2026 May 25/ 05:15: 30pm

    समाज कति उदार भयो ? ब्यक्तिका चाहना र सोच कसरी परिवर्तन भए । विकास भनेको ब्यक्तिले सबै खालका गतिविधिहरु खुलेआम गर्न सक्छ भन्ने हो र ? केहिदिन देखिका अपराधहरु सुनिरहेको छु । विरक्त लागेर आउँछ । कानुन जसले मान्छ उसले नै दैनिक रुपमा उल्लंघन गरिरहेको छ । समाजमा विकृती, विसंगति मात्रै मौलाउँदै गएको छ । पैसा भयो भने सबै काम तमाम हुन्छ भन्ने सोचको विकास भएको छ । अराजकता मौलाउँदै गएको छ । संस्थागत अराजकता भ्रष्टिकरण तर्फ उन्मुख छ । सुशासन कायम हुन कठिन छ । तर पनि ब्यक्तिहरुले शुरु गरेको इमान्दारीताको कदर छैन । आफु कुनै योगदान नगर्ने अनि समाजले केहि गरिदिएन भन्ने प्रवृत्ति हावी भएको छ । जीवनबाट बैराग लागेर आउँछ । विश्वास गरांै कसको ? नगरांै कसरी ? यता हे¥यो त्यस्तै छ । उता हे¥यो उस्तै छ । 
    उच्च पदस्थ ब्यक्तिलाई कारवाही भएको छ । १२ वर्ष अगाडी जिउँदै भट्टामा आफ्नै सहयोगि जलाउनेलाई कारवाही शुरु भएको छ । आशा पलाएको छ । तरपनि अनुसन्धानमा भएका त्रुटीहरुलाई केलाउँदै न्यायाधीशहरुले कानुनको अपब्याख्खा गर्दै दोषिलाई छाडिदिने घटनाले पीडितलाई राहत हैन आहत बनाउँदो रहेछ । म पनि त्यस्तै पीडित मध्येकी एक हुँ । काभ्रेको महाभारत गाउँपालिकामा जन्म भयो । स्थानीय विद्यालयमा केहि साँवा अक्षर चिनेपछि रोजगारीका लागि बुबा आमा भक्तपुरकोे इँटा भट्टामा काम गर्न आउनु भएको रहेछ । उहाँसँग आउँदा मेरो बसाई भक्तपुरमा हुन थाल्यो । भक्तपुरमा रामछापका एक जना युवकसँग चिनजान भयो । चिनजान भएको केहि समयमै प्रेम बस्यो । उमेर र चाहना सबै मिल्दै गए पछि हामीले विवाह गर्ने निर्णय ग¥यौं । उनले गरेको निर्णय सहि थियो थिएन म भन्दिनँ तर मैले गरेको निर्णय पुर्णतः गलत थियो । १४ वर्षको उमेरमा मैले विवाह गर्नु आफ्नो र परिवारकै लागि घातक बन्यो । कम उमेरमा बच्चाको आमा बन्दा स्वास्थ्यमा असर पुग्यो । पाठेघर खसेर अरु बच्चाहरु जन्माउन समस्या भयो । अरु सामान्य काम गर्न पनि मलाई कठिन हुन थाल्यो । १५ वर्षमा आमा बनेको पीडा विर्सनै सकिदैन । पुनः १६ वर्षको उमेरमा अर्काे बच्चाको आमा बन्न पुगें । पुरुषहरुको जात अचम्मको हुने रहेछ । सुत्केरी श्रीमतीसँग जर्बजस्ति गर्दा उनको चाहना पुरा हुने तर हाम्रो भावना र मर्म बुझ्न नसक्ने । न त्यो बच्चा मैले हटाउन सकें । न सहज रुपमा जन्माउन नै । एक वर्षको अन्तरमा १६ वर्षमा दुई सन्तानको आमा बन्न पुगें । 
