2026 April 30/ 01:27: 09pm

    कहिलेकाँही मलाई जन्म दिनु हुने मेरी ९० वर्षीय आमासँग दिनभरी बसेर सुख दुःखका कुरा गर्न मन लाग्छ । म थाकेर घर पुग्दा मेलो बा आईस्यो भन्दै दुगुरेर मलाई समाउन आउने मेरो सानो नातीसँग खेल्न मन लाग्छ । डेढ दशक अगाडी दुई जना जवान छोराहरु गुमाएका कारण आफ्नो मुटु चिराचिरा भए पनि सँधैभरि अरुको भलो चिताई रहने मेरी श्रीमतीलाई साथमा लिएर कहिलेकाँही घुम्न जाँउ र उनको मन बहलाऊँ जस्तो लाग्छ । समय निकालेर वर्षको दुई चार चोटी छोरा बुहारी लगायत सम्पूर्ण परिवार एकै साथ कुनै मठ मन्दिर, कुनै सरोवर, कुनै सम्पदा घुम्न जान पाए हुन्थ्यो जस्तो लाग्छ । अमेरिकामा तीन वर्ष अगाडी जन्मिएको नाती भेट्न जाने फुर्सद पाएको छैन । नातिनी नभेटेको ६ वर्ष भईसक्यो । छोरी ज्वाइँ भेट्न नपाएको पनि पनि लामो समय भई सकेको छ । हाम्रा ईष्ट, आफन्त, दाजुभाई, दिदीबहिनीहरु सबैजना विष्णुलाई नातागोताले पुगेछ । घमन्डी बन्यो, हाम्रो नजिक आउन छाड्यो भन्छन् रे ! 
    वितेको चौध वर्षमा मुस्किलले निम्तो आए मध्येबाट दशवटा विवाह, व्रतबन्ध लगायत शुभ कार्यमा पुगें हुँला ! त्यो पनि मुख देखाएर फर्कि हाल्थें । १३÷१४ वर्ष अगाडी करोड बराबर ब्यालेन्स देखिने मेरो बैंक खातामा आजकल हजारमा रहेको छ । यतिबेला न मसँग कुनै दिन आफूले शुरु गरेको ड्रिम प्रोजेक्ट स्वरुप पाँचखालमा निर्माण भईरहेको सुन्दर रिसोर्ट नै छ । न राम्रो कमाई गर्दै आएको सुवान टुर्स बाँकी छ । दश बर्ष पहिले महिनामा एक लाख भन्दा बढी कमाई भई रहेको लक्ष्मीको पसल समेत बाँकी छैन । १५÷२० वर्ष अगाडी म घर जग्गा कारोबारमा लगानी गर्थें अहिले मेरो त्यो क्षमता शून्य भैसकेको छ । मैले ईच्छा गरेको भए दुई दशक अगाडीबाट नै अमेरिकामा बसोबास गरेर कमाउन सक्थें हुँला ? उतिबेला म जवान पनि थिएँ, म भित्र महत्वकांक्षा पनि थियो । अवसर प्राप्त नभएको होईन तर मलाई बस्ने ईच्छा भएन । किनकी मलाई मेरो सालनाल गाडिएको मेरो मातृभूमिको माटोको सुगन्धले तानी रहयो । जता पुगे पनि आफ्नै देशको मायाले मलाई जन्मभूमि फर्किन र यही केही गर्न प्रेरित गरिरह्यो । गरे आफ्नै देशमा हिरा–मोति फलाउन सकिन्छ भन्ने मान्छे म, त्यही भएकोले होला देश भित्रै व्यापार व्यवसाय गरेर आफूसँग भएको धनलाई तरलीकरण गर्न लागि परेको थिएँ । लगानी अनुसार धन आर्जनमा पनि सफलता हात लाग्दै थियो । 
