
यहि २०८१ चैत्र १५ गते राजावादी आन्दोलनको नाममा एउटा घृणित बितण्डा देख्ने अवसर मिल्यो । मूलतः २०८१ फागुण ७ गतेको पूर्व राजाको अभिब्यक्तिबाट केही हौसिन पुगेका आफूलाई राजावादी भन्न रुचाउनेहरूको लागि कठित आन्दोलन गर्न बल पुग्यो र केही उर्जा थपियो । राजा त्यो हो जसले आफ्नो गुमेको सत्ता प्राप्ती कसरी गर्न सकिन्छ ? भन्ने दाउमा थियो । उनको लागि गणतन्त्रवादी दलहरूबाट यो देशमा शान्ती, सु–शासन कायम गर्न नसकोस्, महङ्गी, भ्रष्टाचार जस्ता कुराहरूले प्रशय पाओस्, विकासले गति दिन नसकोस्, गणतन्त्र पक्षधरहरूको बीचमा तिब्र मतभेद रहोस अथवा द्वन्द्व सिर्जना होस् । जसले शाही कालमा गरिएका ज्यादतिहरूलाई विर्सन पुगोस् र वर्तमान युवाहरू यो सरकारको विरुद्धमा लाग्न प्रेरणा मिलोस् । देशमा जसरी होस् फेरि पनि शाहि राजतन्त्रको आवश्यकताको महसुस गरोस् । यहि चाहनामा थिए, यहि कामनामा थिए पूर्व राजा ।
विडम्बनाको कुरो २०४७ को बहुदल अनि २०६२÷६३ यताको गणतान्त्रिक शासन व्यवस्था स्थापना पश्चात पनि दलहरूको बानीमा सुधार आएन । उहीँ ६२÷६३ अघिकै जस्तो अस्थीर र सत्ता दाउपेचका कदमहरू दोहोरिन थाल्यो । जसले जनअपेच्छित काम गरेर देखाउन सकेन । जसको कारण केही पूनरुत्थानवादी तत्वहरूले टाउको उठाउन जमर्को गरे । जसको पछिल्लो ज्वलन्त उदाहरण यहि गएको चैत्र १५ गतेको तीनकुनेको घटना एउटा हो । अहिले यो घटनालाई लिएर एकथरीको गणतन्त्रवादी (खासगरी नेकपा माओवादी केन्द्र) आफू सो¥है आना चोखो बनेर राजावादीहरूको यो कठित आन्दोलन एमाले+काँग्रेस समेतको गठवन्धनको उपजको रुपमा दोष थोपरिनमा व्यस्तछ । आखिर यहि नेकपा माओवादी केन्द्र र यसकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर राजनीतिक सत्ता समिकरण वा दलहरूसङ्गको गठबन्धनले गर्दाले नै भयो÷जे गरे प्रचण्डले गर्दा नै भए, जति अशान्ति मच्चियो नेकपा माओवादी उर्फ प्रचण्डबाट नै भयो,जति उद्दण्डता÷आराजकता मचाए यस्तो गर्ने सिको नेकपा माओवादी केन्द्रबाटै भयो । अराजकताको बीऊ सिर्जना गर्ने भनेको नेकपा माओवादी केन्द्र नै हो । जसले रवि लामिछानेको रास्वपा र दुर्गा प्रसाईं जस्ता अराजक ब्यक्तिहरू जन्माउन बाध्य बनाउने र राजतन्त्रको पक्षमा जनमाहोल सिर्जना गर्न प्रसय दिने पनि यहि हो । अहिलेको राजा ज्ञानेन्द्रको प्रत्यक्ष उक्साहटमा देशका विभिन्न भाग लगायत काठमाण्डौको तीनकुने घटना घटाउने पहिलो श्रेय यहि माओवादीलाई जान्छ । यद्यपि प्रत्यक्ष रुपमा देख्दा नेकपा माओवादी राजतन्त्रको कट्टर बिरोधी देखिए पनि माओवादीको अस्थिर राजनीतिक चरित्र र ब्यवहारबाट राजतन्त्रलाई ब्यूँताउने गतिबिधी र यो ब्यवस्था प्रती अनास्था जगाउने कामको पहिलो भूमिका नेकपा माओवादी केन्द्रकै हो ।
