2026 April 30/ 11:47: 09am

    सायद यस्तो हुँदो रहेछ जीवन मान्छे भएर जन्मे पछि दुःख सुख पीर व्यथा सबै झेल्नुपर्ने रहेछ । हरेक समस्या आउँदा पनि सहनु पर्ने, भएका समस्याहरुलाई भुल्दै मन बुझाउनु पर्ने रहेछ । मान्छे अजीवको प्राणी रहेछ । उसले जन्मे देखि मृत्यु हुनु अघिसम्म भोगेका भोगाईहरु सबै बिर्सेर पनि जीवन जीउनु पर्ने रहेछ । त्यस्ता अनेकौं हण्डरहरु छन् । कसैले चपाएर हिडिरहेका छन् । कसैले कुल्चेर हिडिरहेका छन् । कसैले ब्यक्त गर्छन् । कोहि ब्यक्त नगरी मनमा राखिरहन्छन् । ब्यक्त भएका भावनाहरुले मात्रै मन शान्त हुन सक्दो रहेछ । त्यहि महसुस भएकाले उकुसमुकुस भोगाईलाई मोरातीको स्तम्भमा प्रस्तुत गर्ने जमर्काे गरेको छु । जीवनमा भोगेको बास्तविक भोगाई हो । धेरैलाई लाग्न सक्छ यो केवल काल्पनिक हो । यति धेरै पीडा भएको ब्यक्ति यसरी शिर ठाडो बनाएर सबैका सामु पीडा लुकाएर हिड्न सक्छ ? वा सकिरहेको छ ? मान्छेमा हुने अनेक रुप भित्र एउटा रुप हो सहनशील । त्यो साहस र धैर्यता मलाई भगवानले दिनु भएको छ । यहाँ भन्दा धेरै ठुला चोटहरु हुँदा पनि सायद मैले सहनु पर्छ होला । म तयार छु । तर मेरा भोगाई पछिका अनुभवबाट केहि प्रेरणा पनि हुन सकोस् मेरो कामना । कसैलाई ब्यक्तिगत आक्षेप लगाउनु पनि छैन । भर्खरै निर्वाचन सकिएको छ । मुलुक आर्थिक संकटमा फसेको छ । एक वर्ष देखि हरेक ब्यवसायमा असर देखिन थालेको छ । भुकम्प जाँदा समेत नर्धमराएको नेपालको आर्थिक क्षेत्र कोरोना भाईरस पछि विस्तारै संकटमा फस्न थालेको अनुभूति छ । अझ राज्यले लिएका केहि गलत नीतिहरु, देशको हितमा भन्दा सत्ताको लागि भएका विभिन्न गठजोडका कारण धेरै नेपालीहरु संकटमा छन् । युवाहरु खाडी जान विवश छन् । त्यहि खाडी जान ब्यक्तिगत खर्चमा लिनु पर्ने राहदानी बनाउन सकस छ । नागरिकता लिन सकस छ । फेरी राष्ट्रिय परिचयपत्रका नाममा नागरिकहरुले दुःख पाईरहेका छन् । उब्जनी गर्न विउ छैन । विउ भयो मल छैन । मल भयो सिंचाई छैन । सबै कालोबजारीमा उपलब्ध गरायो । उत्पादन ग¥यो किसानको मूल्य छैन । यस्ता तमाम भोगाईहरुबाट पनि ब्यक्तिले आफ्नो जीवन गुजारिरहेको छ । 
    निर्वाचनका बेला नेपालमा पनि धेरै राजनीतिक दलहरुको भेल लाग्यो । काभ्रेमा मात्रै १९ दलका उम्मेदवारहरुले भाग लिए । नेपालमा परिवर्तन गर्ने नाममा एउटा राजनीतिक दलले १७ हजार मान्छे मा¥यो । आखिर सत्ताका लागि रहेछ भन्ने कुरा पुष्टि गरायो । कहिले काँग्रेससँग, कहिले एमालेसँग कहिले को सँग लागेर सत्ता केबल सत्ताका लागि बार्गेनिङ्ग गरिरहेका छन् । मान्छेमा हुने अहम्ताले समाज पनि त्यस्तै हुने रहेछ । हाम्रो नेपालमा कति पार्टी छन् औंलामा गन्न नसकिएला । तैपनि समाज परिवर्तन गर्न सक्दैनन् । किनकी यसलाई नै आधार बनाउने हो भने पनि मान्छे बोल्दा थाक्छ । लेख्दा पनि थाक्छ । सबैका उदेश्य राम्रा देखिन्छन् । काम त्यहि अनुसार गर्न सक्दैनन् । एक दिनको कुरा हो म स्कूलबाट घर फर्कदै थिएँ मनमा कस्तो कस्तो अप्ठेरो महसुस भएको थियो । आज के भयो भनेर सोच्दै घर आईपुगे । घरमा बुढी आमा रोइरहनु भएको रहेछ । सोधे आमा के