग बने । कार्यान्वयन भएनन् । त्यसको पीडा भोग्नु पर्ने नागरिकहरुलाई विभिन्न लाञ्छना लगाई रहेका छन् । सबै सुकुम्बासी छैनन् तर सुकुम्बासीहरुलाई न्याय दिन हरेक सरकार असफल छन् । 
    मेरो आफ्नै कहानी छ । भोगाई छ । सधै केहि न केहीको बहानामा भैरहने नेपाल बन्दले र संघीयता र जातीय राज्यको परिणाम स्वरुप लगातार भैरहेको नेपाल बन्दले गर्दा हामी श्रीमान् श्रीमती दुवै यसपाली घाटा बेहोर्न विवश भयौ । निसन्देह ! यो हाम्रो मात्र यथार्थ थिएन, सारा नेपाली जनताको यथार्थ यस्तै छ । बन्दले गर्दा त्यति धेरै तरकारी कुहिएर फाल्नु पर्यो यत्रो दिन मेरो लोग्ने नचाहेरै घरमा बस्नु पर्यो । के गर्नु बन्दमा पनि पसलको भाडा, ट्याक्सी भाडा र डेराको भाडा साहुलाई बुझाउनु प¥यो । डेराको भाडा समयमा बुझाउन नसक्दा घर मालिक्नीले निकै गन्गनाइन् । फेरि यो सारा गन्गन मेरो लोग्नेले नसुनेको भए हुन्थ्यो कसरी टुप्लुक्क आइपुग्नु भयो र सबै चुपचाप सुन्नुप¥यो उहाँले पनि । त्यही पलदेखि उहाँको मुहार अँध्यारो देखिराथे झन् अहिले सुत्नु अघि कस्तरी न्यास्रो हुँदै भन्नु भो, सानु ! अब नेपालमा भाडाको ट्याक्सी चलाएर काम छैन, जे भएपनि नेपाल बन्द गर्नै पर्छ भन्ने नेपालको राजनैतिक प्रवृतिले मार्नु मा¥यो हामी जस्ता स्वदेशमै केही गरी खान्छु भन्नेहरुलाई ! तिम्रो लोग्ने भएर तिमीलाई धेरै सुख सुविधामा राख्न नसके पनि सानो तिनो कुरामा अरुले तिमीलाई होच्याएर दुई चार कुरा सुनाओस् । यो म चुपचाप हेरी बस्न सक्दिनँ । अब म पनि विदेश नै लाग्छु जतिसक्दो छिटो त्यसपछि तिमीले कसैको पनि किचकिच सुन्नुपर्ने छैन ! म हर हालमा तिम्रो शीर उठेको हेर्न चाहन्छु यसरी लाचारतामा झुकेको हेर्न सक्दिनँ ! मैले कति सम्झाउन खोज्दा पनि उहाँले आफ्नो निर्णय बदल्नु भएन । त्यो अवस्था बदलिएको छ । संविधान जारी भयो । संविधान जारी भए पछि पनि दुई दुईवटा निर्वाचन सम्पन्न भएका छन् । भुकम्प, कोरोना महामारीले थला परेको नेपालको अवस्था अझै सुध्रन सकेको छैन । संविधान, शान्ति प्रकृया पछि नेपालमा अपेक्षा गरिएको रोजगारको अवसर अझै शुरु हुन सकेको छैन । 
    हाम्रो मुटुको टुक्रा सानो छोरालाई पनि खै के भाको थियो ? विद्यालय त बन्द नै छ गएन तर साथीहरु सँग खेल्नलाई पनि कुनै उत्सुकता देखाएन । बाध्य भएर सोधें, बाबु ! के भो ? कसैसँग झगडा भो तिम्रो ? खेल्न नजाने साथीहरुसँग ? रुन्चे स्वरमा जवाफ दियो उसले, नाइँ, मलाई कसैसँग खेल्न जानु छैन; ममी ! साथीहरुले भनेको, तिमी गुरुङ्गको छोरा हामी नेवार अब हामी नेवार नेवार मात्र खेल्नुपर्छ रे हाम्रो ड्याडीले भन्नु भाको त्यही भएर तिमीलाई नमिसाउने, तिमी गुरुङहरुसँगै खेल्न जानु भन्यो । ‘म सँग कोही खेल्दैन ममी, मलाई गुरुङ साथी खोजी दिनुस् न ! हैन भने म अब स्कूल पनि जान्नँ ! त्यो सानो बच्चाको बोलीमा, त्यो बाल मानसिकतामा यति धेरै सन्ताप आभास गरें कि अति घृणा लागेर आयो त्यो कुसन्तानहरु माथी जसले जातीया राज्य जस्तो सोंचको जन्म गरायो ! बुद्धिजीवी मानिसहरुको रोजाई समानता र एकता हुनुपर्ने ! देशलाई यो जाती पिच्छेको भागवण्डा गर्नुपर्ने नै किन ? त्यो सानो बच्चालाई म के जवाफ दिउँ ? जबकी कोठा बाहिर निस्कनासाथ हरेकको बोली र व्यवहारमा जातीय राज्य आगमन भैसकेको थियो ! सही कुरा व्यवहारमा उतार्न पो मान्छेलाई वर्षौ वर्ष लाग्छ खराब कुराको अनुकरण र अनुसरण गर्नलाई कति नै बेर ?
