2026 April 30/ 01:05: 57pm

    हरेक अनुभुतिहरु सम्झन लायक नहुन सक्छन् । समय, परिस्थिती, प्रविधी र आवश्यकताका आधारमा अनुभुतिहरु फरक फरक हुन सक्छन् । ति कालखण्ड थिए जसले चाहेर पनि केहि गर्न सकिदैन थियो । अहिलेको जस्तो प्रविधि थिएन । सडक थिएन । सडक भए पनि सवारी साधन थिएन । हवाईजहाज देख्नु त कहाँ हो कहाँ चढ्ने सपना पनि थिएन । मोवाईल फोन बोक्ने र कुरा गर्ने अर्काे सपनाको कुरा थियो । हाम्रो लागि राजधानी आउनु, राजधानीका अग्ला अग्ला घरहरु देख्नु र चिल्ला सडकहरुमा पैताला राख्न पाउनु अर्काे जुनीको कल्पना थियो । थोत्रा बसहरुमा च्यातिएका सिटमा बसेर फलामको डण्डी समाउँदै रातभर यात्रा गर्नुको मज्जा नै बेग्लै थियो । आज पनि ति दिनहरु सम्झदा लाग्छ नेपाल विकास नै नभएको चाँहि हैन है । होला नेताहरुले हाम्रो चाहना अनुसारको गतिमा विकास गर्न सकेनन होला । उनिहरुको बसमा पनि भएन होला । तर विकासको गति र चाहनालाई न नेताहरुले रोक्न सकेका छन् न नागरिकले उपभोग गर्न । आज पनि ति कहालीलाग्दा घटनाहरुले रमाईलो पल बनाएर विदा भएका क्षणहरु सम्झँदा लाग्छ हामी साँच्चै अध्यारो सुरुङबाट उज्यालो तर्फ प्रवेश गरिरहेका छौं । 
    निर्वाचन नजिकिएको छ । मेरो आफ्नो भावना होला । दलहरु आफ्नै तालका छन् । मतदान गर्दिन त म भन्दिन । पञ्चायत देखि गणतन्त्रसम्म सरकारमा बसेर नेपाल र नेपालीहरुका लागि आखिर दलहरुले गरे चाँहि के ? उद्योग कलकारखाना सबै बन्द गराए । युवाहरुलाई खाडी पठाए । उच्च शिक्षाका नाममा अर्बाै रकम र जनशक्ति विदेशिन बाध्य बनाए । यस्ता कयौ घटनामा नेताहरु चुकेका छन् । सरकार र सरकारको नेतृत्व गर्ने दलहरु चुकेका छन् । यो निर्वाचनबाट पनि मुलुकले गति लिन्छ भन्ने आश गरेको छैन तर पनि अपेक्षा छ केहि गर्ने हुटहुटी भएका केहि दल र नेताहरु पनि अहिलेको निर्वाचनमा उठेका छन् । भएका सडक पक्कि बनाउन केन्द्रित हुन् । नागरिकहरुको दैनिक आवश्यकता हुने समस्यामा सरकार केन्द्रित होस् । उत्पादनमुखी कृषि प्रधान देशमा रसायनिक मल नहुँदा उत्पादन ठप्प हुने अवस्था अन्त्य होस । मल विना उत्पादन हुने गरी प्रविधिको विकास होस । नेपालमै उत्पादन गर्न सकिने मलहरुको प्रयोग र उत्पादनमा अनुदान होस । रोजगार नेपालमै होस । नेपाली जनताले चाहेका नै अरु के छन् र ? समृद्ध नेपाल, सुखी नेपाली । नारामा मात्रै होईन ब्यवहारमै देखाउन सकियो भने केहि वर्ष भित्र नेपालमै विदेशिएका युवाहरु फर्कन सम्भव छ । 
    काखमा हरियो वन जङ्गलले घेरिएका ठुल्ठुला पहाडबाट वहकिएको भेषमा सुईसुई सुस्काउँदै बगेको कलकल झरनाको साथ दिई रहेका ति हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी, सिरिसिरि वतासको वेग संगैको त्यो प्रकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडा काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको वाला झै हामी पनि रात्री बसको यात्रामा झुमिरहेका थियौं । हरियाली पहाडमा राज गरेको चिसो वतास संगै बढारिदै, सुस्काउदै बगेको नदीसंग मितेरी लगाउँदै हामी यात्रा अगाडी बढाई रहेका थियौं । प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश यातयात सुविधाको लागी अग्ला अग्ला काला पहाड खोपेर त ठुल्ठुला खोँच पुरेर उकाली ओराली नदीको किनारै किनार अनि धानको वाला लहलह झुलीरहेको खेतको बिचबिचमा कालो पत्रे सडक हुँदै अगाडी बढिरहेको यात्रामा हरेक गाँउ बस्ती र शहरको पनि राम्रो अवलोकन गर्ने मौका मिलिरहेको थियो । यात्राका क्रममा बसमा थुप्रै यात्रुहरु सवार थिए । 