    अचानक चौध वर्ष अगाडी भएको दुईवटा फरक फरक दुर्घटनामा परी ९ महिनाको अन्तरमा दुई जवान छोराहरुले अकालमा ज्यान गुमाउन पुगे । तत्पश्चात् हामीलाई लाग्न थाल्यो सर्वसम्पन्न हुन भाग्यमै लेखेर ल्याउन पर्दो रहेछ । किनभने हाम्रो जीवनको रंग हाम्रा मुटुतुल्य दुई सन्तानको आत्मासँगै उड्यो र हामीले कठोर संघर्षले प्राप्त गरेका सबै उपलब्धिहरु क्रमशः बिलिन हुँदै गए । दुई जवान छोराहरुको मृत्युको पीडाले दिएको पिडाले हामीलाई अत्यन्तै गहिराइमा पुगेर सामाजिक कार्यहरु गर्न अभिप्रेरित ग¥र्यो । हामीले शुरु गरेका सामाजिक अभियानहरुले हामीलाई आफू जिउने आधार प्राप्त भएको लाग्न थाल्यो । सामाजिक कामले हामीलाई आत्मसन्तुष्टि प्राप्त भएको अनुभूति भएको छ । आर्थिक अवस्थाले विपन्न व्यक्तिका व्यक्तिगत समस्या देखि लिएर उनीहरुको स्तरोन्नति गर्न हामी संस्था मार्फत मन, बचन र कर्मले काम गरिरहेका छौं । बेला–बेलामा घट्ने विभिन्न घटनाहरु लगायत दैविक विपत्तिले थिल्थिलो पारेका बस्ति बस्तिमा पुगेर उद्दार, उपचार, राहत देखि उनीहरुको बासस्थानका लागि घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गर्न समेत हामी सफल भएका थियौं । 
    चितवनको कान्दामा बस्दै आएका चेपांगहरुका लागि घर निर्माण गरिदिने देखि त्यहाँ भएका बालबालिकाको शिक्षाको लागि कुमार बलराम स्मृति छात्रावासमा निःशुल्क सेवा व्यवस्था गरेर निरन्तरता दिई रहेका छौं  । प्रतिष्ठान मार्फत देशका केही विद्यालयका भवन समेत निर्माण गर्न सफल भएका छौं । गाउँ गाउँ छिरेर आँखा शिविरहरु संचालन गर्दै हजारौंलाई निःशुल्क शल्यक्रिया सेवा समेत पु¥याउन सफल भएका छौं । आफूले जस्तै कुनै पनि बुबा आमाले बिच सडकबाट आफ्नो सन्तानको लाश उठाउन नपरोस् भन्ने सोचाई राख्दै सडक सडकमा पुगेर सवारी सचेतनाका कार्यक्रम पनि नियमित रुपमा संचालनमा ल्याएका छौं । लक्ष्मी प्रतिष्ठान मार्फत हजारौं युवाहरुलाई स्वरोजगार बनाउने अभिप्रायले विभिन्न सीप प्रदान गर्ने देखि लिएर अति नै कष्टकर जीवन बिताईरहेका चितवनका सिमान्तकृत चेपांगहरुको जीवन र समग्र कान्दा रुपान्तरण गर्न सफल हामी अहिले आएर त्यस्तो दुर्गम गाउँमा पुगेर स्थानीयको जीवनस्तर उकास्ने कामका साथै गाउँभरीका बालबालिकाहरुलाई छात्रावासमा निःशुल्क राखेर उनीहरुलाई छाना, खाना, नाना, शैक्षिक मसलन्दका साथै उपचारको पनि व्यवस्था गर्दै गरेका छौं भन्दा गर्व महसुस हुन्छ । कान्दास्थित विद्यालयमा आधारभूत तहसम्म मात्र पढाईने भएको हुँदा उनीहरुलाई माध्यमिक तहको शिक्षा सँगसँगै प्राविधिक सीप समेत प्रदान गरी स्वालम्बी बनाई उनीहरुको स्तर र अवस्था सुधार गर्ने सोचाईका साथ काभ्रेस्थित हाम्रो पुख्र्याैली थातथलोमा अर्को छात्रावास निर्माण गरी संचालन गर्दै आएका छौं । आठ वर्ष अगाडिबाट शुरु गरिएको यो शैक्षिक अभियानबाट बाह्र कक्षा उत्तिर्ण गरी