2026 May 02/ 10:10: 05am

 उद्धवप्रसाद भटृराई “चैतन्यदीप”
 ʻमान्छे, प्रकृति र भेगन’, लेखक एवं साहित्यकार साधुराम गिरीद्वारा रचित कविता तथा निबन्धसङ्ग्र्रह हो । यस अघि उनका केही कविता, लेख र निबन्ध रचनाहरु पत्रिकाहरुमा प्रकाशित भएपनि पुस्तकको रुपमा थिएन ।  प्रस्तुत ग्रन्थ उनको पहिलो सङ्ग्रह हो । लेखन तथा साहित्य सिर्जनामा सक्रिय हुँदै विशुद्ध शाकाहारी अभियानमा लाग्नु भएका गिरी समकालीन नेपाली साहित्य क्षेत्रका उदयमान व्यक्ति हुन् ।

    प्रस्तुत पुस्तकमा रचनाकार साधुराम गिरीका महत्वपूर्ण कविता, संस्मरण र लेखहरुको सँगालो छ । यस ग्रन्थमा लेखकका विविध पक्षका विचारहरु, भावहरु र दृष्टिकोणहरु मुखरित भएका छन् । विशेषतः जीवनले अँगाल्नु पर्ने सकारात्मक सोचलाई पुस्तकमा चर्चा गरिएको छ । ʻशब्दयात्रा प्रकाशन̕ नामक साहित्यिक संस्थाद्धारा प्रकाशित ‘मान्छे, प्रकृति र भेगन’ ग्रन्थमा कविता, संस्मरण र निबन्ध गरी १४ वटा  लेखहरु समावेश गरिएका छन् । जसमा दुई निबन्ध लेखलाई अङ्ग्रेजी भाषामा पनि अनुवाद गरी प्रकाशित गरिएको छ । उक्त सङ्ग्रहमा रचनाकारको आफ्नो भावनात्मक कविता, जीवनका संस्मरण, जीवनले मनन गर्नुपर्ने विचारहरु समावेश भएका छन् । उपर्युक्त ग्रन्थको पहिलो भाग अन्तर्गत कविता खण्डमा यसरी नै उदाउन सकुँ म, वाह जिन्दगी !, मेरो प्यारो खर्कडाँडा, प्रकृतिप्रेमी भेगन शीर्षकमा लेखिएका अत्यन्तै रोचक र महत्वपूर्ण कविताहरु छन् । जसमा विशुद्ध शाकाहारी जीवनलाई महत्व दिँदै समस्त जीव, जन्तुको कदर गर्दै कवितात्मक शैलीमा आफ्ना विचारहरु रोचक ढङ्गले अभिव्यक्त भएका छन् । पुस्तकमा विद्धान् व्यक्तित्व श्री भरत जङ्गम, लेखक तथा साहित्यकार डा.इन्दुल केसी, मानव अधिकार प्रशिक्षक तथा विश्लेषक राजु सरकार, प्रा.डा.मोहन खरेल (भेगन), श्री दुर्गानाथ दाहाल र ब्रह्मश्री मित्रले शुभेच्छा तथा शुभकामनामा महत्वपूर्ण र प्रेरणाका शव्दहरु वडो मीठासपूर्ण ढङ्गले लेखी लेखकको कदर तथा पुस्तकको महिमालाई प्रकाशित गरिदिएको छ भने र समाजसेवी श्री दामोदर घिमिरेले कृतिकारको जीवन परिचय, प्रकाशनको आधार, ग्रन्थको उपलव्धिहरुका सन्दर्भमा सम्पादकीय लेखिदिनु भएको छ । पुस्तकको प्रकाशकीय भूमिकामा शव्द यात्रा प्रकाशनको तर्फबाट बरिष्ठ साहित्यकार हरि मञ्जुश्रीको महत्वपूर्ण उद्गारहरु व्यक्त भएका छन् । विशेषगरी साधुरामलाई एउटा मात्रै आयामबाट हेर्न सकिन्न । उनलाई भिन्न भिन्न आयामिक चस्माद्वारा हेर्नपर्ने हुन्छ । स्नातक उत्तिर्ण गरेका साधुराम शुरुमा शिक्षक, त्यसपछि होटेल व्यवस्थापन र अन्तमा विशुद्ध शाकाहारी अभियन्ताको रुपमा देखा पर्नु भएका लेखक हुन् । उनी भेगन मात्र नभई समाज सेवामा संलग्न सामाजिक अभियन्ता पनि हुनुहुन्छ । एमनेष्टी इन्टरनेशनल, शाकाहारी संघ, विश्व हिन्दु महासंघ जस्ता महत्वपूर्ण संस्थाहरुमा  आवद्ध भई कार्य गर्दै आउनु भएका गिरीजी एक अहिँसावादी चेत, धार्मिक तथा आध्यात्मिक खोजकर्ता, सामाजिक सेवक, शिक्षक तथा व्यवस्थापन कार्यमा लागेर साधुराम बन्न पुगेका छन् ।   
