2026 April 30/ 01:27: 42pm

    हरेक मान्छे सहजता खोज्छ । सुगमता खोज्छ । के लाई सुगम मान्ने ? सडक, बत्ति, सञ्चार, खानेपानी, विजुली, शिक्षा वा अरु कुनै ? मैले देख्छु सुगम मान्छेको चेतना हो । चेतना भयो भने जस्तोसुकै संकटमा पनि मान्छे सुखको अनुभूति गर्न पुग्छ । सुखानुभूती गर्न पाउनु मान्छेका लागि स्वर्ग भन्दा ठुलो कुरा हो । हुन त मान्छे स्वर्ग र नर्कको बयान गर्छ । उसले भोगेर आएको त होईन । धार्मिक ग्रन्थहरुमा लेखेकै आधारमा मान्छेले आफ्नो सृष्टि, विश्वास र कर्म चलाईरहेको छ । त्यसमै मान्छे कहिले युद्ध गर्छ । कहिले बहस गर्छ । कहिले त्यहि ग्रन्थ झुटो भन्दै निहुँ खोज्छ । धर्म, पापका कुरा गर्छ । कलियुगमा धर्मका कुरा भन्दा पापका कुरा धेरै सुनिन्छन् । मान्छे मार्ने, अपहरण गर्ने, बलात्कार गर्ने सामान्य कुरा हुन थालिसके । त्यो पनि घर भित्रैकाले भित्रकै मान्छेलाई बलात्कार गर्ने त झनै सामान्य भैसक्यो । गौतम बुद्ध जन्मेको देश भनेर चिनाउन पनि कहालिलाग्दा घटनाहरुले मन रुन्छ । देश विदेशमा नेपाली भन्ने वितिक्कै स्वाभिमानी, अग्लो हिमाल सगरमाथा र शान्तिको देश गौतम बुद्ध भनेर चिन्छन् । सम्मान छुट्टै छ । हिजो जस्तो आज छैन । श्रीमती, छोराछोरी र श्रीमानसँगको सम्बन्ध पनि राम्रो छैन । श्रीमती र परिवारका लागि दुःख गर्न गएको श्रीमान घर फर्कँदा कोहि हुँदैनन् । श्रीमान्हरुको पनि रामकहानी छुट्टै होला । तर पनि समाजमा रोपिएको, घोलिएको विषले एक पछि अर्काे गर्दै अश्लीलता, अपराध बढाएको भने साँच्चै छ । 
    हाम्रो गाउँमा अधिकांश ब्यक्तिहरु आर्मी, प्रहरीमा जागिरे छन् । निजामतिमा पनि छन् तर थोरै । शिक्षक पनि छन् । धेरै चाँहि सेना र प्रहरीमा छन् । पहिले त गाडी पनि चल्दैन थियो । बाटो पनि थिएन । दाप्चा देखि हिडेर जानु पर्ने थियो भने यता खोपासीबाट पनि हिडेर जान्थे । धेरै पटक हामी खोपासीको बाटो हुँदै हिडेरै काठमाडौ पुगेका थियौं । दाप्चाको ऐतिहासिक बजारबाट धुलिखेलसम्म हिडेर आएका पनि छौं । नुन तेल मसला लैजाँदा गाउँमा भएको घिउ वा अन्य केहि उत्पादन हुने बस्तुहरु हामी विक्रीका लागि ल्याउने गर्दथ्यौं । हामीले त के दुःख ग¥यौ होला र हाम्रा बाबु बाजेहरुले धेरै दुःख गरेको अनुभूति हुन्छ । त्यहि दुःखमा हुर्केकाले हामीलाई कमै थाहा भयो । हाम्रा सन्तानलाई अझै कम थाहा हुन्छ । गाउँमै जन्मिएकाले गाउँका सबै सुख दुःख थाहा छ । बुबा आमाले मलाई हुर्काउन गरेको मेहनत र दुःख पनि बिर्सिएको छैन । गाउँमा मेरा सहपाठीहरुलाई पनि बिर्सिएको छैन । मलाई शिक्षा दिने गुरुहरु पनि बिर्सिएको छैन । उतिखेर गुरुहरुको सम्मान, माया, आदर कुरा गरी साध्यै छैन । पहिले गुरुलाई आदर गथ्र्याै अहिले विद्यार्थीले गुरुले आदर गर्नुपर्ने अवस्था छ । समयले कोल्टो फेरेको छ । ठुलालाई आदर गर्ने, सम्मान गर्ने, माया गर्ने भन्ने कुरा हराउँदै गएको छ । आफै जान्ने, आफै सुन्ने र आफुले भनेकै हुनुपर्छ भन्ने अहंम्ता बढ्दै गएको छ । 
