संसारमा धेरै किसिमको मानिसहरु हुँदा रहेछन् । कसैले त आफ्नो फाईदाको लागि अरुको ज्यान समेत लिँदो रहेछ । आखिर हामी सबै मानिस हौं । हामी सबैको रगत रातो हुन्छ । तैपनि एकले अर्काको किन ज्यान लिइरहेको छ ? संसारमा धेरै मानिसहरु आवेगमा आएर हत्या गर्ने तहसम्म पुग्छन भने केहि योजनामै हत्यामा संलग्न हुन्छन् । केहि न केहि कारण दिन प्रतिदिन हत्याका घटनाहरु बढिरहेका छन् । हत्यामा संलग्न ब्यक्तिहरु कुनै न कुनै ढंगबाट फरार हुन्छन भने निर्दाेष व्यक्तिहरुलाई कानुनको फन्दामा पारी सजायँ भोगिरहेका छन् । नेपालको कानुन किन अन्धो छ ? पैसाको कारण कानुन अन्धो भएको हो ? नेपालको कानुन दैवले जानुन् भने झै यो देशमा किन निर्दाेष व्यक्तिहरुले मात्र सजायँ पाउँछन् । पैसाको निम्ति एक व्यक्तिले अर्काे व्यक्तिलाई किन फसाउँछन् ? युवतीका लागि एकले अर्काेलाई फसाउँछन् ? यौन, अपराध, पैसा, भ्रष्टाचार सहज बन्न थालेको छ ।
अनुसन्धान गर्नुपर्ने निकायले गम्भिर भएर अनुसन्धान नगर्दा नेपालका जेलहरुमा थुप्रै ब्यक्तिहरु निर्दाेष भएको बस्नु परेको छ । कसैको नाम मिल्दैमा जेल जानु परेको छ त कसैले रिसले भनि दिदैमा अनुसन्धान नहुँदा जेल गएका छन् । उनिहरुले त्यसरी जेलसम्म पठाएपछि कानुनले दिनुपर्ने न्याय पाउन कठिन भएको छ । मुख्य कुरा कानुन हो । नेपालको कानुन किन अन्धो छ ? संविधान बनेको देश, लोकतन्त्र आएको देश, अनि शान्ति छाएको देशमा निर्दाेष व्यक्तिहरु सजायँ पाउँदा कसको मन रुँदैन र ? विना काम निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यो देशले कहिले भलो गर्न सक्दैन । त्यसैले त यो देश विकास हुन सकेको छैन । पैसाको लागि मानिसहरुले सामाजिक अपराधजन्य कार्यहरु गरिरहेका छन् । तर कानुनले दोषीलाई नियन्त्रणमा नलिई निर्दाेष व्यक्तिलाई कानुनको फन्दामा फसाएका छन् । कानुन भनेको त देशमा दोषीहरुलाई पो सजायँ दिन बनाएको त ? किन निर्दाेषीहरुले सजायँ भोग्नुपर्छ ? सिन्धुपाल्चोक जिल्लाको चौतारामा २०५१ साल माघ १३ गते आमा छोईसाङ तामाङको गर्भबाट मेरो जन्म भयो । म भन्दा अघि ३ दिदीहरुको जन्म भएको रहेछ । माइली दिदीको शारिरीक अवस्था कमजोर भएका कारण करिब ७÷८ वर्षकै उमेरमा मृत्यु भएको रहेछ । आज पनि त्यस्तै छ अवस्था । थुप्रै घरमा अन्न खाने रकम छैन । सिटामोल कसरी खानु ? सरकारी अस्पतालहरुमा औषधी रित्तो छ । गरिबका छोराछोरीहरुले शिक्षा, स्वास्थ्य, पेटभरी माम पाउनु भनेको आकाशको फल आँखा तरी मर जस्तै हो । बाँकी जेठी दिदी तुल्सीमाया र कान्छी निरमाया तामाङ हुनुहुन्छ । मेरो परिवार सुखी परिवार थियो । बुबा मोते तामाङ र आमा ओमसाङ तामाङले मलाई राम्रो शिक्षा दिनुभयो । सानैमा करिब ४ वर्षको उमेरमा गोल्डेन फ्युचर बोर्डिङ स्कुलमा पढाउनु भयो । त्यहाँ मैले ५ कक्षासम्म अध्ययन गरें । त्यसपछि चौताराकै श्रीकृष्ण रत्नगंगा उमाविबाट एसएलसी पास गरें । दिदीहरुले म भन्दा अघि नै उच्च शिक्षा हासिल गरिसकेका थिए । म पढाईमा त्यति राम्रो नभए पनि आफूलाई आवश्यक पढाई पूरा गरें । दुःखसुख जे गरेर भए पनि बुबाआमाले सबै सन्तानलाई पढाउनु पर्छ भन्ने मान्यता राख्नु भएको थियो । जातिगत हिसाबले पनि तामाङ समुदायमा धेरै कम ब्यक्तिले मात्रै अध्ययन गरेका छन् ।
