2026 April 30/ 01:27: 42pm

    गरिबको पीडा सुन्ने फुर्सद कसलाई हुन्छ र ? कसले पो सुन्दो रहेछ र ? धेरैलाई भनिसकें । सबैले आफ्नै डम्फु पो बजाउँदा रहेछन् त । गाउँका, शहरका, टोलका सबै नेता उस्तै हुन् । पौरखी हात हुँदा पनि गरिखान गाह्रो रहेछ । २०४७ साल चैत्र १ गते मेरो जन्म भएको रहेछ । जन्मँदै मेरो परिवार गरिब रहेछ । जन्मिएका सन्तानहरुलाई पोषिलो खाना खुवाउन समेत सकेको रहेनछ । बल्लबल्ल हुर्किएछु । सानैमा लख काटिसकेका थिए । अहिले त गरिबी हटाउन अनेक कार्यक्रम शुरु भएका छन् । ब्यक्तिका आय आर्जन पनि बृद्धि हुन थालेका छन् । त्यतिले नपुगे ब्यक्ति कमाउन जान सक्ने छ । बैकल्पिक उपाय धेरै फेला परिसकेका छन् । यो घटना अहिलेको होईन । विगतमा हामीले जे भोग्यौं अहिले त्यहि सम्झनामा छ । 
    चैत्रमा आउने हावाहुरी जस्तै जीवनले कता कता गति लैजान्छ । जब म ६÷७ वर्षको भएँ । साह्रै विरामी परें । सकिनसकी आमा बुबाले डाक्टरकोमा पु¥याउनु भएछ । डाक्टरले मेरो रोगको पहिचान नै नगरी तागतिलो खानेकुरा खुवाउनुस् तपाईको छोरा ठिक हुन्छ भनेर पठाईदिएछन् । के छ र घरमा खुवाउनु ? तातोपानी उमालेर खाने परिवारमा जन्मिएकाले के खानु तागतिलो ? हरियो सागपात, गेडागुडी, पहेँला फलफुल मेरा लागि आवश्यक थियो । बुबा आमाले सकिनसकी ति कुराको ब्यवस्थापन गरिदिनु भयो । केहि समय पछि तत्कालका लागि म तग्रिँए । बालबालिकाहरुको पोषिलो खानेकुरा नै त्यहि रहेछ । ति कुराहरु खान नपाउँदा मानसिक रुपमै बालबालिकाहरुको विकास नहुने रहेछ । हरेक अभिभावकहरुले बुझ्ने कुरा त्यहि रहेछ । समयमै आफ्ना सन्तानहरुका लागि पोषिलो खानेकुरा खुवाउन सकिएन भने त्यसले भविश्यमा असर पार्नेछ । विस्तारै म निको हुँदै गएँ । घर नजिकैको विद्यालयमा भर्ना गरिदिनुभयो । शुरुमा केहि नजान्ने, पढ्न मन नगर्ने स्वभावको म विद्यालयको प्रभावले अध्ययनका लागि जाँगर चलाउन थालेको थिएँ । अहिले स्थानीय सरकारले पोषणका कार्यक्रम संचालन गरिरहेका छन् । आमाको गर्भ देखि नै बालबालिकाहरुलाई स्वस्थ बनाउन भएका प्रयास सार्थक बन्दै छन् । हिजो जे भोग्नु प¥यो आज त्यस्तो अवस्था छैन । 
    घर नजिकैको विद्यालयबाट पाँच कक्षा उत्तिर्ण गरें । त्यहाँ त्यति मात्रै अध्ययन गर्न पाईन्थ्यो । घर नजिकै माध्यमिक विद्यालय नभएकाले समस्या झनै बढ्यो । अर्काे विद्यालय पुग्न दुई घण्टा लाग्थ्यो । कक्षा ६ अध्ययनका लागि माध्यमिक विद्यालयमा भर्ना भएँ । बुबाहरुले अध्ययन गर्नुपर्छ भन्ने उत्साह भरेकाले घण्टौ टाढा भए पनि म विद्यालय गएको थिएँ । गरिबीको पीडा त छँदै थियो रोगी र विद्यालय टाढा भएकाले झनै समस्या थपियो । उपचार गराउन, विद्यालयका लागि