    नाम पनि साधुराम काम पनि साधुराम भने जस्तै उनी धर्म, संस्कृति, अध्यात्म, तथा सामाजिक चिन्तनप्रिय, सुन्दर तथा शुद्ध समाज निर्माणको स्वप्न बोकेका प्रतिभा हुन् । उनका विरौंला सङ्ग्रहमा समकालीन सामाजिक यथार्थको विस्तृत विवरण, शाकाहारी चेत, जीव र जगत्प्रतिको प्रेम र करुणाको भावात्मक अभिव्यक्ति पाइन्छ । उनी विशुद्ध शाकाहारी अर्थात् भेगन अभियानलाई समाजमा सशक्तरुपले लागू गर्नका लागि अभिव्यक्ति दिने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।  
    ग्रन्थको मुखपृष्ठमा प्रकृतिको छवि अत्यन्तै सुन्दर, मनमोहक र आकर्षक हरियाली भएको हुँदा किताब पढुँपढुँ लाग्छ । सोही कभरको अन्तिम पृष्ठ भागमा साधुराम गिरीको फोटो र उनका उद्गारहरु लेखिएका छन् । धार्मिक, साँस्कृतिक एवं सामाजिक जीवनका महत्वपूर्ण विचारहरु ग्रन्थमा सङ्ग्रह छन् । लेखक धर्म, संस्कृति, राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका पक्षमा उभिएका व्यक्तित्व हुन् । जीव, जगत् र प्रकृतिको सचेतनात्मक भावमा निरन्तर लेखी रहने भएकाले उनका सङ्लित लेख र रचनाहरु प्रायः  धर्म, संस्कृति, स्वतन्त्रता, समानता, सामाजिक न्याय, जीवप्रेम एवं जीवनका अभिव्यक्ति पाइन्छ ।
    किताबमा अन्तर्निहित भाषिक संरचनाले समेटेको आध्यात्मिक सोधखोज, धर्म संस्कृति र जनजीवनका अनेकन् विषयवस्तुलाई नम्र र सरल भाकामा केलाएको छ भने सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुख–दुःखको भावमा रचनाको विश्लेषण गर्ने प्रयत्न गरिएको छ । लेखक साधुराम गिरीको यो किताबले लेखकीय मर्म तथा विशुद्ध शाकाहारी अभियानलाई प्रबद्र्धन, प्रेरणा र सम्मानको भाषा बोलेको छ । केही ह्रस्व–दीर्घ भाषागत् त्रुटीहरु भएपनि समग्रमा किताब उपयोगी र मननयोग्य छ ।  
    पुस्तकले पाठकलाई आनन्दित मार्गमा डो¥याउँछ र पढौंपढौं भन्ने भाव जगाउँछ । समाजको संस्कार, परम्परा, अन्धविश्वासलाई चिरेर यथार्थ सत्य मार्गतिर उन्मुख हुन प्रेरित गर्दछ । किताबको भाषा सरल छ । केही शब्दको अर्थमा लेखक प्रस्ट नहुँदा तात्विक कुरा नमिलेको हो कि जस्तो लाग्न सक्छ । जस्तै ः हरेक लेखक वा व्यक्तिको नाम पछाडि ʻज्यू̕ भन्ने शव्द राख्नु त्यत्ति सुहाँउदो भाषा होइन । ʻज्यू̕ भन्ने शव्द कुनै पनि लेखकले आफ्नो पुस्तकमा राखेको पाइँदैन । कतिपय शव्दहरु यस्ता हुन्छन् जुन पुस्तकमा राख्दा लेखनको महत्व कमजोर हुन्छ । पुस्तकको समीक्षा गर्दा कतिपय लेखकलाई तीतो लाग्न सक्छ । तीतो भएपनि औषधिले राम्रै काम गर्छ । लेखकले अझै अहिँसा चिन्तन, भेगन चेत र बली प्रथाको विषयमा खोज गरी ग्रन्थ प्रकाशन गर्दा राम्रो हुने देखिन्छ ।

    अन्तमा लेखकले लेखन कलाबाट साहित्यलाई उजागर र अहिँसालाई साधनाको उच्च मार्ग देखाउन पनि मद्दत गरेका छन् । पुस्तकमा सूक्ष्म तरिकाको लेखन, शृंगारपटार र भाषिक सुन्दरतालाई महत्व दिएका छन् ।  लेखक साहसी, संघर्षशील, प्रतिभावान्, व्यक्तिको रूपमा प्रस्तुत भएका छन् । यस्ता राम्रा पुस्तकहरु अरुपनि प्रकाशित होस् भन्दै पुस्तक रचनाकार साधुराम गिरीलाई धेरै धेरै धन्यवाद र बधाइ छ ।