2026 March 11/ 09:16: 33am

सन्दीप के.सी.
स्वास्थ्य शाखा प्रमुख धुलिखेल नगरपालिका 

            नेपालमा स्वास्थ्य बीमा लागू भएको ४८ औं जिल्लाका रुपमा २०७६ साल भाद्र २६ गतेका दिन काभ्रेपलाञ्चोकलाई स्वास्थ्य बीमा लागू भएको जिल्ला घोषणा गरिएको थियो । स्वास्थ्य बीमा बोर्डका तत्कालिन कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले धुलिखेल नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मा तत्कालीन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्वव केसीलाई स्वास्थ्य बीमा परिचयपत्र हस्तान्तरण गर्दै सो घोषणा गरेका थिय । स्वास्थ्य बीमाको सेवा भने२०७६ मंसिर १ गतेबाट बिमितहरुको स्वास्थ्य जोखिम कभरेज सुरु गरिएको थियो । यसअघि नै धुलिखेल अस्पताललाई सिन्धुली र भक्तपुर जिल्लाका स्वास्थ्य बीमितहरुका लागि सेवा प्रदायक संस्थाका रुपमा तोकिएको भए पनि काभ्रे जिल्लाका नागरिकले भने बीमा लागू नहुँदा सुविधा पाएका थिएनन्। 
               उक्त समय सम्म मुलुकको जनसांख्यिक हिसाबले ७ प्रतिशतमात्रै कभरेज रहेको स्वास्थ्य बीमा बोर्डका तत्कालीन कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले बताएका थिय । उक्त कार्यक्रममा जनप्रतिनिधीहरुको गरिब तथा विपन्न परिवारले वार्षिक रुपमा बीमाको प्रिमियय बेहोर्न कठिनाइ भएको भन्ने गुनासोमा पोखरेलले गरिब परिचयपत्र लागू भएका जिल्लामा अतिविपन्न ६ लाखले प्रिमियम बेहोर्न नपर्ने निर्णय भएको छ । काभ्रे जिल्लामा पनि गरिबीको मापन भएर परिचयपत्र पाएका अति विपन्नलाई प्रिमियम तिर्नु नपर्ने हुन्छ, भनेका थिए तर उक्त गरिब परिचयपत्र हालसम्म काभ्रे जिल्लामा लागू हुन सकेको देखिदैन ।  उक्त कार्यक्रमको सुभारम्भ कार्यक्रममा  धुलिखेल, मण्डनदेउपुर, बनेपा, पनौती नगरपालिकाका प्रमुख र खानीखोला गाउँपालिकाका अध्यक्षलाई बीमा दर्ता परिचयपत्र प्रदान गरिएको थियो । 
           उक्त कार्यक्रममा तत्कालीन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले सेवा प्रदायक अस्पतालले बिमितलाई गर्ने व्यवहारका कारणले स्वास्थ्य बीमा कार्यक्रमप्रति अनिच्छा भएको हुनसक्ने तर्क राख्दै ‘म आफैंलाई सरकारी अस्पतालले दिने सेवामा भरोसा छैन । सरकारले ल्याएको कार्यक्रम भएकाले स्वास्थ्य बीमा गरेको हुँ । सरकारी स्वास्थ्य सेवा प्रदायकहरुको गुणस्तरीय सेवाबारे बिमितलाई ढुक्क नबनाउँदासम्म कार्यक्रम प्रभावकारी नहुन सक्छ भनेका थिए । तर पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले सरकारी संस्थालाई मात्र प्रथम सेवा बिन्दु तोकेको छ ।