आगामी वर्षबाट छात्रावासबाट बाहिरिने बालबालिकाले शिक्षा, सीप र केही आर्थिक श्रोत समेत आर्जन गरेर बाहिरिने छन् । हाम्रो संरक्षकत्वमा बसेर प्राप्त गरेको शिक्षा, सीप र श्रोतले उनीहरुको समुदायको अवस्था रुपान्तरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ र त्यो नै हाम्रो मनलाई मल्हम लगाउने दिगो उपाय हो भन्ने हाम्रो बुझाई रहदै आएको छ । दशवर्ष अगाडि कान्दामा शुरु गरिएको यो पवित्र अभियानमा हामीलाई हजारौं मनकारी दाताहरु र सहयोगीहरुको साथ, सहयोग, माया र सद्भाव रहँदै आएको छ । सयौं सदस्यहरुको अतुलनीय योगदान रहेको छ । यो अभियानमा सहयोग पु¥याउनु हुने सबैप्रति कृतज्ञता ज्ञापन गर्दछु । हुन त निरन्तर गर्न खोजिएको यो अभियानले हाम्रो मन भित्र प्रश्न चिन्ह खडा गरेको छ । के यो अभियान निरन्तर यसरी नै सम्भव होला त ? साधन र स्रोत कमी हुँदै गएका हामीलाई हिजोआज सोच्दै डर लाग्न थालेको छ । किनकी अब हामी आर्थिक रुपले खोक्रिई सकेका हामी अब संस्थाको ब्याकअपको रुपमा रहने क्षमता राख्न सक्ने अवस्थामा छैनौं । हामी व्यक्तिगत रुपमा निकै खस्किसकेका छौं । नियमित दैनिकी र सामान्य खर्च चलाउन समेत हामीलाई धौ–धौ भैसकेको यथार्थ मैले सबैलाई अवगत गराउनै पर्ने हुन्छ । 
    बाह्र तेह्र वर्षको अन्तरालपछि मैले हिजोआज मेरो ब्यक्तिगत खर्च चलाउन र बिमाको प्रिमियम तिर्न पनि नेपाल लाईफ इन्सोरेन्स कम्पनीबाट ऋण लिनुपर्ने स्थितिमा पुगेको छु । यतिबेला हामीलाई असाध्यै थाकेको र हारेको महसूस हुन थालेको छ । त्यसैले बढ्दो उमेरसँगै हामीलाई हामीले आफूले उठाएको कान्दाको मुद्दा सम्पन्न गरेर लक्ष्मी प्रतिष्ठानद्वारा संचालित कुमार बलराम स्मृति छात्रावाससँग भएको सम्पूर्ण जायजेथा समुदायलाई वा राज्यलाई बुझाउने सोचाई बनाउँदै छौं । प्रकृयाको लागि केही वर्ष लाग्न सक्छ । हस्तान्तरणको लागि हामीसँग भएको सम्पत्ति अहिलेको भाउमा करोड भन्दा बढिको रहेको छ । हजारौं जनाको पसिनासँग जोडिएको यो सम्पत्ति कतैबाट दुरूपयोग हुनुहँदैन भन्ने मान्यता रहेको छ । त्यसो भयो भने मात्रै हाम्रा छोराहरुको आत्माले शान्ति पाउँछ र हामीलाई चैन मिल्ने छ । यदि त्यो संभव भयो भने जीवनको उत्तराद्र्धमा म मेरो आफ्नो परिवारसँग आनन्दले बस्न पाउनेछु । मोबाइल अफ गरेर सुखले निदाउन सक्नेछु । मानिसको जिन्दगी अचम्मको रहेछ ।

कतै दुःखको सागर रहेछ !
कतै खुशीको शिखर रहेछ !
जीन्दगी त जित्नेको हाँसो !
हाँसो र हार्नेको आँशु आँशु रहेछ !
समग्रमा भन्नु पर्दा जिन्दगी केबल दुःख सुखको पुलिन्दा रहेछ ।

विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान