जीन्दगीको आरम्भ सँगै तैनाथ सुखबाट दुःख हुँदै मानवीय युग भित्र रुपान्तरित सांसारिक रित पनि बहुत अद्भूत अनि आश्चर्य लाग्दो हुँदो रहेछ । दुःखको कालो निस्पट भुलभुलैया भित्र होमिन पुगेका मान्छेका ती कर्म रेखा समयको घुमाउरो विम्बहरु माझ रन्थनिँदै घुम्रिएको जीवन वृत्तहरु समयको अनगिन्ती परिवेशसँग आफ्नै ढाँचा अनुसार फन्को मार्दै जिन्दगीका बेग कहाँबाट कसरी अनिँदो वेगसँग मिसाई बग्न बाध्य पार्दाे रहेछ । सुख दुःख मिलन विछोड आँशुको एउटा दोभानसँग सुस्ताउँदै लहरिदै बग्न पुगेका वृतान्त यथार्थसँगै अनुसरण गर्न पुगेको भाग्य लेखाको अन्तरभावहरु समेटिएर निर्दयी भाग्य लेखान्तको खुडकिलोबाट चिप्लिन पुगेका यी अभागी पुर्पुरो खुड्किलै खुड्किलो हुँदै दुर्भाग्यको चट्टानमा अनायासै बज्रिन पुगेका मेरा अभागी कर्म । भाग्यको उचाईबाट खसेर घैटो झै फुट्न पुगेका टुटे फुटेका टुक्रा टुक्राहरु बटुले झै जीवन भोगाईका यथार्थ वेदनाहरुलाई जीवन गवाहीको रुपमा अभिव्यक्त गरेको छु ।
२०६० सालतिरको कुरा हो । बैंशाखे चुलीहरु हृदयभरी चुलिँदै जाँदा प्रेमका मुनाहरु अंकुर्ण थालेपछि जीवनको साहारा खोजनीति गर्दा गर्दै अचानक एक युवतीसँग मेरो मन बस्न गयो । जसरी मेरो हृदयमा प्रेमको अंकुरहरु मौलाएको थियो त्यसरी नै उनको हृदयमा पनि यस्तै प्रकारको प्रेमका लहरा लहसिन गएको थियो । त्यहिकारण केहि समय पछि हामी दुवैको प्रेम यात्रालाई अगाडि बढायौं । हामी दुवैजना एक अर्का विना बाँच्न नसक्ने भएको हुँदा सदाको निम्ति एक हुने निर्णय गरी २०६१ साल जेठ १५ गतेका दिन भागी विवाह ग¥यौं । विवाहको कारण हामी दुवै जना खुशी थियौं । नयाँ सदस्य थपेको कारण परिवारमा पनि बेग्लै किसिमको खुशीको अनुभूति ओठभरी छल्किरहेको देखिन्थ्यो । दिनहरु बित्दै गए । कृषि पेशामा आबद्ध भएकोले पनि परिवार कृषि पेशामै निर्भर भएका थियौं । हाँसी खुशीले एक वर्ष बितेको पत्तै भएन । एक वर्षपछि हामी दुवै जनाको प्रेमको फल फल्दै फेरी घरमा लक्ष्मीको बासले खुशीको सीमा रहेन । छोरी हराएको भनि ससुरालीबाट ज्वाइँ र छोरीको नेपाली सँस्कार अनुसार विवाह धुमधाम गर्ने कुरा दुवै परिवार बीच तय भयो । दुई महिना पछि दुधे बालकलाई श्रीमतीले काखमा च्यापेर हामी दुवै विच धुमधाम विवाह गरियो । परिवारको संख्या दुईबाट तीन पुग्दा जीवन धान्नको निम्ति केहि गर्ने मनसाय लिएर विदेशिने कुरा गरिन् । विदेश जाने कुराले मनमा चिसो पस्दा मैले श्रीमतीलाई विदेशिने कुरा नगर्नु भनि सम्झाएँ । २०६७ सालमा घरमा फेरी नयाँ सदस्य छोरीको आगमनले परिवार बीच खुशीयाली छायो ।