भयो ? आमाले भन्नुभयो बाबु पारीको त्यो हाम्रो शत्रुले तँलाई बनाई राखेको खाजा नै फालिदियो । एक्कासी आएर भाँडाकुँडा फालिदियो । मलाई पनि पिट्यो । त्यसपछि मेरो आँखाबाट आँशुको भेल बग्न थाल्यो । बोकिरहेको झोला फाँले । सोचे म अबोध थिएँ । बालमस्तिकमा खेल्न थाल्यो मैले के नै बिगारेको थिएँ । मेरी आमालाई पिटेर खाजा फाले ? सोच्दा सोच्दै केहि दिन बित्यो । मेरो पनि समय बितेको कुरा थाहा नहुँदै म ठूलो हुँदै गएछु । समय बित्दै गयो । म पनि ठूलो हुँदै गएँ । मेरो जीवनले कोल्टे फेर्दै गयो । विस्तारै परिवारमा एक पछि अर्काे बज्रपात आउँदै गयो । २०६१ सालको घटना हो । 
    नेपालमा सशस्त्र द्वन्द्वको समय थियो । त्यो माओवादीको समय थियो । सायद समयको अनुकूल भनौ या मेरो परिवारलाई दुःख दिने नियतले मेरो घरमा माओवादीका कार्यकर्ताहरुले ताला लगाए । म सानै थिएँ । मेरो सानो भाई थियो । यतिबेला भौतिक शरीर सहित उ हामीसँग छैन । बोनम्यारो क्यान्सरका कारण उसले हामीलाई छाडिसकेको छ । हजुरआमा र हजुरबुबा, फुपु, अनि मेरो आमा बुबा म दाजुभाई लगायतलाई घरबाट निकाल्ने माओवादीको निर्णय भएछ । घरमा ताला लगाएकाले हामीले घर छाड्न बाध्य भयौं । समय चल्दै गयो । हाम्रो पक्षमा बोल्ने कोहि भएन । बोल्ने सबैलाई माओवादीले हामीलाई भन्दा कडा कारवाही गर्थे । हामी डेरामा बस्न पुग्यौं । २०६१ साल पौषमा ताला मात्र लगाईयो अनि हामीलाई निकालिदियो । पटक पटक सामान लुटियो । एक दिन म घर जानुपर्ने अवस्था भएर घर गएँ । घरमा मेरो फुपू मात्र हुनुहुन्थ्यो । म गए पछि उहाँ रुन थाल्नु भयो । किन रोएको फुपु भनेको ? उहाँले किन आएको तँलाई मार्छन् भन्न थालिन् अनि मलाई पनि रुन मन लागेछ । म पनि रोएँ । आखिर हामीले के बिगारेको थियौ तिनीहरुको ? अनि आफैलाई सम्झाएँ चौतारीमा गएँ । बसिरहेको थिएँ । गाउँका मान्छे कोहिसँग बोल्न चाहेनन् । गाउँबाट निकालेको मान्छे यो सँग किन बोल्नु ?? यो सँग बोल्यो भने हामीलाई पनि केहि हुन सक्छ भन्ने सोचे होलान् । साँझ पर्दैै गयो । म चौतारीबाट निस्कन लागेको थिएँ । काकाले किन आएको तँलाई मार्ने योजना छ । तँ मेरो घरमा हिँड उहाँले भन्नुभयो । मैले लगाएको लुगा त्यहि ताल्चा लगाएको घरमा फुकालेको थिएँ । मेरो जुत्ता त्यहि थियो । मेरो शरीरमा स्याण्डो र हाफ कट्टु मात्र थियो । चप्पल लगाएँको थिएँ । तल काकाकोमा गएँ । राति भयो । मलाई खाना खान पनि मन भएन । भोकै थिएँ तर पनि खान मन लागेन । सम्झन पुगेछु । मेरी बुढी हजुर आमाले कस्तो मिठो खाना बनाउनु हुन्थ्यो । उनी छैनन् । कस्तो पीडा भयो एक्लै आँशु बगाउन थालेछु । सुते निद्रा आउँदैन । बल्ल तल्ल बिहानको ५ बजे उठे । काका काकीलाई सोधे म जान्छु । त्यहाँबाट हिँडे । म घरबाट हिँडे । विहानको समय थियो । डेरीमा मान्छे टन्न थिए । म तल बाटोमा हिँडिरहेको थिएँ । गाउँलेले पूरै मलाई मात्र हेरिरहे यो स्वार्थी समाज मलाई मात्र किन हेर्छ भन्ने लाग्यो । विस्तारै हिँड्दै गएँ । घर पुग्दा त गाई भैसी सबै लुटिए छन । फुपूलाई चौतारीमा ल्याएर छाडि दिएछ घरको झ्याल ढोका पूरै काटिएछ । अन्नबालीमा पूरै आगो