    कर्म, भाग्य । कसलाई दोष दिउँ म ? मान्छेका आ–आफ्नै भोगाईहरु हुन्छन् । मेरा पनि आफ्ना भोगाईहरु छन् । कहिलेकाँहि लाग्छ संसारमा किन मानवचोला भएर जन्म लिन पुगें होला ? सोच्छु हामी जस्तो प्राणीले जीवनबाट किन हार खानु ? थुप्रै प्रश्नहरुको चाङ्गबाट मैले निश्कर्ष निकाल्छु तब न मान्छेको जीवन । ढुंगा हो र ? मान्छेको मन त पग्लिन पनि सक्छ । कठोर बन्न पनि सक्छ । दुःख सुखको अनुभूति गर्न पनि सक्छ । समाज परिवर्तनका लागि उसको जीवन अर्पण गर्न पनि सक्छ । मरेपछि पनि उसले आफ्नो कृति फैलाउन सक्छ । रुख हो र ? घाँसपात हो र ? वा कुनै भौतिक चिज हो र मान्छेको जीवन ? कि धरहरा जस्तो बन्नु प¥यो । त्यसका लागि पनि थुप्रै चुनौती होलान् । मान्छेको विवेक मात्रै प्रयोग गर्ने हो भने उसले पाउने हरेक सुख सुविधा, ऐस आराम सबै उसको मन भित्रै छ । उ भित्रै छ । असन्तोष पनि मान्छे नै हो । एक पछि अर्काे गर्दै प्राप्त गर्न खोज्ने पनि मानव नै हुन् । बुबा आमाको त्यो देनलाई मैले भुल्न सक्दिनँ । गाउँबाट अध्ययनका लागि शहर गएँ । काठमाडौमा कोहि आफन्त थिएन । चिनजान पनि थिएन । अहिले जस्तो कोठा पाउने अवस्था थिएन । सानोतिनो काम पनि गर्दै गएँ । अल्झने बाटो भएपछि मलाई सहज पनि भयो । तर मैले सरासर उत्तिर्ण भने गर्न सकिनँ । त्यहाँ रहँदा बस्दा मलाई नागरिकताको आवश्यकता प¥यो । मलाई कर्मचारी परिवारको नाताले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रदान गर्ने निर्णय भयो ।
    बुबा–आमा गाउँमै हुनुहुन्थ्यो । केहि वर्ष पछि मैले विवाह गरें । नागरिकता र राहदानीका बारेमा श्रीमती सोनुलाई पनि जानकारी थियो । घर जाँदा आउँदा नयाँ मान्छे आयो भन्छन् भनेर मैले नागरिकता र राहदानी लिएर जाने गरेको थिएँ । घरमै जाँदा नागरिकता र राहदानी हराएछ । शुरुमा घरमै छ भन्ने भयो पछि खोजतलास गर्दा फेला परेन । बुबा आमाले पनि धेरै मेहनत गर्नुभयो फेला पर्न सकेन । सशस्त्र द्वन्द्वले ठुलो रुप लिएको थियो । सरकारले संकटकाल लगाएको थियो । संकटकालले गाउँमा सहज जान आउन सम्भव भएन । लामो समय आउजाउ नै भएन । नागरिकता र राहदानी पनि फेला परेन । कतै प्रयोग पनि भएन । घर परिवारकै सल्लाहमा म बैदेशिक रोजगारमा जाने निर्णय गरें । म सँग राहदानी र नागरिकता दुवै थिएन । मैले सल्लाह गरें । धेरैले काठमाडांै जिल्ला प्रशासनबाट लिएको नागरिकता प्रयोग नगरेकाले जिल्लाबाटै