2026 April 30/ 11:47: 08am

जुन जोगी आए पनि कानै चिरेका । केपी ओली नेतृत्वले शुरु गरेको सुकुम्बासी समस्या समाधान अहिलेसम्म हुन सकेको छैन । केपी ओलीले आयोग गठन गरेर काम शुरु गरेको केहि समयमै सरकार परिवर्तन भयो । सरकार परिवर्तन भएको लामो समयसम्म आयोगले काम गर्न सकेन । दलका कार्यकर्ताहरु भर्ति गर्न पुनः आयोग गठन भयो । कार्य शुरु भयो तर हामी सुकुम्बासीहरुले जग्गा पाउन सकेनौं । अधिकार पाउन सकेनौ । भर्खरै निर्वाचन सम्पन्न भयो । निर्वाचनबाट नयाँ जनादेश पनि प्राप्त भयो । फेरि उहि गठबन्धनका नाममा नागरिकहरुले पाउने अधिकार जस्ताको तस्तै हुने संकेत देखा परेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको आयोगले आजसम्म कति काम ग-यो ? कुन–कुन जिल्लामा पुर्जा दिन सक्यो ? वा के गर्दैछ ? स्थानीय तहको निर्वाचन पछि गर्ने योजना सुनाएका आयोगका पदाधिकारीहरुले त्यसो गरेनन । बरु उनिहरु आफ्नो जागिर पकाएर बसेका छन् । 
    जीवनका भोगाई खै कसरी ब्याख्या गरौं ? अनुभूति फरक फरक हुन सक्छ । सहानुभूति पनि फरक होला । जीवन अरुका लागि बाँच्ने र जिउने रहेछ । देखावटी जीवनको भोगाईले अरुलाई के हुन्छ थाहा छैन मलाई पलपल रुवाई रहन्छ । आफुले गर्ने कामले अरुलाई असर पार्ने कस्तो हो इज्जत ? कस्तो हो नाम र बदनाम ? कसको चित्त बुझाउन कसलाई रिझाउन जाउँ ? आफु आत्मनिर्भर हुन गरिने कामलाई समेत समाजले राम्रो दृष्टिकोणले हेर्दैन । त्यहि काम एकल हुँदा र परिवारसँग सँगै रहेर गर्दा समाजले हेर्ने दृष्टिकोणमा फरक पर्ने रहेछ । समाजको ऐना र समाजले हेर्ने दृष्टिकोणमा आउने बदलावले ब्यक्तिलाई संघर्षको उचाईमा पनि पु¥याउँदो रहेछ । अर्काेतिर ब्यक्तिले जीवनलाई आत्महत्यातर्फ डो¥याउने रहेछ । जो जीवन र समाजसँग हार खान्छ उसले जीवन त्याग गर्ने योजना बनाउँछ । आत्महत्या गर्नेहरुका धेरै कारणहरु मध्ये प्रमुख हो जीवन र समाजसँग हार खानु । त्यसका गहिराईहरु धेरै होलान् । तर पनि ब्यत्तिका अनेक चाहना पूरा हुन नसक्दा ज्यान समेत त्याग्नेहरुलाई महान भनौं कि काँथर ? तर पनि सपना भन्दा पनि न्यूनतम मानवीय आवश्यकता महत्वपूर्ण हो । 
    सुकुम्बासीहरुको के हुन्छ र सपना ? विहान र बेलुका हातमुख जोर्नु शिवाय अरु केहि छैन । मेरो पुस्ता नै सुकुम्बासी, आफु सुकुम्बासी हाम्रा सन्तान पनि सुकुम्बासी । भएको सबै सम्पत्ति पेटकै लागि खर्च भए पछि बाँकी कुन जमिनमा उब्जनी गरेर पेट पाल्नु ? सरकारले फेरी हामीजस्ता सुकुम्बासीहरुको समस्या समाधान गर्न आयोग गठन गरेको रहेछ । विगतमा पनि यस्ता धेरै आयोगहरु बनेका थिए । जग्गा वितरण गर्ने भनिए पनि त्यो सम्भव भएन । यो पटक पनि वितरण हुन सकेन । पटक पटक आयोगहरु बन्ने र जागिर खाने काम बाहेक भएन । अझै वितरण हुन नसके पछि हामीलाई झनै पीडा बोध भएको छ । मेरो टोलमा १४ परिवार भन्दा धेरै सुकुम्बासी छौं । नियमित रुपमा काम गरी खान रोजगारीको