आवश्यक शैक्षिक सामाग्री खरिद गरिदिन र विहान बेलुकाको छाक टार्नै अभिभावकलाई समस्या प¥यो । अहिले पनि हाम्रो गाउँपालिकाका धेरै बालबालिकाहरु विद्यालयको पहुँच भन्दा बाहिर छन् । विहान घरमा खाना खाएर हिडेको बालबालिकाहरु एकै पटक बेलुका आएर खाना खानु पर्छ । केपी ओली नेतृत्वको सरकारले पाँच कक्षा भन्दा तलका बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरेको छ । प्रदेश र स्थानीय सरकारले समन्वय गरेको भए बाँकी कक्षाका बालबालिकाहरुलाई खाजाको प्रबन्ध गर्न सक्थ्यो । विहान ७ बजे हिडेको बच्चा बेलुका ७ बजे घर फर्कदाँ मुस्किकले उसको मुखमा पानी मात्रै पर्ने गरेको छ । विद्यालयले छात्राबास राखे पनि त्यहाँ बस्ने हैसियत सबै बालबालिकाहरुको छैन । स्थानीय सरकार अभिभावक बन्नु पर्ने भए पनि यसतर्फ ध्यान दिन सकेको छैन । 
    मलाई काठमाडौंमा आफन्त मार्फत काममा पठाउने र अध्ययन पनि गराउने कुरा चलेछ । घरेलु बालश्रमका रुपमा मेरो काठमाडौ यात्रा तय भयो । काठमाडौंको धोविखोलामा रहेको एक घरमा मेरो बसाई शुरु भयो । विहान बेलुका घरको काम गर्ने दिउँसो विद्यालय जाने सम्झौता भएको रहेछ । मुखैमुखैको सम्झौता भनेजस्तो कहाँ सहज हुन्छ र । सधै आफ्नो अभिभावकसँग बसिरहेका बालबालिका घर बाहिर जाँदा कहाँ खुशी हुन्छन् र ? फेरी म आफु पनि विरामी थिएँ । सोचेजस्तो भएन त्यहाँको बसाई । काम गरेन भनेर साहुको गाली खानु आफ्नो बाध्यता थियो । विद्यालय जाने नियमितता पनि भएन । एक वर्ष बसेर पुनः घरमा फर्किएँ । बरु खान पाईएन भने मागेर खान्छु अर्काको घरमा श्रम गरेर अध्ययन नगर्ने मेरो निश्कर्ष अभिभावकलाई सुनाएँ । अहिले त बालबालिकाहरुलाई काममा लगाउन नपाईने कानुन पनि बनिसकेको छ । त्यो मेरो रहर नभई अभिभावकको समेत बाध्यता थियो । गाउँ फर्किएर विद्यालय जाने सपना पूरा भएन । मेरो अध्ययन गर्ने सपना सपनामै सिमित हुन थाल्यो । १५ वर्ष लागिसकेको थिएँ । काम गरेर खान सक्ने भएकाले म अध्ययन भन्दा ज्याला गर्न जान थालें । त्यतिबेला मेरो ज्याला ४० रुपैया थियो । विहान घरमा खाना खाएर दिउँसो काममा जान्थे । खाजा खान दिन्थे । त्यहि खाजाले कहिलेकाँहि बेलुकाको खाना खाने गरेको थिईनँ । बुबा आमालाई थप सहयोग पु¥याउने उद्देश्यले मैले अध्ययन छाडेर ज्याला गर्न थालेको थिएँ । सन्तान पनि धेरै थियौं हामी । मेरो एकजना दाई हुनुहुन्थ्यो । माईलो छोरो थिएँ म । हामीले गरेको ज्यालाले घर ब्यवहारमा सहयोग पुग्न थालेको थियो । मेरा अरु तीन भाईहरु थिए । हामी पाँच भाई थियौं । जहाँ गहिरो त्यहाँ पानी । गरिबकै घरमा धेरै सन्तानको जन्म हुन्थ्यो । शिक्षा, चेतना हरेक कुराले प्रभाव पार्दाे रहेछ । बुबा सानै