            उक्त मिति देखि नै पनौती नगरपालिकाको सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र र खोपासी प्राथमिक स्वास्थ्य केन्द्र नमोबुद्ध नगरपालिकाको मेथिन्कोट प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल नगरपालिकाको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमार्फत प्रथम सेवा विन्दुको रुपमा कार्य गर्ने नीति भएता पनि यस अघि नै रेफरल सेन्टरको रुपमा रहेको धुलिखेल अस्पताललाई समेत प्रथम सेवा विन्दु मानेर काभ्रे जिल्लामा वीमा कार्यक्रम सञ्चालनमा रहदै आएको छ। धुलिखेल अस्पतालको गुणस्तरिय सेवा र रेफर लिनुपर्ने झंझट नभए पछि स्वास्थ्य वीमा कार्यक्रम काभ्रे जिल्लामा प्रभावकारी रुपमा अघि बढेको देखिन्छ ।
          समयको अन्तराल र स्वास्थ्य बीमा कार्यक्रम प्रति नागरिकको चासो तथा सहभागिता बढेर २०८२ असार १५ गते सम्म बनेपा नगरपालिकामा ४११०५ पनौती नगरपालिकामा ३३३७७ जना तथा धुलिखेल नगरपालिकामा ३२९५१ जना बिमित भएका छन् । आफ्नो नगरको कुल जनसंख्यामा धुलिखेल नगरको स्वास्थ्य बीमामा ९८.०४ प्रतिशत कभरेज गरेर जिल्लामा सवैभन्दा बढि कभरेज भएको देखिन्छ । हालसम्मको करिब ६ बर्षको अबधिमा १९८६६१ जना काभ्रे जिल्लामा बीमामा आबद्द्ध भएको तथ्याँक देखिन्छ । सबैभन्दा बढि संख्यामा बनेपा नगरपालिकामा ४११०५ जना तथा २४९९७ जना बिमित रहेको पँचखाल नगरपालिकामा प्रथम सेवा बिन्दु नभए पनि धुलिखेल अस्पतालले सेवा प्रदान गर्दै आएको छ । काभ्रे जिल्लाको मेथिन्कोट अस्पतालले विगत २ बर्ष देखि मात्र स्वास्थ्य बीमा सेवा सुरु गरेता पनि पनौती नगरमा सुन्थान र खोपासी तथा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले रेफरल सेवा प्रदान गरेता पनि हालसम्म स्वास्थ्य बीमा बोर्डबाट कुनै भुक्तानी रकम प्राप्त गर्न सकेका छैनन् ।
           स्वास्थ्य बीमा बोर्डले हालै २०८२ असार १० गते च नं १४२०को पत्र मार्फत २०८२ असार ८ गतेको निर्णय अनुसार सरकारी सेवा बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्था बाट प्रथम सेवा बिन्दु हटाउने निर्णय गरे पश्चात धुलिखेल अस्पतालले अब पहिलो सेवा बिन्दुको सेवा दिने छैन । यहाँ रेफर भएका तथा आकस्मिक सेवामा मात्र बिमितले सेवा पाउने देखिन्छ भने रेफरल सेवा लिन अन्य स्वास्थ्य संस्थाबाट रेफरल पुर्जी लिनु पर्ने छ । २०८२ असार १९ गते स्वास्थ्य बीमा बोर्डले अर्को सुचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने गरी अनुमती प्राप्त गरेका जुनसुकै सरकारी स्वा प्रदायक संस्थाले सेवा दिन सक्ने व्यवस्था गरेको जनाएको छ । क्यान्सर, डायलाइसिस, मानसिक रोग, अपाङ्गता, गर्भवती लगायत दीर्घरोगीहरूले एक पटक रेफरल लिएपछि बारम्बार ल्याउनु नपर्ने व्यवस्था गरेको छ । पछिल्लो जानकारी बमोजिम  नयाँ निर्णय अनुसार काभ्रे जिल्लाका बीमितहरूलाई मेथिनकोट अस्पताल, पनौती, खोपासी, सुन्थान वा धुलिखेल स्वास्थ्य केन्द्रबाट रेफरल सिट लिएर मात्र धुलिखेल अस्पतालमा सेवा लिन पाइनेछ । 