    आ–आफ्ना गन्तव्यको ध्यानमा लिन यात्रीहरु मध्ये मेरो नजर आफु बसिरहेको सिट देखी दायाँ तर्फ अगाडी बढिरहेको थियो । उनी महिला थिइन । उमेरको अन्दाज २५ देखी ३० थियो होला । लचक्दार शरिर लामो कपालमा रातो लाछाली बाटेकी कपालको गाँठो पारिएको भन्दा केहि माथी मखमली फूल सिउरिएकी, हात भरि राता चुरा छन्किरहेका अनि हत्केलामा मेहन्दी बाट बनेको विभिन्न सजावटी आकृति हरेक औंलाको नङमा गुलाबी रङले पोतेकी, मखमली चोलो अनि पटुकी खुट्टमा पाउजु एउटा औलामा त चाँदीका औंठी, म बिस्तारै अनुहारतिर घुम्न थाले । गोलो गहुँगोरो अनुहारमा आँखी भौं मिलाएकी निधारमा रातो टिका कानमा माडुली नाकमा तिनपाते फुली झुन्डाएकी ओठमा लिपिस्टिक स्याउ जस्तो गाला, गलामा नौ गेडी माला । मेरो एकनासको हेराईले उनलाई अप्ठ्यारो लागेछ क्यार उनी यता उति फर्कि रहन्थिइन । सामान्य महिला भन्दा फरक पोशाक भएकाले उनमा मेरो नजर पनि परेको हो कि ? म उनी प्रति सकारात्मक भएकाले बोल्न मन लाग्यो । परिचय दिन आग्रह गरे । म पनि फरक पोशाकमा थिएँ । छात्रे टोपि, कानमा रिङ, घाँटीमा सिक्री विभिन्न आकृतिमा कुँदिएका शरिर च्यातिएका पाईन्ट लामा लामा जुत्ता अनि टि शर्ट माथि पनि टाई । यसको सट्टा मैले भदगाँउले टोपी, दौरा सुरुवाल, ईष्टकोट, कम्मरमा पटुकी भित्र खुकुरी लगाएको भए पनि हुन्थ्यो । उनि मेरो पोशाक प्रति चासो राखिरहेकी थिईन् । म उनको पोशाकमा । दुबैले सोध्न सकिरहेका थिएनौं । तर दुबैको ओठले त्यहि भनिरहेको थियो । 
    जवानीका मस्त रङ्गहरु साटा साटा गर्न जुन बेला हाम्रा पुर्खाहरु रोधीं गाँउथे, मेलापातमा माया पिरतिका भाका बोल्थे, तर हामी अहिले डान्स डिस्को चोक चोकमा खुले आम माया सट्छौ । पुराना कुरा र नयाँ कुराका राम्रा नराम्रा पक्षहरुमा गफिदै हामीले यात्रा अघि बढाईरहेका थियौं । समय बितेको पत्तो पाएनछौ । रातको करिब ११ बजिसकेको थियो । यात्रुहरु सबै निन्द्रा देवीको अंगालोमा जिन्दगीका सुनौला भविष्यको काल्पनिक संसारमा मस्त थिए तर उनी र म गफमा व्यस्त थियौं । अचानक गाडी रोकियो निन्द्राबाट उछट्टिदै सबै जना हल्लाखल्ला गर्न थाले । हामी त घना जङ्गलको बिचमा रोकिएछौं सबै यात्रुहरु किन र कसरी जस्ता प्रश्न उठाउदै त्यो घना जङ्गल मध्य रातको समयमा आवाज उठाउन खोज्यौं । त्यो पट्यार लाग्दो सुनसान घना जङ्गलको बिचमा आवाज सुनिदिने कोही थिएन । यदि दिउँसोको समय हुँदो हो त त्यो ठुलो घना जङ्गलमा चरीहरुको चिर्बिर आवाज, कोईलीको सुमधुर स्वर, ढकमक्क लालीगुराँस फूल कलकल झरनाको सुस्केरा, चिसो चिसो हावा अनि अटल अग्ला हिमालको दृश्यावलोकन हुन्थ्यो होला । प्राकृतिक छटाले भरिपुर्ण त्यो जङ्गल त्यस् बखत एक्दमै अन्धकार भित्र