2026 April 30/ 10:45: 13am

    सिन्दुर र पोते लगाएर पत्नी स्वीकारें तर त्यो सिन्दुर र पोते एउटा धारिलो छुरा भईदियो । काखमा राखेर आफ्नो ठान्थें तर बिझाउने काँडा बनिदियो । भन्न त भन्छन् सबैले, सबैको कथा एउटै हुन्छ तर व्यथा मात्र फरक हुन्छ । हो कथा सबैको एउटै हुन्छ तर व्यथा फरक हुन्छ । २०४३ साल फागुन १५ गते मेरो जन्म भयो । बुबाले ६ वर्षको हुँदा गाउँको सरकारी स्कूलमा पढाई दिनुभयो । कक्षा २ बाट ३ मा गएँ तब घरको सबै परिवार खुशी नै भए तर के गर्नु घरको आयश्रोत कम भएको कारणले मैले ३ कक्षाबाट अरु कक्षा पढ्न पाइनँ । मेरो उमेर सानै भए पनि म केहि मात्रामा दुःखहरु बुझ्दथें । मैले बुबा, आमालाई पढाई दिनुपर्छ भनेर कहिल्यै कर लगाइनँ । घरमा जे पाक्थ्यो त्यहि खान्थे । बुबा आमाले जे दिनुहुन्थ्यो त्यहि कपडा लगाउँथे । मन त मलाई पनि थियो साथीभाईको जस्तै नयाँ नयाँ कपडा लगाउने अनि मिठो मिठो खाने तर के गर्नु घरको आर्थिक अवस्थाका कारण सम्भव भएन । तर पनि मलाई कुनै दुःख लागेन । बुबा आफ्नै २–३ रोपनी जति खेतमा किसानी गर्नुहुन्थ्यो । त्यहि खेती किसानीबाट आएको पैसाले घरको खर्च टार्नु हुन्थ्यो । 
    तीन जनाको परिवार । बुबाको कमाईले खान लाउन पुगेकै थियो । केही वर्षसम्म यसरी नै गुजारा चलिरहेको थियो । २०४७ सालमा भाईको जन्म भयो । बुबा आमा साह्रै खुशी हुनुभयो । बुबा आमा विहानको खाना खाएर खेत तिर जानुहुन्थ्यो । म भाईलाई हेरेर घर कुरेर, अनि घरको काम गर्थें । यसरी नै हाम्रो दिनचर्या बित्दै गयो । भाई जन्मेको दुई वर्ष पछाडी बहिनीको जन्म भयो । छोरी जन्मियो भने लक्ष्मीको रुप भन्छन् । हाम्रो घरमा थप खुशी थपियो । जेठो छोरालाई पढाउन सकिनँ बाँकी सन्तानलाई भोकै बसेर भए पनि पढाउँछु भन्ने निधो गर्नुभयो । मेरा भाई बहिनीले पढ्न पाए । भाई बहिनीले पढ्नु नै मैले पढेको जस्तै हो । जब म ११ वर्षको लागें त्यसपछि म पनि बुबासँगै खेतमा काम सघाउन जान्थें । भाईबहिनीहरु विस्तारै हुर्कँदै गए । घरको समस्या थपिदै गयो । बुबाको कमाईले घर खर्च मात्र पुग्ने भयो । बाहिरी खर्च त झनै कुरै छोडौं । त्यसपछि मैले घरको जेठो बाठो भएका कारण गम्भीर भएर सोचें । बुबाको कमाईले मात्र अब घर धान्न सकिँदैन । बुबाको केही जिम्मेवारी लिनुपर्छ भन्ने मेरो मनमा लाग्यो । काठमाडौंमा गएर पैसा कमाउने निधो गरें । मैले बुबा आमालाई सोधेर जाने निर्णय गरें । 
    गाउँका थुप्रै ब्यक्तिहरु काठमाडौमा मजदुरी गरिरहेका छन् । मलाई लाग्यो चिनेको कोहि भए सहयोग भई हाल्छ नि । नभन्दै त्यस्तै भयो । काठमाडौं पाटनमा मिठाई भण्डारमा भाँडा माझ्ने काम शुरु गरें । घरको अवस्था सम्झेर भाँडा माझ्न विवश थिएँ । तलब तोकिएको थिएन एकै चोटी १ महिना पुगेपछि तलब पाएँ । ८ सय रुपैया दिनुभयो । त्यो रकम नचलाईकन बाक्सामा राखें । निरन्तर आफ्नो काममा लागें । ६ महिना जति भाँडा माझे पछि जम्मा भएको रकम घरमा पठाई दिएँ । घरको समस्या सहज हुँदै गइरहेको थियो । भाँडा माझ्ने पदबाट बढुवा भयो । कुक हेल्पर भएँ । कुक हेल्पर भएपछि तलब २ हजार भयो । कुक हेल्परमा काम गर्दा महिनै पिच्छे तलब लिएर घर पठाउने गर्थें । कुक हेल्परको रुपमा १ वर्ष काम गरे । त्यसपछि म अर्काे ठाउँमा काम गर्न गएँ । नाङ्लो बेकरी कारखानामा