रुढीवादी कुराहरुको विश्वासमा समाजमा अनेकखाले घटनाहरु समेत हुने गरेका छन् । पुस्ता हस्तान्तरण, प्रविधिको विकास, मानव सभ्यतासँगै भएका विकासले मानव चेतना प्रशिक्षित हुन समय लाग्दो रहेछ । पहिले पहिले बोलिने भाषाहरु पनि त्यस्तै हुन्थे । सबैको मुखमा त्यस्तै शब्दहरुको वर्षा हुन्थ्यो । विस्तारै ऐन कानून निर्माण हुँदै गयो । राज्य र कानून नै नहुँदा धार्मिक ग्रन्थहरुका आधारमा समाजलाई अगाडी बढाउने एउटा अभियान मानव विकाससँगै परिवर्तन भएको थियो । राज्य भयो । कानून बन्यो । कानूनहरु पनि समय अनुसार परिवर्तन हुँदै गए । मान्छेका मनहरु परिवर्तन भएका छन् । परिवर्तित मनहरुले चाल्ने कदमहरु पनि फरक फरक हुँदा रहेछन् ।
समाजको आवश्यकता र चाहना अनुसार कानूनका परिभाषा लगाउन थालियो । पुरानै अभ्यास र कानूनका बारेमा ज्ञान नहुनेहरुलाई अझै यस बारेमा अभ्यस्त हुन बाँकी छ । नयाँ परिवेश र संविधानले जनतालाई थप अधिकार प्रत्यायोजन गरेको छ । अधिकार उपभोगका लागि कानूनहरु पनि निर्माण भएका छन् । मौलिक हकको संरक्षणका लागि सरकारले निर्माण गरेका कानूनहरु ब्यवहारमा देखिन थालेका छन् । लोकतन्त्रमा छाडातन्त्र मौलाउँदै गएको छ । विशेषगरी २०६२÷०६३ को जन–आन्दोलन पछि मुलुकमा धेरै खाले संर्घष र अधिकारका आन्दोलन भए । राज्यको पुर्नसंरचनासँगै त्यस्ता अधिकारहरु संस्थागत भए । कुप्रथा र कुसंस्कृतिको अन्त्य पनि हुँदै गयो । अहिलेको पुस्ता त्यस्तो मान्न तयार छैनन् । तर पनि समाजमा त्यस्ता कुराले गाँजेको छ । अझ भुकम्प गए पछि त्यस्ता केहि घटनाहरुले समाजमा अस्थिरता र अराजकता फैलायो । श्रम र मजदुरीका लागि मान्छेहरु घरबार त्याग्न थाले । भुकम्पका कथा धेरै छन् । सशस्त्र युद्ध र त्यहि बेलाको आन्दोलनले समाजका केहि कुरीतिहरुको अन्त्य गरायो । जातभात, छुवाछुत सम्बन्धी भएका हेपाईहरु क्रमशः अन्त्य हुँदै गए । जातका नाममा अहिले खेति फस्टाईरहेको छ । जातीय अधिकारका नाममा दुरुपयोग पनि भएको छ । तर यहि जात हो यसले यस्तो गर्नु हुँदैन भन्ने चेतना अब सकिएको छ । सबै मान्छे एउटै हुन् । महिला र पुरुषको मात्रै जात छ । कम्युनिष्टहरुले पनि धेरै यहि कुरालाई उचाल्दै आएका थिए । मुलुकमा अहिले कम्युनिष्टहरुकै शासन छ । शासनमा बसेकाहरुले पनि सत्ताको बागडोर सम्हाल्दा जनता र राष्ट्रको सेवालाई पहिलो प्राथमिकतामा राखेका छन् । सधै जनताले जित्ने र जनताकै पक्षमा हुने शासन र कानून बनुन । जसले कार्यान्वन गर्छ उसलाई पनि दबाब भन्दा पनि स्वतन्त्र भएर कानून कार्यान्वयन गराउने वातावरण बनोस् । कोरोनाले मान्छेहरुलाई झन् टाढा बनाएको छ ।
सबैका शत्रु र मित्रु स्वभाविक नै हुन् । आफ्नो गरेर खाएको देख्न नसक्नेहरु पनि छन् । एक दुई दिन सामान्य झगडा हुँदा त मैले केहि भनेकै थिईनँ । हरेक दिन मान्छेले मान्छेलाई गर्ने ब्यवहार फरक हुन थालेपछि समाजमा कसरी बस्न सक्छ र ? उमेरले ७५ वर्षको भई सकेको छु । घरले जा–जा र बनले आईज आईज भन्ने उमेरमा मैले कसको कुभलो चिताउनु । सरकारले जेष्ठ नागरिकहरुका लागि ल्याएको ऐन कार्यान्वयन नहुँदै हामी पीडित बन्न