अहिले नेपाली काँग्रेसको सहयोगमा जुन केपि ओली नेतृत्वमा सरकार अघि बढिरहेकोछ क्षणिक समयको लागि र यो बाँकी अवधिको लागि सरकारको स्थायित्व दिन गठबन्धनमा रहेपनी अन्तिम लक्ष्यसम्म भने अघि बढ्न सक्ने अवस्था र चरित्र होइन । नेपाली काँग्रेस त्यस्तो यथास्थितीवादी र अनुदारवादी विचारको पार्टी हो जो अग्रगमण र विकासको विरोधी पार्टी हो । सिद्दान्ततः प्रजातान्त्रिक समाजवाद यसको नारा रहेपनी जनताप्रति चरम सामन्तवाद र हैकमवादको पृष्ठपोषक हो । जसले मनमोहन अधिकारीको अल्पमतको लोकप्रिय सरकारलाई समेत अति निर्मोही र विवेकशून्य बनाई हस्पिटलको शैयाबाट सत्ताच्युत गराएका थिए । जतिखेर विकास गर्ने सुत्र पहिल्याएका थिए, अशक्त, असहाय, एकल महिला र ७५ वर्ष माथिका बृद्धहरूलाई सामाजिक भत्ताको सुरुवात गरेका थिए, गाउँगाउँमा विकासको जागरण ल्याएका थिए, विद्युतको लोडसेडिङ्ग कम गर्ने योजनाको सुरुवात गरेका थिए । देशमा शान्ती र सु–शासनको अनुभूति दिलाएका थिए । यीनै र यस्तै लोकपृय कार्यहरूबाट जनतामा खुशीको उभार आएको थियो । जनताहरू विकासको मुहार हेर्न आशावादी बनेका थिए । तर त्यो बेलाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई औडाहा चल्यो, छटपट्टि बढ्यो र सबभन्दा ठूलो दलको हैसियतले बनेको मनमोहन नेतृत्वको अल्पमतको सरकार ढाल्न कुनै कसर बाँकी राखेन । सामाजिक भत्ता वितरण र विकासका लागि दिईएको विकास बजेतलाई कनिका छरे झैँ छरे भनी आरोप लगाए । अहिले यहि दल अर्थात् सैद्दान्तिक रुपमा कट्टर विरोधी दलसङ्ग मिलेर सरकार बनाउन बाध्य बनाएको छ । मिल्नुपर्ने र पार्टी नै एक हुनुपर्नेहरू बीचमा ठूलो शत्रुता हुन पुगेकोछ । यहि कमजोरी र पार्टी फूटको असर र अस्थिरताको उपज नै यहि तीनकुने घटनाको रुपमा देखिन पुगेको हो भन्दा फरक पर्दैन ।
यदि नेपालमा भएका कम्युनिष्ट नेताहरूमा राम्रो सोच, निश्वार्थ भाव र देश विकासको भावना र नेताहरूमा अहमता नभै दिएको भए नत नेपाली काँग्रेस नै ठूलो दल बन्नसक्थ्यो, नत अहिलेको एमाले, काँग्रेस, नेकपा माओवादी आदि पुराना दलहरूको विकल्पको रुपमा भनेर वैकल्पिक पार्टीको रुपमा रास्वपा जस्ता अभद्रपार्टी आउने बाटोनै मिल्थ्यो । गम्भीर र गहिरिएर सोच्नुपर्छ कि अहिले नयाँ बैकल्पिक शक्तिको रुपमा आएको पार्टी भनेर