    बुबा आमाको सिजन हुन्थ्यो । महाभारतमा एक जना ठेकेदार थिए । उनले हाम्रो मात्रै होईन ५ सय मजदुरको जिम्मेवारी लिएका हुन्थे । अर्काे वर्ष भट्टामा जाने पेश्की समेत दिएका हुन्थे । त्यहि पेश्कीले घर ब्यवहार चलाउनु पर्दथ्यो । आम्दानीको अर्काे श्रोत थिएन । बुबा आमा उमेर ढल्कदै गए पछि खासै अरु काम गर्न सक्नु हुन्न थियो । भाई र बहिनी सानै थिए । उनिहरुको भविश्य राम्रो होस् भनेर पछि उहाँहरुले आफन्तकोमा भाई बहिनीको जिम्मा लगाएर भट्टामा जाने गर्नु भएको थियो ।  विवाह पछि म रामेछाप गएँ । घरमा सासु ससुरा, देवर, जेठाजु सबै हुनुहुन्थ्यो । उहाँहरुकोे सम्मान, सत्कार प्रमुख काम हुन्थ्यो । माईती भन्दा घर अलिक सम्पन्न थियो । श्रीमान् गाडीमा सह–चालक हुँदै चालक हुनु भएको थियो । शुरुमा गाउँमै चल्ने ट्रक चलाउनु भयो । उहाँले पनि सामान्य मात्रै अध्ययन गरेकाले हामी बीच समानता थियो । उहाँको खुशीका लागि मैले जे जे भने पनि हस् मात्रै भनिरहेको हुन्थें । खुरुखुरु मानिरहेको हुन्थे । प्रतिवाद कहिल्यै गर्दिनँ थिएँ । चाहना जति भए पनि उहाँको खुशीका लागि दबाउँथे मात्रै । उहाँकै कारण परिवारका सदस्यहरुले पनि मलाई शुरुमा राम्रो ब्यवहार गरिरहनु भएको थियो । विस्तारै उहाँ घर बाहिर हुन थाल्नु भयो । गाडी चलाउँदा चलाउँदै उहाँले मलाई र घरमा समय कम दिन थाल्नु भयो । मलाई खर्च पनि हुँदैन थियो । दुईवटा बच्चा हुर्काउन र उनिहरुको चाहना पूरा गर्न कठिन थियो । 
    केहि वर्षमै मलाई अलग राखियो । धेरै काम गर्नु पर्ने भएकाले मेरो शरीरको आङ्ग खसेको रहेछ । पेट पाल्न खेतबारी, बस्तुभाउको रेखदेख जरुरी नै थियो । श्रीमानले विस्तारै मलाई असहयोग गर्न थाल्नु भयो । तर पनि मैले सहेरै बसें । माईतीमा कहिल्यै केहि कुरा भनिनँ । श्रीमान विदेश जानुभयो । पहिलो चोटी थोरै रकम पठाउनु भयो । त्यसले शुरुमा घर खर्च चलाएँ । अहिले जस्तो भए त्यति सानै उमेरमा किन विवाह गर्थे र ? हुन त उमेर र समयले परिबन्ध पार्दाे रहेछ । उमेर सम्हाल्न नसक्दा जीवनभर पछुतो हुने रहेछ । सायद धेरैले यहि कुराको महसुस गरिरहँदा होलान् । क्षणिक आनन्द र रमाईलो जीवन क्षतिको पहिलो आधार रहेछ । श्रीमान विदेशबाट ३ वर्ष पछि फर्कँदा मलाई ३० हजार रुपैयाँ मात्रै दिनु भयो । दुई दुई सन्तान र आफ्नो पेट पाल्न मैले कति दुःख गरें होला ? अझै उहाँले उल्टो मलाई सराप्न थाल्नु भयो । दिनभर भारी बोक्न मजदुरीमा जाँदा मेरा जेठाजुहरुले बुहारी अरु केटासँग लागिछ भनेर फोन गरिदिनु हुँदो रहेछ । जसले श्रीमानका लागि ज्यान, प्राण दियो उसलाई धोका दिएर मैले के नै पाउँथे र ? समाज हुने सामाजिक अभियानमा मेरो सहभागिता भएकै थियो । सबैले मलाई सहयोगी भन्ने उदेश्यले बोलाउँथे पनि । भए पैसा दिन्थे नभए म सहयोग गर्थे त्यो दुःखले मैले सन्तान पालिरहेको थिएँ । त्यहि कुरा परिवारलाई पचेको रहेनछ । उनिहरुलाई त्यसले दुःख पाओस् समाजका कसैले पनि सहयोग नगरोस् भन्ने सोच रहेछ । डाहा र इष्र्या पनि थोरै हुनुु नि है । कस्तो अचम्म मान्छेको जात । 
