2025 July 14/ 05:28: 33am

मणिराज श्रेष्ठ

बनेपा,काभ्रेपलाञ्चोक

गरू रामभक्त कोख श्रेष्ठ दिवंगत हुनु भएको २५ बर्ष भै सकेछ ।

वहां प्रति धेरै धेरै सम्झना र भावपुर्ण श्रध्दासुमन अपर्ण गर्दछु ।

वहांको ब्यक्तित्वको बारेमा धेरै बिद्वत ब्यक्तिहरूबाट थुप्रै बर्णन गरि सक्नु भएको छ । म त्यता तर्फ होर्इन वहांको लेखहरूबाट ब्यक्त गर्नु भएका केही संक्षिप्त चर्चा गर्न चाहें ।

गुरु रामभक्तले बिभिन्न समय र सन्दर्भमा शिक्षा, सामाजिक,स्वास्थ्य,राजनैतिक,एैतिहासिक,विकास निर्माण आदि बिषयहरुमा लेख्नु भएको लेखहरु मध्ये केही लेखहरू सरसर्ति पढ्दा पाएका केही महत्वुर्ण, समसामयिक, सान्दर्भिक, अनुकरणीय तथा अनुभुतिहरू लगायत केही अंशहरू पस्कने प्रयास गरेको छु ।

वहांको ती लेखहरुमा शिक्षाको विकासलाई बढी जोड दिनु भएको छ । शिक्षाले नै ब्यक्ति,परिवार, देश र समाजको आर्थिक, सामाजिक, स्वास्थ्य लगायतमा प्रगति, उन्नति र विकास हुन्छ । समाजका उत्पिडित,गरिव,निमुखा,शिक्षाबाट बन्चित महिला,बालबालिका,अपाङ्गता,ज्येष्ठ नागरिक ब्यक्तिहरु समेतका हक,अधिकारका साथै  तिनीहरुको जीवन स्तर उकास्ने उपाएहरुका बिषयमा समेत वहांले आफ्नो लेखहरुमा प्रस्तुत गर्नु भएको पाइन्छ ।

 

शिक्षाका भावी रूपरेखा

शिक्षा देशमा विध्यमान रोग,भोक,अभाव,भेदभाव,भ्रष्टाचार,अन्याय एवं शोषणलार्इ निर्मुल पार्ने तर्फ उन्मुख हुनुपर्छ ।

ल्हाःया पचिंत लिसे (हालका औंलाहरु संग) कविता २०१४ साल

करपिन्त स्यनिगु ज्या छुं मयासें

थ पिन्त व मेपिन्त नं भिनिगु ज्या याय्गु स्व,

केवल छिपिं मिलेजु भिंकेगु, मती ति, बस,

( अरुलाई बिगार्ने काम नगरी

आफुलाई र अरुलाई भलो हुने काम गर्न सोच

मिल, खालि तिमीहरु मिल,

राम्रो गर्ने मति राख, बस,)

विज्ञान— शिक्षण २०३५ साल

शिक्षणमा सफल हुन यसका अवरोधहरु नै राम्रो बुझ्नु पर्ने हुंदा जिज्ञासु वर्गको ध्यान केही क्षण यतापट्ठी आकर्षित गर्नु राम्रो ठान्दछु ।

शिक्षणमा प्रभाव पार्ने स्थानिय केही समस्या निम्न प्रकार छन् ।—

१. बिद्यार्थी तथा अभिभावकको धारणा २. योग्य विज्ञान शिक्षकको कमी ३.बिद्यार्थीको दयनिय स्थिति

४. पाठ्य पुस्तकको कमी ५. प्रोत्साहनको कमी ।

बनेपा –सिन्धुली राजमार्ग र यसको महत्व–२०४३ साल

पूर्वी नेपाल जाने सयौं किलोमिटर परिश्चम गएर मात्र पूर्वतिर लाग्न सकिने  हालको स्थितिले बाध्यतावश नचाहिंदो बाटो गयो, फेरी त्यत्तिकै फर्कियो ।यसले गर्दा बाहिरबाट मगाउनु पर्ने महंगो तेलको अनावश्यक खर्च,मोटर चाहिने भन्दा बढी खिइने र हाम्रो अमूल्य समयको बर्बादी भई हुने ठूलो राष्ट्रिय आर्थिक क्षति बचाउन बनेपा –सिन्धुली  (काठमाण्डौ – जनकपुर ) मार्गको निर्माण अति आवश्यक भएको छ ।

