2026 August 15/ 12:17: 02am

समय लामा
“वैदेशिक रोजगारी नै रोजगारीको अन्तिम समाधान हो, होइन र ? नेपालमै हाम्रो लागि राम्रो अवसर कहाँ छ र ?”
    काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा परामर्शका क्रममा सुमनले मसँग गरेको यो प्रश्नले मलाई लामो समयदेखि सोच्न बाध्य बनाएको छ । स्नातक तह पूरा गरेपछि उनले धेरै ठाउँमा रोजगारीका लागि आवेदन दिए । केही अन्तर्वार्तामा सहभागी पनि भए । तर अपेक्षाअनुसार अवसर प्राप्त भएन । कतै काम पाइहाले पनि तलबले सहरमा सामान्य जीवन धान्नसमेत कठिन थियो । अन्ततः उनी वरिपरिका धेरै युवाजस्तै एउटै निष्कर्षमा पुगे—विदेश जानु नै व्यवहारिक विकल्प हो ।
    सुमनको अनुभव कुनै अपवाद होइन । आप्रवासी स्रोत केन्द्रमा दैनिक आउने सेवाग्राहीहरूसँग संवाद गर्दा यस्तै कथा बारम्बार सुनिन्छ । धेरैले वर्षौंसम्म रोजगारी खोजेको, पढाइ र श्रम बजारबीच ठूलो असन्तुलन रहेको, सीपभन्दा चिनजान र पहुँचले अवसर निर्धारण गरेको अनुभव सुनाउँछन् । यस्ता अनुभवहरूले नेपालको श्रम बजारमा संरचनागत समस्या रहेको स्पष्ट देखाउँछन् । तर यही अनुभवहरूको बीचमा अर्को प्रश्न पनि बारम्बार मनमा उठ्छ–के हाम्रो समस्या केवल अवसरको अभाव मात्र हो, वा श्रमप्रतिको हाम्रो दृष्टिकोण पनि यस समस्याको एउटा कारण बनेको छ ?
    यो प्रश्न उठाउनुको अर्थ राज्यको जिम्मेवारीलाई कम आँक्नु होइन । रोजगारी सिर्जना गर्नु, निष्पक्ष भर्ती प्रणाली विकास गर्नु, निजी क्षेत्रलाई प्रोत्साहन गर्नु र सीपमूलक शिक्षामा लगानी गर्नु राज्यको दायित्व हो । तर त्यत्तिकै महत्वपूर्ण अर्को पक्ष पनि छ–हाम्रो समाजको श्रमप्रतिको दृष्टिकोण । यहाँ ‘अल्छी’ भन्नाले शारीरिक रूपमा काम गर्न नसक्ने अवस्था वा बुद्धिको कमीलाई जनाइएको होइन । यसको अर्थ यस्तो मानसिकता हो, जहाँ मानिसले प्रतिष्ठा र निश्चितता खोज्छ, तर मेहनत, जोखिम, नयाँ सीप सिक्ने प्रक्रिया वा सामाजिक रूपमा कम प्रतिष्ठित मानिएका काम स्वीकार गर्न हिचकिचाउँछ । आज पनि नेपाली समाजमा कामलाई ठूलो र सानो भनेर वर्गीकरण गर्ने प्रवृत्ति बलियो छ। मोटरसाइकल मर्मत, प्लम्बिङ, विद्युतीय काम, कपाल काट्ने, डकर्मी वा खेतीपातीजस्ता पेशालाई अझै पनि धेरैले ‘सानो काम’ भनेर हेर्छन् । ‘यत्रो पढेर पनि यस्तो काम गर्ने ? भन्ने टिप्पणी हाम्रो समाजमा अझै सामान्य छ ।
           विडम्बना के छ भने, यीनै पेशाले समाज चलाइरहेका छन् । यिनै श्रमले हजारौँ परिवारको जीविका धानेका छन् । तर सामाजिक प्रतिष्ठाको डरले यदि उपलब्ध कामलाई अस्वीकार गरिन्छ भने त्यो केवल रोजगारीको समस्या होइन; श्रमप्रतिको हाम्रो दृष्टिकोणको पनि समस्या हो । अर्कोतर्फ, हाम्रो शिक्षा प्रणालीले पनि अपेक्षाअनुसार श्रम बजारका लागि सक्षम जनशक्ति उत्पादन गर्न सकेको छैन । धेरै अवस्थामा डिग्रीलाई नै अन्तिम उपलब्धि मानिन्छ । तर आजको श्रम बजारमा प्रमाणपत्रभन्दा बढी महत्व सीप, अनुकूलन क्षमता र निरन्तर सिकाइलाई दिइन्छ। औपचारिक शिक्षा पूरा भएपछि पनि नयाँ सीप सिक्ने, प्राविधिक तालिम लिने वा आफूलाई समयअनुकूल अद्यावधिक गर्ने संस्कार अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन ।