चिनाउन पछि नपर्ने रास्वपाका नेताहरू, सङ्घीय साँसदहरू र यसका समर्थक कार्यकर्ताहरू र राजावादी समर्थक पार्टी राप्रपाका नेता कार्यकर्ताहरू सम्पूर्ण नै एउटै स्वरुपका अराजक जत्था भन्दा फरक नपर्ने भएको छ । आखिर यो घटनाले के पुष्टि ग¥यो भने राजावादी समर्थकको राप्रपा र राजाबाट बढी विश्वास प्राप्त दुर्गा प्रसाई नेतृत्वको राजावादी आन्दोलन एउटा अराजकहरूको भीड मात्र रहेछ भन्ने पुष्टि भएको छ । सुपर मार्केट लुटपाट, अन्य घरहरूमा गरिएको आगजनी, जडिबुटीको औषधि प्रशोधन केन्द्रको तोडफोड र आगजनी, नेकपा “एस”पार्टी कार्यालयमा गरिएको आक्रमण र तोडफोड आदिको दृष्यले यहि प्रमाणित भएको छ । यहि अराजक जत्थाले शासन गर्ने अवसर मिले कसरी गर्ला सोच्नु पर्ने भएकोछ ।
तर उक्त उग्र प्रवृत्तिको आन्दोलन या अराजक प्रवितिको आक्रमण जे भने पनि गणतन्त्रको स्थापना पश्चात् सरकारमा जानेहरूले जे जति जनताहरूको हितमा काम गर्नु पथ्र्यो, स्थायी सरकारको रुपमा स्थापित हुनुपथ्र्यो, सबै राजनीतिक दलहरू आ–आफ्नो दलको सिद्धान्त र जनता र देशप्रतिको जवाफदेही ठानेर अघि बढ्नु पथ्र्यो त्यो कायम गर्न सकेन । सत्तामै जानको लागि हरेक तिकडमहरू चाल्न पुग्नु, दलहरूले आफ्नो हैसियत नाघेर सत्तामा पुग्ने प्रयास गर्नु, सत्तामा गएको पार्टीले गरेको राम्रा कामलाई पनि नकारात्मक ढ्ङ्गले प्रचार गरि जनतामा भ्रम पार्नु, प्रतिपक्षिहरूबाट सकारात्मक सहयोग गर्नुको सट्टा नकारात्मक प्रचारित गरि उत्तेजित पार्न प्रयास गर्नु आदि जस्ता कार्यहरू बाटै उक्त घटना घटाउनको लागि वातावरण मिल्न पुग्यो । जुन घटना घट्यो÷घट्न पुग्यो त्यो एक्कासी अहिलेको उपजको घटना नभै १९÷२० वर्ष देखिको जनताको असन्तुष्टि हो आक्रोश हो भनेर बुझ्नु पर्ने हुन्छ ।
अहिले यहि पार्टी हो जो एउटा सरकारी करारबाट नियुक्ती भएका कुलमान घिसिङ्गलाई हटाउन पाउँदैन भनी कुलमान घिसिङ्ग र जनता सामु जाति बनेर सरकारलाई दोषी देखाउन प्रयत्न गरिदैछ । केही अराजक र उदण्ड ब्यकिहरूलाई सडकमा उतारी केपि ओलीको सरकारलाई असफल बनाउने प्रयास गरिँदैछ् । प्रचण्डको यहि गैर जिम्मेवारी कृयाकलाप पनि अराजक जत्थालाई हुलहुज्जत गर्न बाटो बनेकोछ । यहि पार्टी हो अहिलेको एमाले+काँग्रेसको सरकारलाई अवैध र अपवित्र गठबन्धन भन्नेले आफ्नो पार्टीसङ्ग मिलेर सरकार बनाउँदा पवित्र हुने परिभाषा गरेर जनतालाई मूर्ख बनाउने काम गरे । प्रचण्डले काँग्रेस एमालेलाई यतिसम्म दास सम्झेर आफ्नो पार्टी र आफूलाई जादुकर नै सम्झिन पुगेकि कहिले नेपाली काँग्रेसको समर्थनमा त कहिले नेकपा एमालेको समर्थनमा सरकार बनाउन पुगि दुवै पार्टीलाई पटक पटक धोका दिन पुगे । जनताहरू माओवादी केन्द्रको यहि प्रविृत्तिबाट पनि वाक्कदिक्क भए, वितृष्णित भए, घृणित बने ।