लगाई दिएछ । मेरो लुगा, जुत्ता व्याग सबै जलाएछन् । मेरो शरीर मात्र बाँकी मसँग । म यति रोएँ कि मेरो आँशुको सीमा नै रहेन । मसँग केहि छैन जस्तो लाग्यो । सारा संसार नै अँध्यारो जस्तो लाग्यो मेरा हातगोडा काम्न थाले । धेरै बेर हेरे त्यो घर अनि त्यो जलेको अन्न कपडा अनि सोचे यस्तो निर्जीव वस्तु जलाएर माओवादीलाई के फाईदा होला । सोझा जनता मारेर दुःख दिएर त्यो प्रचण्डलाई के फाईदा भन्ने सोचे । म बस्ने त कुरै भएन तर काठमाडौं आउन पनि पैसा छैन । एउटा फिलिम जस्तै भयो मेरो जीवन । डाँकाहरुले लखेट्दा पूरै गाउँलेले ढोका बन्द गरेको जस्तै भयो मेरो जीवन । त्यत्रो गाउँ अनि गाउँले कोहि बोलेनन् । मसँग पैसा पनि छैन । जे होला होला भनेर म गाउँबाट नाङ्गै, लाज छोप्ने कपडा मात्र लगाएर हिँडे । बाटोमा सबले हेरे कोहि पनि बोलेनन् । म पनि बोलिनँ । पीडामा निस्केको हुँदा बोल्ने आँट पनि आएन । म बल्ल बस स्टेसन आइपुगें । अनि बसको कन्टेनरलाई सबै कुरा भने उसले लगिदिन्छु भन्यो । जब म बनेपा बसपार्क आए अनि ओर्लने आँट नै आएन मलाई । मैले कट्टु र गन्जी मात्र लगाएको थिएँ । सबै गाडीबाट ओर्लिसके । म मात्र बाँकी थिएँ । ड्राइभरले भन्यो भाई तिमीलाई हामीले गर्ने सहयोग ग¥यौ अब विकल्प आफै खोज्नु है । 
    त्यसपछि म गाडीबाट ओर्लिएँ । सब मान्छे मलाई हेर्दै थिए । तर कसैको सहानुभूति पाइनँ । म फटाफट डेरातर्फ लागे । बा र आमालाई भेटेर म रुन थाले । सबै कहानी सुनाएँ, भौकै भएको कारणले अनि गाडीको थर्काईले होला रुँदा रुँदै म निदाएछु । तिन दिन भएको थियो खाना खाएको थिइनँ । त्यसदिन पनि खाना खान मन लागेन । निदाएछु म त पूरै मरेको लाश जस्तो भएछु । त्यस दिनबाट यो संसारमा मलाई म सँग कोहि छ भन्ने पनि लागेन । समय बित्दै गयो म पनि काम गर्दै गएँ । समयले कोल्टे फे¥यो । जनयुद्ध सकियो मेरो घरको ताला पनि खुल्यो । सबैजना घर गए म पनि जान आउन थाले । आज म त्यो दिन सम्झछु अनि भन्छु हिजो नबोल्ने गाउँले आज मसँग बोल्न आउँछन् । हरेक कुरा सोध्छन् । के, कस्तो, कसरी ? म भन्छु कसैको दुई रुपैयाँ चाहिँदैन । केवल म मेरो मेहनत र क्षमतामा अडिएको छु । उनीहरुको समस्या समाधान गरिदिन्छु । काम पनि गरिदिन्छु । हामीलाई ताला लगाएर हिड्नेहरुको कन्तविजोग छ । कोहि महलमा छन् । कोहि सडकमा छन् । हामी कसैले अरुको अन्याय नगरेकाले हामी खुशी छौ । सुखी छौ । तर ति दिनहरु विर्सन सक्दैनौं । 
    अन्तमा, मेरो घटना जसले पढ्नु भयो उसले सोच्नुहोस् तपाई पनि आफूसँग धन सम्पत्ति शक्ति छ भने तपाईसँग कोहि पनि टाढा हुँदैन । तपाई कमजोर हुनुहुन्छ भने गल्लीको कुकुर पनि भुक्न थाल्छ । त्यसैले अरुलाई दिन भए पनि तपाई मेहनतमा बाँच्नुस् । श्रम गर्नुस् । स्वाभिमान राख्नुस् । त्यसले तपाईले सफल बनाउँछ । तपाईलाई लुट्नेहरु आफै लुटिनेछन् । कुट्नेहरु कुटिने छन् । हिजो ताला लगाउनेहरुको घरमा आफै ताला लागेको छ । हामीलाई दुःख दिनेहरु आफै दुःख पाईरहेका छन् । सुर्य उदाउँछ अनि अस्ताउँछ पनि । कालो रात आउँछ र विहान हुन्छ । बदलाव छैन तर बदलिनु जरुरी छ । 

कुमार मैनाली
तेमाल, काभ्रे