    लोग्नेको विदेश जाने निर्णय र छोराको बाहिर खेल्न नजाने निर्णयले मलाई धेरै दुख्यो र गहिरो सोंचमा पारिदियो । एक छेउमा लोग्ने निदाईरहेको हेर्छु अर्को छेउमा छोरा बिचमा म छट्पट्टी रहेछु सन्तापमा ! हाम्रो भविष्यको सन्तापमा ! हाम्रो छोराको भविष्यको सन्तापमा ! देशको र सम्पूर्ण नेपालीको भविष्यको सन्तापमा ! के होला ? कस्तो होला, हाम्रो भोलि र हाम्रो भविष्य ? यस्तै चिन्तामा धेरै वर्ष बित्यो । धन्न संविधानमा जातीय राज्य उल्लेख भएन । बच्चा ठुलो भयो । लोग्ने विदेशमै छन् । पैसा कमाएका छन् । तर पनि मनमा शान्ति छैन । पैसा भएर पनि माया नहुँदो रहेछ । मायामा पैसा बाधक बन्दो रहेछ । लामो समय विदेश बसेर फर्किएका लोग्नेलाई यतै बस्न र फेरी ट्याक्सी चलाउन अनुरोध गरें । उहाँले मान्नु भएन । बैंकले ऋण दिन आनाकानी ग¥यो । स्वदेशमै बसेर केहि गरौं भन्दा हामी जस्तो श्रमजीवीहरुलाई बैंक र सरकार कसैले पनि सहयोग गर्दाे रहेनछ । ट्याक्सी किन्यो भने पनि अनेक समस्या थिए र छन् पनि । उहाँलाई विदेशको नियम कानून राम्रो लाग्यो । त्यहि नियम कानूनमा बसेर पैसा कमाउन सहज लाग्यो । उहाँ विदेश जानु भयो । 
    यता घर परिवारले मलाई सहज रुपमा सहयोग गरिरहनु भएको थियो । म सहकारीमा काम गर्न थालें । तरकारी पसल छाडेर काम गर्न थालेको नोकरीमा कहिले काँहि सहज असहज दुवै हुन्थ्यो । त्यहि काम गर्ने एकजना पुरुषसँगको सम्बन्धमा मैले आफ्नो लोग्ने भएको बिर्सन पुगें । बच्चा भएको बिर्सन पुगें । घर नबिगार्ने शर्तमा उ र म लामो समय सम्बन्धमा बस्यौं । समय अनेक हुँदो रहेछ । दुःख सुख पर्दा आफुसँग कम्तिमा आफ्नो भन्ने लोग्ने साथमै चाहिँदो रहेछ । विरामी भएर हँ हँ गरेर सुत्दा श्रीमान्ले औषधी दिने अवस्थाको खाँचो हुने रहेछ । सुख र स्वस्थ हुँदा सबैले खुशी दिन्छन् । दुःख हुँदा खुशी दिने श्रीमान्को खोजीमा लामो समय भौतारिन पुगें । उहाँ फर्कन नचाहने । आफुलाई अभाव महसुस हुने । बच्चा ठुलो भई सक्यो । के गरौ गरौं ? एक दिन मैले त्यहि पुरुषसँग विवाहको कुरा गरें । गल्ति मेरो थियो । उसको पनि घरमा श्रीमती र बच्चा थिए । मेरा कारण उनिहरुको घर परिवारमा खोसिने खुशी स्वीकार्न म तयार थिईन् । अन्ततः उसले मलाई घर बाहिरको श्रीमतीका रुपमा मात्रै स्विकार्ने बतायो । म चिन्तित भएँ । श्रीमान्लाई विदेशबाट चाँडै फर्कन अनुरोध गरें । धेरै घर परिवार बैदेशिक रोजगारका कारण बिग्रिएको महसुस गरें । अभियान संचालन गर्नेहरुले बाहिरको चोट देख्छन् । महिलाहरु माथी कुटपिट मात्रै भएको छैन । मानसिक रुपमा, शारिरीक रुपमा शोषण भएको छ । यस्ता शोषणहरुको अन्त्य श्रीमान्सँगै बसेर मात्रै होईन नबसेर पनि भएको छ । राज्यका निकायहरुले रोजगार, सुरक्षा र ब्यवसाय गर्ने वातावरण तयार गर्ने हो भने मुलुकमा महिला हिंसा मात्रै होईन लैङ्गिक हिंसाको पनि अन्त्य हुन सक्छ । 

सरस्वती गुरुङ
बनेपा, काभ्रे