    श्रीमान् मसँग झगडा गर्ने, रिसाउने, झर्कने अनि बेलुका सुत्ने बेला मसँगै टाँसिने गर्न थाल्नु भयो । मैले केहि भनिनँ । जसले जे सुनायो त्यसको पछाडी नदौडन अनुरोध गरें । ३ वर्ष कमाएको रकम के भयो भनेर सोधें । केहि उत्तर आएन । विस्तारै उहाँ मसँग टाढा टाढा हुन थाल्नु भयो । भर्खरै प्रतिनिधि सभाको निर्वाचन भएको थियो । उहाँ प्रदेशको अस्थायी राजधानी हेटौडामा गाडी चलाउँछु भनेर जानुभयो । रामेछापबाट सिन्धुली जाने आउने सुमो चलाउन उहाँका लागि प्रस्ताव गरिएको रहेछ । हामीलाई केहि नभनी अझै सन्तानलाई समेत बेवास्ता गरेर हेटौडा जानु भयो । हेटौडा गएको ६ महिनासम्म उहाँले हामीलाई सम्पर्क गर्नु भएन । फोन गर्दा उठाउनु भएन । जे मन लाग्छ त्यहि गर्नु भनेर खबर पठाउनु भयो । सताउनु पनि कति हो कति ? सन्तानको मन दुख्छ भन्ने डरले केहि भनिनँ । बरु भारी बोकेरै मैले उनिहरुको चाहना पुरा गरिरहें । विरामी हुँदा औषधी किन्ने पैसा हुँदैन थियो । ससुरालाई ५० रुपैयाँ सापट माग्दा जन्म दिने बाबु आमालाई समेत सराप्नु भयो । रुँदै रुँदै मेडिकल पुगें । पसलेले कानमा लगाएको बेरुवा रिङ्ग बन्धकी राख्यो । त्यो अवस्थामा पनि मैले हार खाईनँ । पटक पटक विष किनेर लगें । कलिला तामाका मुना जस्ता सन्तानको अनुहार झल्झल्ती याद आयो अनि मर्नबाट जोगिएँ । तर पनि समाजमा म भन्दा कम दुःख भोगेका सुविधाभोगी ब्यक्तिहरुले ज्यान फालेको सुन्दा अचम्म लाग्छ । मान्छे किन संघर्ष गर्दैन ? लोग्ने, स्वास्नी, प्रेमी प्रेमिका बिना जिउन सक्दैन ? 
    श्रीमान दशंैमा घरमा आउनु भयो । एक्लै आउनु भएन । मेरो घरमा प्रवेश पनि भएन । बाबु आमाको घरमा एक महिला र बच्चा पनि साथमा थियो । शुरुमा मैले सोचें कोहि पाहुना आयो होला ? आफन्तहरु त चिनेकै थिएँ आयो चाँहि को त ? मनमा चिसो भयो । कतै मेरै सौता त परिनँ ? नभन्दै जे नहुनु थियो त्यहि भयो । जे नसोच्या त्यहि भयो । बच्चा जन्माई सक्दा समेत मलाई अत्तो पत्तो थिएन । श्रीमानले २ वर्षको बच्चा सहित लिएर घरमा कान्छी श्रीमती भित्र्याए । मेरो नाममा कुनै सम्पत्ति थिएन । मलाई जानकारी नदिई ससुराबाट अंश लिएर बिक्री समेत गरिसकिएको रहेछ । मलाई अंंश दिनु पर्छ भनेर उसलाई पहिल्यै भिन्न बसेको कागज गराएर त्यहि कागजका आधारमा जग्गा पास गरेर सबै विक्री गरिएको रहेछ । विदेशमा रहँदा दुबै जनाको प्रेम बसेर विवाह भएको रहेछ । जब उसँग प्रेम