देखि भैंसी तथा बाख्राको ब्यापार गर्नुहुँदो रहेछ । ब्यापार गर्दा गर्दै भएको सबै सम्पत्ति सकिएको रहेछ । जग्गा जमिन सबै सकिएपछि उहाँ सुकुम्बासी हुनु भएको रहेछ । आफु बसेको घर जग्गा समेत साहुले लिलामी जस्तै गरिदिएका रहेछन् । घरभरी सन्तान छन् । उनिहरुको समेत ख्याल नगरी बुबाले गाउँ छाड्ने निर्णय गर्नुभएको रहेछ । गाउँमा आफ्नो भन्ने केहि नभएपछि सरकारी जग्गा बनमा गएर एउटा छाप्रो बनाउने निर्णय भएछ । हामी सबै दाजुभाई मिलेर बन खनेर छाप्रो हाल्यौं । पुनः हाम्रो घरमा संकट प¥यो । सम्पति सबै सकिएर छाप्रोमा बस्नेहरुको के नै थियो र अरु कुरा । म र साईलो भाई पुनः विरामी प¥यौं । उपचार गर्न लैजान समेत संकट प¥यो । म केहि समयमै ठिक भएँ । साईलो भाईलाई दादुराले सताएको रहेछ । भाईलाई त्यहि दादुराले संसारबाट विदा ग¥यो । हामी धेरै रोयौं । अझ म । मैले भनें भाईलाई लैजानुको सट्टा मलाई किन लिन आएन ? कालले पनि किन छानेर लैजान्छ ? 
    मलाई निको हुनुको कारण थप दुःख पाउन बाँकी नै थियो । भाई र म सँगै विरामी हुँदा उसलाई मात्र कालले किन लग्यो ? बनमा बसेको भन्दै समाजले हामीलाई त्यहाँबाट पनि हटाउने प्रयास ग¥यो । अब जाने कहाँ ? बन छाड्नै पर्ने भयो । पहिलाको छाप्रो बनाएको ठाउँबाट हामी केहि तल आयौं । तल बनमा आएर सानो झुपडि बनायौं । त्यहि झुपडी हाम्रा लागि दरबार बन्यो । त्यहि दरबारमा बसेर जीवन गुजार्ने योजना बनायौं । ज्यालापानी गरेर परिवार धान्ने योजनामा हामी संर्घषरत रह्यौं । भएको सबै सम्पति सिध्याएको पाप पनि कराएको होला हाम्रो परिवारलाई । बुबा कहिलेकाँहि थकथक्क मान्नुहुन्थ्यो । हाम्रो अगाडी आँशु झार्न सक्नुहुन्न थियो । एकान्तमा गएर उहाँको रुवाई हामी देख्न सक्दैन थियौं । भगवान पनि कति निष्ठुरी हुँदा रहेछन् । पहिलो बनमा बनाएको छाप्रो समाजले भत्काईदियो । दोश्रो छाप्रोमा आगो लाग्यो । मानविय क्षति त भएन तर भएको दुई डोका मकै पनि जोखिममा प¥यो । बल्लबल्ल निकाल्न सफल भयौं । गरिबको हुनु नै के पो थियो र । तर पनि एक पछि अर्काे संकटको सामना गर्न बाध्य हुनु बाहेक अर्काे विकल्प थिएन । हामी त्यहि संकटको समाधानका लागि प्रयासरत थियौं । 
    आगलागीबाट छाप्रो डढेपछि हामी फेरी खुल्ला आकाशमुनि थियौं । केहि दिनमै स्थानीयहरुको सहयोगमा हामीले छाप्रो बनायौं । केहि वर्ष हामीले त्यहि ठाउँमा ज्याला गरेर जीवन निर्वाह ग¥यौं । गाउँका ज्याला भन्दा शहरको ज्याला धेरै हुने सोचले हामी दाजुभाई काठमाडौ जाने निर्णय ग¥यौं । काठमाडौमा धेरै पैसा कमाउने हाम्रो सोच थियो । गरिबलाई जहाँ गए पनि त्यस्तै हो । अभागीलाई खानेबेला रिस उठ्छ भन्थे हो रहेछ । गाउँमा बाबु आमा