सन्दीप के.सी.
विकास के हो भनेर सोध्नु हुन्छ भने यसको चित्त बुझ्दो उत्तर पाउन कठिन हुन्छ । विकास भुँई मान्छेका लागि एकपेट खान पाउनु र आङ ढाक्ने कपडा पाउनु अनि बस्ने बासको प्रबन्ध हुन सक्छ । तर तारे होटलका खानाका पारखीहरु र देश विदेशका सहर चाहर्दै हवाई सफरमा उड्नेहरुका लागि विश्वको भौतिक विकास अपुरो झैं लाग्न सक्छ । अझै देश विकासका कुरा गर्ने विद्वानका तर्कहरु नियाल्ने हो भने कसैले आर्थिक बृद्धिलाई लिएका छन्, भने कसैले प्रतिव्यक्ति आयलाई त, कसैले कुल गार्हस्थ्य उत्पादनलाई लिएका छन् । कसैले प्रतिव्यक्ति बाँच्ने आयुलाई विकासको सुचक मानेका छन् त कसैले न्यून मुद्रास्फीतिको अवस्था विकासको सूचक हो भनेका छन् । वास्तवमा यो विश्व र मानविय सभ्यताको विकास ईश्वरीय देन होइन, यो क्रमिक विकासको आधार हो भन्न सकिन्छ । यो सैद्धान्तिक आधार पेस गर्नु नै आफैँमा एउटा विकासवादी सिद्धान्त हो भन्न सकिन्छ । यसलाई बहुयामिक तत्वको रुपमा बुझ्नु उचित हुन्छ ।
फुलमा कोपिला लाग्नु तथा फक्रनु विकास मान्न सकिन्न । यो स्वरुप र अवस्थाको परिवर्तन मात्रै हो यस्ता परिवर्तनमुखी प्रकृयामा पदार्थको स्व–प्रक्रिया मात्रै भएको हुन्छ । मानिसको चेतनासँग यस्ता तत्वहरुको सहकार्य भएको हुँदैन । चेतना सार तत्व हो । यसको विकास विना भौतिक विकास अस्थीर हुन्छ । यसले स्थायित्व पाउन सक्दैन । राजनीतिज्ञहरूले विकासलाई राजनीतिसँग जोडेर विकासको परिभाषा गरेका हुन्छन् । स्वास्थ्यकर्मीहरुले असल स्वास्थ्यको अवस्था, भौतकवादीहरु ठूला आधुनिक शहरका कुरा गर्छन् त अध्यात्मवादीहरु असल चिन्तन नै विकासको आधार हो भन्दछन् । राजनीतिज्ञको विचारमा शासकीय स्वरूप र प्रणाली जनभावना अनुकूल हुन सक्यो भने निश्चय नै विकासले निर्दिष्ट बाटो लिन सक्ने हुन्छ । समाज शास्त्रीका अनुसार विकास भन्नुको अर्थ समाज सुसँस्कृत र सभ्य हुनु हो । त्यसो हुन सकेको अवस्थामा सामाजिक विकास भएको मानिने हुन्छ । सबै यथार्थलाई समेटेर हेर्दा विकास भनेको राजनीति, सामाजिक, आर्थिकजस्ता सम्पूर्ण क्षेत्रको समुन्नत प्रगति हुनु नै विकास भन्न सकिन्छ ।
यी त भए विकासका स्वरुप तथा सुचकका कुरा, अब थोरै समय हाम्रो विकासको पद्दतिलाई दर्शन शास्त्रीय उपागमबाट नियाल्ने प्रयास गरौं । सँस्कृत भाषाको शाब्दिक अर्थलाई लिँदा दर्शन भनेको कुनै कुरालाई हेर्ने र बुझ्ने सवाल हो भन्ने बुझिन्छ भने अंग्रेजी शब्द फिलोसोफीको शाब्दिक अर्थलाई लिँदा बौद्धिक ज्ञानप्रतिको अभिरुची भन्ने बुझिन्छ । अहिले सम्म हामिले गरेको विकासको सार तिर घोत्लिने हो भने लाग्छ– पदार्थको स्वाभाविक प्रक्रियाद्वारा निर्मित परिवर्तन विकास होइन । फुलमा कोपिला लाग्नु तथा फक्रनु विकास मान्न सकिन्न । यो स्वरुप र अवस्थाको परिवर्तन मात्रै हो यस्ता परिवर्तनमुखि प्रकृयामा पदार्थको स्व–प्रक्रिया मात्रै भएको हुन्छ । मानिसको चेतनासँग यस्ता तत्वहरुको सहकार्य भएको हुँदैन । चेतना सार तत्व हो । यसको विकास विना भौतिक विकास अस्थिर हुन्छ । यसले स्थायित्व पाउन सक्दैन ।