सत्तामा पुगेका गणतन्त्रवादीहरूको सत्ता किचलो र अस्थीर सरकारको कारण जनताहरू वर्तमान पार्टी नेताहरू र पार्टीदेखी वाक्कदिक्क हुन थालेका थिए । जसको कारण सरकारले गर्न पुगेका विभिन्न विकासका कामहरू समेत छायाँमा परे । गरिएका सकारात्मक विकास कार्यहरूलाई समेत नकारात्मक रुपमा लिन र तीखो आलोचना गर्न थाले । राम्रो कामका लागि राम्रो गरे भनी सकारात्मक प्रशंसा गर्नसक्ने हृदय प्रतिपक्षि दलहरूमा रहेन । राम्रो कामको लागि राम्रो भन्दा इज्जत नै जालाकी जस्तो गर्न पुगे । सत्ताकै लागि को मित्र पार्टीको शत्रु पार्टी छुट्याउन सकेन । रातभरीमा सत्ता परिवर्तन हुन थाल्यो । हिजो दिनभरीको सत्ता सहयात्री भोलिपल्टदेखी घोर शत्रु हुन थाल्यो । एकले शुरुवात गरेका विकास कार्यहरू सत्ता परिवर्तन सङ्गै बन्द गर्ने गर्न थाल्यो । सरकारी नीतिहरूको स्थायित्व रहेन । दलहरू एक आपसमा आरोप प्रत्यारोप मै सीमित हुन थाले । आफू सत्तामा रहुन्जेल एउटा कुरा सत्ताबाट बाहिरिने बित्तिकै अर्को कुरा गर्न अलिकती पनि लाज मानेन । नेताहरूको यो दुइजिब्रे बोलिबाट नेताहरूको बोलिमा बिश्वास हुन छोड्यो । सत्तामा रहेकाहरू र जनताका प्रतिनिधि भएर गएकाहरूको जीवनशैलीमा रातारात परिवर्तन आयो । सरकारी वा सार्वजनिक कार्यालयहरूबाट सेवा प्राप्त गर्न अति ढिला सुस्ती हुनुका साथै घुस या अनियमित रकम बक्सले नियम जस्तै बसाल्यो । घुस÷बकस खान पाउने कार्यालयहरू भ्रष्ट नियतका कर्मचारीहरूको लैनु भँसी जस्तै भए । एउटा सरकारलाई मन नपरेका कर्मचारी अर्को सरकारको लागि अति राम्रा र गुणी कर्मचारी भए । नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिँह श्रेष्ठले भने जस्तै “कुकुरले पुच्छर हल्लाउनु पर्ने, पुच्छरले कुकुर हल्लाए” जस्तो हुन पुग्यो । जुन सरकारको नियन्त्रणमा रहनु पर्ने कर्मचारी, कर्मचारीको नियन्त्रणमा रहनु पर्ने अवस्था आयो । सरकार मातहत रहेका कर्मचारी राज्यका लागि गरिएका कामको जस आफैले मात्र लिन खोज्नु, कसैको आड बलमा समकालीन÷वर्तमान सरकारको आदेश निर्देश पालन नगर्नु पनि किमार्थ राम्रो होइन । यस विषयमा यसअघिका सरकार देखिनै बानी र आचरण बिग्रँदै आएको पाइन्छ । त्यस्तै सरकारी कर्मचारीहरू पनि कोहि कसैको प्रिय भक्त बनेर अर्को