पनि मौन थियो निस्च्याम्म थियो । हामी जस्तै हजारौं यात्रुहरु सडकमा अलपत्र भै होहल्लित थिए र पनि त्यो जङ्गल सुनसान थियो । प्राकृतिक छटाका सहयात्री हामी लत्याउदै थियौं । ढकमक्क लालीगुराँस फूलको बगैंचामा रगतको झरना बगाईरहेका थिए । कुहुकुहु कोईलीको नाम निशाना मेटाई गोला, बन्दुक र बारुदको आवाज घनकाउदै थिए । हरियो वन नेपालको धन तर गोला, बारुदबाट निस्किएको आगो सल्किदै थियो । रोधीं बस्दै माया साट्दै दाउरा घाँस गोठाला गर्न गएका जोडीलाई परिवर्तनको अभियानमा जङ्गलबाट नै बेपत्ता बनाईदै थिए । हरेक आमाको काख रित्ताउदै थिए । सुन्दर भविष्यको रङ्गिन सपना बुनेर घर देखि टाढिएका हाम्रा दाजु भाईका जिवन सङ्गिनीहरुको सिउँदो उजाडिदै थियो । हत्या, अपहरण, बम, गोली, बन्द, मार–पिट, बलात्कार, शोषण जस्ता जघन्य अपराध सामान्य र दैनिक कार्य जस्तो भैइरहेको थियो । तर आखिरी शिकार हामी जस्ता सोझा सिधा जनता थियौं ।
    त्यस दिनपनि अज्ञात समुहले एक यात्रु वाहक गाडीमा बम बिस्फोट गराएछन् । सयौको हाराहारीमा सोझा सिघा जनताले ज्यान गुमाएछन् । त्यसैको विरोधमा अगाडी बन्द थियो । बिस्तारै हजारौं यात्रुहरुको लाईन लाग्यो, यात्रामा शितल हावा पस्किरहेको त्यो जङ्गल अचानक उकुस मुकुसको तातो र दुर्गन्धित हावा लिएर आयो । गर्मीले गर्दा सबै यात्रुहरु सडकमा उत्रीदै लाखापाखा भए । लामो समय सम्म गफमा व्यस्त त्यी महिला तातो हावाको कारण उकुस मुकुस त भईन तर गाडीबाट निक्लने आँट गरिनन् । सबै जसो बाहिरिएका थिए । मैले उनलाई बहिर जाउँ भने तर उनी मानिनन उ त्यहाँ अर्काे दाई पनि पनि हुन्हुन्छ । भैगो यही बसौं । त्यतिबेलासम्म मेरो दृष्टिकोण र बुझाई उनि प्रति फरक थियो । उनलाई हेर्ने नजर फरक भईसकेको थियो । म उनका हरेक कुराबाट प्रभावित थिए तर उनले दाजु पनि हुन्हुन्छ, म यही बस्छु, तपाई जाने भए जानोस् भने पछि म अचानक परिवर्तन भए । उनी प्रति थोरै नकारात्मक सोचें । म त जान्छु यो गर्मीमा गाडीमा बस्न सक्दिन । म बाहिरिए । सडकमा नै रात बित्यो । बिहानीको मिर्मिरे आगमन हुन थाल्यो, सुनौला सुर्यका किरणले धर्तीमा आफ्नो राज बसाई सक्यो, बिस्तारै यात्रुहरुको भिड अनि हल्लाखल्ला छायो । यात्रुहरु नै जबर्जस्ती गाडी गुडाउन थाले, यात्रुहरुको त्यो किसिमको साहसले ५ घण्टा पछि यात्रा अगाडी बढाउन सफल भयौ ।
यात्रा अगाडी बढिरहेको थियो । करिब ३ घन्टा पश्चात गाडी रोकियो । गाडी अगाडी बढ्न सकेन आ– आफ्नो गन्तव्यमा समयमा नै पुग्न नपाएका करण चिन्तित यात्रुहरु फेरि आक्रोश पोख्न थाले तर यात्रुहरु विफल भए । किनकि बेलुका अज्ञात व्यक्तिहरुबाट सडक बन्द गरिएको थियो भने त्यस बेला सरकार पक्षबाट बन्द थियो । अज्ञात व्यक्तिहरुको खोजीका लागी यातयात बन्द गरेको कुरा सुन्नमा आएको थियो । हरेक यात्रुहरु आ–आफ्नो काम लिएर हिंडेका हुन्छन, सिमित समयको लागी तर हाम्रो देशमा गुडीरहेको गाडी अचानक रोकिन्छ । अनि भनिन्छ २ दिन ३ दिन ४ दिन बन्द । जनताको सेवामा खटिएका ति आर्मी प्रहरी पनि उल्टै बन्दबाट बिचल्लि भएका सडकमा उत्रिएका यात्रुहरु माथि अन्धाधुन्ध मारपिट गरिरहेका थिए । तर पनि यात्रुहरु प्रहरीलाई दबाब दिई आफ्नो गन्तव्य तिर लाग्नको लागी हर प्रयास गरिरहेका थिए । हामी गाडीमा थियौ ३ जना मात्र । म, उनी र हिजो बेलुका जुन मान्छेलाई म शंका गरिरहेको थिए उहाँ । वास्तवमा उ दृश्टिविहिन रहेछ । उसलाई जाडो, गर्मी, हल्ला–खल्ला थाहा छ तर के भईरहेको छ देख्न सक्दैन त्यसैले ऊ गाडीबाट जहाँ पयो त्यहीँ जान पनि सक्दैन । विहानको खाना खाने समय भयो । तर हामी शहर देखि केही दुरी टाढा थियौं । सबै यात्रुहरु हिंडेर भए पनि खाना खानको लागी होटल तिर अगाडी बढिरहेका थिए । त्यसो त मलाई पनि भोक लागीरहेको थियो । होटल जाने तरखरमा थिए । मैले ति महिलालाई संगै खाना खान जान आग्रह गरे उनी केही छिन पछि जाउँला भनिन । म भोक लागेको छ गए है भन्दै होटल तिर लागे । म पनि टाढा पुगिसकेको थिए पछाडी फर्के । जसरी म फुरुक्क फुर्केर एक्लै आएको थिए तर ति महिला एक्लै आईनन गाडीमा हामी संगै यात्रा गर्ने ति दृश्टि बिहिन दाजुलाई पनि लिएर आईन । गाडीबाट ओर्लदा होस या होटलसम्म आईपुग्न होस उनले धेरै सहयोग गर्दै ल्याईन । एक हातले त्यो दाजुलाई डोर्याउदै त एक हातले आफ्नो अनि उही दाजुको सामान झुन्डाउदै होटल सम्म आई खाना खाँदा र अरु समयमा पनि धेरै सहयोग गरिन । सायद यस्तो माया, मोह र ममता आफ्नो परिवारमा मात्र सिमित हुन्छ ।
    यात्रा न हो अचानक उसलाई दिशा पिसाब लागेछ । ति महिलालाई ठुलो संकट प¥यो । यात्राकै क्रममा चिनजान अनि गफ गाफ भएरै होला मलाई चर्पिसम्म लगिदिन अनुरोध गरिन । वास्तवमा उनको अनुरोध भन्दा पहिले मैले सोच्न पर्ने कुरा हो तर पनि म उनको आग्रह स्वीकारदै उसलाई चर्पि लगेर ल्याईदिएँ । होटल देखि गाडी सम्म आउन भने उनले नै सहयोग गरिन । उनी उसलाई एक आमाले आफ्नो बच्चालाई गर्ने माया भन्दा कमिको माया दिईरहेकी थिईनन, लामो पर्खाई पछि बेलुका ५ बजे गाडीहरु फटाफट छुट्न थाले, हामी पनि यात्रा आगाडी बढायौं । करिब रातको नौ बजे तिर हामी कलंकीमा पुगेछौ सबै यात्रुहरु झरे । म पनि त्यस ठाँउबाट अर्को गाडीमा यात्रा गर्नु पर्ने थियो । अनि ति महिला पनि त्यही बिसौनिमा ओर्लिन थालिन केही बाँकी यात्रु र ति दृष्टिबिहिन दाजुको यात्रा भने सोही गाडीमा बाँकि थियो । उसंग जति छुट्न गाह्रो भएको थियो त्यति नै मसंग सजिलै छुटिन । उनी गए पछि म उनको बारेमा धेरै सोचे र नारी महानता गाउन थाले । साँच्चै नारी धर्ति माता हुन, नारी शहनशिल हुन्छिन, अरुको लागी आफु सुम्पिन पनि तयार हुन्छिन । त्यसैले मैले गाएँ नारी नारी हुन, नारी आमा हुन, नारी श्रृष्टिकर्ता हुन । सबै नारीहरु त्यस्ता हुन्छन् होला ? हामी पुरुषहरु नारीलाई सम्मान गर्न पनि कन्जुस्याई किन गर्छाै होला ? धेरै प्रश्नहरुको उत्तर मैले आफै पाउन सकिन । त्यो अविश्मरणीय यात्राको आज पनि त्यतिकै सम्झना छ । दृष्टिविहिन ब्यक्ति बसमा देख्दा र बाटोमा हिड्दा ममा आएको परिवर्तनमा सायद तिनै महिलाको प्रभाव होला । सबै ब्यक्तिमा त्यस्तो सोच आवस । यात्राको रमाईलो र अनुभुतिले दिएका थुप्रै सन्देशहरुले मलाई जीवनमा धेरै कुरा सिकाएको महसुस भएको छ । 
मदन काफ्ले
विराटनगर, हाल बनेपा