लिन सुझाव दिए । गाउँमा सल्लाह गर्दा पनि त्यस्तै भयो । श्रीमती आफै त्यसको सल्लाहकार मध्ये प्रमुख थिईन् । नागरिकता पछि राहदानी पनि बनाएँ । त्यसकै आधारमा म बहराईन पुगे । यता मेरो श्रीमती र परिवार त्यहि डेरामा बस्दै आएको थियो । दुःखको कुरा कति कोट्याउँ ? श्रीमतीहरुलाई श्रीमान्ले के–के गर्नु पर्ने हो ? अधिकारका कुरा धेरै छन् । पुरुष पीडित भएको, अधिकार हनन भएको कसैले देख्दैन । सुन्छु पुरुष पीडित भएको घटनामा खासै न्याय छैन । महिलाहरुले जे जे गर्दा पनि कानुन लाग्ने पुरुष हिंसा हुँदा कानुन छैन अरे । होला धेरै श्रीमानहरुकै कारण पनि त्यस्तो होला तर महिलाहरुले गर्ने के ? श्रीमतीहरुलाई ऐश आराम, सम्पति सबै उपलब्ध गराउँदा पनि पुग्दो रहेनछ । खाँडी मुलुकमा ४५ डिग्री चर्काे घाममा गाउँ, परिवेश देश विर्सिएर पसिना बगायो यता श्रीमतीहरु श्रीमान्का नाममा मोजमस्तीमा ब्यस्त हुँदा रहेछन् । 
    मैले दुवै जिल्लाबाट नागरिकता र राहदानी लिएको हुँ । पूर्व श्रीमतीले हनुमानढोकामा नक्कली नागरिकता र राहदानीको उजुरी दिएकी रहिछन् । श्रीमान् श्रीमतीको सम्बन्ध टुङ्गिएको दुई दिनमै मलाई प्रहरी लगाएर पक्राउ गराईन् । दोहोरो नागरिकता र राहदानी लिएको अभियोगमा प्रहरी कस्टडीमा पु¥याईन् । म बैदेशिक रोजगारीको सिलसिलामा बहराईनमा थिएँ । १७ दिन अघि मात्रै नेपाल आएको थिएँ । नेपाल आएको केहि सातामै मलाई श्रीमतीले सम्वन्ध विच्छेद गर्न दवाब दिईन् । दुई दिनमै प्रहरी कस्टडीमा लगिन् । काठमाडौ प्रहरीले पाँच दिनको म्याद थप गरी म माथी अनुसन्धान ग¥यो । जिल्ला प्रशासन कार्यालय काभ्रे र काठमाडौ दुबैबाट नागरिकता र राहदानी लिएको प्रमाणित भएपछि सरकारी वकिलको कार्यालय काठमाडौंले क्षेत्राधिकार जिल्ला प्रहरी कार्यालय काभ्रेमा उक्त मुद्दालाई पठाई दियो । अहिले म माथी थप छानविन र अनुसन्धान भईरहेको छ । ऐन अनुसार कारवाही भोगिसकेको छु । मन मिल्दा उनले मलाई कहिल्यै यस्तो कुरा गरिनन् । सायद उनले नभनेको भए म सबै नागरिकता र राहदानी त्याग्थैं वा काठमाडौ जिल्ला प्रशासनबाटै लिन्थें होला । यति लामोसमयसम्म केहि नभन्नु, विदेशबाट घर आएको समय पारी सम्बन्ध विच्छेद गर्नु र सम्वन्ध विच्छेद गरेको दुई दिनमै प्रहरी कस्टडीमा लैजानु कुन जुनीको बदला लियौ ? अगाडि आएर छुरी नै हान्या भए पनि मैले गर्न नै के पो सक्थें र ? होस् धेरै नसम्झौ । तिमीलाई पनि पीडा होला । एउटै कुरा भन्छु शरीरका रौ समेत गनिसकेका श्रीमान् श्रीमतीको सम्बन्ध तोडिँदा अपराध नै नभएपनि कस्टडी पु¥याउने धन्न तिमी । तिम्रो जीवन सुखी होस् । तिमीबाट जन्मेका दुई छोरीको समेत म नै आर्शिवाद दिन्छु । 

शितल शर्मा
धुलिखेल, काभ्रे