सबै हुनुहुन्थ्यो । काठमाडौमा केहि वर्ष हामीले नोकरी ग¥यौं । पहिलाको भन्दा अवस्था केहि सहज हुँदै गयो । भाईहरुलाई पनि काठमाडौमा बोलाउने हामीले सल्लाह ग¥यौं । त्यहि सल्लाह अनुसार उनिहरु पनि काठमाडौ गए । भने जस्तो केहि भएन । भाईहरुलाई पनि सुख दिने, राम्रो लगाउने, मिठो खाने शहरको चाहनाले छोयो । सबै काठमाडौमा बसेर पनि नहुने भयो । गाउँमा भएका बुबा आमाप्रतिको हाम्रो दायित्व थियो । केहि काठमाडौ, केहि गाउँमा बस्ने हामीले निर्णय ग¥यौं । म अभागी गाउँ जानु पर्ने भयो । जता भए पनि गरेरै खानु पर्ने हो । कहिलेकाँहि आशा लाग्छ । राजनीति गर्ने नेताहरुले भाषण गरेको सुनिन्छ हामीले गरेको राजनीति जनताकै लागि हो । त्यो पनि गरिब र सुकुम्बासीका लागि । खै त हाम्रा लागि नेपालका नेताहरुले गरेको राजनीतिले के प्रभाव पा¥यो ? कुन नेता, कुन संविधान, कुन ब्यवस्था आउँदा हाम्रो न्याय हुन्छ ? काम गरेर समेत खान नपाउने अवस्थाको सिर्जना भएको छ । हाम्रा पनि सपना होलान् । मिठो खाने, राम्रो लगाउने, घर परिवार ब्यवस्थित गर्ने । घर परिवारसँग दुःख सुख साट्ने । तर खै जीवीका धान्ने काम ? श्रम अनुसारको मुल्य ? जति दुःख गरे पनि एक धरो जमिन आफ्नो नाममा हुन सक्दैन । बाबु बाजेले बाटो विराए भनेर हामी सन्तानको भविश्य पनि सडकमै हुनुपर्ने हो र ? 
    केपी ओली नेतृत्वको सरकारले बनाएको सुकुम्बासी आयोग खारेज गरेर नयाँ गठन भएको छ । पटक पटक हामीले सुकुम्बासी भएकाले जग्गा ब्यवस्थापनका लागि निवेदन दियौं । भुकम्पका बेला पनि हामीलाई घर निर्माण गरिदिन पहल नभएको होईन । घर नै नभएकाहरुको कसरी क्षति हुन्छ र ? राज्यलाई झुक्याएर रकम लिन हामीले मानेनौं । मानेको भए पनि सम्भव थिएन । गरिबी हुनुको पीडा पलपलमा भोगेको छु मैले । काठमाडौ शहर छाडेर घर भन्दा केहि पर पाँचखालमा बस्दै आएको छु । यहाँ पनि मजदुरी नै हो । श्रम गर्ने स्वतन्त्रता आवश्यक छ । मैले जति पीडा भोगें त्यस्तो अरुले भोग्नु नपरोस् । भावी सन्ततीले गरिबीकै कारण शिक्षा, स्वास्थ्य र पोषणबाट बञ्चित हुनु नपरोस् । राज्यले पनि यस्ता आधारभूत कुराहरुलाई ग्यारेण्टी गरोस् । हामी जस्ता सुकुम्बासीहरुका लागि नेता र नेपालको संविधानले केहि गरोस् । पाखुरा बलिया हुञ्जेल त ज्याला गरी खाउँला विरामी भएको दिन उपचारका लागि, काम नभएको दिन खानका लागि, आफ्नो सम्पति नहुँदा अरुकोमा गएर काम गरिरहने अवस्था र त्यस पछिको भविश्यका लागि केहि सोच्ने हो कि ? स्वास्थ्य बीमामा पनि हामी समेटिएका छौं । सरकारले शुरु गरेका राम्रा कामहरुले हामीलाई सहज बनाओस् । गरिब सधै गरिब भएर बाँच्नु पर्ने होईन होला नि हैन र ? 

शिव खड्का
पाँचखाल, काभ्रे