आधुनिक बनेपाको चाहनाः आजाद मा.वि. मार्फत सिर्जना –२०४७ साल

नेवारहरुको यो देश (बनेपा)लार्ई  भोंत’ ‘भोंद’ भन्दछन् । पहिले यो देशमा भोलाखाटोल मात्र थियो रे । भोलाखा भन्ने मुख्य स्थान भोलाखा गणेशस्थानको पश्चिमको गङ्गा महारानीद्धारा निर्मित पाटी अगाडीको ईटा छापेको उक्त पाटी सरह लामो आधी बाटाको चौडाइ ढाकेको स्थान हो भनिन्छ । ‘भोला’ भनी महादेव भन्छन् र ‘खा’ को अर्थ नेवार भाषामा ‘घर’ पनि हुन्छ । महादेवको घर भएको स्थान बुझिएको र उक्त गणेशस्थान भित्र पछाडी उत्तरपट्ठि  आजभोली ‘सेवाचार्य‘ ‘  भनी थर लेख्ने ‘शिवाचार्य ‘हरु बस्छन् । ती सेवाचार्य चण्डेश्वरीका महादेव (चण्डेश्वर)को पनि पुजारी हुन् । चण्डेश्वरी क्षेत्रलाई पनि भोलाखा टोल मै लिने गरेको छ । चण्डेश्वरीलाई भोलाखालीहरुका चेलबटी भन्छन् । त्यसैले चण्डेश्वरीलाई ‘भोलाखा’ भनिने गरिएको भनिन्छ । ‘नेपालका नेवारहरु’ (The  Newar of Nepal) मा चण्डेश्वरी बनेपाका एक राजाकी परम सुन्दरी,

शक्तिशाली,तेजस्वी छोरी थिइन् भनी श्री गोपाल नेपालीले लेखेका छन् ।

स्वर्गीय श्रीमती कमला सैंजू–२०५२ साल

भनिन्छ,मानिस परिवेशको उपज हो । यद्यपि परिबन्द र  परिस्थितिले सामाजिक रुपमा उसलाई अर्कै हिसाबमा प्रस्तुत गरिदिन्छ । धर्म र पाप मात्र मृत्युपश्चात ब्यक्तिसंग साथै जाने कुरा हुन् भनिए तापनि कानुनले सम्बन्धित मानिसलाई मात्र दोषको भागीदार बनाउंछ । वंशानुगत लक्षणका कुरामा वैज्ञानिकहरु आमा—बाबुट्टिका तीन—तीन पुस्ता सम्मको  प्रभाव हुने बताउंछन् । हाम्रा पुर्वजहरुबाट तिथि—श्राद्धमा पिण्डदान गर्दा स्वर्गीय लगत्तै माथिका तीन पुस्तालाई तर्पण दिइने चलन चलाइएको परम्पराले त्यस्तै केही सङ्केत गरेको त होइन ? यो खोजीको विषयमा आउन सक्छ ।

नगरविकासमा गैरसरकारी संस्थाको भूमिका—२०५५ साल

गैरसरकारी संस्थाहरुलाई नगरविकासको कार्यक्रममा सहभागी बनाउनु आवश्यक छ । सामाजिक संस्थाहरुले आफ्नै तर्फबाट पनि समुदायको लागि हितकर आयोजनाहरु एकीकृत रुपमा नदोहरिने र बढी बोझ नहुने गरी समान काममा सम्बन्धित संस्थाहरुबीच समन्वय कायम गरी अथवा समान किसिमको काम गर्न संस्थाहरुको सञ्जाल (Network) बनाई सञ्चालन गर्न र नगरपालिकाकै आयोजनाहरु प्नि यसबाट सञ्चालन हुन सक्छ ।

साक्षारता र बनेपा—२०५६ साल

दैनिक व्यवहारमा आइपर्ने सामान्य समस्याको समाधान गर्न सक्ने किसिमले बुझेर काममा साधारण लेखपढ र हिसाब गर्न सक्ने सीप भएका व्यक्तिलाई साक्षर भनिन्छ र यो सीपलाई साक्षारता भनिन्छ ।

  1. साक्षारता किन आबश्यक छ ?