भयो तब मसँग सम्पर्क टुटेको रहेछ । पैसा नपठाईएको रहेछ । घर परिवारलाई त्यो कुरा थाहा रहेछ । त्यहि बाहनामा मेरो चरित्रका बारेमा प्रश्न उठाउँदै दोश्रो विवाहका लागि सहज बनाईएको रहेछ । हेटौडा घर भएकी युवतीसँग उतै विवाह गरेर बच्चा पाउने भए पछि नेपाल फर्किएका रहेछन् । मेरो जानकारीमा नभएकाले मलाई त्यो खालको ब्यवहार गरिएको रहेछ । रुनु, कराउनु, बहुलाउनु, चिच्याउनु मेरा लागि केहि बाँकी भएन । तत्काल आफन्तलाई खबर गरें । आफन्तले प्रहरीकोमा जान सल्लाह दिए । प्रहरीकोमा उजुरी गरें । प्रहरीले दुबैलाई पक्राउ ग¥यो र मुद्दा चलायो । अदालतमा २४ दिनमा पु¥यायो । कानुन अनुसार मलाई लाग्थ्यो पुर्पक्ष जानु पर्छ । त्यसो हुन सकेन न्यायाधिशले उनिहरु दुबैलाई धरौटीमा छाड्ने आदेश दियो । मलाई उल्टै धम्की र असुरक्षा महसुस भयो । अदालत पुग्दा बुझें सबै म जस्तै दुःखी र पीडित छन् ।  अस्पताल जाँदा बुझें म जस्तै धेरै छन् । यस्तै यस्तै हुँदा मन झनै रोयो । साथ दिने कोहि हुँदो रहेनछ भन्ने बुझें । न्याय होईन अन्याय रहेछ । अदालतमा न्याय होईन अन्याय मिल्दो रहेछ भन्ने महसुस गरायो । निर्दाेष महिला माथी भएको अन्याय र अत्याचारलाई न अदालत, न प्रशासन न समाज कसैले पनि हेर्दाे रहेनछ । दुई सन्तानको सुख र खुशीका लागि निस्किएँ माईतीको शरणमा । 
    बल्ल बुझें कानुन सर्वसाधारणका लागि निरीह रहेछ । एकजना भिआईपी पक्राउ पर्दैमा सर्वधारणले न्याय पाउँछन् ? गलत हो । प्रहरी बलात्कार अभियोगमा पक्राउ पर्छन् छुट्छन् । प्रहरी बहुविवाहमा पक्राउ पर्छन छुट्छन् । हामी सर्वसाधारणको कुरा कसले सुन्ने ? मुद्दाका नौ सिङ्ग ? जीवनबाट हार खाएको छैन । शहरमा भारी बोकेर सन्तानको शिक्षाका लागि मेहनत गरिरहेको छु । विश्वास छ त सन्तान प्रति मात्रै छ । दोष कसलाई दिउँ ? उमेर, भाग्य वा समाज ? विरक्तिएको छु तर जीवनमा हार खान हुन्न भन्ने बुझेको छु । एकदिन सबैसँग हिसाब गर्ने समय आउनेछ । प्रतिक्षा सहित पापी पेट पाल्न संघर्षरत छु । तर दुःखी महिलाहरुका लागि निरन्तर सक्रिय हुनेछु । अनपढ भएँ होला तर धेरै कुरा अनुभवले नै खारिएको छु । डिग्री पास गरेकाहरुको प्रमाणपत्र भन्दा मेरो जीवनको भोगाईको अनुभवले धेरै कुरा बताउन सक्छ । भन्छु आफुले आफैलाई सम्हाल्नुस् । अभिभावककोे संरक्षण बाहेक निर्णय नगर्नुस् । उमेर सम्हाल्न सक्नु भएन वा जोसमा होस गुमाउनु भयो भने जीवनको उन्नती हैन दुर्गती मात्रै छ । महिलाहरुको स्वतन्त्रताका नाममा भएका विकृति र पुरुषत्वका नाममा गरिने अत्याचारमा कम सजायँ असल समाजका उदाहरण हैनन् । 

रमिला सिंतान
महाभारत गाउँपालिका, काभ्रे