सरकार आउने बित्तिकै उसलाई नटेर्नु, बदनाम गराउने काममा लाग्नु कर्मचारीको धर्म होइन । कर्मचारी जोसुकै सरकारको नेतृत्वमा आएपनि ततस्थ भएर जिम्मेवारी पूरा गर्न आवश्यक छ । यसो भएमा नै देश सहि रुपमा अघि बढ्न सक्छ । त्यसैले सरकारको नेतृत्व गर्ने नेता र पार्टीहरूले यसमा गम्भीर भएर सोच्न आवश्यक छ । प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षहरूले पनि देशको विकास र अग्रगमणको दिशामा अघि बढ्ने गरि सल्लाह र सुझाव दिन आवश्यक छ । सरकारको नेतृत्व गरिरहेको सत्तासीन पार्टीहरूले पनि प्रतिपक्षिहरूको जायज कुराहरूमा सुनुवाइ गर्नु पर्छ । कुन काम के कसरी गर्दा जनता र राष्ट्रको हितमा हुन्छ त्यस विषयमा के सत्ता पक्ष के विपक्ष एकजुट भएर जान सक्नुपर्छ । सत्तामा कसरी पुग्ने ध्येयले होइन कसरी देश र जनतालाई राम्रो गर्न सकिन्छ यसैमा सवैको ध्यान लगाउन आवश्यक छ । सरकारको नेतृत्व लिने कुरा सबभन्दा ठूलो दलको हक हुन्छ भन्ने भावना जागृत हुनुपर्छ । गठबन्धन सरकार बनाउन आवश्यक परे संसदमा सबभन्दा ठूलो दलकै नेतृत्वमा सहभागी भएर जाने उदारभाव हुनुपर्छ । संसद्मा दोस्रो ठूलो दल अनिवार्य प्रमुख प्रतिपक्षीमा रहने गर्नुपर्छ । कर्मचारीहरूलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष, ढिला सुस्ती, वहानावाजी र घुस प्रवृत्तिको अन्त्य गरि जनता या सेवाग्राहीप्रति उत्तरदायी बनाउँदै उपयुक्त तलब ब्यवस्था गर्नुपर्छ । सरकारको नीतिमा एकरुपता आउनुपर्छ । नेताहरू सम्पूर्ण इमान्दार र स्वच्छ बनी एक आपसमा सम्मान गर्न सिक्नुपर्छ । नकि एक आपसमा खुइल्याउने, बेइज्जत गर्ने, अपमान गर्ने जस्ता कामहरूको अन्त्य हुन जरुरी छ । अरुको अपमान र बेइज्जत गर्दा आफ्नो पनि हुनसक्छ भनी सोच्नु पर्छ । सरकार संचालनका लागि अप्ठेरो र बाझिएका धाराहरू एक आपसमा छलफल गरि संविधान संसोधनका लागि एक हुनुपर्छ । यो भएमा नै सरकारको स्थायित्व कायम रहन्छ । सरकारको मान सम्मान बढ्नुको साथै सरकार प्रती विश्वास बढ्छ । र, देशमा यो ब्यवस्थाको विकल्पमा अरु सोच्ने अवस्था आउँदैन । दलका नेताहरूको पनि प्रतिष्ठा र इज्जत कायम रहन्छ ।
