
कुलप्रसाद दवाडी
प्रमुख, कृषि विकास कार्यालय, काभ्रेपलान्चोक
‘जीवनाशक विषादी’ भन्नाले बोट बिरूवा, कृषि जन्य पदार्थ र वन तथा वन पैदावर, जीव, पशुपन्छी, मानव स्वास्थ्य, भण्डारण प्याकेजिङ्ग र निर्माण कार्यमा हानी पु¥याउने रोग, किरा, सुलसुले, निमाटोड, झारपात, मुसा लगायतबाट वचाउन प्रयोग गरिने प्राँगारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तुलाइ सम्झनु पर्छ । (जीवनाशक विषादी ऐन, २०७६ )
त्यो वस्तु जसले नाश गर्छ, बृद्धि रोक्छ वा नोक्सानी गर्ने जीव वा जीवाणु र विरुवाजन्य पदार्थलाई उत्पादन, ढुवानी वा भण्डारणमा नियन्त्रण गर्ने काम गर्दछ, त्यसलाई विषादी भनिन्छ । विषादीहरु वानस्पतिक, पशुजन्य र रसायनहरुको सम्मिश्रणबाट बनाइन्छ । झोल, धूलो, दानादार, पानीमा घुल्ने दूधिलो सार आदी प्रकारमा पाईन्छ । छरेको विषादी जब वातावरणमा आउँछ अनि खण्डिकरण हुन्छ । उडेर जान्छ, सूर्यको किरण, पानीले पखाल्छ, सुक्ष्मजीवहरुको कृयाकलाप, अन्य रसायनहरुमा परिवर्तन, विरुवा वा पशुको भित्री प्रकृयामा प्रवेश गर्छ ।
विषादीले वातावरणमा समेत असर पार्छ । जैविक विविधतामा असर, वातावरणको खाद्य श्रृंखला र खाद्य चक्रमा भएका जीवहरुको प्रजातिहरु नष्ट, बाली विरुवामा परागशेचन गराउने पुतली र मौरीमा असर, वातावरणीय खाद्य श्रृंखलामा असर, भूस्खलन, माटोको बनौट र उर्वराशक्तिमा असर, पानीको गुणस्तरमा असर, चराचुरुङ्गीमा असर, माछा र जलचरमा असर, प्रजनन, बृद्धि विकास र व्यवहारमा परिवर्तन, हजारौ माछा, वन्य जन्तु र करिब ६७ मिलियन चरा प्रति वर्ष मर्ने गरेका छन् । साथै विश्वमा करिब २६ मिलियन मानिसहरुमा बर्षेनि विषादीको असर पर्ने र जसमा करिब २.२ मिलियन मर्ने गरेका पाइन्छ ।
सबैभन्दा धेरै विषादी खाद्यान्न, मकै, गहुँ, कपास र भटमासमा छरिन्छ । विषादीले मानव स्वास्थ्यमा असर पारेको छ । विषादी मुख आँखा र छालाबाट शरीरभित्र पस्ने गर्दछ । विषादीको जोखिम त्यसमा भएको विषको मात्रा र मानिसको विषादीसंगको सम्पर्कमा भर पर्दछ । जति सुरक्षित पहिरन लगाइयो त्यति नै सुरक्षित हुन सकिन्छ । विषादी छर्दा शरीरभित्र पस्ने ९७ प्रतिशत विषादी छालाबाट पस्दछ । दूधे र तैरने पदार्थ भएका विषादी पानीमा घुल्ने धूलो र दानादार भन्दा शरीरभित्र सजिलैसँग पस्ने गर्दछन् । विषादीको तत्काल, ढीलो र एलर्जी हुने असर देखिन्छ ।
विश्वमा विषादीको अवस्थाः २०२२ मा कृषिमा कुल कीटनाशक प्रयोग ३.७० मेट्रिक टन सक्रिय सामग्री थियो जुन २०२१ को सन्दर्भमा ४ प्रतिशतले वृद्धि भएको छ भने एक दशकमा १३ प्रतिशतले कुल कीटनाशक प्रयोग बृद्धि भएको छ । १९९० पछि दोब्बर भएको छ । २०२२ मा, एसियाले ३.५ मिलियन टन र अमेरिकी डलर २१.७ बिलियन को परिमाण र मूल्यको सबैभन्दा धेरै कीटनाशकहरू निर्यात गरेको थियो । १९९० र २०२२ को बीचमा, विषादीको तीव्रता विभिन्न दरहरूमा बढ्यो । प्रति बाली क्षेत्रको प्रयोग ९४ प्रतिशतले बढ्यो, कृषि उत्पादनको छ प्रतिशतले तथा प्रति व्यक्ति प्रयोग ३५ प्रतिशतले बढ्यो । पछिल्लो दशकमा झारपातनाषक विषादीको प्रयोग ४० बाट बढेर ४९ प्रतिशत पुगेको छ भने किटनाषक विषादीको प्रयोग २६ वाट घटेर २२ प्रतिशत र ढुषिनाषक एवं व्याक्टेरिया नाशकको प्रयोग २५ बाट २२ प्रतिशत पुगेको देखिन्छ ।
