सिन्धुपाल्चोक जिल्लाको दुर्गम गाउँमा मेरो जन्म भयो । बुबा आमाले धेरै माया गर्ने सन्तान मध्ये म पर्दथें । चार दाजुहरु र तीन दिदीहरु पछिको म । घरभरी भैंसी र बाख्रा हुन्थे । दिनभरी भैंसीहरु लिएर जंगल जाने र साँझ मात्रै फर्कने नियमित चलन नै थियो । के को विद्यालय हुनु र अध्ययन गर्नु ? सबैको नियति नै त्यहि थियो । दाजुहरु अलिक ठुला भएपछि कोहि शहर गए । कोहि घर तिरै हाम्रै शैलीमा भैंसी पालन गरेर बसे । जंगलमा के उम्रन्छ र ? कहिलेकाँहि हामी शहरमा गाउँमा हुने सिमीहरु लिएर आउने गरेका थियौं । १३ वर्षको उमेरको थिएँ होला बुबाले काठमाडौंसम्म जाने कुरा गर्नुभयो । बाटोमा बास पर्दा भोक लाग्छ भनेर हामीले घरबाटै मकै बोकेर आएका थियौं । मैले काठमाडौ शहर देखेको थिइनँ । काठमाडौंमा हिड्न लहरीहरु पनि देखेको थिइनँ । मैले पहिलो पटक चढेको लहरी अझै सम्झन्छु । केहि दिनपछि हामी गाउँ फर्कियौं । केहि कपडाहरु र घरमा चाहिने नुन हामीले बोकेका थियौं । सायद दशैं नजिकिदै थियो होला । तेलहरुका लागि हामीलाई कहिल्यै समस्या भएन । बारी मात्रै थियो । खेतको त कल्पनै नगरौं । मैले भात देखेको र खाएको १५ वर्षको उमेरमा हो । त्यो पनि दाईहरु काठमाडौमा जानु भएको थियो ।
दाई काठमाडौंमा घरेलु श्रमिकका रुपमा कार्यरत हुनुहुनथ्यो । त्यहि काम गर्दै जाँदा उहाँलाई शाही नेपाली सेनामा लगिएको रहेछ । त्यहाँ खाना पकाउन लैजाँदा लैजादै उहाँलाई पनि त्यताबाटै तलब दिन थालेछ । धेरै पहिलाको कुरा हो । पहिलो पटक काठमाडौबाट दाईले लगेको चामलबाट भात खाएका थियौं । त्यसपछि हामीलाई पनि चाडवाडमा भात पकाएर खाने लोभ जाग्यो । हामी बुबालाई त्यहि भन्थ्यौं । घरमा घिउ धेरै उत्पादन हुन्थ्यो । त्यसकै भुटन खाने हो । विक्री गर्ने चलन थिएन । हामीले बुबालाई अनुरोध ग¥यौं उत्पादित घिउ सबै लगेर बेचौ र चामल किनेर ल्याउँ । चाडबाडमा मात्रै भए पनि भात खाउँ । नत्र मकै मात्रै हुने हो । हिउँदमा अलिअलि गेडागुडी हुन्थ्यो । विस्तारै दाईहरु एक पछि अर्काे गर्दै शहर जान थाल्नु भयो । घरमा हामी केहि मात्रै भयौं । दिदीहरुको विवाह भैसकेको थियो । उतिबेला विवाह पनि सानै उमेरमा हुन्थ्यो । दिदीहरु सायद ९÷१० वर्षको हुनुहुन्थ्यो होला । दाईहरु सबै घर छाडेर हिडेको भएकाले मात्रै मेरो १३ वर्षको उमेर हुँदा समेत विवाह भएको थिएन । तर पनि बुबा आमाले त्यहि केटा तिम्रो लागि हो भनेर भनिसक्नु भएको थियो । नभन्दै त्यहि केटासँग मेरो विवाह भयो । गाउँ छाडेर शहरमा नोकरी गर्ने कुरा भयो । म घर ब्यवहार सम्हाल्ने उनी नोकरीमा जाने । केहि वर्ष उनि काठमाडौ गएर काम गरे । नोकरीबाट बिदामा घर आउँदा केहि पैसा ल्याए पनि ।