अवसर, बाँझो रहेको जमिनमा खेति कमाई गर्ने अवसर दियो भने सुकुम्बासीहरुलाई सरकारले के गर्नुपर्छ र ? पञ्चायतमा पनि हामी सुकुम्बासी, प्रजातन्त्रमा पनि हामी सुकुम्बासी, आज गणतन्त्रमा पनि सुकुम्बासी । अझ माओवादी युद्धले देश नै हामी सुकुम्बासीहरुलाई जिम्मा लगाउने भए जस्तो प्रचार गरेका थिए । युद्ध सकिएको दशकौं भैसक्यो खै त सुकुम्बासीलाई जग्गा ? खै त गरिबलाई रोजगार ? खै त हाम्रो अधिकार ? अरु नागरिक सरह बाँच्न पाउने हाम्रो अधिकारको ग्यारेण्टी राज्यले गर्ने होइन ? अधिकार नपाउँदा बोलिदिने अधिकारवादी खै त ? कसको पक्षमा काम गर्छन् तिनीहरुले ? कि चिल्ला गाडी चढ्दैमा सुकुम्बासीहरुको अधिकार सुनिश्चित हुन्छ ? सरकारका समस्या होलान् । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराहरु बताउनु भयो । आयोग गठन गरेर शुरु गरेको काम हामी सबै सुकुम्बासीहरुले स्वागत गर्नै पर्छ । तर शेरबहादुर देउवाको गठबन्धन सरकारले भङ्ग गरेर आयोगलाई थप गिजोले पछि रोकिएको काम कहिले हुन्छ ? कि निय्ुक्ति भएका सबै कार्यकर्ता जागिरका लागि मात्रै हुन् । 
    २०३३ सालमा मेरो जन्म भएको थियो । बुबा र आमाको एक्लो छोरा थिएँ । बहिनी जन्मिएकी थिई । म जन्मिएकै बर्ष बुबा आमा गाउँमा भएको थोरै बारी बेचेर सुकुम्बासीका रुपमा पाँचखालको जंगलमा आएर बस्न थाल्नु भएको रहेछ । बुबासँग काका पनि हुनुहुँदो रहेछ । काका बुबा भन्दा अलिक सानो भएको धेरै पछि विवाह भएको थियो । काका र मेरो उमेर थोरै मात्र फरक होला । काकाका सन्तान सानै छन् । उहाँले गरेको निर्णयले उहाँका सन्तान मात्रै टुहुरा भएनन् हामी पनि टुहरा भयौं । दशा बाजा बजाएर आउने रहेनछ । बुबा आमाले एउटा छोरो भन्दै विद्यालय पठाउनु भयो । अहिले जस्तो सहज थिएन । मेरो पढाई नियमित हुन सकेन । बहिनीले पनि खासै धेरै अध्ययन गरिनन् । सहयोग गर्ने संघ संस्था पनि थिएनन् । बुबा आमा कपडा सिलाउँदै छोरा छोरी र आफ्नो पेट पाल्दै आउनु भएको थियो । विष्टहरु थोरै हुन थालेका रहेछन् । विहान देखि बेलुकासम्म उनिहरुको घरमा कपडा सिलाए बापत पाउने पुन्की र अन्य सामानहरुले गुजारा चल्दै थियो । कपडा नयाँ लगाउन पनि दशै नै कुर्नु पर्दथ्यो । कहिले कसैले पैसा दिए भने त्यहि पैसाले किन्ने बाहेक अरु उपाय पनि थिएन । बुबा आमाको साथमा म पनि पछि पछि लाग्दथें । विस्तारै मैले पनि कपडा सिलाउन थालें । बुबा आमाको बोझ केहि भए पनि कम भयो । एक पटकको कुरा हो । बुबालाई नराम्रो बचन लगाए । कपडा चोरेको आरोपमा उहाँलाई लगाएको सजायँ सुनुाईएको थियो । उहाँले आफ्नै बच्चाहरुका लागि थोरै कपडा लुकाउनु भएको रहेछ । त्यसको सजायँ ठुलो भयो । २०५२ सालमा मेरो मागि विवाह भयो । दुईदिदी बहिनी मात्रै थिए । बुबाले बुढेसकालको साहाराका लागि भन्दै अर्काे श्रीमती विवाह गर्नु भएको रहेछ । उनीबाट पनि सन्तान जन्मिएका छन् तर सानै छन् । उनले पनि खासै पढेकी छैनन् । दुःख पाएकी