नेपालमा विषादी प्रयोगको वर्तमान अवस्था ः पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरूले विषादी त्यस्तो प्रयोग गर्दैनन् तर बजार नजिकका क्षेत्रहरूमा व्यापक हुन्छ । नेपालमा औसत ३९६ ग्राम (खास विष) प्रति हेक्टर विषादी प्रयोग हुने देखिन्छ (एएम, २०१५) । बाली विषेश हेर्दा विषादी प्रयोगको अवस्था भयानक जस्तो देखिन्छ । तरकारीमा १६०० ग्राम हेक्टर सर्लाही, काभ्रे, धादिङ्ग, मकवानपुर तथा तराईका केहि जिल्लाहरुमा प्रयोग हुनेछ । चियामा २१०० ग्राम हेक्टर, कपासमा २५६० ग्राम हेक्टर प्रयोग भएको छ । विषादी व्यवस्थापन सम्वन्धि कानुनी व्यवस्था अनुसार जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ र जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ जारी भएका छन् ।
जीवनाशक विषादीको पञ्जीकरण गराउनु पर्ने (दफा ३) मा ब्यवस्था गरेको छ । कुनै व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादी तथा त्यस्तो विषादीको सक्रिय तत्व समेतको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसार पसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्नु पूर्व केन्द्रमा पञ्जीकरण गराउनु पर्ने ब्यवस्था गरेको छ । उपदफा (१) बमोजिम पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले तोकिए बमोजिमको विवरण र ढाँचामा प्रदेशको कृषि सम्वन्धी विषय हेर्ने मन्त्रालय मार्फत वा सिधै केन्द्र समक्ष निवदेन दिनु पर्नेछ र सम्वन्धित प्रदेशको कृषि सम्वन्धी विषय हेर्ने मन्त्रालयमा प्राप्त निवेदन तोकिएको समयभित्र केन्द्रमा पठाउनु पर्नेछ । उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले आवश्यक छानबिन गरी तोकिएका शर्त पूरा भएको पाइएमा त्यस्तो जीवनाशक विषादीको पञ्जीकरण गरी सोको प्रमाण पत्र प्रदान गर्नु पर्नेछ ।
उपदफा (३) बमोजिम प्रदान गरिएको प्रमाण पत्रको अवधि तीन वर्षको हुनेछ । जीवनाशक विषादीको पञ्जीकरण गर्दा लाग्ने शुल्क तथा सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । उपदफा (३) बमोजिम पञ्जीकरण गरिएका विषादीको नाम मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ । अहिले कृषक आफैले विषादीको प्रयोग अत्याधिक गर्ने गरेकाले त्यसका बारेमा सचेतना फैलाउन, त्यसका असरका बारेमा जानकारी गराउन र अनियन्त्रित विषादीको प्रयोगबाट हुने हानी रोक्न कृषि विकास कार्यालयले सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ । (लेखक कृषि विकास कार्यालय काभ्रेका प्रमुख हुनुहुन्छ ।)