२५ वर्ष जति अघिको कुरा हो । उनि काठमाडौ गए तर आज सम्म फर्किएका छैनन् । जहाँ नोकरी गरिरहेका थिए त्यो घरबाट उनलाई चोरीको आरोपमा जेल पठाइएको रहेछ । सायद कसले चो¥यो उनैलाई थाहा भएनछ सरकारी रकम चोरी गरेको भन्दै प्रहरीले उनलाई १० वर्ष कैद सुनाएको रहेछ । उनी सरकारी कर्मचारी पनि थिएनन् । मैले पछि मात्रै बुझें जहाँ उनि नोकरी बसेका थिए त्यहि घरको मान्छेले पैसा चोरेर मेरो श्रीमान्लाई उसको सट्टामा जेल पठाएको रहेछ । उनी काम गरेको घर खोज्दै जाँदा मात्रै त्यो रहस्य खुल्यो हामी गरिब र निमुखाहरुको पक्षमा बोलिदिने को ? रुँदै घर आएँ । माईतीमा बुबा आमालाई त्यो कुरा सुनाएँ । घरमा देवर जेठाजुहरु पनि थिए । सासु ससुरा हेर्नु पर्ने मेरो दायित्व थियो । ढिलो गरी विवाह गरेको मेरै थियो । श्रीमान् जेल परेपछि मलाई हेर्ने दृष्टिकोण पनि बदलियो । दिन बित्यो, रात बित्यो उनी कहिल्यै आएनन् । उनलाई भेट्न दुई पटक जेलमै गएँ तर उनले कहिल्यै आफुले त्यस्तो गरेको बताएनन् । जेलबाट छुटेपछि त्यसको बदला लिने बताइरहे । मैले जे भयो भयो छाडिदिनु त्यहाँको सजाँय कटेपछि गाउँमै दुःख सुख बसौला भनें । तर उहाँले मान्दै मान्नु भएन । घरमा म एक्लै बस्तु भाउ हेर्नु, बुढा भएका सासु ससुराको स्याहार गर्नु मेरो कर्तव्य नै थियो । सासु ससुराको पनि ६÷६ महिना फरक अवधीमा निधन भयो । त्यो चोटमा पनि उहाँ घर आउन पाउनु भएन । अरु भएका दाईहरुले त्यति वास्ता गर्नु भएन । विवाहको केहि समयमै भएको त्यो घटनाले मलाई विज्यो । १५ वर्षको भर्खरको बालकै भनौ २५ वर्षको उमेरसम्म मेरा सपना, रहर, चाहना सबै सकिएका थिए । १० वर्ष वित्दा समेत उहाँ फर्कनु भएन । गाउँका मान्छेहरुले खबर ल्याए उहाँको त जेलमै निधन भएछ । जेल भित्र निधन भयो वा बाहिर निस्किएर उसले सबै कुरा खोलिदिन्छ भनेर उसलाई भित्रै षड्यन्त्र गरेर मारे ।
स्थानीय सरकार गठन भए पछि एकल महिलालाई पनि राहत दिने कुरा सुनें । पनौती नगरपालिकामा राहत लिन गएँ । म त्यो कार्यविधिमा पर्ने रहेनछु । त्यहि पालिकामा जन्मिएको ब्यक्तिले मात्रै त्यो अवसर पाउने रहेछ । सिन्धुपाल्चोकमा जन्मिए पनि घर ब्यवहार केहि नभए पछि म पनौतीमा डेरा लिएर बसेको थिएँ । आफैले दुःख सुख गरेर बनाएको घर र सम्पति आफ्नो नाममा भए पनि पनौतीमा बसाई सराई गरेर नआएकाले नपाउने जानकारी भयो । सायद अन्यत्र पनि त्यस्तै त होला नि । यो त पछिल्लो अनुभूति हो । यो भन्दा धेरै पीडा त विवाह भएर पनि एकदिन पनि श्रीमान्को काखमा बस्न नपाएको सन्दर्भ हो । न त श्रीमान् भनेर कतै सँगै बस्न पाईयो । कतै जान पाईयो । बालखमा श्रीमान् श्रीमती सँगै हिड्ने, खाने बस्ने र बोल्ने पनि हुँदैन थियो । पछि त झनै त्यो अवसरबाट बञ्चित नै भइ हालें । समाज सबैभन्दा ठुलो बाधक र शत्रु थिए । श्रीमान् मरेको खबर सुने लगत्तै गाउँलेहरुले एकाएक मेरो कपडा परिवर्तन गरिदिए । विवाहित तर श्रीमान्को न्यानो काखमा एकदिन पनि रम्न नपाएकी बुहारी र श्रीमती बनें म । केहि वर्ष अझै मैले त्यस्तै यातना पाएँ । श्रीमान्को