मलाई मेरो परिवारले निकै माया गर्नुहुन्थ्यो । म पनि उहाँहरुलाई त्यतिकै माया गर्थे । उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु मेरो भविष्य हेरिदिनु भएकोमा । म पनि कमाउन सक्ने भएपछि उहाँहरुलाई बुढेसकालमा राम्रोसँग हेर्नेछु । म घरको एक्लो छोरो हुँ । मैले एसएसली पास गरेपछि त्यहि स्कूलको कलेजमा भर्ना भएँ । पढाईको क्रममा मैले कक्षा ११ पास गरे भने १२ पास हुन बाँकी नै थियो । केही महिना अगाडि मेरो सपना श्रेष्ठसँग माया प्रेम बस्यो । मेरो सपनालाई धेरै माया गर्छु । उ विना म बाँच्न सक्दिनँ । उसले नै मेरो सुख दुःखमा साथ दिएकी छिन् । हामी एक अर्कालाई धेरै माया गर्छाैं । म उसँगै जीवन बिताउन चाहन्छु । एकदिन सपना र मैले घुम्न जाने योजना बनाएका थियौं । त्यसदिन म खाना खाएर घरमा बसिरहेको थिएँ । त्यतिकैमा म टाइम पास गर्नको लागि गितार बजाउन थालें । अचानक मलाई खोज्दै दुईजना प्रहरीहरु घरमै आए । मलाई बाईकमा राखेर प्रहरी कार्यालयमा लगियो । त्यसपछि मलाई हिरासतमा राखियो । हिरासतमा राख्नुको कारण के थियो ? २०७२ भदौ १६ गते सपनालाई सञ्चो भएन भनेर मेलचौरमा बाइकमा लिन गएको थिएँ । म चौतारातर्फबाट मेलचौरतर्फ जाँदै थिएँ । ४ः३० बजेतिर म आफ्नै बाटोमा गइरहेको थिएँ । पुरानो बजार मुनिको बाँसघारी भन्दा अलि पर एउटा ट्रक आउँदै थियो । बाटोमा टिपर रोकिएको थियो । मैले त्यस ट्रकलाई साइड दिन आफ्नो मोटरसाइकल रोकें । त्यो ट्रक चौतारातर्फ गइसकेपछि मैले पनि रोकेको टिपर क्रस गर्न बाइक बढाएँ । क्रस भई सकेपछि उताबाट एकजना मान्छे आउँदै रहेछ । उसले बाइक बढाई मेरो साइडतर्फ मोड्यो । अकस्मात मेरो बाइकले उसको बाइकमा लेगार्डले छोएछ । अनि हल्का अगाडि गए पछि मैले मोटरसाइकल रोकें । उहाँले केही भन्नुभएन । त्यसपछि मैले सपनालाई लिएर आएँ ।
त्यस ठाउँमा अरु कोही थिएन । उहाँ चिनेकै मान्छे भएकाले मैले बेलुका अनलाईनमा दाई तपाईलाई केहि त भएको छैन नि भने । दाईले केही भएको छैन हल्का तिम्रो लेगार्डले छोयो भन्नुभयो । मोटरसाइकल थोरै स्क्र्याच भयो । हाइस्कुलको पाले दाईलाई खुट्टामा लाग्यो भन्नुभयो । पाले दाईलाई मैले त्यस ठाउँमा देखेको पनि थिएन । मेरो मोटरसाइकलले लागेको भए मेरो मोटरसाइकल लड्नुपर्ने तर केही भएको थिएन । यो सब झुटो हो भनि बसें । एक्कासी ५ दिनपछि मलाई फोन गरेर मेरो मोटरसाइकलले उसको बुबालाई हान्यो भन्यो । अनि धुलिखेलमा छ भन्यो । मेरो कारणले खुट्टामा लाग्यो भनेर फोनमा कुरा ग¥यो । मैले यो सब कुरा बुबालाई सुनाएँ । अनि भोलिपल्ट काकाको साथमा भेट्न गएँ । खुट्टा सुन्निएको रहेछ । घुँडामा पट्टि बाँधेको रहेछ । त्यसको बुबाले मेरो १० हजार भयो अब त्यति पैसा चाहियो । तिम्रो मोटरसाइकलको पछाडिको भागले लाग्या रे भन्नुभयो । तर मोटरसाइकलको पछाडिको भागले कसरी लाग्छ ? म नै छक्क परें । अनि मसँग पैसा छैन मेरो बुबासँग कुरा गर्नु भने । उसको खुट्टामा युरिक एसिड रहेछ । मसँग पैसा ठग्न लागेको रहेछ । भोलिपल्ट बुबा जानुभयो र कुरा गरेर आउनु भएछ । तर पर्सिपल्ट उहाँको निधन भएछ । बुढाको मृत्यु मैले गरेको भनेर मर्नु भन्दा ५ मिनेट अगाडि प्रहरी कार्यालयमा निवेदन दिएको रहेछ । प्रहरीले सिधै मलाई नियन्त्रणमा लिई हिरासतमा राख्यो । उनीहरुको झुठो निवेदनमा मलाई फसाइएको थियो । मेरो कुनै गल्ती नै नभई हिरासतमा राख्यो । मेरो मोटरसाइकलले लागेको भए खुट्टामा लागेर मान्छे मर्दैन । मैले मोटरसाइकलको लाइसेन्स पनि लिएको थिइनँ । भर्खर १८ वर्ष पुगेको थिएँ । बनाउनको लागि दरखास्त दिएको थिएँ ।