मैले श्रीमतीलाई धेरै सम्झाएँ तर मानिनन् । यसपछि २०६९ सालमा वैदेशिक रोजगारको निम्ति सम्पूर्ण कामकाजको चाँजोपाँजो मिलाएर दुई वर्षको करारको लागि वैदेशिक रोजगारको निम्ति कुबेत उडिन् । श्रीमान् र छोरीहरुको दायित्वबाट पन्छिएकी श्रीमतीको विछोडको पीडाले म निकै विछिप्त हुन पुगें । दुवै छोरी आमाबाट टाढिएका कारण उनीहरुको लालन–पालन गर्न मेरो ससुरालीले जिम्मा लिएका कारण झन् एक्लोपनको महसुसतामा डुब्न थालें । दिनहरु बित्दै गए । दिनले महिना महिनाले वर्ष हुँदै क्यालेण्डरका पानाहरु पल्टिँदै गए । २०७१ साल श्रावण १७ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुरेमा पहिरो गयो । पहिरोमा धेरै भौतिक एवं मानवीय क्षति व्यहोर्नु प¥यो । मैले पनि भौतिक क्षति व्यहोर्नु प¥यो । आफ्नो घर गुमाएँ साथै पहिरोमा बुबा घाइते हुनु भयो । बुबाको उपचारको निम्ति सिन्धुपाल्चोककै अस्पतालमा ३÷४ दिनसम्म उपचार गरि घर फर्कायौं । बुबाको उपचारमा कुनै कमी ल्याएका थिएनौं । श्रीमतीको यादमा छट्पट्टिएको मेरो विछोडको मनलाई सहानुभूति दिने कोही थिएन । तैपनि जसोतसो श्रीमतीको तस्वीरलाई छातीसँगै टाँसी म आफूले आफूलाई सम्हाल्थें ।
२०७२ साल श्रावण १३ गते माछा मार्ने उद्देश्य अनुरुप दिउँसो २ बजेको समय तिर खोलामा माछा मार्न पासो राखेर केही समय पछि म आफ्नै कटेजमा फर्केर रात धेरै छिपेको कारण सुत्नको लागि खाटमा पल्टें । केहि क्षणमा मेरो शरीरमा बेग्लै तरंग उत्पन्न भयो । मेरो मानसिकतामा बेग्लै अनुभुति हुन गयो र एकनाश आफैं सुरमा टोलाइरहें । डर त्रासको झुण्डहरु मेरो आँखा वरिपरी खडा हुँदा भित्र भित्रै उकुसमुकुस भए झै लागेर जुरुक्क उठें । म भित्र मानसिक तनाव तिव्र रुपमा विकराल बढिरहयो । के गरु गरुँ लागेर आफ्नो बचाउको लागि यहाँबाट भाग्न खोज्दा पनि भाग्न नसकेको महसुसमा उभिरहें । कोही नभएको अनुभव गरी म कटेजबाट रोडै रोड ड्यामपट्टि भाग्न थालें । हस्याँङ फस्याङ गर्दा गर्दै राती ९ बजेतिर खोलाको किनारको बगरमा लुकेर बसें । मलाई निद्रा लागेको हुनाले त्यहि सुतें । केही बेर सुते पछि म सुतेर बसेको ठाउँ निर आफ्ना आफन्तहरु मलाई मार्न वरि परी घेर्न आएको झै देख्थें । यो दृष्य देख्ने वित्तिकै यहाँबाट भागेर फर्की म आफै कटेजमा आएँ । पर्दामा चलचित्रका दृष्यहरु घुमे झै मेरो आँखा वरिपरी आफन्तको ठूलो झुण्ड हातमा हतियार लिएर मलाई मार्न योजनाका साथ आएको भान भयो । विविध चिच्याहट मात्र सुनेर कटेज भित्रै छिरेर मार्न आएको झै लागेर कटेजको भुइँतिर राखेको चिर्पट दाउरा उठाई रिसको आवेगमा कटेज वरिपरी चिर्पटले हान्न थालें । बारम्बार यहि दृष्यहरु आँखा सामुन्ने झलल झल्किरहँदा म यहाँबाट भाग्दा भाग्दै हस्पिटल नजिक २ सय मिटर अगाडि सशस्त्र प्रहरी कार्यालयमा पुगें । यहाँबाट सय मिटर जति दुरीमा हतार हतार