लागि अलच्छिनी बनें । विवाह गरे लगत्तै जेल जानु र मृत्यु हुनु मेरो दोषको कारण थियो त्यहि भने गाउँलेहरुले । माईतीको बुबा आमाले मलाई अर्काे विवाह गर्न सल्लाह दिनुृृभयो । जीवनमा कोहि न कोहि साथी अवश्य चाहिन्छ । न त्यो श्रीमान्सँग केहि सम्बन्ध भयो । न त्यसबाट घर हुने भयो । बंशको निरन्तरताको लागि भन्दा पनि उमेर ढल्दै गएपछि साहराका लागि पनि विवाह आवश्यक छ भन्ने निश्कर्षमा पुगेपछि त्यस्तै श्रीमती मरेको केटा खोजिएछ । उसको पनि विवाह गरेको केहि दिनमै श्रीमती रुखबाट लडेर मृत्यु भएको रहेछ । जस्तालाई तस्तै जोडी मिल्यो भन्दै उसको र मेरो विवाह गरिदिए । हामी गाउँ छाडेर पनौती आयौं । केहि समय बनेपामा पनि बस्यौं । त्यहाँबाट हामी दुवैजना काठमाडौमा आएर अरुको घर कुर्ने काम गर्न थाल्यौं । उनी अरुको घरमा काम गर्न जान्थे । म जसको घरमा बसिरहेको हुँ त्यहि घरमा काम गरिदिन्थें । हामीलाई खान र बस्नको अलावा मासिक केहि सय पैसा पनि दिने गरिएको थियो । त्यहि लोभमा हामी केहि वर्ष बस्यौं । साँच्चै त्यो हाम्रा लागि घर नै भएको थियो । त्यहि बस्दा मैले ६ वर्षको अवधीमा तीन सन्तानको जन्म दिएँ । पहिलो छोरा जन्मिएपछि श्रीमान् केहि समय धादिङ्गमा काम गर्न जानु भयो । रसुवामा काम गरेर फर्किएपछि छोरी जन्मिई । छोरी जन्मिएपछि उहाँ कामको सिलसिलामा धरान भन्दै जानुभयो । गाडीमा काम गर्ने भन्दै उहाँले धरानमा केहि समय बिताउनु भयो । म भने त्यहि बसिरहें । सायद त्यो घर कर्म घरका रुपमा चिनियो । धरान गएका श्रीमान्को बानी बिग्रिएछ । उहाँ चुरोट बिँडीका अलावा जे जे भेटिन्छ त्यहि खान थाल्नु भएछ । भारतको सिमानाबाट लागु औषधका सामानहरु ओसारपसारमा उहाँलाई प्रयोग गर्न थालिएको रहेछ । केहि समय पछि घर आउँदा उहाँले सबै कुरा भन्नुभयो । मैले काममा जानु पर्दैन भनें तर उहाँलाई घरमै लिन आए । प्रहरीको पनि डर हुन्छ भन्दै उहाँलाई जान भनियो । मैले सोचें पहिलो श्रीमान् प्रहरीकै कारण १० वर्ष जेल परेर वित्नु भयो । घर बाहिर गएर उहाँ बाँच्नु हुन्छ भने के भो त ? सोझो बुद्धि थियो त्यो । म गर्भवती भएको रहेछु । एकदिन राति घरमा आउनु भयो । केहि रकम छाडेर छोराछोरीको राम्रो हेरचाह गर्न भन्नुभयो । पढाउनु, इमान्दारीतामा रहनु, म छिट्टै फर्केर आउँछु भन्नु भएको थियो । उहाँ पनि कहिल्यै फर्केर आउनु भएन ।
तीन सन्तान भएपछि मैले धेरै दुःख गर्नुपर्ने भयो । उनिहरुको शिक्षा दिक्षा मेरो दायित्व थियो । आफुले क ख समेत पढ्न नसकेपनि छोराछोरीहरु पढून् भन्ने मेरो चाहना सन्तानले पूरा गरिदिएनन् । काठमाडौबाट पुनः पनौती आएर बस्न थालें । माईतीका भाईहरु बनेपामा बस्न थालेका थिए । उनिहरुको छत्रछाँयामा बस्दा सहज हुन्छ भन्ने मेरो अपेक्षा थियो । उनिहरुले सकेको सहयोग पनि गरे । कर्ममै लेखेको त्यहि थियो मैले त्यहि भोगें । जब जब छोराछोरी ठुला