पुगेका छौं । जेष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षा भत्ता, उपचार भत्ता, सवारी साधनमा छुट तथा अन्य विषयमा राज्यले दिएका सुविधाहरुले हामीलाई सहज बनाएको छ । कार्यान्वयनमा कठिनाई छ । केहि ब्यक्तिलाई परिवारकै सदस्यबाट भएको अन्याय र अत्याचारका बारेमा बोल्न सक्ने अवस्था छैन । म त्यस्तै अन्यायमा परेको ब्यक्ति हुँ । कानूनले न्याय दियो । न्याय दिन सक्रिय ब्यक्तिहरुलाई धन्यवाद दिन चाहन्छु । तर पनि मैले पाएको मानसिक यातनाको क्षतिपूर्ति र सामाजिक रुपमा पाएको बदनाम कहिल्यै फर्केर आउँदैन । मलाई त प¥यो प¥यो अरुलाई यस्तो नपरोस् । उनी ५८ वर्षका रहेछन । २०७१ असार ३ गते ३ गते बिहानको समय थियो । अन्दाजी झिसमिसेमा विहानको साँढे ४ बजेका थियो होला । कोलाँती गाविसमा बसोबास छ । मलाई बोक्सी भनी बोक्सीको आरोप लगाई गाउँमा बस्न दिनु हुँदैन, यसले दिएको र छोएको केही खानु हुँदैन, खायो भने मान्छे मर्छ, तँलाई मारेर गाडे पनि कोही कसैलाई थाहा हुँदैन भन्ने जस्ता अपशब्द तथा गालीगलौज गरी अमानबिय तथा अपमान जनक ब्यबहार गरे । मैले केहि समय उनको कुराको प्रतिवाद गर्न खोजें । तर उनका अगाडी मेरो केहि सिप लागेन । अहिलेको समयमा पनि बोक्सी हुन्छ र ? बोक्सी भएकै कारण मैले कसको कति के बिगार गरें ? यस्ता धेरै प्रश्न उनलाई तेस्र्याएँ । तर पनि उनले त्यसको कुनै परवाह गरेनन् र मलाई एकोहोरो गाली मात्रै गरिरहे । त्यो असह्य पीडाले मेरो मन धेरै रोयो । अहिलेको समयमा पनि यस्तो आरोपबाट बाँच्नु पर्दा कसलाई पीडा नहोला र ?
त्यसपछि मैले घर सल्लाह गरें र उनलाई कानून अनुसार कारवाही माग गर्ने निर्णय गरें । सोहि ब्यहोराको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता गराएँ । बुढो उमेर हुँदै गएपछि लाग्ने आरोप र अपमान जनक ब्यवहारले मान्छेको मन कस्तो होला ? कसलाई मर्नु पर्दैेन ? कसले लिएर आएको छ आजीवन बाँच्ने बुटी ? अनि मान्छेले बोक्सो लागेर अहिलेसम्म नेपालमा अर्थात विश्वमा कति मान्छे मरेका छन् ? अझ पशुपंक्षी कति मरे ? यस्ता प्रश्नको जवाफ कोसँग हुन्छ ? भैंसीले दुध कम दिनु, मान्छे विरामी पर्नु्, बालबालिका विरामी पर्नु कुनै बोक्सीको कारण हुन सक्ला र ? के हो बोक्सी भनेको ? मैले जाहेरी दिएपछि मेरो घरमा आएर प्रहरीले मुचुल्का समेत तयार ग¥यो । मुचुल्कामा भएको घटनाको जस्ताको त्यस्तै ब्यहोरा उल्लेख गरिएको थियो । प्रहरीले मेरो सहयोगका लागि तत्काल प्रहरी टोली पठाएको थियो । यस्तो भन्ने र गर्ने ब्यक्तिलाई कानून अनुसार कारवाही हुन्छ भन्ने कुरा मैले थाहा पाएपछि प्रहरीलाई खबर गरेको हुँ । हामी जेष्ठ नागरिकहरुलाई यस्तो अपमान र ब्यवहार भईरहेको छ भने तपाईहरु पनि कानूनको सहायतामा न्याय पाउन सक्नुहुन्छ । यो घटना आज मलाई परेको छ । भोली तपाईहरुलाई पनि पर्न सक्छ । सबैका घरमा जेष्ठ नागरिक हुनुुहन्छ । उमेर ढल्कँदै गएपछि जब काम गर्न सकिदैन अनि सबैको झिजोझर्काे हुन जाँन्छ । सम्पत्तिका लागि केहिले अभिभावकलाई नै घरबाट निकालेका घटना सुनिन्छन् । सम्पति हुँदा र नहुँदा पनि फरक छ । त्यहि कारण