 शिक्षा मानिसको तेस्रो आंखा हो,भित्री आंखा हो । हामीले अनुभव गरेको कुरा हो—कहिलेकाहीं हाम्रो आंखा सामुन्ने घटेको घटना पनि देख्दैनौं,याद नै नहुने गरि घटना घटिसकेको हुन्छ । यो भित्री आंखाले नदेख्ता हो । तेस्रो आंखा नखुल्दा धेरै कुरा हामी बुझ्न सक्तैनौं ।

नेपाल शिक्षक संघको भूमिका —२०५७ साल

सबैलाई शिक्षाको समान अवसर र स्तरयुक्त शिक्षा नेपालको आवश्यक्ता हो । मानव संसाधनको विकास  बिना अरु विकास असम्भव छ । मानव संसाधनको विकास राम्रो शिक्षाबाट मात्र आउंछ । शिक्षा सबै विकासको प्रवेशव्दार,आधार र लक्ष्यमा पुग्ने मार्ग हो ।

नेपालको चोतर्फी विकासका लागि प्रजातान्त्रिक समाजबाद —२०५८ साल

  1. प्राकृतिक स्रोत साधन केही नभए पनि अधारभुत शिक्षा मार्फत जीवनर्यन्त शिक्षा ( Lifelong Education  )

व्दारा मानवस्रोत विकास -Human resource development  _गर्न सकिएमा मुलुकको विकास हुने  र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले हालै प्रचलनमा ल्याएको कुनै मुलुकको विकासको स्थिति लामो सुचक ( Human resource development Index- HDI) अनुसार औसत आयु, आधारभुत शिक्षाको स्तर, क्रयशक्ति हेरिन्छ । यो GDP-Gross Domestic Product मात्र भन्दा राम्रो र सकारात्मक छ ।

  1. नेपाल जस्तो मुलुक सुहाउंदो योजना प्रजातान्त्रिक समाजवादी आर्थिक कार्यक्रम हो । विकसित मुलुकहरु जस्तो औद्योगिक विकास र आर्थिक योजना दिएर यहां सम्भव छैन । यहां स साना लघु उद्योग, कुटीर उद्योग, लघु योजनाहरुको व्यापक थालनी गरेर मात्र आर्थिक विकास गराउनु पर्ने हुन्छ । दैनिक उपभोग्य वस्तु, भोजनको व्यबस्था,आवास र कपडाको व्यवस्था,मानवीय पक्षका आधारभूत विषय आफ्नै स्रोत र साधनबाट पूरा हुन सक्नु पर्दछ । गाउंबाटै विकास सुरु गर्नुपर्छ ।
  2. गौतम बुद्धको निर्वाणपछि बौद्ध धर्म सम्बन्धि सबै अभिलेखन कार्य भए झै बी.पी. व्दारा प्रतिपादित प्रजातान्त्रिक समाजवादबारे दार्शनिक,व्याबहारिक सबै पक्षमा अभिलेख तयार पारी सोही अनुरुप विकास कार्य अघि बडाउने ।

संक्षिप्त रुपमा भन्नु पर्दा वहांले धेरै धेरै लेखहरु लेख्नु भएको पाइन्दैन, तर जे जति लेख्नु भएको छ, ती लेखहरु काल्पनिक भन्दा यथार्थ परक,ब्याबहारिक, तथ्यमा आधारित, सकारात्मक आचारण, ब्यक्ति,समाज र देशको उन्नतिका र परिवर्तनका गहण बिचारहरु रहेको छ । वहांले लेखहरु लेख्नका लागि मात्र नभई, ब्यबहारमा पनि लागु गरेर देखाउनु भएको छ । र लागु गर्ने प्रयास गर्नु भएका थुप्रै उदाहरणहरु छन् । लेखकै सन्दर्भमा भन्नु पर्दा, वहांले मलाई पनि समय समयमा यो बिषयमा लेख्नु त्यो बिषयमा लेख्नु भनेर सल्लाह,सुझाब र उत्प्रेरणा दिइ रहनु हुन्थ्यो ।