गर्दै प्रहरी चौकी भित्र पुगेर प्रहरी समक्ष वृत्तान्त कुराहरु सुनाउँदा प्रहरीले घर परिवारको झगडा ठानेर मेलमिलाप गराई दिने भन्दै मलाई घर जान अनुरोध ग¥यो । प्रहरीले रात निकै छिपेको कारण असइको उपस्थिति नभएको जनाउँदै एकछिन बस्न आग्रह गर्दा म एकछिन बसें । धेरै बेरसम्म कुरेर बस्दा उहाँ नआउने कुरा थाहा पाए पछि मलाई घर फर्की जान आग्रह गरे । हिँड्दै गर्दा मेरो पछाडि कसैले पिछा गरी हातहतियार सहित मार्न आएको थाहा पाएर प्रहरी चौकीमा डर लागेर भित्र पसें ।
भोलि विहान ५ बजेतिर भाई बुहारीको कटेजमा जाने निर्णय गरि बाटो अगाडि बसेर हातहतियार सुसज्जित भएर चारै तिर वरिपरी मलाई मार्न ढुकेर बसेको देखेर डरले काम्दै म प्रहरी चोकी तिर भागेर भित्र पसें तर प्रहरीले मेरो अवस्था नियालेर उल्टै हप्काएर घर जान धम्की दियो । एकछिन पछि भाई बुहारीको कटेजमा ढोका ढकढकाउन पुगें । ढोका ढकढकाएको आवाज सुनि बुहारीले भित्रबाट ढोका खोलि दिईन् । कोठा भित्र छिर्दा बुहारी आश्चर्य भएर भाईलाई व्युझाउन गइन् । भाई विउझिएर के भयो भनि मलाई सोध्दा मैले बृतान्त बताइ दिएँ । डर र त्रासले निथु्रक्क हुँदा बुहारीले चिया पिउन आग्रह गरे सँगै चिया र चिउरा खाएँ । भाई र बुहारीले मलाई केहि नहुने ढाडस दिएर थोरै मन भित्र डरलाई घटाउन खोज्यो तर अहँ त्यसले कुनै असर गरेको थिएन । भाइले कटेजमा बस्न आग्रह गरे तर एकछिन पछि के भो खै थाहा भएन मलाई यहाँ बस्नै नलागेर म जुरुक्क उठेर हिँडे । बाटोमा हिँड्दै थिएँ । फेरी बाटोमा म पछि पुनः त्यहि हल्ला अनि आक्रमण गर्न आउँदै गरेको देखेर प्रहरी समक्ष मलाई मार्न आयो भनि गुहार लगाएँ । उनिहरुले उल्टै खिसी गर्दै घर फर्किन भने । म भित्रभित्रै त्रासले अन्योलमा परिरहेको थिएँ । त्यहि समय गाउँकै एकजना भाई मेरो सामुन्ने आई पुग्यो उसको जम्काभेटले फेरी म भित्र एक प्रकारको आँट मनमा उब्जियो । मेरो हातखुट्टामा काँडाले कोतरेको कारण चोटै चोट लागेको थियो । हस्पिटल घर नजिक भएको हुनाले मलाई थोरै राहत मिलेको महसुस गर्दै हामी हस्पिटल नजिक मात्र के पुग्न लागेका थियौं । त्यहाँ पनि म त्रसित भएर पुनः प्रहरीकोमा पुगें । आफन्तहरु लिन आएको देखेर प्रहरीहरुले मलाई उहाँहरुसँग घर जान अनुरोध गर्दा मेरो ज्यानको सुरक्षाको निम्ति घर नजाने जोडतोड गरी भागेर म चौकीबाट सडकमा झरी लामसागुँ बजारतिर भागें । तर भाई र आफन्तहरुले लखेटेर बजारमा पक्राउ गरेर जर्बजस्ती घर लगे । मलाई जर्बजस्ती तानेर लैजाँदा बुबा पनि नजिक आई तान्न आएको देखे तर वास्तवमा बुबा यहाँ आउनु भएको रहेनछ । त्यो त मेरो मानसिक भ्रम मात्र थियो । एक छिन कटेजको आँगन अगाडि उभिरहें । खाना खान कटेज भित्र गएँ । त्यहाँ पनि केवल मान्छेहरुको होहल्ला आँखा सामुन्ने आइरह्यो । म उकुसमुकुस भई छटपटिएर त्यहि तिर बसिरहें ।
आफ्नो सुरक्षाको निम्ति बुबाको खुकुरी कोठामै भेट्टाएँ । बुबाको कोठा भित्र खुकुरी लुकाएर मलाई कसैले आक्रमण गर्छ भने त्यसको प्रतिकार गर्न तयार गरिरहेको थिएँ । अचानक बुबा यहि कोठाको छेउमा देख्दा मेरो वैरीसँग बुबाको मिलेमतो भएको लाग्यो । झन रिसको आवेगमा कुनामा लुकेर बसेको क्षण बुबा कोठाको ढोका छेउ निर आइ उभिरहँदा बाहिर निस्कने मसँग कुनै उपाय थिएन किनकी बुबा कोठा अगाडि नै आएको कारण म भाग्ने मनस्थिति भएर पनि भाग्न नसक्दा झन रिसको आगो मन भित्र सल्किरहँदा खुकुरी निकाली घाँटी पछाडि प्रहार गर्दा बुबा ढल्नु भयो । पुनः दोस्रोपल्ट त्यहि खुकुरीले गर्धन पछाडि नै हान्दा बुबा भुइँमा ढल्नु भयो । बुबा भुइँमा छट्पटाई रहेको देखेको मात्र के थिएँ म हतार हतार त्यहाँबाट भागेर सडकमा झरी नाताले भाउजुले बुबालाई खुकुरी हानेर मारेछ भनेको मात्रै सुनें । तत्काल प्रहरी आएर मलाई हत्कडी लगाएर हिरासतमा पु¥यायो । बुबाको शव सेतो कपडाले छोपेको मेरै आँखाले देखेको थिएँ । पछि मलाई बाह्रविसे लगियो । प्रहरीले चढाएको गाडीमा सिसा फुटाई दिएँ । तर पनि मलाई आफुलाई कसैले मार्ला भन्ने डर लागिरहेको थियो । सिन्धुपाल्चोकको चौतारा कारागारबाट मलाई मनोपरामर्शको सेवा छ भन्दै धुलिखेल कारागारमा ल्याईयो । त्यहाँ थाहा भयो मलाई श्रीमतीका कारण मानसिक रोग लागेको रहेछ । म त मानसिक रोगी भएको रहेछु । दुई सन्तानकी आमा श्रीमान् र बच्चालाई एक्लै छाडेर विदेश जानु, सबैको हेलचेक्रयाई हुनु मेरो रोग बनिसकेको रहेछ । त्यहि रोगका कारण मैले आफ्नै बाबुलाई खुकुरी हानेको समेत पत्तो भएन । उहाँले मलाई मार्न लागेको भन्ने सोचेर उहाँलाई खुकुरीले हानेको थिएँ । विस्तारै म ठिक हुँदै गएको थिएँ । घटनाको बारेमा मलाई पछुतो छ । गर्नै नहुने अपराध म बाट भएको छ । जसले जन्मायो, हुर्कायो उसैलाई मार्नु जति ठुलो अपराध के हुन सक्छ र ? पछुताउनु बाहेक अरु कुनै उपाय थिएन र छैन पनि । समयमै मानसिक रोगको उपचार गरेको भए पनि त्यो समस्या हुँदैन थियो । अहिले धेरै मानसिक रोगका विरामीहरु छन् । सहि परामर्श र उचित रेखदेख भएको अवस्थामा समयमै निको हुन सम्भव छ । तर त्यसो हुन सकिरहेको छैन ।
केहि वर्ष वितेको छ । कारागारमा राम्रो ब्यवहार गरेको भन्दै मलाई सहयोग र सहजिकरण पनि भएको छ । परिवारका सदस्यहरु सम्पर्कमा छन् । आफन्त पनि भेट्न आउँछन् । म अपराधी हुँ । अपराधले मलाई पोलिरहेको छ । त्यो मेरो पागलपन थियो । मेरो बेहोशी थियो । मानसिक रोगको समयमै उपचार गर्न म सबैमा अनुरोध गर्दछु । उपचार सम्भव छ ।
कामिसिं लामा
सिन्धुपाल्चोक