काम गर्न गएँ । पाउरोटी, केक, दुनोट बनाउँथे । मासिक १० हजार तलब दिन्थ्यो । ओभरटाइम सम्म गरेको १२ हजार थियो । ओभरटाइम पनि गर्थे । घरमा पैसा पठाउँदा भाई बहिनीहरुलाई पढ्न धेरै सहज भएको थियो । नाङ्लो बेकरीमा काम गरेको लगभग २÷३ वर्ष भैसकेको थियो । घरबाट फोन आयो । अब विहे गर्नु पर्छ । घरको जिम्मेवारी र कामले गर्दा बिहेको सोच नै आएको थिएन । विहे गर्ने मन त अझै थिएन बुबा आमाको बचन काट्न सकिनँ । हुन्छ छुट्टि मागेर आउँछु अनि सल्लाह गरौला भनिदिएँ । केहि दिन पछि घर गएँ । बुबाआमाले केटीको विषयमा कुराकानी गरिसक्नु भएकाले मलाई केहि दिनमै कुरा टुङ्गयाउने र विवाह गर्ने सल्लाह दिनुभयो । उहाँहरुको निर्णयमा मेरो नाईनास्ति हुँदैन । भएन र गर्ने कुरा पनि भएन । 
    नभन्दै विवाहको कुरा टुङ्गो लाग्यो । १८ वर्ष नपुग्दै विवाह गर्नुपर्ने अवस्था आयो । ब्यवहार थपिदै जाँदा घर परिवारको संकट गहिरिने हो कि ? भन्ने आशंका पनि थियो । तर पनि बुबा आमा, घर परिवार, आफन्तहरुको चाहना त्यहि भए पछि नाई नास्तिको अवस्था पनि भएन । काम राम्रो र सहज थियो । कारखानामा धेरै अवसर थियो । कुनै दिन पुँजी हुँदा आफै गर्न सकिने ब्यवसाय थियो । त्यहि कारण म विवाह चाँडो गरेर घरमै श्रीमती राखेर काठमाडौ फर्कन चाहन्थें । केटी हेरेर अन्तिम निर्णय गरेको केहि दिनमै टिकाटालो गरेर मेरो विवाह भयो । खर्च कम गर्ने र हामीले पनि अरुको दाईजो नल्याउने विषयमा सहमति जुट्यो । घरमा सत्यनारायणको पुजा गरे पछि सबै कुरा सकियो । विवाह भएको तेश्रो दिनमै म काठमाडौ गएँ । भाई बहिनीहरुको अध्ययन भईरहेको थियो । झन घरमा काम गर्ने भाउजु भए पछि उनिहरुलाई सहज भयो । बुबा आमालाई पनि घरमा सदस्य थपिएकोमा खुशी थियो । अधिक खुशी पनि धेरै समय टिक्न सक्दो रहेनछ । विवाह भएको एक महिनासम्म भविश्यका बारेमा सोचिरहेको थिएँ । केहि समय पछि श्रीमतीलाई पनि काठमाडांैमा ल्याएर सँगै काम गर्ने र पैसा जम्मा गर्ने । बाँकी जीवन सुखमय विताउने । नभन्दै २÷३ महिनामै श्रीमतीले रुँदै भनिन् म पनि हजुरसँगै बस्छु । दुवैको चाहना त मिल्यो तर घर परिवारमा सल्लाह त गर्नुप¥यो । केहि दिनको छुट्टि लिएर घरमा गएँ । बुबाआमासँग सल्लाह गरेर उनी र मसँगै काम गर्ने योजनाका साथ घरबाट काठमाडौ लाग्यौं । एक्कासी मेरो जीवनमा एकदिन कालो बादल छायो । मेरो जीवनमा औंशीको रात आयो । उनि काठमाडौं आएको १ महिना जति भएको थियो । काममा लगाउन सकेको थिईनँ । म विहान चाँडै उठेर काममा जान्थें । उनि डेरामा एक्लै हुन्थिन् । खाना खान पनि आउँने समय थिएन । एकै पटक बेलुका मात्रै आउँथे । 
    २०६७ सालको कुरा हो म एकदिन कामबाट छुट्टि भएर कोठामा फर्किएको थिएँ । मैले कोठामा मेरी श्रीमती अन्य पुरुषसँग अँगालोमा बाँधिएको देखें । मलाई सपना झै लाग्यो । सपना नभएर त्यो यथार्थ थियो । शिरमा आकाश खसेझैं भयो म मरेतुल्य भएँ । के गर्ने के नगर्ने । म श्रीमतीकै सुखका लागि विहान उज्यालो नहुँदै निस्किएर तातो भट्टिमा पोलिने उनि यता परपुरुषसँग झोसिने ? आफूले आफूलाई सम्हाल्नै सकिनँ । विकल्प पनि केहि थिएन । आफैलाई सम्हाले र उनलाई गाली गरेझैं गरे । तिमीले यस्तै दिन देखाउनु रै छ त मसँग किन विवाह ग¥यौ ? मेरो नामको सिन्दुर लगायौं ? तिमीले यो सब गर्नु