हिरासतमा रहँदा अनेक कष्ट र दुःख पाएँ । हिरासतमा न हिँड्न पाउने न त मोबाइल नै चलाउन पाउने, न त के गर्न नै । साह्रै कष्ट भयो । घरमा आमा बुबाको मन कति रोयो होला । प्रहरी कार्यालयमा मलाई भेट्न आमा आउनु भयो र धेरै रुनुभयो । जसोतसो मन बुझाएर दिन गन्दै बसें । दिन काट्न गाह्रो भयो । मलाई भेट्न मेरी प्यारी सपना पनि आउँथिन् । हिम्मत दिएरै जान्थिन उनी । धेरै माया गरेको देखेर मैले पनि आफ्नो जीन्दगी यस्तै हो भनेर मन बुझाई बसें । हिरासतमा मलाई २४ दिन राख्यो । २४ दिन पूरा भएपछि वकिलहरु मुद्दा लड्ने दिनमा मेरो मुद्दा पनि कुनै
एकजना वकिलले हेर्नु भएको थियो । जाहेरवालाले धेरै झुठो कुराहरु लेखेको रहेछ । पहिले चाहिँ बाइक पछाडिको भागले लागेको भनेर भनेको थियो तर त्यस दिनमा मेरो मोटरसाइकलको टायर खुट्टाबाट चढेको भनेर लेखेको रहेछ । जुन सबै झुट थियो । त्यसदिन मेरो वकिलद्धारा मुद्दामा बहस भयो । म छुट्ने आशमा बसेको थिएँ । तर मलाई पुर्पक्षमा राख्ने आदेश भयो । पोस्टमार्टम रिपोर्टमा पनि त्यस्तो केही थिएन । खुट्टामा घाउहरु केही थिएन । मर्ने त मरेर गयो गयो । तर पैसाको लागि किन मलाई यसरी झुलाएर राखेको जाहेरवालाले भन्ने लागिरह्यो । अदालत, कानुन खै के भनौ र म ? जुन व्यक्ति पहिल्यैदेखि रोगी छ । मलाई धुलिखेल कारागारमा राखिएको थियो । कारागारमा मैले धेरै निर्दाेष व्यक्तिहरु भेटें । विना गल्ती नै जेलमा बसिरहेका रहेछन् । मेरो गल्ती विना नै यसरी किन पुर्पक्षमा राख्यो ? मेरो गल्ती भएको भए मलाई जेलमा राख्नु उचित हुन्थ्यो तर विना गल्ती नै म किन जेलमा बस्नुप¥यो । बाइकको पछाडिको चक्काले लागेर ७ दिन पछि मृत्यु हुनु झुट कुरा हो । ७ दिनमा निकै समय बित्छ । यसरी झुटो आरोपमा पैसाको लागि मानिसहरुलाई किन फसाइरहेका छन् । यो त घोर अपराध हो । हाम्रो देशको सरकार अनि कानुन किन अन्धो छ ? दोषीहरुलाई कडा भन्दा कडा सजायँ दिनुपर्छ । तर किन यो सजायँ निर्दोषले पाउँछ ? मेरा पनि सपनाहरु होलान् । मैले अपराध नै गरेको छैन त किन अपराधी करार गरिन्छ ? देश निर्माणका लागि हामी जस्ता युवाहरुको दिमागमा यस्तै कुराले डेरा जमाएपछि जीवनबाट उराठ लागेर आउँछ । केहि महिना अघि मैले सफाई पाएँ । तर ६ महिना भन्दा लामो जेल जीवन विताएको मेरो क्षतिपूर्ति कसले दिन्छ ? मानसिक, शारिरीक, भविष्यका अनेकन प्रश्नहरुले मलाई सताई रहेको छ । के म बदला लिउँ ? कस्तो बदला लिउँ ? म त्यस्तो सोचमा छैन । भगवानले एक दिन यसको हिसाब किताब गर्नेछन् । म त्यसमै विश्वस्त छु । मेरी सपना जसले मलाई सधै ढाडस मात्रै दिईरहिन् । बुबा आमा जसले निर्दाेष छोरालाई साथ दिई रहनु भयो । न्याय दिनु नै थियो त किन ६ महिना ढिला गरियो ? न्याय मरेको आभाष भएको थियो । तर पनि आफु निर्दाेष भएको प्रमाणित भएको छ । यसमै खुशी छु । मलाई जे भयो अरुलाई त्यस्तो नहोस् ।
सरोज बोम्जन
सिन्धुपाल्चोक, चौतारा