राज्यले दिएको सुविधा हामीले उपयोग गर्नु पर्छ । कतिपय स्थानमा त्यो रकम पनि उनिहरु आफैले प्रयोग गर्न पाएको अवस्था छैन । मान्छे भित्रको मानवता हराएपछि सबै घटना हुँदा रहेछन् । मान्छे भित्रको हरी जब सकिन्छ तब मान्छेले गर्ने कुकर्म शुरु भयो । मलाई जसले बोक्सी भन्यो उसले पनि घटनालाई यसरी स्विकारेको अवस्था थियो । ‘म बिगत १५÷१६ बर्षदेखी नै झारफुकको काम गर्छु । घरायसी बिषयमा विवाद भएका कारण हाम्रो बोलचाल छैन । उनले प्रायजसो मेरो बारीको बाटो हुँदै हिड्ने हुँदा मलाई रिस उठ्यो । २०७१ असार ३ गते बिहान म उनको घरमा गई मेरो बारीमा किन हिडेको अबदेखी नहिड भनेको हुँ । उनी मसँग झगडा गर्न आईन् । रिसाएर मलाई कराउन थालिन् र मलाई एक्कासी तँ झारफुक गर्ने बोक्सा त हो नि भनी मलाई भनेपछि मलाई रिस उठी तँ पनि बोक्सी हो भनेको हुँ, मैले उनलाई अन्य कुनै अपशब्द तथा उनले भनेजस्तो अमानवीय तथा अपमानजनक ब्यबहार गरेको छैन । सोही बिषयलाई लिएर म उपर बोक्सीको आरोपमा उजुरी दिएकी हुन् । मलाई र उनलाई एकै प्रकारको कारवाही होस् । रिसको आवेगमा भनिएको कुरालाई उनले मुद्धा बनाईन् भने मैले किन नबनाउने ?’ उनले आफु कानूनको कठघरामा परेपछि यस्तो भनेका थिए । त्यस्तो कुरा थिएन । म उनको बारी हुँदै हिड्ने गरेको हुँ । बर्षाै देखि हिडी आएको बाटो उसले प्रयोग नगर भनेर भन्न मिल्छ ? कानूनले समेत बाटो उपयोग गर्न रोकेको अवस्था छैन । देख्ने सुन्नेहरु सबैले उसले गरेका अभद्र ब्यवहारका बारेमा जानकारी दिन्छन् । बोक्सीको आरोप लगाई गाउँमा बस्न दिनु हुँदैन, यसले दिएको र छोएको केही खानु हुँदैन, भन्ने जस्ता विभिन्न अपशब्द तथा गालीगलौज गरी अमानविय तथा सामाजिक मर्यादा बिपरीतका कार्य गरेको भनी जाहेरी दरखास्तका आधारमा घटनास्थल मुचुल्का घटना विवरण कागज तथा प्रतिवादीले गरेको बयान कागजबाट उक्त कार्य बोक्सीको आरोपको वारदात पुष्टि भएको प्रहरीको ठहर थियो । प्रहरीले उक्त मुद्दामा प्रतिवादीलाई अमानवीय तथा अपमानजनक व्यवहार गरी सामाजिक मानमर्यादाको साथै आत्मसम्मान समेतमा चोट पु¥याएकाले बोक्सीको आरोप (कसुर र सजाय) ऐन अनुसारको कसुर अपराध गरेको पुष्टि भएकाले सोही ऐन बमोजिम दण्ड सजाय हुन र सोही ऐन बमोजिम उचित क्षतिपूर्ति समेत दिलाई भराईदिने माग दावी गरेको थियो ।
अदालतले मलाई न्याय दिएको छ । त्यसपछि मसँग उनी नबोले पनि त्यस्तो आरोप लगाएका छैनन् । तर पनि उनले लगाएका बचनले दुखेको मन कम भएको छैन । दुखेको मन कसरी सिलाउने ? कसरी मल्हम लगाउने ? आफन्त नजिक नहुनु र पराई नजिक हुनु राम्रो होईन । अहिलेका समयमा धामीझाँक्रीको कुरामा कति सत्यता होला । हुन त हाम्रो पालामा त्यहि कुरा महत्वपूर्ण थियो । आवश्यक पनि थियो । विश्वास पनि थियो । तर अहिले समय बदलिएको छ । बदलिएको समय अनुसार हामी चल्न सकेनौ भने मन फाट्छ । फाटेको मन जोड्ने अरु कुनै उपाय हुँदैन । उपाय भनेको कानून हो । तपाईहरुलाई पनि यस्तो भएको छ भने कानूनको सहायता लिनुस् न्याय पाईन्छ । कसैले पनि यस्तो कु–प्रथाको विश्वास नगर्नुस् ।
सुन्तलीमाया खरेल
हालः भक्तपुर