हाम्रो समाजमा सेतोपोश (ध्जष्तभ अययिच) जागिरप्रतिको आकर्षण पनि अत्याधिक छ । सरकारी जागिरको तयारी गर्नु गलत होइन । तर वर्षौँसम्म एउटै अवसरको प्रतीक्षामा बस्दै अन्य सम्भावनालाई पूर्ण रूपमा बेवास्ता गर्नु दीर्घकालीन समाधान हुन सक्दैन । केही युवाले सानो व्यवसाय, प्राविधिक पेशा वा स्वरोजगारलाई सामाजिक दृष्टिकोणकै कारण दोस्रो दर्जाको विकल्प ठान्ने प्रवृत्ति पनि देखिन्छ ।
          उद्यमशीलताको चर्चा हामी धेरै गर्छौँ । तर प्रयास गर्नुअघि नै कर्मचारीतन्त्र, भ्रष्टाचार वा अरूको असफलताको उदाहरणलाई आफ्नै निष्क्रियताको आधार बनाउने प्रवृत्ति पनि हाम्रो समाजमा देखिन्छ । निसन्देह यी समस्या वास्तविक हुन् । तर ती समस्याले सबै प्रयास असम्भव बनाउँछन् भन्ने निष्कर्षमा पुग्नु पनि उचित हुँदैन ।
सायद सबैभन्दा ठूलो विरोधाभास वैदेशिक रोजगारीमै देखिन्छ । नेपालमा सामाजिक प्रतिष्ठाका कारण अस्वीकार गरिएका धेरै काम विदेश पुगेपछि त्यही व्यक्तिहरूले कुनै हिचकिचाहटबिना गर्छन् । काम उही हुन्छ; फरक केवल देश, सामाजिक मान्यता र हाम्रो सोचमा हुन्छ ।
           यसले एउटा गम्भीर प्रश्न उठाउँछ–के हामी वास्तवमै कामलाई अस्वीकार गरिरहेका छौँ, वा समाजले त्यस कामलाई हेर्ने दृष्टिकोणलाई ? यस लेखको उद्देश्य बेरोजगारीको सम्पूर्ण दोष व्यक्तिमाथि थोपर्नु होइन । नेपालमा रोजगारीको अभाव, न्यून तलब, असुरक्षित श्रम बजार, राजनीतिक हस्तक्षेप र कमजोर औद्योगिक विकासजस्ता संरचनागत समस्या वास्तविक छन् । तर त्यत्तिकै सत्य अर्को पक्ष पनि हो–कुनै पनि समाजमा श्रमप्रतिको सम्मान, सीप विकासको संस्कार र निरन्तर सिक्ने मनोवृत्ति बलियो नभएसम्म अवसरहरू पनि पूर्ण रूपमा उपयोग हुन सक्दैनन् । त्यसैले बेरोजगारीलाई केवल आर्थिक वा राजनीतिक समस्याका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यो समाजले श्रमलाई कसरी हेर्छ, सीपलाई कति महत्त्व दिन्छ र परिश्रमलाई कति सम्मान गर्छ भन्ने कुरासँग पनि जोडिएको विषय हो ।
आजको सबैभन्दा महत्वपूर्ण प्रश्न शायद यो होइन–‘नेपालमा रोजगारी छ कि छैन ?’
            बरु प्रश्न यो हो–‘राज्यले पर्याप्त अवसर सिर्जना गरिरहेको छ कि छैन, र हामी आफैँ पनि उपलब्ध अवसरलाई सम्मानपूर्वक स्वीकार गर्न, नयाँ सीप सिक्न र बदलिँदो श्रम बजारसँग आफूलाई अनुकूल बनाउन तयार छौँ कि छैनौँ ?’  जब राज्यले अवसर सिर्जना गर्ने आफ्नो जिम्मेवारी पूरा गर्छ र समाजले श्रमको गरिमालाई समान रूपमा सम्मान गर्न सिक्छ, तब मात्र बेरोजगारीको दीर्घकालीन समाधान सम्भव हुन्छ । रोजगारीको संकट केवल अर्थतन्त्रको संकट होइन; यो सोच, संस्कार, सीप र सामाजिक मूल्यहरूको पनि प्रश्न हो ।