हुँदै गए तबतब मलाई बाबुका बारेमा सोध्न थाले । मैले विदेश जानु भएको छ भन्दै टार्दै गएँ । आफु ज्यामी काम गरेर छोराछोरीहरुलाई विद्यालय पठाएँ । छोराहरुको ताल त्यस्तै भयो । जेठो छोरा कक्षा ९ पढ्दा पढ्दै घर छाडेर हिड्यो । धेरै पटक उसलाई सम्झाएर विद्यालय पठाउन खोजियो । तर सकिएन । उ सडकमा बस्ने बालबालिकाहरुसँग रमाउन थालेछ । सायद बाबु नभएको पीडा र अभाव त्यहि पनि होला । कमसेकम बाबु भएको भए उसका चाहनाहरु सोध्ने, उसलाई गलत बाटोमा लाग्न नदिने पनि हुन्थ्यो होला । मैले मात्र के सोचें भने छोराछोरीहरुलाई भोको राख्नु हुँदैन । नाङ्गो बनाउनु हुँदैन । त्यो सोचाई मात्रै बालबालिकाहरुको चाहना होइन रहेछ । धेरै पटक उसलाई फर्काएर घरमा ल्याएर मैले विगत सम्झाएँ । केहि दिन उसले बुझ्यो । तर साथीहरु भेट्ने वितिक्कै उसले घरको सबै कुरा विर्सियो । म मुर्छा परेर रातभर रोएँ । कस्तो दिन जन्मिएछु । आठौ सन्तानको रुपमा जन्मिएको म सतिले सरापेकै रहेछ भन्ने सोचिरहे । न श्रीमान्बाट सुखको अनुभूति गर्न पाईयो न छोराछोरीबाट । केहि वर्ष पछि उसले एसएलसी परीक्षा प्राईभेट फाराम भरेर दिएछ तर पास हुन सकेन । गरिब र दुःखीहरुको खप्परमा त्यस्तो भाग्यको कुरा कहाँ लेखिदिएको हुन्छ र ?
उ घरमै आउन छाड्यो । अरु दुई सन्तानलाई दुःखै गरेर हुर्काएँ । अर्काे छोरा पनि त्यस्तै भयो । केहि संस्थाहरुले उसका लागि आयस्तरका लागि सामाग्रीहरु हस्तान्तरण गरे । घरमा पुर्नस्थापनाका लागि पहल गरे तर सफल भएन । दुवै छोराहरु कता छन् के गर्दै छन् मलाई कुनै जानकारी छैन । सन्तान भएर पनि अभावमा छट्पटिरहेको छु । श्रीमान भएर पनि विधवा बनिरहेको छु । महिलाहरुको कर्म र मर्म जसले भोग्छ उसले मात्रै बुझ्छ । न मैले श्रीमान मरेको भनेर सरकारको सुविधा प्राप्त गर्न सक्छु न श्रीमान छ भनेर बाँचिरहन सक्छु ? यस्तो चेपुवामा परेको जीवनका भोगाईहरु अनगिन्ति छन् । छोराहरुले चाँहि बाबुहरुको पीडा मेटाइदेलान् भनेर रातदिन खाई नखाई अर्काको भाँडा माझेर, बचन खाएर हुर्काई बढाई आखिर त्यो बेकार रहेछ । गलत संस्कृति र संस्कार, मियो बिनाको दाई, अभिभावक विनाका सन्तान उस्तै रहेछन् । छट्पटिनु, रुनु, चिच्याउनु अनि समाजका अगाडि सेता दाँत देखाउनु बाहेक मान्छेको जीवन अरु के नै रहेछ र ? आखिर काल पर्खर्ने बाहेक अरु के नै पो भो र ? सायद मान्छेको भाग्य जन्मँदै लेखिएको हुने रहेछ । न चाहेर बदल्न सकिन्छ । न नयाँ लेख्न सकिन्छ । काल आउनु पनि त्यहि दिनको लेखान्त हो । जे जे भोग्यो भोग्यो । आखिर मान्छे न हो सबैको ठक्कर र हण्डर पनि प्राण त्याग्न पाईएला कि ? गरिब र दिनदुःखीहरुको न त सरकार न त समाज । उ एक्लो हो । एक्लो । मात्र एक्लो । आत्महत्या त्यसै बढेको होईन । यस्ता धेरै कारण समाजमा ब्यक्ति बाँच्न र संघर्ष गर्न हार मानिरहेका हुने रहेछ ।
विपना
पनौती