अगाडि मेरो नामको सिन्दुर र पोते किन फ्याँकिनौं ? त्यो केटा बाहिर निस्किएर हिँड्यो । मैले त्यो केटाप्रति वास्ता गरिनँ । किनकी दोष केटा भन्दा पनि आफ्नै श्रीमतीको थियो । माफ गरि दिनु भन्दै उनले आँशु झारेको नाटक गरिन् । माफी त गल्ती गर्नेलाई दिइन्छ ज्यान मार्नेलाई होइन । जिउँदै मारेकी छौ तिमीलाई कसरी माफ गरौ ? आँखाबाट आँशुका धारा बग्न थाले । साँझको ७ बजेको थियो । भट्टि पसलमा पसेर रक्सी पिउन थालें । ८ बजेतिर कोठामा आएँ । बोलचाल गरिनँ मैले । एकातिर फर्किएर रोएको अभिनय चलिरहेकै थियो । कुनै वास्ता गरिनँ । भोलिपल्ट विहानै उठेर काममा गएँ । साँझको उक्त घटनाले काममा ध्यान थिएन । उनको पेटमा मेरो निसानी हुर्कि रहेको थियो । भोलिपल्टै उनी माईत गईछन् । केहि महिना माईत बसेर फर्किए पछि उनीप्रतिको मेरो माया र प्रेरणा जाग्यो । सम्बन्ध पुरानै शैलीमा अघि बढाउने गरी समझदारी कायम भयो । जीवनको यो दोश्रो प्वाईन्टका रुपमा लिएँ । परिवारको माया, सद्भाव र विश्वासलाई कायम राख्ने गरी हामी अघि बढिरहँदा दुई सन्तान भए । उनिहरुको हुकाई, बढाई, शिक्षा दिक्षाका लागि हामी निरन्तर सक्रिय भई नै रह्यौं । 
    जीवन सहज भएन । उनले गरेको गल्तिलाई मैले माफ दिएँ । भुकम्प, कोरोना भाईरस जस्ता महामारी र विपत्तिहरु हामीले झेल्यौं । सन्तान ठुला हुँदै गए । मैले काम परिवर्तन गरेर बनेपामै कारखाना खोल्ने योजनाका साथ आएँ । परिवारलाई घरमै राखें । बच्चाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरिदिएँ । हुने हार दैव नटार भने झै बनेपामा कारखाना राख्ने गरी जग्गा भाडामा लियौं । त्यहि क्रममा सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका एक जना साथी साझेदारका रुपमा भेट भयो । उनको पनि परिवार नै थियो । उनी बनेपा र काठमाडौ आउजाउ गर्दथे । उनी अर्कै पेशा ब्यवसाय गर्ने तर मेरो उद्योगमा लगानी गर्ने कुरा भयो । उनी काठमाडौ जाने आउने गरेका कारण समय दिन भ्याउँदैन थिए । गत वर्षको दशैको समय थियो । उनी केहि समय सिन्धुली बसे । साझेदारीमा काम गरेकाले उनी नभएको अवस्थामा उनको श्रीमतीले सहयोग गर्थिन् । मान्छे न रहेछ । विगतमा मेरो श्रीमतीलाई परपुरुषसँग भेट्टाएर असमझदारी बढाउने मेरो प्रेम उनीसँग हुन थाल्यो । हुँँदा हुँदा सम्बन्ध रहन गयो । अन्ततः मेरै नामको बच्चा उनको गर्भमा आयो । यो कुरा उनको श्रीमानलाई थाहा भयो । कि त उनी मर्नु प¥यो ? कि त हामी भाग्नु प¥यो । उनको श्रीमान गाउँबाट फर्किएको केहि समय पछि म विरुद्ध उजुरी परेको रहेछ । कुटपिट पनि भयो । अन्ततः मैले उनलाई श्रीमतीको रुपमा विवाह गर्नुपर्ने भयो । नेपालको कानुनले श्रीमती भन्न नपाउने तर सँगै बस्नु पर्ने बाध्यता रहेछ । घरमा भएको श्रीमती र बच्चाहरुलाई धोका दिदै मैले गरेको गल्तिको प्रायश्चित म कारागारमा बसेर गरिरहेको छु । सिन्धुली जिल्लाको कारागारमा मलाई पुर्पक्ष राखिएको थियो । १ वर्षको सजायँ पछि म मुक्त भएको छु । दुबै श्रीमती र बच्चाहरुलाई एकै साथ राख्ने कुरा पनि कठिन रहेछ । तर पनि जीवनका भोगाईहरुले ब्यक्तिलाई सचेत गराउन सकेन भने जीवन हेर्दा जति सहज छ भोग्दा कठिन छ । मैले त गल्ति गरें गरें अरुले मेरो जस्तो गल्ति नगरुन् । 

 

महेन्द्र योञ्जन
बनेपा १२, काभ्रे