जीवन र जगतलाई बुझ्न र बदल्न सक्ने तत्व भनेको दर्शन हो । दर्शनशास्त्र जगतको विषयबोध गर्ने मानव प्रयास हो वा चिन्तनको त्यो चरम अवस्था हो । हामी दिगो विकासका कुरा गर्छौ तर विकास बुझ्न दर्शन शास्त्रीय हिसाबले बुझ्न जरुरी हुन्छ । विकासको चिन्तन बुझ्नलाई दर्शनको महत्व छ । दर्शनशास्त्रका पाना पल्टाउँदा मार्कसले भनेका छन्– दार्शनिक अनुसन्धानका लागि पहिलो आवश्यकता साहसिलो र स्वतन्त्र मन हो । सत्यलाई झुटले ढाकेका हुन्छन् । झुटो पन्छाएर मात्र सत्य प्राप्त हुन सक्छ । कतै हाम्रो विकास यस्तै त भएको छैन ? यदि हैन भने मानविय संवेदनशीलतामा कती विकास भयो त ? यसको मापन गर्ने कतिवटा सुचकहरु बने ? वा के विकासले मानिसलाई खुसी बनाउन सक्यो ? अन्तिम सत्यको रुपमा भन्ने हो भने यो मरणशिल दुनियाँमा मानिसको सबैभन्दा प्यारो सम्पत्ति जीवन हो । जीवन देखि हार मानेर मृत्युवरण किन गर्छ मान्छे ? के हामीले सोचेको विकास यहि नै हो त ।
डार्बिनको विकासवाद जीवको उत्पत्तिका सन्दर्भमा उल्लेख्य प्रमाण लिएर आएको थियो भने प्रकृति र पुरुषको सहयात्रा सृष्टि मान्ने साङ्ख्यशास्त्रले सिर्जनालाई कार्य–कारण भाव मानेको थयो । हुनत डार्बिनको विकासवाद आउनुपूर्व नै अध्यात्मवादको इतिहासमा वेद, उपनिषद्, पुराण आएका थिए । यता अर्थशास्त्रका पिता एडम स्मिथको खुल्ला अर्थशास्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मुल आधार मानेका छन् । उत्पादन र उत्पादकत्व, न्यायपूर्ण वितरण, स्रोत र साधनको दिगो प्रयोग र मानिसलाई खुसी बनाउनु नै विकासको मुख्य पक्ष हो ।
विश्वले पूँजीवादी विकास वा उदारवादी विकास र समाजवादी विकास गरी विकासका २ वटा बाटो रोजेको देखिन्छ । तर दर्शनशास्त्रको सारमा बुझ्ने हो भने जब मानिसले एउटा खुल्ला पुस्तकको रूपमा रहेको संसारको सैद्धान्तिक जाँचबुझ गर्न थाल्छ वा भनौं वास्तविक गहिराईमा सत्यको खोजी र विश्लेषण तथा व्याख्या गर्न सुरु गर्छ, ऊ दर्शनमा पौडिरहेको हुन्छ । मनको फैलावट र चिन्तनको गहिराई नै सत्यताको खोजी गर्ने साँचो हो भने भौतिक पदार्थ र मानिसको बौद्धिक÷सौन्दर्य चेतनाको एकीकृत सहकार्य र अन्योन्याश्रित सम्बन्धको परिमाण मात्रै वास्तविक विकास हो । अरु सबै भ्रममा रिङ्गाउने खेलमात्र हुन् । वास्तविक विकासले चेतनामा प्रभाव पार्छ र चेतनाले विकासको अस्तित्व स्वीकार गर्छ । त्यसैले बौद्धिक चेतनाको विकासमा कम मुल्य दिईएको हालको विकासको मोडलमा विश्वले ध्यान दिँदै बौद्धिक चिन्तन तथा सत्यताको खोजि सहितको भ्रममुक्त सन्तुलित विकाको अवधारणा आजको आवश्यक्ता हो ।लेखक विकास अध्ययनमा काठमाडौ विश्वविद्यालयबाट दर्शनाचार्य (एम.फिल.) अध्ययन गर्नु भएको हो ।