            जिल्लाको बनेपा, तेमाल, रोशी, पाँचखाल लगायत जनघनत्व बढी भएको स्थनीय तहहरु र दुर्गम क्षेत्रमा र्फर गर्ने स्थान समेत सुचिकृत नभएको अवस्था छ।  धुलिखेल सामुदायिक अस्पतालको  प्रशासकीय निर्देशक डा. बलराम मल्लका अनुसार गत वर्ष मात्र ३ लाख ७० हजारभन्दा बढी बिरामीलाई सेवा दिएको र त्यस वापत बीमा बोर्डबाट ६९ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । तर अब सरकारको निर्णयअनुसार धुलिखेल सामुदायिक अस्पताल प्रथम सेवा विन्दुका रूपमा सेवा दिन पाउने छैन ।  सरकारी संस्थाको पुर्व तयारी बीना हतारमा गरिएको यो निर्णयको प्रभाव काभ्रे जिल्लाका अतिरिक्त धरान, दाङ, पोखरा र तनहुँ जस्ता स्थानमा रहेका शिक्षण तथा सामुदायिक अस्पतालमा समेत पर्ने देखिन्छ । 
            यता धुलिखेल अस्पतालमा देनिक करिव १२०० विरामीले सेवा लिनेमा अधिकाँस स्वस्थ्य बीमामा आवद्ध भएका मानिसहरु रहेकोमा उक्त बिरामीहरुले अब २०८२ साउन १ देखि आकस्मीक सेवा बाहेक सेफर लिनु पर्ने व्यवस्था छ । उता धुलिखेल अस्पतालबाट सबैभन्दा नजिक करिव १.५ किमी दुरीमा रहेको प्रथम सेवा बिन्दुको रुपमा रहेको धुलिखेल प्राथमिक स्वस्थ्य केन्द्र सार्वजनिक यातायातको सुविधाको अभाव रहेको स्थानमा रहेको छ । यस प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक ४०–५० जनालाई सेवा दिदै आएको र १ जना मात्र चिकित्सक र ६ जना स्वास्थ्य प्राविधिकले रेफर सेवा दिन समेत कठीन हुने देखिन्छ । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको भवन पुरानो र अतिजीर्ण अवस्थामा रहेकोमा पटक–पटक संघीय तथा प्रदेश सरकारलाई मर्मत तथा पुनःनिर्माणको माग गर्दा समेत सुनुवाई नभएकोले बाध्य भएर पुरानो भवनबाट नै सेवा दिँदै आएको डा. दिपक ढकाल बताउँछन् । 
            स्थानीय तहबाट दैनिक आउने थोरै संख्याका बिरामी लाई औषधी तथा उपचारात्मक सेवा समेत दिन असहज रहेको परिस्थितीमा अब धुलिखेल अस्पतालमा आउने सेवा ग्राहीको प्रथम सेवा बिन्दुको रुपमा सहज सेवा उपलब्ध तथा रेफर सेवा समेत गराउन कठीनाई रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वस्थ शहरको रुपमा उपलब्धी हाँसिल गरेको धुलिखेल नगरलाई धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट थप सेवा प्रदान गर्नु चुनौती  र अवसर दुबैको रुपमा रहेको छ ।  धुलिखेल नगरले स्वास्थ्य सेवा जनताको मैलिक हकको रुपमा रहेकोले आफ्नो सबै प्रयास लगाएर परिवर्तित सन्दर्भमा समेत नागरिकलाई स्वास्थ्य सेवा दिने वातावरण बनाउन लागि परेको धुलिखेल नगर स्वास्थ्य शाखाले जनाएको छ । तिनै तहका सरकार तथा स्वास्थ्य बीमा बोर्ड र जनस्वास्थ्य कार्यालय काभ्रे लगाएत धुलिखेल अस्पतालसँग समेत समन्वय र सहकार्यमा नगरिकलाई दिने सेवा प्रभावकारी बनाउनुको विकल्प रहेको देखिन्न ।