- समय कुमार रम्तेल
अक्सफोर्ड अंग्रेजी शब्दकोषले क्रिसमस वा बडादिनको शब्दार्थ येशू ख्रीष्टको जन्ममा हुने उत्सवलाई भनेको छ । येशू ख्रीष्टको जन्ममा हुने उत्सवलाई भनेको छ । येशू जन्मेको दिन अर्थात क्रिसमस विश्वका करिब ३ करोड इसाईहरूले सबैभन्दा ठूलो चाडपर्वको रूपमा मान्दछन् । विश्वका विभिन्न भाषामा अधिकांश क्यालेण्डरले २५ डिसेम्वरलाई रातो लिपिमा लिपिबद्ध गर्छन् । यही समयमा विश्वभरीबाट लाखौं मानिसहरू होली ल्याण्ड अर्थात येशू जन्मनुभएको शहर यरुशलेम र बेतलेहेमका विभिन्न ठाउँहरूमा भ्रमण गर्नेहरूको भिड पनि लाग्छ । डा.बिल्ली ग्राहमले यो दिनलाई इतिहासको अभूतपूर्व घटनाको संज्ञा दिएकाछन् । विश्वभरी नै ख्रीष्टमसले मानिसहरूलाई दुईवटा कुराहरूले व्यस्त बनाउछ । संसारभरी नै मान्यता प्राप्त र चलनचल्तिमा रहेको क्यालेण्डर सकिदै गरेको र नयाँ बर्ष आउदै गरेको यो हप्ता अति नै व्यस्त बनाउछ । कारण देशविदेशमा काम र अध्ययनको सिलसिलामा बाहिर गएकाहरू आफ्ना आफन्त र परिवार जनसँग भेटघाट हुने गर्दछ । बर्षभरी काम सकेर आराम गरी रमाउने समय हो ।
धेरैजसो देशहरूमा सार्वजनिक रूपमा ख्रीष्टमस देखि नयाँ बर्षको दिनसम्म विदा हुन्छ । यदि विदा नभएमा पनि बार्षिक विदामा मिलाएर एक हप्ता छुट्टी लिएर परिवार तथा साथीभाइहरूसँग घुम्न र भ्रमण गईं क्याम्प गरी मनाउँछन् । डिसेम्बरको पहिलो हप्तादेखि नै बजारहरूमा भिड लाग्दछ । बजार झिलिमिली हुन्छन् । व्यापारीहरूको लागि यो राम्रो सिजन भएकाले विभिन्न छुटका अफर राखेर ग्राहकहरूलाई आकर्षण गराउँछन् । यो महिनामा मात्र खरबौ डलरको कारोबार हुनेगर्दछ । खानपिनका लागि विभिन्न परिकार बनाउने ठूलठूला होटलहरू, फाइप स्टार होटलहरू समेत अग्रिम बुकिङ गर्नुपर्छ । सेवासुविधा युक्त पर्यटकीय स्थलहरूमा त झन घुइँचो नै लाग्छ । अघिपछिको भन्दा हरेक कुरा महंगो भएता पनि मानिसहरूले खर्च गर्न पछि पर्दैनन् । ख्रीष्टमसले सबै देशका जातजाति, भाषाभाषी, वर्ग र क्षेत्रलाई प्रभाव पारिरहेको हुन्छ । ख्रीष्टमस वास्तवमा इसाईहरूको उत्सव भएता पनि अरुले पनि विभिन्न प्रकारले मनाउँदै आएका छन् । तर उहाँका अनुयायीहरूले येशूको जन्मोत्सव शालीनता, अर्थपूर्ण र सुसमाचरीय तरिकाले मनाउन सिक्नुपर्छ र सिकाउनुपर्छ । किनभने ख्रीष्टमस अर्थात येशूको जन्मबिना कल्बरीको उद्धारको कथा कसरी सम्भव होला र ?
विभिन्न देशका भाषा अनुसार एकअर्कामा ख्रीष्टमसको शुभकामना दिने गरिन्छ । जब डिसेम्बर २५ तारिखको दिन नजिकिदै आउँछ, मानिसहरू Merry Christmast वा Happy Christmas भन्दै वडादिनको शुभकामना साटासाट गर्छन् । तर यो ख्रीष्टमस अर्थात ख्रीष्टमस भनेको के हो ? यसको विशेषता के छ ? अंग्रेजीमा Every season has a reason.'' अर्थात् हरेक सिजनको पछाडी एउटा कारण हुन्छ भन्छन्, ख्रीष्टमस मनाउनुको कारण के हो ? यसको इतिहास कस्तो छ ?