केटी, हामी पनि सुकुम्बासी हौं तर पनि काम गरेर पाल्न सकिन्छ भन्ने उद्देश्यले विवाह भयो । मेरो विवाह गरेको केहि वर्ष पछि बहिनीको पनि विवाह भयो । आफु भन्दा जेठीश्रीमती विवाह ग¥यो भन्थे मलाई । मैले भन्थे के हुन्छ र ? आखिर जीवन चलाउने न हो । उनको चाहना श्रीमान्सँग हुँदा राम्रोसँग जीवन वितोस् । हामीलाई अर्काे संकट आईलाग्यो । हाम्रो घरको अभिभावक वित्नु भयो । बुबा केहि समय विरामी पर्नु भयो । उहाँलाई जण्डिस भएछ । जण्डिसको उपचार हुँदाहुँदै उहाँले छाडेर जानुभयो । १५ वर्ष अघि बुबाले छाड्दा हामी बेसहारा भयौं । हाम्रो पहिलो सन्तान छोरीको जन्म भएको थियो । बुबाले एउटी नातिनीको मुख हेर्न पाउनु भएको थियो । म पनि गाउँमै काम गर्थे । सुकुम्बासी भए पनि मान्छेको मन न हो । हामी पनि कुनै दिन आफ्नै नाममा घर बनाउने, जग्गा खरिद गर्ने सपना बुनिरहेका हुन्थ्यौं । त्यतिबेलासम्म हाम्रो टोलमा १० परिवार भैसकेका थियौं सुकुम्बासीहरुको समूह । कोहि कताबाट, कोहि कताबाट । फरक–फरक जातका थियौं तर पनि एउटै परिवार जस्तै गरी मिलेर बसेका थियौं । जात अनुसार खाने पिउने पनि हुन्थ्यो । कोहि खाएर अपशब्द बोल्थे । कोहि सम्हालिने कोशिस गर्थे । कोहि मजदुरी गर्थे, कोहि के गर्थे तर पनि काम नगरी कसैको पनि खान आउँदैन थियो । विहान बेलुका घरमा बस्ने दिउँसभरी अरुको काममा जाने दैनिकी नै बनेको थियो । दोश्रो पटक जुम्ल्याहा सन्तान जन्मिए । एक छोरा र एक छोरी छन् । अहिले कक्षा २ मा पढ्छन् । केहि वर्ष पछि फेरी अर्काे सन्तान जन्मियो छोरी । उनी कक्षा १ मा अध्यन गर्छिन् । जेठी छोरी कक्षा ५ मा पढिरहेकी छिन् । हेरौ यी सन्तानलाई नियमित विद्यालय पठाउन सक्छु कि सक्दिनँ? घरमा बुढी आमा हुनुहुन्छ । श्रीमती र चार सन्तान छाडेर थप रोजगारीका लागि मैले काठमाडांै जाने निर्णय गरें । कमाई भएको पैसाले घरमा आवश्यक सामानहरु खरिद गरेर ल्याउँछु । महिनाको दुई तीन पटक आउने जाने गरेको छु । बच्चाहरुको भविष्यका लागि त्यो आवश्यक पनि थियो । 
    यो सरकारले कृषकहरुका लागि मल त उपलब्ध गराउन सकेन । हामी सुकुम्बासीहरुलाई जग्गा ? विश्वास नै लागेको छैन । बरु केपी ओलीप्रति भरोसा थियो । साहस थियो । आँट थियो । फेरी पनि नयाँ जनादेश पछि यहि सरकार बन्ने सम्भावना छ । त्यो सम्भावनालाई रोक्न त सकिदैन तर यो सरकार हुँदासम्म हाम्रो समस्या समाधान हुन सक्दैन । घरमा श्रीमती र बच्चाहरुको समस्या धेरै छ । मेरो मात्रै समस्या होईन । सबै सुकुम्बासीहरुको समस्या उस्तै छ । घर छाडेर अन्यत्र जाँदा परिवारको पीडा झनै फरक छ । चुनावका बेला नेताहरुले घरमै आएर भोट दिनुस हामी समाधान गर्छाै तपाईको समस्या भनेको बर्षाै भईसक्यो । हुन सकेको छैन । स्थानीय सरकारले पनि वास्ता गर्दैन । हामी जाउँ कहाँ ? कसले कहिले दिन्छन् हामीलाई जग्गा ? सुकुम्बासी भन्ने ट्यागबाट कहिले उम्कन सक्छौं हामी ?

 रहदेव परियार
पाँचखाल, काभ्रे