२४० वर्ष पहिलेदेखीको परम्पराको रुपमा रहेको राजतन्त्रको अन्त्य पछि जनताहरूले अब त देशमा सुशासन होलाकि भन्ने अपेक्षा गरेका थिए । तर गणतन्त्रका संस्थापक राजनीतिक दलहरू र पार्टीका नेताहरूमा पलाएको सत्ता आशक्तिले राजतन्त्रलाई पुनःसम्झिन पुगे । देश विकास र जनताको सम्बृद्धिमा भन्दा सत्तामा जाने र ढाल्ने खेलमा बढी समय खर्चे । भएका उद्योगहरू धमाधम बन्द भए÷गराए । तिब्र रुपमा बृद्धि भैरहेका युवाहरूलाई योग्यता क्षमता अनुसार रोजगार दिन सकेन । छ छ महिनामा सरकार परिवर्तन र विश्वासको मत लिनुपर्ने भैरह्यो । र, यसैले पनि जनताहरू फेरि पनि गणतन्त्रको विकल्पको राजनीतिक गतिविधिमा सकृयता बढ्दै गयो । पूर्व राजा स्वयम् विभिन्न देव मन्दिर र तीर्थास्थनको नाममा देशका विभिन्न ठाउँहरूमा घुम्न पुगे । पूर्व राजा ज्ञानेन्द्रलाई केही जनताहरूको दर्शन भेटले हौसिन ठाउँ मिल्यो र पूनः राजा हुन सकिन्छ कि भन्ने आशा जाग्न थाल्यो । केही अराजकको भिडले पुरातनवादी अर्थात पुनरुत्थानवादीहरू फेरि राजालाई राजगद्दिमा बसाउन सकिन्छ कि भनी दीवास्वप्न देख्न पुगे । यो मितिमा र त्यो मितिमा राजगद्दिमा बसालेरै छोड्छु÷छोड्छौँ भनी उदघोष ः गर्ने आँट आयो । यद्यपि २०६० साल यता जन्मिएका युवा जमातलाई के थाहा कि राजाको प्रत्यक्ष शासन कस्तो थियो, कति निरंकुश थियो र कतिलाई तत्कालीन पन्चायत शासनको विरोध गरे बापत नृशंस तरिकाले मारे भनेर ।
बहुदलको आगमनसँगै २०६३ बाट देशको राजतन्त्र हटेर गणतन्त्र त आए तर जनताले अपेक्षा गरे अनुरुप देशमा सु–शासन कायम गर्न सकेनन् । कुनैपनि दलको सरकार पाँचवर्षको अवधी टिक्न सकेन, टिक्न दिएन । जसले गर्दा जनताहरू राजनीतिक दलहरू र तिनका नेताहरू प्रतिको विश्वास गुम्दै गयो । यिनै कारणहरू हुन जसले नागार्जुनमा थन्को लागेर बसेका पूर्व राजा ज्ञानेन्द्र शाह राजाको रुपमा स्थापित भएमा त्यसको दायाँबायाँ बसेर वा अघिपछि लागेर फाइदा लिन पाइन्छ की भन्ने सपना देखेकाहरू र राजाको प्रत्यक्ष शासन ब्यवस्था नभोगेका नव युवाहरूको लागि राजतन्त्र फर्किएमा केके न होला भनी राजाको वरिपरी झुम्मिन पुगे । यहि जमात नै चैत्र १५ को कोटेश्वर ताण्डव आन्दोलनमा सहभागी हुन पुगे । उनिहरूलाई लाग्यो कि दुर्गा प्रसाईं जस्तो अराजक ब्यक्तिको नेतृवले गरेको आन्दोलन सफल हुन्छ । कोहि कसैको वा सरकारी भौतिक सम्पत्तिको नोक्सानी गर्नसक्यो भने यो देशको सरकार तर्सिन्छ र राजालाई नारयणहिटी दरवार छिराई राजा बनाउन सकिन्छ । तर परिणामले उल्टोपत्ता खायो र सम्पूर्ण नेपालीको नजरबाट नराम्रोसँङ्ग बदनाम मात्र भएन कि राजतन्त्रको आन्दोलननै करीब करीव समाप्त भयो । तर यो कोटेश्वर काण्डबाट यो जमातलाई ठूलो धक्का लागे पनि गणतन्त्रवादीहरूमा सुधार आएन भने केही वर्ष केही दशकमा यो झन झाँगिएर आउन सक्छ । यस विषयमा सपूर्ण गणतन्त्रवादीहरूले ध्यान दिन भने जरुरीछ ।