प्रत्यक बर्ष संसारभरका धेरै मानिसहरूले मनाए पनि यो सबैले एकै प्रकारले र एकै अर्थमा भने मनाउदैनन् । कसैले ख्रीष्टमसलाई एउटा परम्परागत चाडको रूपमा मात्र मान्छन् । तिनीहरूको निम्ति यो दिन आफ्नो कामबाट छुट्टी लिएर आराम गर्ने दिन मात्र हुनसक्छ । कसैले यसलाई एउटा रमाइलो गर्ने र मनोरञ्जन गर्ने दिनको रूपमा लिन्छन् र रक्सी वियर पिएर मस्त हुन्छन् । कसैको निम्ति भने ख्रीष्टमस एउटा उपहार साटासाट गर्ने दिन हो । यो दिन ख्रीष्टमस कार्ड देखि लिएर मोटरकारसम्म उपहार लिने र दिनेहरू पनि हुन्छन् भने कसैले ख्रीष्टमसलाई एउटा व्यापार गर्ने र पैसा कमाउने मौका ठान्दछन् । उनीहरू ख्रीष्टमसको वास्तविक अर्थसँग केही मतलव राख्दैनन् तर सकेसम्म मौकाको बढी फाईदा उठाउने तर्फ मात्र लागेका हुन्छन् । अझ कति पश्चिमेली देशहरूमा त यस्ता व्यापारीहरूले ख्रीष्टमसलाई पूरा डिसेम्वर महिना भरी नै लम्ब्याउन पनि सफल भएकाछन् । तर वास्तवमा ख्रीष्टमस के हो ? के हामीले ख्रीष्टमसलाई ठीक अर्थमा बुझ्न सकेकाछौं । येशूख्रीष्टको सम्मान र उहाँको आराधनाविना ख्रीष्टमस महोत्सव सफल हुन सक्दैन । येशू जन्मनुको उद्देश्य छ । उहाँले गर्नुभएको आश्चार्यकर्मको उद्देश्य छ । त्यसैगरी उहाँ क्रूशमा मर्नु, गाडिनु र तेस्रो दिनमा पुनरुत्थान हुनुको पनि महान् उद्देश्य छ । विश्वमा चाडपर्वहरूको कमी भएकाले अर्को चाड थप्न वा मनाउन ख्रीष्टमस चाड मनाइएको होइन । प्रत्येक धर्म र आस्थाको पहिचान जनाउन चाड आवश्यक पर्ने भएकाले यो शुरु भएको पनि होइन । यो त केवल एउटा बलियो साक्षी दिन । जिवित येशूको जन्मदिवस मनाउन, सारा विश्वका मानवहरूको मुक्तिदाता येशू हुनुहुन्छ भनी सन्देश दिनु हो ।
बाइबलमा ख्रीष्टमसको बारे के भनिएको छ । सो हामी चर्चा गर्नेछौं । यशैया ९ः६ अनुसार “किनभने हाम्रो निम्ति बालकको जन्म भएको छ । हाम्रो निम्ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ ।” ख्रीष्टमसको सुरुवात आज भन्दा धेरै बर्ष अगाडि इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमा एउटा बालकको जन्मबाट भयो । त्यो बालकको जन्म एउटा गोठमा भयो र उसलाई डुँडमा राखियो किनभने पौवामा कुनै ठाउँ थिएन । त्यो जन्म एक प्रकारले अति नै दयनिय अवस्थामा भयो तर स्वर्ग भने आनन्दले रमाइरहेको र स्वर्गदूतहरू गाउँदै थिए । स्वर्गदूतहरूले नै ख्रीष्टमसको पहिलो सन्देश दिए । “नडराओ, हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ । किनभने दाउदको शहरमा आज तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।” लुका २ः१०,११ ती स्वर्गदूतहरूले बडो आनन्दको सन्देश ल्याए । स्वर्गदूतहरूले उहाँको आगमनको सन्देश गोठालाहरूलाई दिए, जुन सबै मानिसहरूको निम्ति हो ।
त्यसकारण ख्रीष्टमस सबै मानिसहरूको निम्ति एउटा ठूलो आनन्दको सन्देश हो । ख्रीष्टमस यस अर्थमा एउटा आनन्दको सुसमाचार सुन्ने र सुनाउने दिन हो । ख्रीष्टमस परमेश्वरले मानव इतिहासमा प्रवेश गर्नुभएको दिन हो । उहाँको आगमनले मानव इतिहासलाई दुई भाग BC(Before Christ )/AD ( Anno Domini) अर्थात् ईसा पूर्व र ईस्वी सम्वत्मा विभाजन गर्नुभयो । भनौ ईसा पूर्व र ईस्वी सम्वतको बोर्डर बनेर खडा हुनुभयो । यो संसारको इतिहासमा एउटा सबैभन्दा महत्वपूर्ण घटना हो । येशूख्रीष्टका आगमनको उद्देश्यहरूमा : १) मानिसहरूलाई परमेश्वर चिनाउन २) मानिसहरूलाई जीवन जिउन सिकाउन ३) मानिसहरूलाई उनीहरूको पाप क्षमा दिन आउनुभयो ।
यसलाई गहिरिएर सोच्ने हो भने, ख्रीष्टमसको मुख्य कारण मानिसहरू हो । यदि मानिसहरूलाई परमेश्वरको आवश्यकता नभएको भए, यदि मानिसहरूलाई पापको क्षमा नचाहिएको भए र येशूख्रीष्टको आवश्यकता नभएको भए, येशूख्रीष्ट आउनुहुने थिएन र ख्रीष्टमस हुने थिएन । यसकारण ख्रीष्टमसको मुख्य कारण मानिस अर्थात् हामी हौं र ख्रीष्टमस हाम्रो निम्ति हो । ख्रीष्टमस सबै मानिसहरूलाई परमेश्वरको एउटा अमूल्य उपहार हो । के यो उपहार तपाईंले पाउनु भयो । तपाईंको वरिपरि नपाउनेहरू कोही छन् की ? छन् भने यो सित्तैमा पाइने उपहार बाँड्ने मौका नचुकाउनुहोस् ।





